१६–२९ माघ २०६७ | 30 Jan-12 Feb 2011

नेपाली आँखामा फैज

Share:
  

फैजघरडटओआरजी
कुरा सन् १९७० को दशकको हो, म युनेस्कोको तर्पmबाट लाहोर इन्जिनियरिङ विश्वविद्यालयको अध्ययन भ्रमणमा थिएँ । लाहोरको एउटा राम्रो चिनोको खोजीमा अनारकलीको एक गल्लीको क्यासेट पसलमा गएर राम्रा गीतको क्यासेट माग्दा पसलेले अर्सद महमुदले सङ्गीत भरेको नायरा सिङ्स फैज नामको क्यासेट लैजान सिफारिस गरे । त्यसका लय र नज्महरू यति सुललित थिए, ‘इन्तेसाब (समर्पण)ः जर्द पत्तोँका बन्जो मेरा देश है’ ले आज पनि मलाई उत्तिकै मुग्ध बनाउँछ । फैज अहमद फैज (१३ फेब्रुअरी १९११–१९८४) लाई मैले यसरी बुझन थालेको हुँ, गजलमार्फत ।

विद्यार्थीकालमा प्रगतिशील लेखक आन्दोलन (पीडब्ल्युएम) को चर्चा हुँदा सज्जाद जाहेर, मुल्कराज आनन्द, सार्दा जाफरीसँगै फैजको पनि नाम सुनेको हुँ, तर उनको उम्दा कवित्वबारे बिल्कुलै बेखबर थिएँ । पछि विस्तारै–विस्तारै उनका उर्दू कवितामा रोमन र देवनागरी लिपिको माध्यमबाट पहुँच बनाउन थालेँ । सँगसँगै उनका अङ्ग्रेजी र हिन्दी क्यासेट तथा किताबहरू पनि बटुलेँ । यसक्रममा मलाई महमुद मुस्तफा खान ‘मद्दाह’ र आचार्य रामचन्द्र वर्माको हिन्दी–उर्दूृ शब्दकोशले ठूलो मद्दत ग¥यो । इम्दाद हुसेनको एन इन्ट्रोडक्सन टु दि पोयट्री अफ फैज अहमद फैज र शम्शेरबहादुर सिंह र मुगिद्दीन फौदीको फैज जस्ता किताबहरू मेरा लागि पथप्रदर्शक बने ।

१९८६ मा देवेन्द्रराज उपाध्यायले आफूले नेपालीमा अनुवाद गरेको फैजका कविताहरूको सँगालो दिनुभयो । त्यस वेलासम्ममा ‘फैज इन मेमोरियम’, ‘कलमे इन फैज’, ‘शाम–ए–फिराक’, ‘अ ट्रिव्युट टु फैज जेहरा निगाह’ र ‘रिक्वायम फर एन अनसङ मसिहा’ जस्ता अडियो क्यासेटका साथै सिके कन्दा, सजन पेशावरी र प्रकाश पण्डितद्वारा सङ्कलित फैजका कविताहरू पनि मेरो सङ्कलनमा आइसकेका थिए । अर्सद महमुदको सङ्गीतमा इकवाल बानोले गाएको गजल जसलाई नेपालको पछिल्लो शाही शासनताका सुन्दा शरीरमा विद्युत् प्रवाह हुन्थ्योः

सब ताज उठा लेजायेंगे

सब तख्त गिराए जायेंगे

हम देखेँगे

लाजिम है कि हम भि देखेँगे ।

..... .....

उठेगा अनुल–हकका नारा

जो मैं भि हुँ और तुम भि हो ।

जेहरा निगाहले गाएको होस् या हदिया कयानीले, तेस्रो विश्वको आवाज भन्न सकिने ‘बोलकी लबे आजाद है तेरे’ सुन्दा हृदय र मस्तिष्कको तार जोडिन पुग्छ । जस्तै, ‘ढाकाबाट फर्किए पछि’ बाट दुई हरफः

कब नजर मे आऐँगे वेदाग सब्जेकी बहार

खुनके धब्बे धुलाऐँगे कित्ने वर्षातोंके वाद ।

हृदय र मस्तिष्क रिमल्ने यस्तै अर्को हरफ ‘दुवा’ बाटः

आईए हाथ उठाए हम भि

हम, जिन्हे रश्म–ए–दुवा याद नहीं

हम, जिन्हे सोज–ए–मुहब्बतके सिवा

कोई बुत कोई खुदा याद नही है !

