५ जेठ २०७० | 19 May 2013

स्टक औषधि बाँडिएन

Share:
  

पर्सा जिल्लाका तीन प्राथमिक स्वास्थ्य केन्द्र, ८ स्वास्थ्य चौकी र ७१ उप–स्वास्थ्य चौकीमा सरकारले निःशुल्क बाँड्ने औषधि सकिएको दुई महीना भइसक्यो। तर, ती कार्यालयमा औषधि वितरण गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार महतो जिल्लामा औषधि स्टक रहेको बताउँछन्। जिल्ला जनस्वास्थ्यको बिग्रिएको सिस्टम मिलाउन केही दिन औषधि वितरण रोकिएको महतोको भनाइ छ।

सरकारले जिल्ला हेरी २५ देखि ४९ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ। जिल्लाको विश्रामपुर स्वास्थ्य चौकीका प्रमुख छोटेलाल साह खुजुली, दाद, घाउ, ज्वरो, झाडापखाला लगायत गर्मीमा लाग्ने रोगका लागि चाहिने एन्टिवायोटिक औषधि खोज्न आउने सेवाग्राहीलाई त्यसै पठाउनु परेको बताउँछन्। औषधिको माग फाराम दुई महीना अघि नै पठाए पनि जिल्लाले नदिएको बताउने भौराटार उपस्वास्थ्य चौकीका प्रमुख हरेन्द्र कुशवाह भन्छन्, “औषधि माग्न वीरगंज जाँदा–आउँदा खर्चका कारण खल्ती खाली भइसक्यो।”

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको २ वैशाखसम्मको जगेडा विवरणमा भने एमेक्सोसीलिन्को १२५ र २५० एमजीका ६६५ वटा ट्याब्लेट, सिप्रोक्सासीलिन्को २५० र ५०० एमजीको ४ लाख ९६ हजार ९९५ वटा ट्याब्लेट, स्केबीयल ६ हजार ३०९ वटा, एम क्लोर २ लाख २३ हजार ६५० वटा, दादकेयर १०२ वटा, डाईजीन ९ लाख १७ हजार ३३० वटा, पारासिटामोल सिरप १० हजार ७३० वटा, कालामाईन लोसन ६ हजार ७२२ वटा र पेट्रोम ब्राण्ड ट्याब्लेट ६ लाख २१ हजार ३०० वटा स्टक रहेको देखिन्छ।

अलि असगर, वीरगञ्ज


व्यक्ति हैन समाज

डोटीका धनबहादुर मल्ल (७५) आफ्नै गाउँठाउँको सेवामा रमेका थोरै प्रतिभामा पर्छन्। राष्ट्रिय समाचार समिति स्थापनाको दिन ७ फागुन २०१८ मा सम्वाददाता नियुक्ति पाएका सिलगढी नगरपालिका–१ शैलेश्वरका मल्ललाई मध्य र सुदूरपश्चिम क्षेत्रमा पत्रकारिताको जग बसालेको श्रेय जान्छ। पत्रकार भैरव रिसाल भन्छन्, “त्यस क्षेत्रका अहिलेका दर्जनौं एफएम, सयौं पत्रपत्रिका र हजारौं पत्रकारको जग डीबी मल्ल नै हुन्।”

पत्रकार मल्ल नयाँ पुस्ताले उन्मुक्त भएर काम गर्न पाएकोमा खुशी छन्। सँगसँगै, कतै नबिकेपछि वा अरूलाई तर्साएर खान पाइन्छ भन्ने भ्रमवश पत्रकारितामा आएकाहरूको बिगबिगीप्रति भने चिन्तित छन्। “यस्तो मानसिकताले पत्रकारिता हुँदैन”, मल्ल भन्छन्, “यसमा निष्पक्षतासँगै अध्ययन–मनन र निरन्तर फिल्डमा पुग्नुपर्छ।”

