१-१५ असार २०५८ | 15-29 June 2001

पहिलो प्रतिबद्धता: प्रजातन्त्रप्रति

Share:
  
- शिव गाउँले

मीन बज्रााचार्य

“प्यारा देशवासीहरू, विक्रम सम्वत २०५८ साल जेठ १९ गते शुक्रबार राति नारायणहिटी राजदरबारमा पारिवारिक जमघटमा भएको अप्रत्याशित घटनामा श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव गम्भीर रूपमा अशक्त होइबक्सी श्री ५ वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारार्थ रहिबक्सेकोमा चिकित्सकहरूबाट अथक प्रयत्न हुँदाहुँदै आज विक्रम सम्वत २०५८ साल जेठ २२ गते सोमबार बिहान ३ बजेर ४५ मिनेट जाँदा मौसुफ हामी सबैलाई छोडेर स्वर्गारोहण होइबक्सेको कुरा देशवासीलाई सुनाउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ । नश्वर शरीर लिएर जन्मेपछि देहत्याग गर्नुपर्ने यो प्राकृतिक नियम ध्रुवसत्य भए पनि युवा श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेव समय नपुग्दै स्वर्गारोहण होइबक्सेला भन्ने हामीले नचिताएको कुरा हामीमाथि आइप¥यो । यसको केही दिनपूर्व मात्र हामीबाट प्रजावत्सल विकासप्रेमी श्रद्धेय दाज्यू श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव तथा देशका सम्पूर्ण नारीहरूको हित चाहिबक्सने समाज कल्याणमा समर्पित ममतामयी सहृदयी भाउजू श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाहको वियोग सहनु प¥यो । देशमा उत्पन्न भएका यी असह्य शोकको घडीमा हामी सबै नेपालीहरू मर्माहत भएका छौँ । हाम्रो मुलुकमाथि एकपछि अर्को गरी आइपरेका दुःखदायी परिस्थितिहरूलाई हामी सबै नेपालीले सहँदै धैर्यपूर्वक आ–आफ्नो कर्तव्य र दायित्वलाई वहन गर्नुपर्ने बेला आएको छ । नेपालको इतिहासमा आइपरेको यस अकल्पनीय अवस्थाको अनुचित फाइदा लिई हाम्रो राष्ट्रिय एकता, स्वतन्त्रता र राष्ट्रियतालाई समेत कमजोर पार्ने प्रयास हुनसक्ने भएकोले हामी सबै नेपाली सचेत हुँदै एकजुट हुनुपरेको छ । कस्तै विपत्ति आइपर्दा पनि नहडबडाई सामना गर्न एक हुने हामी नेपालीको परम्परा कायमै राख्नु आजको आवश्यकता भएको छ ।

लोकसम्मति र जन आकांक्षाको कदर गरी राज्य सञ्चालन गर्ने शाहवंशजको परम्परा रहिआएको छ । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको निष्ठापूर्ण अभ्यासद्वारा नेपाली जनतालाई समुन्नत भविष्यतिर उन्मुख गराइबक्सने श्रद्धेय दाज्यू स्वर्गबासी श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहको सदिच्छा हामी सबैको लागि सधैँको लागि प्रेरणादायी रहनेछ । नेपालको राष्ट्रिय हितमा मौसुफबाट दुवै छिमेकी मुलुकहरूसँग सुदृढ तुल्याइबक्सेको घनिष्ठ सम्बन्ध तथा विश्व समुदायमा हुर्काई बक्सेको नेपालको सम्मानपूर्ण छविलाई पनि हामी सबैले सधैँ अक्षुण्ण राख्नु पर्दछ । हाम्रो यस प्रतिबद्धतालाई मूर्तरुप दिन सबैबाट सहयोग मिल्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । श्री ५ महाराजाधिराजको रूपमा हाम्रो काँधमाथि आइपरेको अभिभारा सम्हाल्दै आज यसै घोषणाद्वारा हाम्रा महारानी कोमल राज्यलक्ष्मीदेवी शाहलाई श्री ५ बडामहारानी घोषित गरिबक्सेका छौँ । हामीबाट आज बिहान देशवासीका नाममा बक्सेको सन्देशमा हुकुम बक्से बमोजिम राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्च स्तरीय समिति गठन गरिबक्सेका छौँ । उक्त समितिमा सभामुख तारानाथ रानाभाट तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता माधवकुमार नेपाललाई सदस्य तोकिबक्सेका छौँ । यस समितिलाई तीन दिनभित्र प्रतिवेदन जाहेर गर्न निर्देशन पनि बक्सेका छौँ । समितिले प्रतिवेदन जाहेर गरेपछि सत्यतथ्य देशवासीलाई जानकारी गराउने नै छौँ । स्वर्गबासी श्री ५ महाराजाधिराज दीपेन्द्र वीर विक्रम शाहको दिवङ्गत आत्माको चिरशान्तिको लागि श्री परमेश्वरसँग प्रार्थना गरौँ । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ।”


