राजा दीपेन्द्रको शवयात्राको केही समयअघि २२ जेठ अपराह्न रत्नपार्कको प्रहरी कण्ट्रोल रुममा आएको एउटा सूचनाले सत्तासीन नेता तथा सुरक्षा अधिकारीहरूको सातो उडायो । एकथरि मान्छेहरूले महाराजाधिराज दीपेन्द्रको शवलाई सडकबाट लुट्ने र राज्यमा विप्लव सृजना गर्ने योजना गरेका छन् भनिएको सो सूचनालाई गुप्तचर र प्रहरी सूत्रले पटक पटक पुष्टि गरेका थिए । यो माओवादीहरूको योजना थियो भन्ने उनीहरूको विश्वास छ । सूचना पत्याउनै नसकिने थिएन । नाम उल्लेख गर्न नचाहने एक उच्च सुरक्षा अधिकारी भन्छन्, “राज्यसत्ता कब्जा गर्ने माओवादी रणनीतिहरूमध्ये ‘मुलुकमा विप्लवको सृजना गर्ने’ रणनीतिसँग यो सूचना मेल खान्थ्यो ।” प्रहरी सूत्रका अनुसार माओवादीहरूले बाहिरबाट कपाल खौरिन लगाएर थुप्रै मान्छेहरू काठमाडौँ ल्याएका थिए । यो सूचनाबाट बेखबर राजधानी शहर र छेउछाउबाट राजदरबार एवं सैनिक अस्पताल वरपर जम्मा भएका हजारौँ मानिसहरू भने तीन दिनदेखि राजदरबारमा भएको हत्याकाण्ड सम्बन्धी यथार्थ जानकारी बाहिर ल्याउन माग गर्दै प्रदर्शन गरिरहेका थिए । स्थिति ठाउँठाउँमा उग्र र उत्तेजित भएकोले तनाव बढिसकेको थियो । यस्तो अवस्थामा खुला रूपमा शवयात्रा गर्दा सृजना हुन सक्ने अप्रिय स्थितिलाई ध्यानमा राखेर सरकारले कफ्र्यू लगाएर श्री ५ दीपेन्द्रको दाहसंस्कार गर्ने निर्णय लियो । मध्य कफ्र्यूका बेला दीपेन्द्रको शवलाई खुला ट्रकमा राखेर मोटरहरूको लावालस्कर सहित चक्रपथको बाटो हतारहतार आर्यघाट लगियो । २२ जेठमा दिउँसो साँढे तीन बजेदेखि ललितपुरमा र चार बजेदेखि काठमाडौँमा कफ्र्यू घोषणा गरिएको थियो । २२ देखि २४ जेठसम्ममा तीन पटक गरी ३१ घण्टा कफ्र्यू लगाइयो । सेल्फ लोडेड राइफल बोकेर काठमाडौँ र ललितपुरका मुख्य सडक गल्लीहरूमा सेना मार्च गरेको दृश्य राजधानीवासीले जनआन्दोलनको ११ वर्षपछि फेरि देखे ।
कफ्र्यू लागेपछि पनि एकाध घण्टा आवागमन रोकिएन । छोटो सूचनाका आधारमा कफ्र्यू घोषणा भएकोले मानिसहरू आ–आफ्नो घर डेरा फर्किन दौडादौड गरिरहेका देखिन्थे । पहिलो दिनको कफ्र्यू हतारमा लगाइएको र चाहिँदो सङ्ख्यामा सुरक्षा शक्ति परिचालन गर्न नसकिएको कुरा प्रहरी सूत्र आफैँले स्वीकार गरेको छ । त्यस दिन सेना र प्रहरी बल धेरैतिर बाँडिएको थियो । श्री ५ दीपेन्द्रको शवयात्रा शुरु हुन लागेको अवस्थामा सुरक्षा निकायहरूलाई दुई–दुईवटा शहरका सबै ठाउँमा स्थिति काबुमा राख्न निकै गाह्रो परेको थियो । उपत्यका प्रहरी कार्यालयका डीआइजी ओमविक्रम राणाका अनुसार तीन दिनको ३१ घण्टे कफ्र्यूमा सुरक्षाकर्मीले हानेका गोली लागेर चार जना मारिएका