१-१५ असार २०५८ | 15-29 June 2001

थाहा पाउनु हाम्रो अधिकार

Share:
  

हामी अहिले गहिरो दुःखमा रहनुका साथै अझ्ै १९ जेठ, शुक्रबारको त्यो रात राजदरबारमा के भएको थियो भन्नेबारे अन्यौलमा छौँ । अहिलेसम्म हामीले टेलिभिजन र पत्रपत्रिकामा सैनिक अस्पतालमा उपचार गराइरहेका राजपरिवारका जीवित सदस्यहरूको एउटा पनि तस्बिर देख्न पाएका छैनौँ । किन ? यसअघि कैयौँ राजनीतिज्ञ, कलाकार र पर्वतारोहीहरू (गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, नारायण गोपाल आदि) बिरामी हुँदा उनीहरूको अवस्थाको जानकारी तत्काल रेडियो र टेलिभिजन मार्फत प्रसारण गर्ने गरिन्थ्यो । तर किन नयाँ राजा, उनका ज्वाईं, काका र राजपरिवारका अन्य सदस्यहरूको अवस्था थाहा पाउनबाट चाहिँ हामी वञ्चित गरियौँ ? के यो रहस्यमय छैन ? सरकारले किन नयाँ राजा र राजपरिवारका सदस्यलाई टिभीमा देखाउन सकेन ? शाही नेपाली सेनाले किन पत्रकारहरूलाई सैनिक अस्पतालको गेटमै रोक्यो ? र, राजदरबारले पनि किन हाम्रा प्यारा राजा र राजपरिवारलाई देखाएन ? एउटा प्रजातान्त्रिक मुलुकमा जनताको हैसियतले यी कुराहरू थाहा पाउनु हाम्रो अधिकार हो ।

रञ्जनकुमार दाहाल उपप्राध्यापक, त्रिविवि २१ जेठ २०५८


अब कति गर्ने बन्द

‘बन्दलाई बिदा’ (१६–३२ जेठ) पढेपछि नेताहरूको बन्द मोहप्रति वितृष्णा जाग्यो । जबर्जस्ती लादिएको बहत्तर घण्टे कफ्र्यूबाट बल्ल मुक्ति पाए जनताले । कुनै उपलब्धि नभएको यो बन्दको बेला प्रहरीको डर थिएन । डर थियो त उच्छृङ्खल जमातको, जसले बालक, बिरामी, महिला कोही भनेन । हिजोआज बन्द र आन्दोलन जनताका लागि नभई राजनैतिक पार्टीहरूको स्वार्थपूर्ति गर्ने कार्यक्रम मात्र हुने गरेका छन् । त्यसैले यसपालि जनताले बन्दको स्वतस्फूर्त प्रतिकार पनि गरे । यो कुरालाई एमाले नेतृत्वले ठण्डा दिमागले लिनु जरुरी छ । अब उप्रान्त गरिने बन्दमा जनता सडकमा उत्रे भने त्यो भ्रष्ट तथा अवसरवादी नेताहरूको विरोधमा हुनेछ ।

सुधीर ‘ख्ववि’ ललितपुर


जनताको समर्थन हामीसँग छ भनेर देखाउन र दवाव दिन १४–१६ जेठमा तीन दिनको ‘कडा बन्द’ घोषणा गर्नु परेको बताउने के.पी.ओली र औषधि धेरै खायो भने अजीर्ण हुन्छ, रोग निको हुँदैन भन्ने माधव नेपालका अभिव्यक्ति आ–आफ्नै ठाउँमा होलान् । तर हामी जनता भने राजनीतिक स्वार्थमा थोपरिने नेपाल बन्दबाट वाक्कै भइसकेका छौँ । कसरी तह लाउने होला यी बन्दका आयोजकहरूलाई ?