श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह २२ जेठ २०५८ को बिहान ११ बजेदेखि नेपालको राजा होइबक्स्यो । त्यही दिनको राति नौ बजे मौसुफबाट माथिको शाही घोषणा भयो । यही घोषणामार्फत संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रप्रति स्पष्ट प्रतिबद्धता व्यक्त भएपछि देशका प्रमुख राजनीतिक दल र मित्रराष्ट्रहरूले मौसुफलाई नेपाल अधिराज्यको श्री ५ महाराजाधिराजका रूपमा बधाई सन्देश मार्फत मान्यता प्रदान गरे । सर्वप्रथम २३ जेठमा नेपाली काङ्ग्रेसले नयाँ राजालाई शुभकामना र बधाई दिँदै ”बहुदलीय संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र माथि मौसुफबाट पहिलो शाही घोषणामा प्रकट भएको गहिरो निष्ठा र प्रतिबद्धताको हार्दिक सराहना र गहिरो विश्वास व्यक्त गरेको” थियो । दुई दिन पहिले राज्यसहायकको रूपमा श्री ५ ज्ञानेन्द्रबाट देशवासीका नाममा दिइएको सन्देशमा बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रका बारेमा एक शब्द पनि नपरेको भनेर टीकाटिप्पणी भएको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि काङ्ग्रेसकै आशयसँग मिल्दो वक्तव्य निकालेर श्री ५ ज्ञानेन्द्रले राज्यारोहण गरेकोमा बधाई ज्ञापन गर्दै “मौसुफको कार्यकालमा नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई संरक्षण तथा सुदृढ गर्न, संविधान, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई परिपालना र सुदृढ गर्न एवं सम्पूर्ण नेपाली जनतालाई प्रगति र समुन्नतिको बाटोमा अझ् अगाडि बढाउन थप योगदान पुग्ने विश्वास” व्यक्त ग¥यो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सदभावना पार्टी, नेकपा मालेलगायतका दलहरूले पनि राज्यारोहण भएकोमा श्री ५ ज्ञानेन्द्रलाई तत्काल बधाई दिँदै संविधान र प्रजातन्त्रको परिपालनामा जोड दिए ।