छन् । २२ जेठ साँझ् पुरानो बानेश्वर हाइटमा कफ्र्यू समयमा जम्मा भएका युवाहरूको भीडले जिस्क्याएपछि सेनाले चलाएको गोलीले अलि परबाट हेरिरहेका ६४ वर्षीय पूर्व डीएसपी पशुपतिप्रसाद लोहनीको ज्यान लियो । सोही दिन धुम्बाराही, चप्पल कारखाना नजिकै गौरवबहादुर श्रेष्ठ, नयाँबजारमा दीपककुमार श्रेष्ठ र दोस्रो दिन धोबिधारामा आदर्श रायको गोली लागेर मृत्यु भयो । कफ्र्यू अवधिमा भएका अरू घटनामा पचास जना जति घाइते र झ्ण्डै एकहजार गिरफ्तार भएका थिए । तीमध्ये धेरैलाई अझ्ैसम्म पनि रिहा गरिएको छैन । पक्राउ परेकाहरूमध्ये धेरैजसो माओवादी प्रभावक्षेत्र मानिएका गोरखा, दोलखा, रामेछाप आदि जिल्लाका भएको बुझ्एिको छ । प्रहरीले राजारानीको फोटो प्रिण्ट गरिएको टि–शर्ट लगाउनेहरूलाई खोजीखोजी समातेको थियो । उक्त प्रिण्ट माओवादीहरूले गराएको विश्वास प्रहरीको थियो ।
दरबारमा हत्याकाण्ड भएको दिन शुक्रबार मध्यरातदेखि नै राजधानीका अधिकांश घरमा फोनका घण्टी बज्न थालेका थिए । कतिले इण्टरनेट र विदेशी टेलिभिजन च्यानलबाट घटनाकोे जानकारी पाए । नेपाल टेलिभिजन र सरकारी एवं निजी रेडियोले शनिबार बिहानैदेखि समाचार समेत सबै नियमित कार्यक्रम रोकी शोक धुन र भजन मात्र बजाए पनि राजपरिषदको आकस्मिक बैठकको सूचना दिएपछि रातभर फैलिएको र विदेशी सञ्चारमाध्यमले दिएको खबरलाई पक्का ठानेर दिउँसो ११ बजेसम्म राजपरिषदको कार्यालय अगाडि कान्तिपथमा ठूलो भीड जम्मा भइसकेको थियो । एक बजेर बीस मिनेटमा राजपरिषदका सभापति डा. केशर जङ्ग रायमाझ्ीले श्री ५ वीरेन्द्रको निधनको जानकारी गराउनु अगावै एउटा जमातले सरकार विरोधी नारा लगाउँदै घटनाबारे यथार्थ जानकारी उपलब्ध गराउन माग गरिसकेकोे थियो । तर कान्तिपथबाट शुरु भएको यो सानो जमातको मागलाई कसैले पनि गम्भीरतापूर्वक लिएन । राजपरिषदको घोषणा, प्रधानमन्त्रीको सन्देश र राज्यसहायक श्री ५ ज्ञानेन्द्रको सम्बोधन कुनैबाट पनि घटनाको यथार्थ विवरण जनताले पाएनन् र सो कुराको माग लिएर सडकमा उत्रिने क्रम बढ्दै गयो । राजा र उनको परिवारको हत्याबाट शोकविह्वल जनता यो दुःखद घटनाको विवरण थाहा पाउन सडकमा उर्लिनु जति स्वाभाविक थियो उनीहरूको व्यवहार त्यति नै अस्वाभाविक हुन पुग्यो । २० र २१ जेठसम्म पनि स्थिति त्यति बिग्रिसकेको थिएन । सुरक्षा र सञ्चारमाध्यम लगायत अन्य सरकारी अङ्गहरूको निष्क्रियताले स्थितिलाई झ्न् अस्वाभाविक बनाउने काम ग¥यो । शोक व्यक्त गर्ने नाममा हुलका हुल मानिसहरू टायर बाल्न, तोडफोड गर्न, सडक अवरोध गर्न थाले । अपहरण गरिएका ट्याक्सी, ट्याम्पो र मोटरसाइकलको ¥यालीले जनजीवनलाई झ्न् आतङ्कित पार्ने काम ग¥यो । पानी र दूधमा विष मिसाइएको, कतिपय नेता र व्यक्तिहरू मारिएका आदि हल्लाले पनि जनजीवन आतङ्कित पार्ने काम गरे ।