मल्ल डोटीको शैक्षिक जागरणका अभियन्ता पनि हुन्। स्कूल नभएको समयमा उनले गाउँगाउँमा विद्यार्थी खोजेर सदरमुकामस्थित पद्म पब्लिक (पप) माविमा लगे, लामो समय शिक्षणमा संलग्न रहे। उनका विद्यार्थी रहेका पूर्व प्रहरी उपरीक्षक रामबहादुर शाही 'मल्ल सर नभएको भए पप मावि यति धेरै सफल नहुने बताउँछन्। मल्ल यस क्षेत्रको रंगकर्मका पनि अगुवा हुन्। उनले 'संघर्ष', 'भाइभाइ', 'अदृश्य', 'आमाको मन', 'भलाइ', 'आमा', 'शैलेश्वरी महात्म्य' लगायतका नाटक लेखन, निर्देशन र मञ्चन गरेका छन्, रेडियो नेपालमा गीतहरू पनि रेकर्ड गराएका छन्।

पाएजति किताब पढ्नु र बिहान ३ बजे उठेर शैलेश्वरी मन्दिरको सरसफाइ गर्नु मल्लको दैनिकी भएको छ। ब्रह्ममुहूर्तमै मन्दिर सरसफाइ गर्दा एकसाथ शारीरिक व्यायाम र लोककल्याण हुने उनी बताउँछन्। मन्दिर परिसरमा उनैले रोपेका बिरुवाहरूले छहारी दिइरहेका छन्। त्यहाँका चित्र र मूर्तिहरू पनि उनैले बनाएका हुन्। सर्वनाम र रासस पुरस्कारबाटसम्मानित मल्ल जीवनमा सन्तुष्ट रहनु र हरेश नखानुलाई सफलताको द्योतक मान्छन्। “नेपाली समाज परिवर्तन चाहन्छ”, राजकाज मुद्दा खेपेका, जेल परेकामिजासिला मल्ल भन्छन्, “तर, परिवर्तन व्यक्तिकेन्द्रित हुनुहुँदैन।”

कपिल भट्ट, डोटी


दाउरा मुक्त गाविस घोषणा हुँदै

तस्वीर: सन्त गाहा मगर

मध्यवर्ती क्षेत्र बूढी राप्ती उपभोक्ता समिति (मक्षेबूराउस) ले विश्व वातावरण दिवस पर्ने २२ जेठ (५ जून) मा चितवनको कुमरोज गाविसलाई दाउरा नबाल्ने गाविस घोषणा गर्न लागेको छ। गाविसका १७५० मध्ये १३५० घरधुरीमा बायोग्यास चुलो बनेका र २२ जेठसम्म बाँकी घरमा पनि बनिसक्ने भएकाले दाउरा मुक्त गाविस घोषणा गर्न लागिएको मक्षेबूराउसका अध्यक्ष कुलप्रसाद भुसाल बताउँछन्। नेपाल सरकार र अमेरिकी सहयोग नियोग (युएसएड)को आर्थिक सहयोगमा सञ्चालित विश्व वन्यजन्तु कोष अन्तर्गतको 'हरियो वन कार्यक्रम' र मक्षेबूराउसले रु.३० हजार लाग्ने एउटा वायोग्यास रु.५ हजारदेखि रु.७ हजारमै बनाइदिएका छन्।

मक्षेबूराउसका अध्यक्ष भुसाल ग्यास प्रयोग गर्दा वन जोगिने, मानवीय स्वास्थ्यमा प्रतिकूल असर नपर्ने, कार्बन क्रेडिटबाट लाभ लिन सकिने र त्यसबाट आएको पैसा वन व्यवस्थापनमा लगाउन सकिने भएकाले बायोग्यासमा लगानी गरेको बताउँछन्। २०४६ सम्म खाली चउर रहेको ठाउँमा वृक्षरोपण गरेर ६९७ हेक्टरको जंगल बनाइएको छ। जसको सुरक्षा गर्दा पाँच वर्ष पहिले रूखबाट खसेर मेरुदण्ड भाँच्चिएका बलराम भण्डारी भन्छन्, “ग्याँस बाल्न पाएपछि दाउरा काट्न जंगल जानु नपर्ने हुँदा जंगली जनावरको आक्रमण अब बेहोर्नु नपर्ने भयो।”