ब्रिटिश–भारत कालमा पञ्जाबको सियालकोटमा जन्मेका फैजले आफ्नो मातृभाषा पञ्जाबीमा पनि केही गजल लेखेका छन् जस्तै ‘किद्रेना’ । उनका गजलहरू प्रख्यात उस्ताद वर्कत अलि खान, उस्ताद अमानत अलि खानले पनि गाएका छन् । फैजका उर्दू गजलहरू कुन राम्रो, कुन नराम्रो भनेर छुट्याउन कठिन छ ।

आफ्ना शब्द र विचारहरूका कारण कहिले सैनिक तानशाह त कहिले मुल्लाहहरूद्वारा सञ्चालित धर्मान्ध (थेयोक्र्याटिक) राज्यको कोपभाजनमा परेका फैज नेपालमा अझ्ै पनि राम्ररी परिचित छैनन् । हामी नेपालीमध्ये धेरैजसो बलिउडका फिल्मी गीतसङ्गीतमार्फत उर्दूको स्वाद लिइरहेका छौं । असली अर्थ नबुझ्े पनि तिनलाई मनपराएर सुनिरहेका, गाइरहेका हुन्छौं । यसबाहेक, शान्ति र स्वतन्त्रताको सन्दर्भमा पनि फैजका प्रगतिशील रचनाको नेपालमा ठूलो सान्दर्भिकता छ । उनका लागि शान्ति भनेको ‘गहुँले हराभरा खेत, लहरे पीपलको रूख, लतालहरा, बालबालिकाको हाँसो, कविको कलम र चित्रकारको बुरुस’ हो ।

कुनै वेलाका साथी अहिले परचक्रीः सन् १९७४ मा बाङ्लादेशको भ्रमणबाट फर्केपछि फैजले लेखेको कविता ढाकाबाट फर्केपछि को एक अंश ।
तत्कालीन पश्चिमी पाकिस्तानमा उदाएर चिलीका क्रान्तिकारी कवि पाब्लो नेरुदा र टर्कीका नजिम हिक्मत भन्दा भिन्न तरिका अपनाएको भए पनि यी मानवतावादी कविले आफ्नो नाममा अरबी शब्द ‘फैज’ छानेका थिए जसको अर्थ हुन्छ— भाग्य, उदारता, प्रसिद्धि वा मानवसेवा । उनका रचनाहरू मानव स्वतन्त्रताप्रति समर्पित छन् । फैज एक अग्रगामी द्रष्टा, विश्व नागरिक, मानवतावादी विचारक, पत्रकार, शिक्षक, ट्रेड युनियन नेता, फिल्म निर्देशक र आफैंमा एउटा आख्यान थिए । इकवाल र गालिबबाट अभिप्रेरित मानिने फैजको समानतावादी विश्व दृष्टिकोणका कारण उनका रेडियो कार्यक्रम र लेखहरू पाकिस्तानी सरहदपारि भारतीय समाजका लागि समेत एउटा सोपान बनेको थियो । प्यालेष्टिनी नेता यासेर अराफातसँग निकट र अफ्रो–एसियाली लेखकहरूको पत्रिका लोटस को सम्पादक भएका कारण नोबेल साहित्य पुरस्कार नपाएका फैज लेनिन शान्ति पुरस्कारबाट सम्मानित हुने पहिलो एसियाली कवि भने भए ।

फैजको खासियत

फरिदा एम. सईदका विचारमा अरू कविहरूलाई छलेर जो कवि हैनन् तिनलाई साहित्यबाट आल्हादित बनाउनु फैजको विशेषता थियो । लेनिन पुरस्कार ग्रहण गर्दा उनले विख्यात फारसी कवि हफिजको सम्झ्ना गर्दै ‘विश्व प्रेमबाहेक अरू सबै कुरा खोटपूर्ण हुने’ बताएका थिए । सईद लेख्छिन्, “उनी रोमान्टिक प्रेमको नभई मानव शान्ति र मैत्री, मातृभूमि, स्वतन्त्रता र शायद ईश्वर प्रेमका पक्षपाती थिए ।”