२२ जेठ बिहान वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा श्री ५ दीपेन्द्रको निधन भएको समाचारले स्थिति अरू बिगा¥यो । नेपालीहरूले एउटा राजालाई आकस्मिक रूपमा गुमाएको दुई दिनमै कसरी यस्तो भयो भन्ने थाहा नपाई अर्को ‘राजा’ गुमाए । घटनास्थलको नजिक पुगेपछि सत्य–तथ्य थाहा पाइने धारणा लिएर सञ्चारमाध्यमबाट यथेष्ट सूचना दिएको भए घरमै रोक्न सकिने जमात समेत छाउनी अस्पताल, दरबारमार्ग र कान्तिपथतिर ओइरियो । सूचनाको अभावमा रुमल्लिएको नेतृत्वविहीन जमात विस्तारै उग्रनारा र जुलुसको पछि लाग्यो । पूर्व गृहमन्त्री तथा नेकपा एमाले नेता खड्ग ओली सडकमा देखिएको भीड स्वतःस्फूर्त रूपमा जम्मा भएको भए पनि तिनको गतिविधि हेर्दा संवैधानिक परिधिभन्दा बाहिरी शक्तिको खेल रहेको आशङ्का व्यक्त गर्छन् । उनको सङ्केत पनि नेकपा माओवादीतर्फ थियो । दरबार हत्याकाण्डपछि सडक प्रदर्शनमा उत्रेको भीडको नेतृत्व औपचारिक रूपमा कसैले गरेको थिएन तापनि उपत्यकामा आफ्नो शक्ति विस्तार गर्न नेकपा माओवादीले यो मौकामा राम्रै कसरत गरेको बताइन्छ । सडक सङ्घर्षका लागि माओवादी विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले अन्य वाम विद्यार्थी सङ्गठनहरूसँग पनि कुरा चलाएको थियो । एमाले समर्थक अनेरास्ववियूका अध्यक्ष राजेन्द्र राई बताउँछन्, “२५ जेठमा अनेरास्ववियू छैठौँका अध्यक्ष मार्फत् त्यस्तो प्रस्ताव आएको थियो तर हामीले ‘सडकमै त हामी जान सक्दैनौँ, संयुक्त मागसम्म राखौँ’ भन्ने जवाफ दिएपछि कुरा अगाडि बढेन ।”
२४ जेठमा माओवादीहरूको एउटा सानो समूहले काठमाडौँको भित्री सडकमा खुला प्रदर्शन गर्ने जमर्को पनि गरेको थियो । नरदेवी वरपरबाट निस्केको ५० जना जतिको एउटा समूहले एकछिन ‘माओवाद जिन्दावाद’ को नारा लगाउँदै प्रचण्डद्वारा हस्ताक्षरित पर्चा छरेको थियो । प्रहरीको एक जत्था देखेपछि सो समूह इटुम्बहाल नजिक पुगी तितरवितर भएको थियो । माओवादीहरूको जुलुस आएर पर्चा बाँड्न थालेपछि त्यस क्षेत्रका अधिकांश पसलहरू ढामढुम बन्द भएका थिए । प्रहरी प्रशासनका अनुसार २० जेठदेखि चार–पाँच दिनसम्म सडकमा जम्मा हुनेहरूमध्ये एकथरि एक्लाएक्लै आएर भीडमा मिसिने, अर्काथरि जमात बनेर आउने, हाहु गर्ने र मौका पाए केही गरिहाल्ने र तेस्रोथरि सडकमा ओर्लेर ढुङ्गा हान्ने, टायर बाल्ने, तोडफोड गर्ने प्रवृत्तिका मानिसहरू थिए । तेस्रो जमात सडकमा ‘उग्र राजावादी’ का रूपमा