१-१५ असार २०५८ | 15-29 June 2001

राज उत्तराधिकार

Share:
  
‘श्री ५ का छोरा वा छोरापट्टिका नाति, नाति नभए पनाति, पनाति नभए मौसुफका भाइ, भाइ नभए भाइका छोरा, भाइका छोरा नभए भाइका छोराका छोरा र नाति पनि नभए पनाति राजगद्दी उत्तराधिकारी होइबक्सने छ । कोही नभएमा शाहवंश भित्रमा सबैभन्दा नजिकका अन्य हकदार मध्येबाट जेष्ठताको आधारमा राजगद्दी उत्तराधिकारी होइबक्सने छ ।’

– राजगद्दी उत्तराधिकार सम्बन्धी ऐन, २०४४, दफा ५(५)

१९ जेठको नारायणहिटी हत्याकाण्डमा राजा वीरेन्द्रको निधनपछि सख्त घाइते अवस्थाका युवराज दीपेन्द्र राजा घोषित भए । दीपेन्द्र राजा भएको दुई दिनमै बितेकाले ‘मौसुफका सबैभन्दा नजिकका हकदार, माहिला काका, राजगद्दी उत्तराधिकारी श्री ५ अधिराजकुमार ज्ञानेन्द्र’ राजा भएका छन् । राजाका जेठा छोरा राजा हुने परम्परा यो पटकदेखि परिस्थितिवश बदलिएको छ । १२० वर्षअघि राजा सुरेन्द्रको निधनपछि उनका जेठा छोरा त्रैलोक्य युवराज छँदै बितेकाले नाति पृथ्वी वीर विक्रम राजा भए । पृथ्वी वीर विक्रमपछिका पुरुष सन्तानहरूमध्ये अब श्री ५ ज्ञानेन्द्र र उनका जेठा छोरा पारस मात्र बाँकी छन् ।

कथंकदाचित् पृथ्वी वीर विक्रमका सन्ततिमध्येबाट नेपालको राजसंस्थाले निरन्तरता पाउन सकेन भने राजगद्दी उत्तराधिकारी पाँच पुस्ता अघिका युवराज त्रैलोक्यका भाइ नरेन्द्र विक्रमका सन्तानमध्येबाट खोज्नुपर्ने हुन्छ । इतिहासकार पुरुषोत्तम शम्शेर जबराका अनुसार राजा सुरेन्द्रका कान्छा छोरा नरेन्द्रलाई तत्कालीन दरबारिया कलहका कारण काठमाडौँबाट निकाला गरिएको थियो । पृथ्वी वीर विक्रमको धेरैकालसम्म छोरा नभएपछि उत्तराधिकारी बनाउन तत्कालीन श्री ३ चन्द्र शम्शेरले नरेन्द्रका छोरा जुना राजालाई गोरखाबाट काठमाडौँ झ्किाएका थिए । जुना राजाको काठमाडौँ आगमन पछि पृथ्वी वीर विक्रमकी माहिली महारानी गर्भवती भएको थाहा भयो र तत्काल उत्तराधिकारीको घोषणा गरिएन । तर त्यसैबीच त्रिभुवनको जन्म भएकोले जुना राजा उत्तराधिकारी हुन पाएनन् । अहिले राजा वीरेन्द्रलाई दागवत्ती दिने साहेवज्यू दीपक विक्रम शाह र उनका पिता मुख्य साहेवज्यू कृष्ण विक्रम शाह क्रमशः उनै जुना राजाका पनाति र नाति हुन् ।

comments powered by Disqus

रमझम