१६–२९ माघ २०६७ | 30 Jan-12 Feb 2011

अस्ताए तीन तारा

Share:
  
२०६७ को माघ ३, ४ र ५ गते नेपाली गीतसङ्गीत र सिनेमाको शान्त आकाशमा लगातार परेको बज्रले तीन कलाकारको भौतिक उपस्थितिलाई नामेट बनाइदिएको छ ।

कुमार कान्छा, (वि.सं. २०१४–२०६७)

फरक गायनशैलीका धनी कुमार कान्छा प्रवासमा नेपाली सङ्घर्ष र सफलताका पर्याय थिए । मेरुदण्डमा क्यान्सर भएर थलिएका कान्छाले पनि अन्ततः ५३ वर्षको उमेरमा ३ माघमा मुम्बईस्थित एसएल रहेजा अस्पतालमा जीवन बिसाए । कान्छाको जिन्दगीको के भर छ र, बतासले उडाइलग्यो माया मेरो, आमैले भन्थिन् धाराको पानी ... जस्ता सयभन्दा बढी गीत नेपाली चलचित्रमा सुन्न पाइन्छ ।

दैलेखबाट गएका बाबुआमाबाट कलकत्तामा जन्मिएका उनको खास नाम कुमार शाह भए पनि उनी नेपाली र भारतीय सङ्गीतक्षेत्रमा ‘कान्छा’ भनेर चिनिए । लामो समय सङ्घर्ष गरेर मुम्बईमा स्थापित भएका उनले मराठी, भोजपुरी, बङ्गाली, मैथिली, लगायत २५ भाषाका करिब १२ सय गीत गाएका छन् । साइनो चलचित्रको आमैले भन्थिन् धाराको पानी गीतबाट उनी नेपाली पाश्र्वगायनमा स्थापित भएका थिए । गोरेटो, दोबाटो र साइनो एकल अल्बमका सर्जक उनी अरू दुई अल्बमको तयारी गर्दागर्दै बिरामी भएका थिए ।

नेपाल र भारतको सङ्गीत क्षेत्रमा योगदान पु¥याएका कान्छाको निधनबाट स्तब्ध सङ्गीतकार शम्भुजित बास्कोटा भन्छन्, “उनी भारतभर नेपाली गायक भनेर चर्चित थिए ।” तर, अब नेपाल–भारत दुवैतिर कान्छाको स्वर मात्र बाँकी रह्यो । उनका श्रीमती र दुई छोरा छन् ।


शान्ति मास्के, (वि.सं. १९८४–२०६७)

२०४२ सालमा चलचित्र सन्तान को छायाङ्कनमा घाइते भएपछि मुटुमा ‘पेसमेकर’ राखेकी लोकप्रिय चरित्र अभिनेत्री शान्ति मास्के ८३ वर्षको उमेरमा ४ माघमा दिवङ्गत भइन् ।

वि.सं. १९८४ मा गोरखामा जन्मिएकी उनले २०२४ मा बनेको हिजो, आज र भोलि चलचित्रबाट अभिनय थालेकी थिइन् । २००७ को राणाविरोधी आन्दोलनताका उनी रेडियो प्रजातन्त्रमा क्रान्तिकारी गीत गाउँथिन् । कलकत्तामा गायन र अभिनय सिकेकी उनी २०१० मा काठमाडौं आएपछि नाटकहरूमा खेल्न थालेकी थिइन् । उनका जीवनरेखा, सिन्दुर, शान्तिदीप, कान्छी, पछ्यौरी, के घर के डेरा, कस्तूरी, तपस्या लगायत ५० भन्दा बढी सम्झ्न लायक फिल्म छन् । खासगरी आमाको चरित्रमा चिनिएकी शान्ति मास्केले गोरखा दक्षिण बाहु, उर्वसी, सर्वाेत्कृष्ट अभिनेत्री लगायत दर्जनौं सम्मान र पुरस्कार पाएकी थिइन् ।


हीरादेवी वाइवा, (वि.सं. १९९६–२०६७)

सन् १९७० को दशकमा जादुमय स्वर लिएर खर्साङबाट उदाएकी हीरादेवी वाइवाको गीत कानमा पर्दा आज पनि मानिसहरूको हातगोडा टक्क अडिन्छ । खास गरेर पूर्वेली लोकभाकाका लागि ‘लिजेण्ड’ बनेकी यी गायिकाका फरिया ल्याइदे छन् ..., गोरी सामली ..., बचनै मापाको ... जस्ता गीतका लागि रेडियो नेपाल र एफएम स्टेशनहरूमा पर्ने फर्मायसीको ग्राफ अझ्ै उच्च छ । विदेशका शान्त नेपाली रेस्टुरेन्टहरूमा बज्ने ‘टिपिकल’ नेपाली भाकामा अधिकांश गीत उनकै हुन्छन् ।

नेपाली लोक जीवनकी यी ७१ वर्षीया गोरी सामलीले सिलगुढी कदमतालास्थित आफ्नै घरमा जलेर घाइते भएपछि नर्थ बङ्गाल मेडिकल कलेजमा ५ माघमा देहत्याग गरिन् । गायिका कुन्ती मोक्तान भन्छिन्, “हीरादेवी गुरुआमा खास गरेर मारुनी र सेलोका लागि अमर हुनुहुन्छ, उहाँको गीत गाएर गायकगायिका बन्ने धेरै छन् तर, उचाइमा पुग्ने उहाँ आफैं मात्र हो ।”

सङ्गीतकार प्रदीप बम्जन भने हीरादेवीलाई पोहोर मधुरिमा फुलकुमारी सम्मान ग्रहण गर्न काठमाडौं आउँदाको स्फुर्तीमा सम्झ्रिहेका छन्, जतिवेला उनले अनेक स्टेज गायनसँगै रेडियो नेपालमा पनि गीत रेकर्ड गराएकी थिइन् । भाक्सु, देहरादुन, दार्जीलिङ, सिक्किम, आसाम, भुटानलगायत नेपाली भाषी क्षेत्रमा नेपाली लोकगीतको पर्याय बनेकी हीरादेवी दार्जीलिङ लोकसांस्कृतिक एकेडेमीमा आवद्ध थिइन् । सङ्गीतकार बाबु एसएम वाइवाबाट सङ्गीत सिकेर प्रवासमै ठेट नेपाली लोकभाकाको शिखर चढेकी उनी लामो समयसम्म अल इन्डिया रेडियोमा गायिका थिइन् । रेडियो नेपालले पनि उनका थुप्रै गीत रेकर्ड गरेको छ । एकदशकअघि श्रीमान गुमाएकी हीरादेवीका एक छोरा र एक छोरी छन् ।

comments powered by Disqus

रमझम