२९ बैशाख २०७० | 12 May 2013

गीतसंगीतमा सिण्डिकेट

Share:
  
- ऋषिराम कट्टेल
रेडियो–टिभीका कतिपय आरजे–भिजेहरू राम्रा गीतसंगीत र त्यसका अनुरागी श्रोता–दर्शकबीच पर्खाल बन्दा प्रतिभाहरू कुण्ठित भइरहेका छन्

गायक प्रल्हाद तिमल्सिना (हे. तस्वीर) जसले आफ्नो अल्बमका सबै गीतको म्युजिक भिडियो लाखौं खर्चेर विभिन्न टेलिभिजनका मिडियाकर्मीलाई बनाउन दिएकाले उनी मिडियामा छाएका छन्। एक भिडियो छायाङ्कनमा जीवन लुईंटेल र रिमा विश्वकर्मा।
खोटाङ, सप्तेश्वरका सन्तोष दुमीले तीन वटा एकल अल्बम र दर्जनौं फुटकर गीतमा स्वर–संगीत भरे। तर, एफएम र टेलिभिजनबाट ती गीत बजाउन चाहिं कसै गर्दा पनि नसकेको उनी सुनाउँछन्। “केही आरजे–भिजेको सेवा नगरेको हैन, तर सिर्जना सार्वजनिक गराउन पैसाले पुर्‍याउन सकिनँ”, सन्तोष भन्छन्।

सय गीतमा स्वर–संगीत दिएका सोलुखुम्बु नेचाका जसिहाङ राई नेपालमा सिर्जना मात्र राम्रो भएर नहुने बताउँछन्। आफूले सिर्जना गरेको गीतसंगीतलाई श्रोता/दर्शकसम्म पुर्‍याउन नसक्दा कुण्ठित भएर बस्नुपरेको उनले सुनाए। टेलिभिजनबाट म्युजिक भिडियो प्रसारणको त कुरै छाडौं, एफएममा गीत बजाउन समेत अल्बम निकाल्दा भन्दा बढी खर्च गर्नुपर्ने स्थिति रहेको जसिहाङ बताउँछन्। तामाङ सेलोमा कहलिएका तुल्सा वाइवा र इन्दिरा योञ्जनले पनि विना पैसा कलाकार हुन नसकिने अनुभव सुनाए।
सन्तोष, जसिहाङ, तुल्सा–इन्दिरा जस्ता निराश युवा संगीतकर्मीहरूको ठूलै समूह भेटिन्छ काठमाडौंमा, जो गुणस्तरको प्रतिस्पर्धा गरेर स्थापित हुने अवसरबाट बञ्चित छन्। गायक आनन्द कार्की प्रसारण संस्थामा कार्यरत मिडियाकर्मीले प्रतिभा जन्माउने चिन्तनभन्दा पैसा कमाउने 'दलाली' गर्दा यो स्थिति आएको बताउँछन् (हे.बक्स)। वरिष्ठ गीतकार यादव खरेल त यो क्षेत्रमा पैसावाललाई पाल्ने र प्रतिभालाई फाल्ने सिण्डिकेट नै हावी भएको बताउँछन्।

पैसाले डुबायो

हुन पनि, गीतसंगीतको सामान्य ज्ञान समेत नभएका र हरेक हिसाबले बेसुर लाग्नेहरूलाई 'स्टार' को रूपमा प्रस्तुत गरिन्छ। खरेलको पुस्तालाई समेत यस्तो प्रवृत्तिले प्रताडित पारेको छ। यस्तो प्रवृत्तिबाट वाक्क भएका खरेल आफ्ना गीत र म्युजिक भिडियोहरू सम्बन्धित संस्थाका मालिकलाई नै भनेर प्रसारण गर्न सक्ने भए पनि त्यसो गर्दैमा सबैका लागि सिण्डिकेट नहट्ने हुनाले वास्तै गर्न छाडेको बताउँछन्।

हिजोआज टिभी–रेडियोहरूमा गीतसंगीतको कार्यक्रम चलाउने मिडियाकर्मीहरू 'सुनलाई नुन र नुनलाई सुन' बनाउने उद्यममा लागेका संगीतकार विकास चौधरी बताउँछन्। गीतकार सूर्यकुमार क्षेत्रीका अनुसार, गीतलाई टिभी–एफएमको काउनडाउनमा राख्न समेत पैसाको बार्गेनिङ हुन्छ। “यस्ता मिडियाकर्मीहरूले विशेषगरी नयाँ गायक/संगीतकर्मीको प्रतिभाको हत्या नै गरिरहेका छन्”, संगीतकार चौधरी भन्छन्, “गीतसंगीतको अर्थै नबुझेकाहरू श्रोता र सर्जकलाई जोड्ने पुल बन्नु विडम्बना हो।”

