१-१५ असार २०५८ | 15-29 June 2001

विश्वासघात

Share:
  
- वदरीनाथ भट्टराई

‘ऐले नै सवारी हुने र ?’ ‘के कुरा ग¥या त्यो ? ऐले यस्तो चिठी लेखिबक्सँदा पनि म गइनँ भने महाराजले के हुकुम होला ?’ ‘हजुर सवारी भेर महारानीको शूल निको हुने हैन । बरु ऐले त वैद्यलाई पो पठाइदिनुपर्ने ।’ ‘वैद्य आइसक्यो होला, नआएको भए पनि डाक्न पठाइदिन्छु अनि कम हुनासाथ आइहाल्छु नि ।’ ‘महारानीले खालि छल पारेकी त हैनन् ?’ ‘यस्तो जेठ महिनामा पनि रातदिन मुख खाली छैन, अनि के शूल नहोस् ! खूद महाराजकै हस्ताक्षर भएपछि पनि कहीँ शङ्का गर्न हुन्छ ?’ ‘यदि सवारी नै हुने हो भने गारत पनि साथमा लिइबक्सनुपर्छ । बाटोमा पनि त बचाउ हुन्छ नि ।’ ‘कसैमाथि अन्याय मैले गरेको छैन । अनि केको डर ?’ भनी छोरा रणोज्वललाई जवाफ दिएर माथवरसिंह पनि स्फूर्तिसाथ दरबारबाट निस्के । अलि पर पुगेपछि कालो जन्तुले स्वाट्ट बाटो काटेको देखेर उनी झ्सङ्ग भए । पन्ध्र बीस हात पर भएकोले कुकुर, बिरालो अथवा श्याल, यो हो भनेर उनले ठम्याउन सकेनन् । त्यसको लगत्तै पाँच–छ ओटा कुकुर आएर उनलाई भुक्न थाले । त्यो बेला छोराको वचन मानेको भए बेस हुनेरहेछ जस्तो उनलाई लाग्यो । आफू लखनौबाट आएपछि जेठा बाबु भीमसेन थापाको विष मुद्दा उल्टिएर काटिएका पाँडेहरू र तिनका अनुयायीहरूलाई उनले सम्झ्े । फेरि फौज बढाउनाको लागि खर्च नपुगेकोले ज–जसको बिर्ता लिइने भएको थियो ती बिर्तावारहरू उनका आँखामा नाचे । यसै गरी आफूसँग मन कुँडिएका व्यक्तिहरूको सङ्ख्या बढ्दै गयो । अलि पर पैतालाको आवाज र कसैले खासखुस गरेजस्तो पनि उनलाई लाग्यो । जोगिनु नै बेस ठानी दश बाह्र पाइला फर्केपछि फेरि उनलाई दोमन भयो, ‘आधा बाटो आइसकेँ । घर फर्कने समयमा त दरबारमा नै पुगिहाल्छु नि । हाडे ओखर त मुठीमा अँठ्याएर फुटाइदिन्छु भने तीन चार जना आउञ्जेल डराउने खण्ड के छ र ! मनको बाघदेखि यसरी थरहरी हुनुभन्दा डरसँग भिडिनु नै क्षत्रीयको चिह्न हो ।

साल काँगडाको रणभूमिमा वीरगति पाएका नयनसिंहको छोरा पो हुँ । वीर थापाहरूलाई कातरताले कहीँ पनि विमुख गराउन सकेको छैन । यदि ऐले यतैबाट घर गएँ भने छोराहरूले पनि के भन्लान् !’ इत्यादि तर्कवितर्क गरेर फेरि उनले दरबारतिर पाइला बढाए । दरबारको ढोकानेर पुगेपछि पसिनाले तर भएका माथवरसिंहलाई अब त बाँचेँ भनेजस्तो लाग्यो । लामो सास फेरिसकेपछि फजुलको शङ्का उपशङ्का गरेकोमा आफ्नै कमजोरी सम्झ्ेर मनमनै उनले भने, ‘मुखसम्म त कसैले हेर्न सक्तैन भने मलाई ठटाउने आँट कालको नजिकैको आहारा बाहेक कल्ले गर्न सक्ला ? बलेको आगोमा कुनचाहिँ होमिएला ? तरबारको धारसँग नडराउने को होला ? खरानी भएर कल्लाई के फाइदा हुन्छ र ? कुइनोको भित्तासँग के जोड चल्छ र ?’ ढोकामा पुगेर ‘कस्तो छ महारानीलाई ?’ भन्दाभन्दै पनि ढोके एकदम मास्तिर दगुरेको र अरू पनि चुपचाप लागेको देखी माथवरसिंह वाल्ल परे । ‘माथि को को आएका छन्’ को जवाफमा गगनसिंह र जङ्गबहादुरको नाम सुनेपछि कुनै पनि वैद्य नआउनाको कारण के होला ? भनी उनी घोरिए । आफूलाई त्यस्तो जरुरी चिठी लेख्नाको कारण बुझन उनलाई निकै खुलदुली लाग्यो । महारानीले युवराजका उपर कुनै षडयन्त्र रचेको पत्तो पाएर सल्लाहका लागि महाराजले मलाई डाकेको हो कि अथवा अस्ति भार्दारीमा दिलीपसिंह (पंजाव नरेश) सँग मिलेर अंग्रेजलाई उडाउनु बेस हो कि भन्ने प्रस्ताव उठाएको थिएँ । त्यो कुरा कुनै दुष्टद्वारा थाहा पाई अंग्रेजले सन्केर चिठी पठाउँदा मलाई डाकेको हो कि, न कुनै विरोधीले मेरो नाउँमा मनपरी उजुर गरेछ कि ? अगाडिको भाग मात्र देख्ने मानिसले नगर्न सक्ने कुरा के छ र ? दाउराको लोभले कति फुल्ने फल्ने रूखका जरामा बञ्चरोको प्रहार भएको देखिएकै छ । बाँसको संघर्षबाट धप्केको ज्वालाले वनै स्वाहा भएको पनि देखिन्छ ।

माथवरसिंह आउँछन् कि आउँदैनन्, आफूले आँटेको काम फत्ते हुन्छ कि हुँदैन भन्ने द्विविधामा राज्यलक्ष्मी पीङ खेलिरहेकी थिइन् । माथवर आएको सुन्नासाथ तुरुन्त ल्याउनू भनेर उनले मनमनै भनिन्, ‘यो, राज्यलक्ष्मी हो । यसको इशारामा ननाचेर फूर्ति गर्नेको कसरी असल गति हुनु ? जसले शिखरमा चढायो उसैको खोइरो खन्ने यो । दुनियाँले मलाई दिलाएको अधिकार खारेज गराएर क्यैन क्यैको सुरेन्द्रलाई अधिकार दिलाउने यो कत्तिको बदमास ! सिंहीको दाह्रा झ्क्नि खोज्नेले कालको गाँस बन्नु स्वाभाविकै हो । नागिनीलाई लत्याएपछि नडसी कहीँ छोड्ली ? आगोको ज्वालासँग भिडिने व्यक्ति नडढी कहीँ छोड्ला !’ हुँदाहुँदै उनको मन जङ्गबहादुरपट्टि पनि सशङ्कित भयो । भानिजको नाताले रसाएर मामाको कानमा कुरा पोखिदिन्छ कि भनी भरेङको टाउकोमा आफैँ गएर चियाउन थालिन् । भरेङमा उभिइरहेका जङ्गबहादुर थरथर कामिरहेका थिए । उनलाई के गरुँ, कसो गरुँ भइरहेको थियो । के तल के माथि आगोको ज्वाला सिवाय उनले देखेनन् । उनले विचार गरे, ‘महारानीको आज्ञा मैले नमाने पनि मामा चिरञ्जीवी हुने हैनन्, बरु साथसाथै मैले पनि उनको सती जानुपर्छ । तर हनुमानले झ्ैँ मैले छाती च्यातेर देखाए पनि थापाहरूले पत्याउने छैनन् । फेरि दुनियाँले के भन्ला ? हुन त आफैँले मारेको भन्छु भनी महाराजले कबूल गरेका छन् । फेरि लिखितम् जस्तो प्रमाण बकितम् हुँदैन भनी महाराजको लिखत पनि मैले लिएको छु । भित्र जतिसुकै कालो भए पनि बाहिर सफा बन्न सक्नु नै चतु¥याइँको चिह्न हो । कूटनीतिको नदीमा पौडी खेल्नेले बाँके, छड्के नहानी पार तर्न सकिँदो रहेनछ । सोझे औँलाले घ्यू आएको थाहा छैन । मौका हेरेर कहीँ नौनी र कहीँ तरबार बन्न सक्नु नै बुद्धिमानी हो । हुन त मलाई सुवेदारीको पदमा उभ्याइदिएको यिनै मामाले हो । यिनैका नाताबाट माथिमाथि उक्लँदै आइरहेछु । तर के गरुँ, यदि भरेङ उक्लन लागेका यिनका कानमा खुलस्त कुरा बताइदिने हो भने आकाशपाताल कहीँ गए पनि बाँच्दिनँ । दाज्यू देवीबहादुरको मुद्दामा मैले सम्झउँदा पनि यिनी बाङ्गिएर कड्किएको बिर्सन सकेको छैन । त्यसै गरी ऐले खुलस्त बताउँदा बताउँदै पनि यिनी वक्र भइदिए भने मेरो इहत्र पनि बिग्रन्छ । यसैले जसरी भए पनि आत्मरक्षा गर्नु नै महान् कर्तव्य हो । कर परेर गरेको पाप प्रायश्चितले अवश्यै नाश हुनुपर्छ ।

