२९ बैशाख २०७० | 12 May 2013

जातीय गायनमा झुमा

Share:
  

२०६० सालमा आएको लोक–आधुनिक अल्बम ए साइला बाट नेपाली सांगीतिक क्षेत्रमा प्रशंसा पाएकी झुमा लिम्बु (३०) त्यसपछि हराए जस्तो भएकी थिइन्। तर, यसबीचमा उनी महत्वपूर्ण मिसनमा रहिछन्, जसको परिणाम अबको नौ–दश दिनमै बाहिर आउँदैछ, खासाम अल्बमको रुपमा। संगीतमा अम्बर गुरुङ र चण्डी काफ्लेकी यी चेली भन्छिन्, “खासमा म आफ्नै जातिको परम्परागत संगीतको अन्वेषणमा थिएँ।”

टिपिकल नेपाली गीतमा उच्च गायकीको लागि प्रशंसित झुमा अम्बर गुरुङको एकल संगीतमा संयोजन भइसकेको अल्बमको तयारी छाडेर यता लागेकी थिइन्। खासाम मा उनले लिम्बु भाषाका गीतहरुलाई त्यही मौलिकतामा गाएकी छन्, अरुले जस्तो मूलधारको नेपाली संगीतमा नजोडी। त्यसो गर्दा मौलिक मेलोडी र मर्म जोगिएको उनले बताइन्। खासाम को अर्थ सभ्यता हो। यो अल्बम उनले लामै अध्ययन, अनुसन्धान पछि तयार गरेकी छन्। यसमा पालाम, हाप्पारे, ख्याली जस्ता मौलिक भाकादेखि लिम्बु समुदायको जन्मदेखि मृत्युसम्मको संस्कारका लयहरु छन्। यसलाई उनी ठेट नेपाली लय भन्न मन पराउँछिन्, किनभने यी नेपाली सम्पदा हुन्।

किरात जनजीवनमा लयको अहम् भूमिका हुन्छ। खासाम ले लिम्बु बस्तीका चौतारा र बिसौनीहरुका संगीतसँगै मुन्धुमको लय समातेको छ। मृत्युपछि आत्मा अतृप्त भएर दुःख नपाओस्/नदेओस् भनेर गाइने साम्सोधा मुन्धुम, शोक गीत सिमेरिङ जस्ता लिम्बु सभ्यताका गीतसंगीत खासाम मा छन्। ताप्लेजुङ ढुंगेसाँघुकी झुमाले तेह्रथुमतिरका फेदाप्पे, पाँचथर–इलामतिरका चारखोले र ताप्लेजुङतिरको तम्मरखोले पालामहरु गाएकी छन्। लिम्बु जातिको सांस्कृतिक–सांगीतिक सुगन्धमा अरु केही नमिसाई जस्ताको तस्तै उतार्ने कोशिश गरेको उनले बताइन्। नयाँ पुस्ताको निम्ति यो नेपालको इन्द्रेणी सभ्यताको अभिलेख हुने उनको धारणा छ।

अल्बमका सबै गीतमा ट्याम्कोली, दमाहा, यलम्बर बाजा (फातुङ), एकतारे, पङघे, पात बाजा (पेपेनेप्पा), च्याब्रुङ, झ्याम्टा, विनायो, बासुरी बजेका छन्। शास्त्रीय गायनकी विद्यार्थी झुमाले आफूलाई मुन्धुमका जानिफकार यासेली योङहाङले संस्कृतिको गहिराइमा पुर्‍याएको खुलाइन्। उनी भन्छिन्, “संगीत क्षेत्रमा बल्ल केही अर्थपूर्ण काम गरे जस्तो लागेको छ।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम