५ जेठ २०७० | 19 May 2013

महाराज, आँखा नचम्काइबक्सियोस्!

Share:
  

तस्वीरहरू सौजन्यः मदन भण्डारी स्मृति प्रतिष्ठान।
२०४७ सालमा विराटनगरको शहीद मैदानमा कार्यकर्तालाई सम्बोधन गर्दै एमालेका तत्कालीन महासचिव मदन भण्डारी।
प्रजातान्त्रिक लडाइँको दोस्रो मोर्चामा शिरमा कफन बाँधेर उत्रिएका आदरणीय जनसमुदायहरू, हार्दिक अभिवादन।

यहाँहरूले कुन चाहिं राजनीतिक पार्टी ठीक हो भनेर फैसला गर्नु परिरहेको बेला, कुन पार्टीले के भनिरहेको छ भन्ने आधारमा होइन, उसले के गरिरहेको छ भन्ने आधारमा फैसला गर्नुपर्ने हुनाले नेपाली कांग्रेस र हाम्रो पार्टीको नीतिको बारेमा, अनि दरबारप्रतिको नेपाली कांग्रेसको र हाम्रो पार्टीको दृष्टिकोणको बारेमा तुलनात्मक ढंगले अध्ययन, विश्लेषण गर्न म केही उदाहरण प्रस्तुत गर्न चाहन्छु।

संविधान निर्माण गर्ने बेलामा भाषा, जाति, धर्म, राजालाई दिने अधिकार र अन्य विभिन्न सवालमा नेपाली कांग्रेस र वाममोर्चाका प्रतिनिधिहरूको बीच मतमतान्तर भयो। ती मतमतान्तरहरू केही समझ्दारीमा, केही सम्झ्ौतामा अगाडि बढे भने केहीप्रति भिन्नै मत र धारणा छन्। भर्खर पद्मरत्नजीले चर्चा गर्नुभयो, यो निर्वाचनमा नेपाली कांग्रेसले पनि दुईतिहाइ बहुमत माग गर्दैछ। देशको प्राकृतिक स्रोत र सम्पदाहरू दुई देशको सार्वभौमसत्ता र मुलुकको भौगोलिक अखण्डता वा साँध–सिमानाको सम्बन्धमा विदेशसँग गरिएको सन्धि–सम्झौताहरूलाई अनुमोदन गर्न संसद्को दुईतिहाइ बहुमत चाहिन्छ भनेर संविधानबाट हटाउन र संशोधन गर्न नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत चाहिएको रहेछ। गणेशमानले बहुत स्पष्ट शब्दमा यो संविधानमा यस्तो प्रावधान कम्युनिष्टहरूको किचकिच, लिंडेढिपीले राखिएको भन्नुभएको छ। दुईतिहाइ बहुमत प्राप्त गर्न श्रीमान् गणेशमानजी, यसैलाई मुद्दा बनाउन चाहनुहुन्छ भने हामी पनि यसैलाई चुनावको मुख्य मुद्दा बनाउन चाहन्छौं।

आदरणीय जनसमुदायहरू!

मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, प्राकृतिक स्रोत र सम्पदाहरूको बाँडफाँड गर्ने सवालमा साधारण बहुमत अथवा कोशी र गण्डकीको सम्झौता गरे जस्तै संसद्को अनुमति नलिई गर्न पाउनुपर्छ भन्ने यहाँहरूलाई लाग्छ भने मेरो अनुरोध छ, रूखलाई दुईतिहाइ बहुमतले जिताउनुस्। तर, त्यस्तो होइन; मुलुकको, राष्ट्रिय स्वतन्त्रताको माया छ, प्राकृतिक स्रोत र सम्पदामा नेपाली जनताको अक्षुण्ण अधिकार निहित छ भन्ने लाग्छ भने, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र देशको प्राकृतिक स्रोत र सम्पदाको सवालमा एउटा पार्टीले, साधारण बहुमतले मनपरी गर्न पाउँदैन भन्ने जँच्दछ भने सूर्य चिन्हमा मतदान गरेर दुईतिहाइ बहुमतले जिताउनुपर्छ।

मलाई यो पार्टीको महासचिवको हैसियतले विल्कुल स्वीकार छ, राष्ट्रिय स्वतन्त्रतालाई बन्धक पार्ने र भौगोलिक अखण्डतामा बलात्कार स्वीकार गर्ने कुराको आधारमा हामीलाई बहुमत, विजय चाहिएन। राष्ट्रको स्वतन्त्रता, प्रतिष्ठा, इज्जत र सम्मानको कुरामा बरु हार स्वीकार छ।

हामी कम्युनिष्टहरू 'राष्ट्रिय स्वतन्त्रता जिन्दावाद!' भन्छौं, त्यो सुन्दा राजा वीरेन्द्रले जुँगामा ताउ लगाउन सक्छन्। अनि हामी प्रजातन्त्रको कुरा गर्छौं, त्यसबेला गणेशमानजीले मुख मुसारिरहेको हुन सक्छ। यहाँ एउटा आफूलाई राष्ट्रवादको मसिहा ठान्छ, अर्को प्रजातन्त्रको मसिहा ठान्छ। एउटा वाहियात परिपाटी चलेको छ।

