१-१५ असार २०५८ | 15-29 June 2001

निरीह देखिए नेपाली मिडिया

Share:
  
- मुकुल हुमागाइँ

मीन बज्राचार्य
स्वदेशी–विदेशी पत्रकारहरूलाई हत्याकाण्डबारे जानकारी दिँदै प्रत्यक्षदर्शी राजीबराज शाही ।

राजदरबार हत्याकाण्डको भोलिपल्टैदेखि काठमाडौँमा विदेशी मिडियाको अभूतपूर्व भीड देखियो । छापा र प्रसारणका दुई सय भन्दा बढी सम्वाददाताहरू नेपालमा आएको अनुमान गरियो, तर कतै दर्ता हुनु नपर्ने छुटले गर्दा यकीन सङख्या कसैलाई थाहा भएन । सरकारी सञ्चार संयन्त्र ठप्प रहँदा धेरै नेपालीका लागि समाचारको स्रोत यिनैे बने । १९ जेठ राति राजदरबारमा भएको घटनाका बारेमा आम नेपालीले स्वदेशी सञ्चार–माध्यमहरूबाट या त केही थाहा पाएनन् या निकै ढिलो थाहा पाए । रेडियो नेपाल र नेपाल टेलिभिजनले घटनाको भोलिपल्ट बिहानको नियमित समाचार नै प्रसारण गरेनन् । दुवैमा दिउँसो सवा एक बजेपछि मात्रै समाचार आयो, त्यो पनि एकदम औपचारिक र अपूरो । भूउपग्रहमार्फत् प्रसारण गर्ने तयारी गरिरहेको नेपाल टेलिभिजनले राजा वीरेन्द्रको शवयात्राको प्रत्यक्ष प्रसारण समेत गर्न सकेन । रेडियो नेपालले समाचार नदिँदा अरू माध्यमको पहुँच नभएका गाउँघरमा पूरै अन्यौल छायो । जनता झ्न् निराश भए जब निजी सञ्चारमाध्यमले पनि त्यति जानकारी दिन सकेनन् ।

हत्याकाण्डको अनुसन्धान र विश्लेषण गर्ने दायित्वबाट दैनिक अखबारहरू अविश्वसनीय ढङ्गबाट पन्छिए । राजदरबारको विभत्स हत्याकाण्डबारे प्रायः सबै दैनिकले विवरणात्मक समाचार मात्र दिए । अहिले पनि प्रमुख अखबारहरूमा समाचार र विश्लेषणभन्दा शोक विज्ञापनहरू बढी छापिइरहेका छन् । राजदरबारभित्रका सूचनाहरू सजिलै नआउँदा समाचार दिन नजानेको या राजपरिवारको मामिलाप्रतिको अज्ञात डरले समाचार दिन नचाहेको जस्तो देखियो दैनिक अखबारहरूमा । यी घटनाले नेपाली मिडियाको दरबार र सेनाका विभिन्न तहमा पहुँच नभएको स्पष्ट पा¥यो । ‘स्वतन्त्र’ र निजी एफ्एम् स्टेशनहरू पनि यस मामिलामा रेडियो नेपालभन्दा फरक देखिएनन् । कतिले त अझ् रेडियो नेपाललाई नै आफ्नो फ्रिक्वेन्सीमा जोडेर शोक धुन मात्रै बजाइराखे । सूचना प्रवाहको कमीलाई धेरैहदसम्म पूरा गर्ने प्रयास गरे, भविष्यविहीन भनिएका साप्ताहिक पत्रिकाहरूले । दृष्टि, जनआस्था, बुधबार, देशान्तर, विमर्श र घटना र विचार जस्ता पत्रिकाहरूले राजदरबारको समाचार प्रकाशमा ल्याउन प्रशंसनीय प्रयास गरे । समयमै सूचना दिने पत्रकारिताको धर्म र कर्तव्यलाई निर्वाह गर्ने प्रयत्न नेपालन्यूज, न्यूजलूकम्याग, नेपालहोमपेज जस्ता नेपाली वेबसाइटहरूले पनि गरे । यो घटनाको पहिलो समाचार नेपालन्यूज ले दिएको थियो ।