प्रस्तुत भएको थियो । धेरैजसोको मुडुलो टाउकोमा राजारानीका नाम लेखिएको, चित्र कोरिएको र लुगामा राजारानीको तस्बिर टाँसिएको थियो भने केहीले राजारानीको तस्बिर प्रिण्ट गरिएको टी–शर्ट लगाएका थिए । हुलदङ्गा र सडक प्रदर्शनका क्रममा प्रहरी कारवाहीमा प्रशस्त मात्रामा निर्दोष मानिसहरू पनि परेका छन् । प्रहरीले दरबारमार्गमा पेटीमा हिँडिरहेका केही बटुवा र एक जना साइकल यात्रीलाई अमानवीय ढङ्गले बन्दुकको टुप्पो, लठ्ठी र बुटले कुटेको दृश्य टेलिभिजनका क्यामेराबाट लुक्न सकेन र छिनभरमै विश्वव्यापी भयो । दरबारमार्गको यो घटनालाई प्रहरी प्रशासनले गम्भीरतापूर्वक लिएको बताउँदै डीआइजी राणा भन्छन्, “अनुसन्धान चलिरहेको छ, त्यसो गर्ने प्रहरीहरूमाथि अवश्य नै कारवाही हुन्छ ।”
सरकारको गलत बाटो
माओवादी नेता डा. बाबुराम भट्टराइको “आपत्तिजनक” लेख छापेको अभियोगमा कान्तिपुर दैनिकका सम्पादक युवराज घिमिरे र प्रकाशकद्वय विनोद ज्ञवाली र कैलाश सिरोहियालाई एक सातादेखि थुनामा राखेर सरकारले एकातिर आफैँ बदनामी कमाएको छ भने अर्कातिर स्वतन्त्र प्रेसका हिमायतीहरूलाई सशंकित तुल्याएको छ । डा. भट्टराईले सो लेखमा उठाएका बूँदाप्रति कान्तिपुर को सम्पादकीय सहमति नभएको कुरा त्यसको भोलिपल्टै २५ जेठमा छापिएको सम्पादकीय आलेखले नै स्पष्ट पारिसकेको छ । सो आलेखमा डा. भट्टराईका तर्कहरूको कडा प्रतिवाद गरिएको छ । घिमिरे, ज्ञवाली र सिरोहियालाई प्रहरीले ३० जेठमा विशेष अदालतमा पेश ग¥यो । अदालतले १ असारको दिन बिहान ९ः३० बजेभित्र अभियोग पत्र सहित तीनैजनालाई उपस्थित गराउने ओदश दिएको छ । धेरैको विश्वास छ, अदालतले उनीहरूलाई त्यसै दिन रिहा गर्नेछ, किनभने पत्रिकामा छापिएको लेखका आधारमा सम्पादक–प्रकाशकमाथि कार्यवाही चलाउन आवश्यक परे सरकारले प्रेस तथा छापाखाना सम्बन्धी कानून प्रयोग गनुपर्ने तथ्य छर्लङ्ग छ । यसैबीच, नेकपा माओवादीको ‘दरबारमा भएको जघन्य हत्याकाण्डबारे छलफल गर्न’ बसेको पोलिटब्यूरो बैठकले डा. भट्टराईले लेखमा उठाएकै कुराहरूमा जोड दिएर प्रेस वक्तव्य निकालेको छ । पार्टी अध्यक्ष प्रचण्डले दरबारको घटनालाई “माओवादी जनयुद्धलाई ‘सखाप’ पार्ने साम्राज्यवादी षडयन्त्र अन्तर्गत मञ्चन गरिएको” भनेका छन् । उनका अनुसार, माओवादीविरुद्ध सेना परिचालन गर्न तयार नभएकोले “राजा वीरेन्द्रको सपरिवार कत्लेआम” गरिएको हो । प्रचण्डले अहिलेको अवस्थामा सम्पूर्ण देशभक्त नेपालीहरूको प्रतिनिधित्व गर्ने अन्तरिम सरकारले मात्र राष्ट्रिय एकताको रक्षा गर्न र देशलाई प्रगतिको दिशामा डो¥याउन सक्ने कुरामा जोड दिएका छन् ।