गोली छुटेको आवाजको साथसाथै जङ्गबहादुरलाई धाप दिएर फुरुङ्ग पर्दै खोपीमा पुगेकी राज्यलक्ष्मीले राजेन्द्र वीर विक्रमलाई भनिन्, ‘बुझ्बिक्स्यो ! हामीभन्दा ठूलो हुन खोज्ने माथवरले स्वाद पायो । लौ, नजर हुनेभए सवारी होस् । अब त गगनसिंहलाई प्रधानमन्त्री बनाइबक्सनु पर्छ नि । त्यो जस्तो इमान्दार मानिस त आजसम्म देखेको छैन । फेरि काम गर्न उत्तिकै अनुभवी छ, भलो उस्तै छ ।...’ एक्लै बडबडाएर राज्यलक्ष्मी गएपछि थरथर कामिरहेका राजेन्द्र वीर विक्रमले मनमनै भने, ‘यो हत्याकाण्डले अब नेपालमा के उत्पात मच्चिने हो । जलेका थापाहरूले मेरो राजगद्दीमै आगो झेसिदिन्छन् कि ! उनीहरू एकसे एक छन् भन्ने थाहा हुँदाहुँदै पनि खाली यी राज्यलक्ष्मीको कुरा सुनेर गोली चलाउने हुकुम दिएँ । दिलीपसिंह (पंजाव–नरेश) सँग मिलेर मित्रराष्ट्र (अंग्रेज) सँगको मित्रतामा धक्का दिन लागेको भन्ने कुरामा के प्रमाण छ र ? गगनसिंहलाई प्रधानमन्त्री तुल्याएर आफ्नो स्वार्थ साँध्ने यिनको विचार होला तर जेठो सुरेन्द्रलाई राजगद्दी नदिई यिनको छोरालाई के भनेर दिन्थे । यो एकपटकको भूलले नै के के हुने हो । विचरो यो माथवर लाहोरमा बसिरहेको थियो । यिनैले तारंतार चिठी लेखेर डाकिन्, अन्त्यमा यिनैको जिद्दीले तिम्रो कदर हुनेछ भनी मैले लेखेपछि ऊ आयो । जिउताभरका लागि प्रधानमन्त्री पद दिई फौजको सारा अधिकार सुम्पेँ । तर ऐले बिना कसुरमा मृत्युको मुखमा हालिदिएँ । यस्तो विश्वासघात गरेको थाहा पाएपछि मेरो भर को पर्ला ? दुनियाँले मलाई के भन्ला ? जेठी साम्राज्यलक्ष्मीको पछि लाग्दा त पोथी बासेपछि पनि कहीँ ठीक हुन्छ भनी कतिले उड्के । ऊभन्दा त यो कान्छी राज्यलक्ष्मी दश खण्ड चपर्चण्ड छ । अब मैले गर्ने के हो ?’