वरिष्ठ गायक/संगीतकार फत्तेमान पैसाका लागि सुरताल बेगरका बेसुरहरूलाई 'हिट' भन्दै तारन्तार बजाउने प्रवृत्तिले नेपाली गीतसंगीतलाई नै डुबाउन लागेको बताउँछन्। नाम उल्लेख गर्न नचाहने अर्का एक संगीतकार पैसा हुनेहरूलाई रातारात 'कलाकार' बनाउने कर्मले मिडिया क्षेत्रकै बद्नाम गरिरहेको बताउँछन्। “अहिले ठूल्ठूला सरकारी अधिकारी, उद्योगी–व्यापारी, सेना–प्रहरीका हाकिम र युरोप–अमेरिकामा पैसा कमाएकाहरूलाई नेपालका मूर्धन्य गीतकार/संगीतकार बनाउने होड छ”, उनी भन्छन्, “प्रतिभाहरूले चाहिं निस्सासिएर बस्नुपरेको छ।”

संगीतकार महेश खड्का मूलधारमै यस्तो झारे ताल हावी हुन नदिन अब गीतसंगीतमा पनि सेन्सरबोर्ड आवश्यक भएको बताउँछन्। हुन पनि, रेडियो नेपाल र म्युजिक नेपाल मात्र भएको अवस्थामा गायकी भएका कलाकारहरू मात्र अगाडि आउँथे। भ्वाइस टेस्ट पास नगरी गीत रेकर्ड नै हुँदैनथ्यो। फत्तेमानका अनुसार, त्यतिबेलाको रेडियो नेपाल र म्युजिक नेपालमा गीतसंगीत बुझेकाहरू हुन्थे। “तर अहिले संगीतको लगाम स्वाँठहरूको हातमा छ”, फत्तेमान भन्छन्, “यो मनपरीले स्वाँठहरूलाई उकास्छ, नेपाली गीतसंगीतलाई डुबाउँछ।”

इन्दिरा योञ्जन, तुलसा वाइवा, जसिहाङ राई, सन्तोष दुमी

गीतकार खरेलका अनुसार, पहिले रेडियो नेपालमा बजेका गीतहरू श्रोताको फर्माइसको आधारमा हिट हुन्थ्यो। अहिले त राम्रो गीत बज्नै पाउँदैन। प्रस्तोताहरू कस्ता छन् भने, पहिलो पटक गीत रेकर्ड गरेर अल्बम निकालेकालाई समेत चर्चित गायक भनिदिन्छन्।

म्युजिक भिडियो सिण्डिकेट

म्युजिक भिडियो बजाउन टेलिभिजनपिच्छे सिण्डिकेट रहेको भुक्तभोगीहरूको भनाइ छ। कान्तिपुर टेलिभिजनको सांगीतिक कार्यक्रममा भिडियो प्रसारण गर्नुछ भने त्यहींका निर्देशकहरूलाई भिडियो बनाउन दिनुपर्ने एक गायक बताउँछन्। उनका अनुसार, त्यहाँ म्युजिक भिडियो बनाउने एक दर्जन निर्देशक छन्। “अरूले बनाएको म्युजिक भिडियोले कान्तिपुर टिभीमा 'इन्ट्री' पायो भने त्यो भाग्यमानी ठहरिन्छ” ती गायक भन्छन्।

गायक/गायिकाहरूका अनुसार, अरू टिभीहरूमा पनि सात जनासम्म भिडियो निर्देशक छन्। उनीहरू एउटा गीतको भिडियो बनाउन रु.१ लाखदेखि साढे दुई लाखसम्म लिन्छन्। अरूले बनाएको भिडियो प्रसारण नै नगरिदिने भएपछि धेरैजसो गायक/गायिका उनीहरूले भनेको मान्न बाध्य छन्। रेडियो–टिभीका आरजे–भिजेहरू आफूलाई उस्तो 'भाउ' नदिने स्थापित गायक/गायिकाका राम्रा गीत/भिडियो प्रसारण गर्नुपर्दा 'मरेतुल्य' हुन्छन्। गायिका लोचन भट्टराई आफूहरूको त के प्रेमध्वज प्रधान, फत्तेमान, अम्बर गुरुङहरूका गीत समेत हत्तपत्त नबज्ने बताउँछन्। यो प्रवृत्तिबारे बोल्न भने कोही मान्दैनन्। भट्टराई भन्छिन्, “सबैलाई यही क्षेत्रमा टिक्नुछ, अनि कसरी बोल्छन् त?”

comments powered by Disqus

रमझम