सन्त गाहा मगर, चितवन


इन्टरनेटमा नेपाली पुस्तक पसल

विदेशमा रहेका नेपालीले पनि इन्टरनेट पसलबाट नेपाली किताब किनेर पढ्न पाउने भएका छन्।

साहित्य क्षेत्रका १६ जना नेपालीको प्रयासमा पाण्डुलिपि बुक्स प्रालिले शुरू गरेको ई–बुक इन्टरनेटमा ५० वटा साहित्यिक पुस्तक राखिएका छन्। नेपाली पुस्तकलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन र प्रविधिको विकाससँगै इन्टरनेटमा पुस्तक पढ्ने बानी बसाउन सात महीनाअघि ई–बुक शुरू गरिएको हो। जस अनुसार पाठकले शुल्क तिरेर www.pandulipibooks.com र www.ebooks.com.np लग इन गरी पुस्तक पढ्न सक्नेछन्।

यसबाट विदेशमा बस्ने नेपालीलाई सजिलो भएको पाण्डुलिपि बुक्सका अध्यक्ष करुण थापाको भनाइ छ। थापा भन्छन्, “नेपालमा बस्नेले बजारमा पुस्तक किनेर पढ्न सक्छन् तर विदेशमा बस्ने नेपालीका लागि ई–बुकले सजिलो बनाएको छ।” “अहिले नै ई–बुकको व्यापार राम्रो छैन, तर ढिलोचाँडो इन्टरनेटमा किताब पढ्ने प्रचलन बढ्छ, त्यसैले ई–बुकको भविष्य राम्रो छ”, थापाले भने। अहिले पनि उपन्यास र निबन्धको बिक्री सन्तोषजनक रहेको उनले बताए।

पुस्तक विस्तारै थप्दै जाने बताउँदै थापाले भने “१५० वटा किताबका लागि सम्झौता गरिसकेका छौं, अरू लेखक र प्रकाशकसँग पनि कुरा भइरहेको छ।” यो वेबसाइटमा बालबालिकाका लागि उपयोगी पुस्तक, धार्मिक ग्रन्थ, अनुसन्धानात्मक कृति तथा प्रतिवेदन र शब्दकोश राख्ने तयारी भइरहेको थापाले जानकारी दिए।

कम्प्युटर र ल्यापटपमा मात्र पढ्न मिल्ने यस्ता किताबहरू छिट्टै एन्ड्रोइड, आइफोन र ट्याब्लेटमा पनि पढ्न मिल्ने गरी बनाउने पाण्डुलिपिको तयारी छ। विदेशमा बस्ने नेपालीलाई लक्षित गरेर शुरू गरिएको ई–बुकको मूल्य पुस्तकको भन्दा झ्ण्डै दोब्बर राखिएको छ।

ई–बुक शुरू भएपछि लेखक र प्रकाशकलाई पनि सजिलो भएको छ। आफ्नो किताब विदेशमा बसेकाले पनि हेर्न पाउने भएपछि पाठक बढ्ने र आम्दानी पनि बढ्ने लेखक ब्रजेश खनालको भनाइ छ। प्रकाशक फाइन प्रिन्टका अजित बरालको भनाइमा ई–बुकले लेखकलाई नयाँ पाठक र प्रकाशकलाई नयाँ ग्राहक जुटाइदिएको छ।

ई–बुक शुरू भएसँगै कतिपय कठिनाइ देखिएका छन्। इन्टरनेटमा पुस्तक किन्न धेरै नेपाली अभ्यस्त भइसकेका छैनन्। एकजनाले किनेको किताब कपी गरेर धेरैतिर वितरण गर्न सक्ने संभावना पनि छ। तर ई–बुकलाई त्यसरी चोरी गर्न नमिल्ने बनाइएको पाण्डुलिपि बुक्सका अध्यक्ष थापा बताउँछन्। “कपी गर्न र स्त्रि्कन सर्ट गर्न नमिल्ने बनाएका छौं, त्यसैले चोरीको डर छैन” थापाले भने।

विनोद ढकाल

comments powered by Disqus

रमझम