दरबारबाट निस्केपछि कता जाऊँ, के गरुँ ? इत्यादि तर्कवितर्क जङ्गबहादुरको मनमा उठ्यो । बाहिरभन्दा पनि भित्र उनलाई पोल्न थाल्यो । डढेलोको घेरामा परेजस्तै उनले आफूलाई सम्झ्े । कहिले बीस पच्चीस पाइला पश्चिमतिर लर्खराउँथे त कहिले पन्ध्र बीस पाइला पूर्वतिर । मदिराले मत्त भएकाको झ्ैँ उनको होश अर्धविक्षिप्त भइराखेको थियो । त्यत्रो बक्सिसका साथ दर्जा बढ्ने आश्वासन पाउँदा पनि उनलाई शान्ति भएन । अनि बाटोमा भुतभुताउन थाले, ‘यदि थापा खलकले थाहा पाए भने भानिज भनी मलाई छोड्लान् र ? बरु अहिले नै रानीपोखरीमा हामफाल्नु बेस हो कि ? हरे शिव ! बाघ, भालु र म मानिसमा के फरक भयो ? यसरी मामा मार्ने बकरे बन्नुपर्ला भन्ने मेरो मगजमा उब्जेको पनि थिएन । बरु महारानीले अह्राउनासाथ सुइँकुच्चा ठोकी गढी काटेको भए यो पापबाट त बच्ने थिएँ कि ?’ त्यसपछि उनको अर्को मनले भन्यो, ‘यसरी पिरिएर के मामा बाँच्ने हुन् र ! फेरि मैले नमानेको भए पनि एउटा न एउटाको हातबाट उनी अवश्य मारिन्थे । काललाई पनि कसैले रोक्न सक्छ र ! बरु सरासर मावलमा नै गई मामाको छोरालाई सचेत गराउँछु र एक ज्यान भएर मिल्छु । ऊ सँगसँगै विरहको बाढी बहाउँछु, विलौनाको पुल बाँध्छु, अनि पार तर्न के बेर लाग्ला र ? वास्तवमा संसारीले खाली हातमा माला फिराउन थाल्यो भने कसरी यो जिन्दगी सप्रला ! दुनियाँको आँखामा छारो हालेर स्वार्थसिद्ध गर्नु नै सफलताको साँचो हो ।’ भोलिपल्ट माथवरसिंहको लास घिसारेर आर्यघाटतिर लगेको देखेपछि गहभरी बह गरेर दुनियाँले भन्यो, यो हिमालयको काखमा पनि सर्पले यसरी किन डसेको ? तपोभूमिमा पनि यस्तो लुछाचुँडी ! यदि यही तरिकाले मानिसले मानिसको रगत चुस्छ भने पशुत्वले केमा अडिने ? के यो असभ्यताको प्रमाणपत्र होइन ? अझ् पनि पाषण युगलाई अँगाल्ने हो भने नेपालले अरू देशलाई कसरी उछिन्ने ? हाय हाय ! ! स्वार्थ ! ! ! देवतालाई दानव बनाउने तैँ न होस्, शिखरका व्यक्तिलाई फेदीमा झर्ने तैँ न होस्, सुनलाई नालमा फ्याक्ने पनि तैँ न होस् !

(‘नेपाली ऐतिहासिक कहानी’बाट साभार)

comments powered by Disqus

रमझम