राज्यारोहण पछि वर्तमान श्री ५ महा–राजाधिराजका अगाडि नयाँ इतिहास निर्माण गर्ने अवसर र चुनौती दुवै आइपरेको छ । बहुदलीय शासनव्यवस्थाका ११ वर्षमा श्री ५ वीरेन्द्रको भद्र व्यक्तित्व र सधैँ पछाडि बसेर शासन गर्ने शैलीले जुन लोकप्रियता हासिल गरेको छ त्यसलाई कायम राख्न सक्नु श्री ५ ज्ञानेन्द्रको निम्ति अवसर र चुनौती दुवै भएको छ । २०४६ सालमा आन्दोलन–कारीहरू दरबारतिर होमिएपछि एकखालको अप्रिय वातावरणमा परिवर्तन स्वीकार गरेर वर्तमान व्यवस्था दिन तयार हुने श्री ५ वीरेन्द्रको त्यो कदम पछि नेपालमा राजतन्त्र झ्न् लोकप्रिय भयो, कमजोर भएन । ‘विश्व मानचित्रबाट एउटा अर्को राजतन्त्रको नक्सा मेट्ने’ घोषणा गरेर ६ वर्षदेखि हिंसात्मक विद्रोहमा संलग्न माओवादी आन्दोलन विरुद्ध सेना परिचालन गर्न निरन्तर दवाव हुँदा पनि स्व. श्री ५ वीरेन्द्रले राम्रै समय लिएर त्यसमा पनि आफू पछाडि बसेर सुरक्षापरिषद मार्फत परिचालनको स्वीकृति दिइबक्सेको थियो । वर्तमान महाराजाधिराजको निकटमा रहेर काम गरेकाहरू मौसुफले आफूमा त्यस्तो गुण विकसित गर्नुपर्ने खाँचो देख्छन् । बहुदलीय व्यवस्थाको यो छोटो इतिहासमा पनि राज्य सञ्चालनमा थुप्रै खालका नजिरहरू स्थापित भएका छन् । कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सँगै दरबारको अधिकारक्षेत्रबारे पनि एक खालको मान्यता स्थापित भइसकेको छ । यो अवधिमा प्रधानमन्त्री र राजाका अधिकारक्षेत्रका केही लक्ष्मणरेखाहरू राम्ररी कोरिएका छन् । तिनको इमानदारीपूर्वक पालनाले मात्र पनि राजा र सरकार, पार्टी एवं जनताबीचको सम्बन्धलाई सन्तुलित राख्न सकिन्छ । स्व. श्री ५ वीरेन्द्रद्वारा आर्जित उच्च सामाजिक प्रतिष्ठा र निष्ठावान छवि कै उँचाइमा आफू र आफ्ना उत्तराधिकारीलाई पु¥याउनुपर्ने चुनौती वर्तमान श्री ५ ज्ञानेन्द्रका सामु उपस्थित छ ।

यसअघि पटकपटक राज्यसहायकको रूपमा मुलुकको शासन सञ्चालनमा सहभागी भए पनि एउटा अस्वाभाविक घटनापछि राजा हुनु परेका कारण श्री ५ ज्ञानेन्द्रले भावी राजाका रूपमा बेलैदेखि लिनुपर्ने चासो र औपचारिक रूपमा राजपाटमा भाग लिने अवसर नपाउनु स्वाभाविक थियो । तर पनि आधुनिक शिक्षा हासिल गरेर समकालीन विश्वमा राजतन्त्रको स्थान र भूमिका राम्ररी बुझ्ेका श्री ५ ज्ञानेन्द्रलाई आधुनिक राजतन्त्रलाई कसरी अगाडि बढाउनु पर्छ भन्ने प्रश्नले द्विविधामा नपार्ला । भावी उत्तराधिकारी पारस विक्रम शाहको समाजमा स्थापित नकारात्मक छविलाई सकारात्मक र स्वाभाविक बनाउन अहिलेदेखिनै ध्यान पु¥याउनुपर्ने बाध्यता छ । नेपालीहरू भावी राजालाई पनि कति श्रद्धा गर्दा रहेछन् भन्ने उदाहरण स्व. श्री ५ दीपेन्द्रप्रति देखिएको आकर्षण नै एक हदसम्म काफी छ । आजसम्मको व्यापारिक संलग्नतालाई श्री ५ ज्ञानेन्द्रले पारदर्शी ढङ्गमा बिसाउनु पर्नेछ । राजाले व्यापार नगरेर मात्र पुग्दैन जनतालाई त्यसको विश्वास पनि दिलाउनु पर्छ । अहिलेसम्म माओवादी बाहेक सबै पक्षले राजाको रूपमा श्री ५ ज्ञानेन्द्रलाई सहयोग गर्ने वचन दिएका छन् । मौसुफ र राजतन्त्रवादी आम नेपालीहरूको निम्ति समेत यो एउटा सुखद कुरा हो । 

comments powered by Disqus

रमझम