“ठूल्दाइ”, चक्रतीर्थ–७, लमजुङ


ठूलालाई जब ऐन, अनि सानालाई चैन

‘अख्तियारको आँखा’ (१–१५ जेठ) चित्त बुझदो थियो । पछाडि परिणाम जेजस्तो निस्किए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सूर्यनाथ उपाध्यायबाट आम नेपाली जनताले धेरै आशा राखेका छन् । सोझसाझलाई मात्र होइन ठूलालाई पनि कारावासको चिसो छिँडीमा कोचिनुपर्छ भन्ने कुरा अख्तियारले सकुञ्जेल प्रमाणित गरोस् ।

नारायणप्रसाद उपाध्याय ‘उपेक्षित’, अवलचिङ्ग–५, सुर्खेत


विद्रोह होइन, विचार मन्थन

‘नेपाल–बर्मा वेल्टमा विद्रोह’ (जेठ १–१५) जस्तो खोजपूर्ण रिपोर्ट प्रस्तुत गरेर हिमाल ले बिर्सिनसक्नु गुन लगाएको छ । पूर्वी हिमालयको काख र ब्रह्मपुत्र नदीको फाँट वरपर एकै समयमा एउटै प्रकृतिका सशस्त्र विद्रोहहरू फैलिनु आश्चर्यपूर्ण संयोग त छ नै, तर यस क्षेत्रको जातीय, धार्मिक, भाषिक एवं साँस्कृतिक विविधता र त्यसबाट उत्पन्न हुने अन्तर्विरोधलाई कुशलतापूर्वक संयोजन गर्न नसक्ने सरकार तथा राजनैतिक शक्ति पनि यसमा जिम्मेवार छन् जस्तो लाग्दछ । यो साँघुरो क्षेत्रमा आफ्ना भनाइ र आग्रह पूरा गर्न सशस्त्र विद्रोह गर्ने एक प्रकारको परम्परा नै बसेको छ । तर त्यस्ता विद्रोहबाट सामाजिक, आर्थिक र राजनैतिक परिवर्तन भएको एउटै उदाहरण भेटिँदैन । नेपाल–बर्मा वेल्टका सशस्त्र विद्रोहका असफलता र पलायनले आमूल परिवर्तन र पृथक् राष्ट्रिय अस्तित्वको लागि सशस्त्र विद्रोह होइन राजनैतिक जागरण र विचार मन्थनको आवश्यकता पर्दोरहेछ भन्ने कुरा पनि प्रस्ट पारेको छ ।

*खगेन्द्र गिरी ‘कोपिला’ छिञ्चु, सुर्खेत *


गाथा भ्रष्टाचारको

भ्रष्टाचारको जगमा ठडिएको नेपाल आयल निगम भित्र ढुवानीमा हुने भ्रष्टाचारबारे खोजपूर्ण लेखले (१–१५ जेठ) धेरै तथ्य खुलाइदिएकोमा धन्यवाद । राजनैतिक र सरकारी संरक्षण पाएका यसका उच्चपदस्थ कर्मचारीहरूले आफ्ना संरक्षकहरूलाई कमिसनको ठूलो थैली भेटी चढाउने हुनाले नै भ्रष्टहरूको मनोबल बढ्दै गएको हो । ढुवानीमा त यस्तो छ भने खरीद र आपूर्तिमा अझ् कस्तो हुँदो हो, कल्पना गर्नै सकिँदैन ।

सुब्रत स्वार, सुयश स्वार पो.ब.नं.५०३, काठमाडौँ


पेट्रोलियम ढुवानीमा भ्रष्टाचार पढ्दा दुःख लाग्नु स्वाभाविक हो । तेल ढुवानीमा मात्र दश करोडको भ्रष्टाचार भएको स्पष्ट देखिएकोले आउँदा दिनहरूमा नेपाल आयल निगमलाई नियन्त्रण गर्न सम्बन्धित निकायले ठोस एवम् कडा कदम चाल्नुपर्छ । वार्षिक ४० करोडभन्दा बढीको ढुवानीमा निगमले बिना टेण्डर रेट तोकेर दुईतर्फी भाडा भुक्तानी गर्ने गरेको देख्दा झ्न् अनौठो लागेको छ । अनलोड गरेर खाली फर्कनु पर्छ भन्ने तर्क दिएर यसरी दोहोरो भाडा भुक्तान गरिनु तर्कसङ्गत हुन सक्दैन । उदाहरणका लागि वीरगञ्जबाट काठमाडौँ सामान ल्याएर पुनः वीरगञ्ज फर्किने ट्रकले दोहोरो भाडा लिँदैनन् । टेण्डर भएमा कार्टेलिङ हुने नेपाल आयल निगमको कुरा लँगडो तर्क हो । खुला टेण्डर गर्ने हो भने ट्याङ्कर व्यवसायीहरूको प्रतिस्पर्धा बढ्ने छ र वर्तमान भाडादरमा करीब २५ प्रतिशतभन्दा बढीले कमी आउने छ । यसो भएमा पटकपटक हुने मूल्यवृद्धिको मारबाट नेपाली जनता बच्नेछन् ।