विश्व इतिहासमै कहीँ नभएको यस किसिमको विभत्स हत्याकाण्डका बारेमा स्वदेशी भन्दा विदेशी मिडियाबाटै बढी सूचना प्रवाह भयो । अरु मुलुकबाहेक भारतको दिल्लीबाट पनि त्यहाँको प्रचण्ड गर्मी छलेर सन्सनीपूर्ण समाचार सङ्कलन गर्न आएका विदेशी मिडियाका सम्वाददाताहरूमा नेपालसम्बन्धी पर्याप्त ज्ञान नहुनाले राजदरबार जस्तो विषयमा उनीहरूले सम्वेदनशील भएर समाचार दिन सकेनन् । ‘सेन्सेसनल न्यूज’ भएका कारण विदेशी सञ्चारकर्मीहरूमा तात्तातो समाचार पठाउने होडबाजी मात्र देखिन्थ्यो । भारतबाट प्रकाशित हुने दैनिक अखबारहरूमा भारतीय विदेश सेवाका पूर्व अधिकारीको हवाला दिँदै सार्वजनिक रूपमा धेरै नचिनिएका वर्तमान राजा ज्ञानेन्द्रलाई भारतविरोधी भनी चित्रित गर्ने प्रयास गरियो । २२ जेठको हिन्दुस्तान टाइम्स ले नेपालका वर्तमान राजाले केही वर्ष अघिसम्म पाकिस्तानसँग निकटता राख्ने तत्वहरूलाई संरक्षण दिएको कुरा छापेको थियो । भारतीय प्रधानमन्त्री अटलविहारी वाजपेयीले आफ्नो देशका सञ्चार माध्यमहरूलाई नेपालका विषयमा समाचार सम्प्रेषण गर्दा सम्वेदनशील हुन आग्रहसमेत गर्नु परेको थियो ।

सदाझ्ैँ यसपालि पनि पाकिस्तानी गुप्तचर संस्था ‘आईएसआई’को भूतले भारतीय मिडियालाई छाडेन । आफैँले नलेखे पनि शिवसेना नेता बाल ठाकरे जस्ताको बयान देखियो भारतीय दैनिकहरूमा, जसमा ठाकरेले राजदरबारको घटना आईएसआई र पाकिस्तान समर्थित आतङ्कवादीहरूले गराएको बताएका थिए । त्यसको ठीक उल्टो, पाकिस्तानको उर्दू अखबार जंग ले यस घटनाका पछाडि भारतीय गुप्तचर संस्था ‘र’ को हात देखेको थियो । भारतीय टीभी न्यूज च्यानलहरूले नेपाललाई आफ्नो बजारको रूपमा हेर्न थालेको यसपाली अरू प्रस्ट भयो । जस्तो कि, स्टार न्यूज का श्रीनिवास जैन भन्छन्, “नेपालमा स्याटलाइट टेलिभिजनको ठूलो बजार रहेछ ।” स्टार न्यूज ले जेठको अन्तिम साता द बीग फाइट, वी द पिपल, रियलिटी वाइट्स जस्ता कार्यक्रममा नेपालमा उत्पन्न नयाँ समस्या र त्यसले भारतलाई पार्ने प्रभावका बारेमा छलफल चलाइएको थियो । भारतीय न्यूज च्यानलहरूले नेपालसम्बन्धी समाचार प्रसारणमा प्रायजसो गरिरहने तथ्यगत गल्ती यसपालि पनि प्रशस्त गरे । जी न्यूज ले पटकपटक वीरेन्द्र र धीरेन्द्रलाई एकै व्यक्तिको रूपमा चिनाएको थियो । जी न्यूज कै इनसाइड स्टोरी मा राजदरबार भनेर घरिघरि सिंहदरबारको भिडियो चित्र देखाइएको थियो । “यस्ता नाजुक घटनाको रिपोर्टिङ गर्दा पूर्ण तयारीका साथ काम गर्न सकिँदैन र नजानेर गल्ती हुन्छ,” स्टार न्यूज की बर्खा दत्त स्वीकार्छिन् । तर मिडिया विश्लेषक प्रत्युष वन्त भन्छन्, “भारतीय न्यूज च्यानलहरूमा चौबीसै घण्टा प्रसारण गर्नुपर्ने बाध्यता अनुरुपको सामाजिक र प्राज्ञिक ज्ञान वृद्धि भएको देखिएन ।”

अरू मुलुकका मिडियाले पनि कैयौँ कुरा नबुझ्किनै लेखेका थिए । न्यूयोर्क टाइम्सका वेरी वेराकले ज्ञानेन्द्रको राज्यारोहणको बेला मोहर चढाएको कुरालाई नयाँ राजाको ‘पब्लिक रिलेसन’ पुगेन भनेर खिसी उडाएका थिए । नेपालबारे कमै लेख्ने बोल्ने रुसी मिडियाले पनि यो घटनाको सेरोफेरोमा समाचार र विश्लेषण छापे । धधध।खभकतष्।चग वेबसाइटमा देवयानी राणालाई ‘भारतीय एजेण्ट’का रूपमा चित्रित गर्दै उनले नै उकासेर दीपेन्द्रले यो सबै गरेका हुन् भन्नेसम्म लेखिएको थियो । राजदरबार हत्याकाण्डको मिडिया कभरेज सुस्ताउन लाग्दा त्यही प्रसङ्गसँग जोडेर गरिएको कान्तिपुर का सम्पादक र व्यवस्थापकद्वयको गिरफ्तारीले पनि निकै स्थान पायो । बीबीसी रेडियो लगायत भारतका प्रमुख पत्रिकाहरूमा काम गरेका पत्रकार घिमिरेको गिरफ्तारीलाई विदेशी सञ्चार माध्यमले नेपालमा प्रेसमाथिको दमनका रूपमा चित्रण गरेका थिए ।

comments powered by Disqus

रमझम