जोश मालिहावादीले एक पटक भनेका थिए, “म अब शान्तसँग मर्न सक्छु, किनभने मेरो पछाडि फैज नामका एउटा यस्ता माझ्ी तयार छन् जो उर्दू साहित्यको डुङ्गा तार्न सक्षम छन् । अल्लाहले उनलाई लामो उमेर दिउन्, उनका लागि कला र साहित्यको ढोका खुलोस् र उनी साहित्यिक आकाशका कहिल्यै नअस्ताउने घाम बनुन्् ।” यसमा फिराक गोरखपुरीले थपेका छन्, “प्रेम साहित्यको इतिहासमा हालसम्म फैजले जति पवित्र, हृदयस्पर्शी र प्रभावकारी कविता कसैले लेखेका छैनन् । वास्तवमा यो कविता हैन, धरती र आकाशको सिम्फोनी हो । यस्ता प्रतिद्वन्द्वी देखेर शेक्सपियर, गोथे, कालीदास अनि सादीहरू के सोच्दा हुन् ?”

सज्जाद जाहेरले तानाशाही, शोषण र बर्बरताविरुद्ध मानव स्वतन्त्रता, मूल्य, सुसम्बन्ध, व्यवहार र कारोबारमा भद्रता एवं स्वच्छता, अत्याचार, शोषण र बर्बरताको अन्त्य फैजका उद्देश्य र आदर्श थिए भनेका छन् । “यी मूल्यमान्यता प्राप्तिका लागि गम्भीर दृष्टिकोण, लामो साधना र सङ्घर्ष अत्यावश्यक हुन्छ जसका लागि फैज जस्ता हृदयदेखि नै समर्पित प्रेमीहरू अगाडि सर्छन्”, सज्जाद लेख्छन् ।

लय र भावमा अनुवादले ल्याउने ह्रासपछि पनि उर्दूका महारथी फैजका कविताहरूको सौन्दर्य, आकर्षण र अपील उत्तिकै प्रभावशाली एवं तिख्खर छन्, ओमार खयामका कविताको जस्तै, एडबर्ड फ्रिट्जेराल्डको अनुवादबाटै भए पनि । पश्चिमतर्फ पञ्जाबमा उदाएका यी मानवतावादी कविले उर्दूृ साहित्यमा त्यही गरे जुन रवीन्द्रनाथ ठाकुर र नजरुल ईस्लामले पूर्वमा बङ्गालाका लागि गरे । शताब्दीकै सर्वाधिक रुचाइएका कवि फैजले विश्व मानवता, शान्ति र स्वतन्त्रताको वकालत गरेका छन् । उनका लेखनीमा प्रेम र सामाजिक यथार्थको सम्मिश्रण छ, पाठकले विद्यमान अन्यायको गहिरो अनुभूति गर्छन् । उनका हरेक कविता उत्कृष्ट छन् । तर, पाठकले आफ्नो मुडअनुसार तिनलाई छान्न सक्नुपर्छ । फैजले मोहाजिर–पठान द्वन्द्वको वेला कराँचीका गरिबहरूले बेहोर्नुपरेको त्रासदीको बयान यसरी गरेका छन्ः

कहीं नहीं है, कहीं भि नहीं लहुका सुराग

ना दास्तो–नाखुन–ए–कातिल, ना आस्तिन पे निशान

ना सुर्खे–लव–ए–खञ्जर, ना रंगे–नोक–ए–सनन

ना खाक पर कोई धब्बा, ना बाम पर कोई दाग

कहीं नहीं है, कहीं भि नहीं है लहुका सुराग ।

सज्जाद जाहिरका विचारमा, फैजले दुनियाँलाई जे भने आपूmले त्यही गरे । १९५१ को रावलपिण्डी काण्डमा जेल परेको वेला उनले आफ्ना सहकर्मीहरूबारे लेखेका थिएः

मिटाए–लहु–ए–कलाम छिन गई तो क्या गुम है

के खुन–ए–दिल मे दबो लि है उंगुलिया मैने

जबान पे मुहर लगी है तो क्या डर है

के रख दि है हर इक हल्क–ए–जञ्जिर मे जबान मैने ।

अन्त्यमा ‘दो ईस्क’ कविताका केही हरफः

छोडा नहीं गैरो ने कोई नवक–ए–दुश्मन

छुटी नहीं अपनो से कोही तर्ज–ए–मलामत

इस इश्क ना उस इश्क पे नादिम है मगर दिल

हर दाग है इस दिल मे बजुज दाग–ए–नदामत ।

गौरीनाथ रिमाल

comments powered by Disqus

रमझम