*शोभित उप्रेती, काठमाडौँ *


**विकल्प के ?* ‘धमाधम स्कूल बन्द भएपछि’ (१–१५ जेठ) मा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष देवेन्द्र पराजुलीले बोर्डिङहरू बन्द गर्नुपर्ने आशय व्यक्त गर्नुभएको रहेछ । शिक्षामा व्यापारीकरण हुनुहँुदैन भन्ने कुरामा दुईमत हुन सक्दैन । गुणस्तरहीन, अनुत्पादक र पुरानो पद्धतिबाट चल्दै आएकोले शिक्षामा निजी क्षेत्रको अस्तित्व देखा परेको हो । तर प्राइभेट स्कूल बन्द गरेपछि उब्जिने समस्याको विकल्पबारे केही नसोची यसो गरेर क्रान्तिकारीहरू समस्याप्रति गम्भीर भएको देखिएन ।

विज्ञान गौतम, अर्चलबोट, पोखरा


भ्रष्ट स्कूलमाथि भौतिक कार्वाही गर्ने अनेरास्ववियू (क्रान्तिकारी)ले चालेको कदम ९५ प्रतिशत जायज छ । शिक्षा व्यापारमा परिणत हुँदैछ । शिक्षालाई व्यापारीकरण नगर्न निजी स्कूल÷कलेजमा गरीबका छोराछोरीले पनि पढ्न पाउनुपर्छ । जसका लागि मासिक ५० प्रतिशत शुल्क छुट हुनैपर्छ । किनभने देशको असल र शिक्षित नागरिक बन्ने अधिकार एउटा श्रमिकको छोराछोरीलाई पनि हुन्छ ।

शेखर चाम्लिङ राई, खोटाङ


खै, समवेदना सरकारको ?

‘किन यो नेपालीलाई जापानी जेल ?’ (१–१५ जेठ) पढेपछि न्यायालयबाट सफाइ पाइसकेका नेपाली नागरिक गोविन्द मैनालीबारे नेपालको सरकार मौन रहेकोमा आश्चर्य लाग्यो । सरकारले यस्ता कुरामा चासो राख्ने बेला कहिले आउला ?

शिशिर सिंखडा शहीदस्मृति बहुमुखी क्याम्पस, चितवन तारा वान्तवा सावा–५, दावाछा, खोटाङ


उर्वशी २०१७ सालमा

सिद्धिचरण स्मृति विशेषमा प्रकाशित ‘लामो श्रृङ्खलाको एक छेउ’ (१–१५ जेठ) राम्रो लाग्यो । हिमाल ले साहित्य र साहित्यकारलाई प्रकाशमा ल्याउनु उल्लेख्य कुरो हो । त्यसमा कमल दीक्षितले “बल्ल २०३२ सालमा उनको सानो काव्य ‘उर्वशी’ साझ प्रकाशनले निकालिदियो” भनी लेख्नुभएको रहेछ तर त्यो काव्य २०१७ सालमै प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भएको हो । ‘उर्वशी’ हिन्दुस्तान प्रेस, चाँदनी चोक, दिल्लीमा छापिएको थियो ।

कृष्णप्रसाद पराजुली सुनगाभा बस्ती, काठमाडौँ


यूगकविका बारेमा प्रस्तुत कमल दीक्षितको अभिव्यक्ति निकै मन प¥यो । छोटै लेखमा पनि प्रशस्त जानकारी दिएका छन् उनले । नेपालका साहित्यिक व्यक्तित्वका बारे यस्तै खाले मीठो प्रस्तुति फेरि फेरि पनि पढ्न पाइयोस् ।

