२९ बैशाख २०७० | 12 May 2013

सदाबहार साडी

Share:
  

नेपाली महिलाले पारिवारिक जमघट, विवाह तथा चाडपर्वमा सबभन्दा बढी लगाउने पहिरनमा पर्छ– साडी। अधबैंसे र वृद्धाहरूका लागि साडी महत्वपूर्ण छ नै नयाँ पुस्ताका युवतीहरूमा पनि कम आकर्षण छैन, साडीको। त्यसैले, जिन्सको प्रयोग जति बढे पनि राजधानी लगायत देशका ठूला शहरबजारमा साडीको कारोबार घटेको छैन।

हालै सम्पन्न मिस नेपाल २०१३ की वेष्ट स्माइल रिजु श्रेष्ठ (२३) सँग रु.४ हजारदेखि रु.८ हजारसम्मका आठ वटा साडी कलेक्सन छ। ललितपुरकी रिजु बिहे जस्ता जमघटमा 'एलिगेन्सी' को लागि साडी लगाउने बताउँछिन्। रिजु जस्ता आधुनिक नेपाली युवतीहरू कलरफुल साडी मनपराउँछन्। “साडी भनेपछि स्टाइलिष्ट र स्टोन जडिएका पनि हुनुपर्छ”, रिजु भन्छिन्। ललितपुरको जावलाखेलस्थित गुलमोर बुटिककी रज्जु तण्डुकारले अहिलेका युवतीले टप्समा कालो र रातो बढी मन पराउने बताइन्।

रु.४ हजारदेखि रु.४० हजारसम्मका साडी पाइने गुलमोरमा ३०–४० वर्ष उमेर समूहका महिला बढी आउँछन्। तीमध्ये धेरैको ध्यान जापानिज बिटस्, चेकोस्लोभाकिया, सारा ओस्की जस्ता स्टोनजडित साडीहरूले तान्ने गरेको रज्जु बताउँछिन्। कुपण्डोलको तरुनिका क्रियसनकी डिजाइनर तरुनिका महतो भने भेल्भेट, फेब्रिक र ब्रुकेट साडीहरू धेरै चलेको बताउँछिन्।

राजा महाराजाका समयमा साडीमा सुनका तारले बोर्डर डिजाइन गरिन्थ्यो, अहिले नर्मल तारहरू प्रयोग गरिन्छ। तारजडित क्रिष्टल वक साडी धेरैजसो रात्रिकालीन पार्टीमा जानेहरूले प्रयोग गर्छन्। हीराको जस्तो चमक दिने यस्ता साडी महँगा पनि हुन्छन्। तर, गर्मीयाममा सामान्यतः फिक्का कलरका साडी बढी रुचाइने बताउने तरुनिकाको बुटिकमा रु.३ हजारदेखि ह्याण्ड वर्क गरिएका रु.१ लाखसम्म पर्ने साडीहरू उपलब्ध छन्।

शब्दः देवयानी सिवाकोटी,

तस्वीरः बिक्रम राई

तस्वीरमा मोडलले लगाएकोः स्टोन वक साडी रु.१६ हजार

comments powered by Disqus

रमझम