बद्री (शर्मा) शिवाकोटी, एड्भान्स इङ्गलिस बोर्डिङ स्कूल, हाँडीगाउँ


लाखौँ लुट्ने लुटेरा

‘वैदेशिक रोजगारी ठगहरूको कब्जामा’ (१६–३० वैशाख) पढेपछि रोजगारको प्रलोभन देखाएर लाखौँ लुट्ने लुटेराहरूलाई कानूनको अभाव वा अन्य बहानामा सम्बन्धित निकायले कार्यवाही नगरी छाडिदिने गरेको तथ्य छर्लङ्ग भयो । सरकारले कि त नेपालमा नै कुनै रोजगार दिने वातावरण बनाओस्, नभए हजारौँलाई कङ्गाल बनाएर एकाध अरबपति हुने कामलाई सशक्त रूपले नियन्त्रण गरोस् । ठगी नियन्त्रण नगर्ने र ठगहरू समातिँदा पनि कारवाही नहुने हो भने पीडित पक्ष झ्न् पीडित हुने र ठगहरूको मनोबल झ्न् बढ्ने भैहाल्यो नि !

नेत्र कुमार नेपाल हालः हेटौँडा


अर्थहीन भिडन्त

‘एमाले अब कता’ (१६–३० वैशाख) का केही कुरा मर्मस्पर्शी र यथार्थ लागे । सत्तासीन काङ्ग्रेसलाई एमालेले पदच्यूत गर्न नसकेपछि सडकमा उत्रनु र सदनमा अवरोध खडा गर्नुको के अर्थ रह्यो र ? एमालेले आफ्ना विरोध कार्यक्रमहरूलाई संयमित र रचनात्मक बनाउन जोड दिनुपर्छ । प्रमुख प्रजातान्त्रिक पार्टीहरूले सत्ताको लडाइँ लडिरहनुभन्दा देशको वर्तमान अवस्थालाई मूल्याङ्कन गर्दै समस्याको निकासका लागि अग्रसर हुनु नै समयानुकूल कदम हुनेछ ।

सुमन पँगेनी मदनपोखरा–५, पाल्पा


नाटकप्रेमी उत्साहित

‘छायो रौनक रङ्गमञ्चमा’ (१–१५ वैशाख) पढेपछि हामी राजधानी बाहिरका नाटकप्रेमी दर्शकहरूलाई समेत उत्साह जागेको छ । त्यसै त सेलाउँदै आइरहेको रङ्गकर्म पुनः बौरिएको देख्दा नाटकप्रेमीहरूमा उत्साह सञ्चार हुनु अनौठो कुरा होइन । त्यो उत्साह नाटककर्मीहरूमा पनि निरन्तर रहिरहोस् । अनि पो मर्दैन ‘थिएटर’ को इतिहास हाम्रो समाजमा ।

अर्जुन निर्दोष गिरी उरहरी– २, कचिला, दाङ्ग


‘अनर्थ शिक्षा’

अनर्थ शिक्षा (१६–३० चैत २०५७) समयसापेक्ष लाग्यो । शिक्षामाथिको त्यत्रो लगानीको प्रतिफल न्यून वा उदासलाग्दो हुनुमा धेरै कुराहरू जिम्मेवार छन् । त्यसैले हामीले बेलैमा सचेतता अपनाउनु जरुरी छ । बच्चाहरू भनेका भोलिका हाम्रा भविष्यहरू हुन्, जसको आसमा हामी बाँचेका छौँ । हामी सबै मिलेर अगाडि बढेमा हाम्रो सुन्दर भविष्य सुनिश्चित हुनेछ । तर भ्रष्टाचार र लुछातानीमै कुहिरो भित्रको काग भयौँ भने भोलिका सन्ततिले हामीलाई धिक्कार्ने छन् । दीपेश राई, इलाम–८

comments powered by Disqus

रमझम