२०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक अधिकारहरूमाथि बुट र बन्दूकले हमला गर्दा राष्ट्रवादी, विकासप्रेमी भएको बहाना गरेका थिए। बहाना नेपाली कांग्रेसले दिएको थियो। भ्रम नहोस् कि २०१७ सालमा प्रतिगामी घटनाको मूल अपराधी राजा महेन्द्र हो। तर जब हामी घरको दैलोमा चुकुल वा आग्लो लगाउन बिर्सेर सुत्छौं भने चोरले भित्र पसेर चोर्ने मौका पाउँछ। राष्ट्रिय स्वतन्त्रताको सवालमा नेपाली कांगेसले एक वा अर्को गल्तीहरू गर्‍यो, राजाले राष्ट्रवादको झ्ण्डा उठाउने मौका पाए र प्रजातन्त्र खोसे।

३० वर्षसम्म मुलुकको सार्वभौमसत्ता राजाको हातमा थियो। यो आन्दोलनले जनतामा ल्याएको छ। कुन जाति, कुन भाषा बोल्ने, कुन संस्कृति पालन गर्ने जनताको हातमा आएको हो? मलाई लाग्छ, एउटा भाषा, जाति, धर्म, सम्प्रदाय र संस्कृतिको हातमा आएको होइन। नेपाली जनताको हातमा आएको हो जो बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसंस्कृतिका छन्। सबै जनताको हातमा आएको सार्वभौमसत्ताको अधिकारको प्रयोग कहाँबाट हुन्छ? त्यसको प्रयोग राज्यबाट हुन्छ। राजनीतिक निकायबाट, राजकीय निकायहरूबाट हुन्छ। यही कुरामा हाम्रो बहस, वादविवाद हो। राजा, दरबारिया चाहन्थे हिन्दू धर्मलाई राज्यधर्म बनाइयोस्, हिन्दू राष्ट्र बनाइयोस्। तर नेपाली कांग्रेसले पनि त्यही कुरा गर्‍यो।

हामीले अहिले प्रजातन्त्रीकरणको मुद्दा ठोस रूपमा उठाएका छौं, दरबारसँग नेपाली कांग्रेसको गठबन्धनलाई उजागर गरिरहेका छौं। नेपाली कांग्रेसले पनि घोषणापत्रमा राखेको रहेछ, हामी पनि प्रजातन्त्रलाई बलियो बनाउन चाहन्छौं। वास्तवमा, प्रजातन्त्रमाथि खतरा कहाँबाट छ? केवल भावुक ढंगले प्रजातन्त्र बलियो बनाउँछु भन्ने आधारमा मात्रै कसैलाई विश्वास गर्न सकिन्न। प्रजातन्त्र कमजोर के कारणले भइरहेको छ? ठोस रूपमा भन्न सक्नुपर्छ। हामीले सुस्पष्ट भनेका छौं, दरबारबाट नै प्रजातन्त्रमाथि खतरा छ। नेपाली कांग्रेसले कम्युनिष्टहरूबाट प्रजातन्त्रमाथि खतरा छ भनिरहेको छ। अघि पद्मरत्नजीले भन्नुभयो, म पनि भन्न चाहन्छु, संविधानले तोकेको निश्चित अवधिमा आम निर्वाचनद्वारा जनादेश प्राप्त गरेको पार्टीले सरकार निर्माण गर्ने प्रणालीलाई हामी दृढतापूर्वक रक्षा गर्नेछौं। सरकारी र सार्वजनिक निकायहरूमा कुनै पनि पार्टीले आफ्नो एकाधिकार जमाउनुहुँदैन। नेपाली कांग्रेसले अहिले के गरिरहेको छ? सञ्चारको क्षेत्रमा, प्रशासनिक क्षेत्रमा हेर्न सक्नुहुन्छ।

मैले भनेको थिएँ, नेपाली कांग्रेसलाई यो आम निर्वाचनपछि खोज्न भारत जानुपर्ने हो कि? अहिले अखबारहरूमा झ्ण्डा बनाएर मदन भण्डारीले यस्तो उल्फा कुरा गर्‍यो भनिंदैछ। मदन भण्डारीले कुन प्रसंगमा भनेको हो? म अहिले यहाँ पनि राख्न सक्छु। मदन भण्डारी मरिहालेको छैन। मदन भण्डारी मर्‍यो, केही फरक पर्दैन, यो एकीकृत पार्टी मर्नेवाला छैन।

२०४८ को संसदीय निर्वाचनमा उम्मेद्वारी दाखिला गर्न जाँदै महासचिव भण्डारी।
अहिले झ्ण्डै एक दर्जन हिंसात्मक उपद्रव घटना घटिसकेका छन्। यस्तै हो भने सधैंभरि हामी पनि सहने छैनौं। गणेशमानजी, मौका गुम्न नदिनुहोस्। जे भन्नुहुन्छ, चाँडै मुख खोल्नुहोस्। हामीले त रचनात्मक प्रतिस्पर्धा चाहेका थियौं। जनताले मन पराए शासन सत्तामा गएर योग्यतम सरकार दिन सक्छौं। जनतालाई अहिले कम्युनिष्टहरूले गर्न सक्दैनन्, कांग्रेसले नै सक्छ भन्ने लाग्छ भने ठीक छ, कांग्रेसलाई नै कुर्सीमा आसीन गराउनुहोस्। हामी त्योभन्दा तल्तिरै, गजरामा, चटाइमा, धुलामा बसेर जनताको सेवा गरिरहौंला। तर, प्रतिस्पर्धा गर्न नसकेर ध्वंस र विप्लव मच्चाउँदै कम्युनिष्टहरूलाई तर्साउन खोज्ने हो भने मार्कोसले, च्याङकाइसेकले, रूसको जारले सकेन। यहाँका नेपाली कांग्रेसभित्रका मार्कोसहरूले नोट गरेर राखे हुन्छ, हामी पराजय स्वीकार गरेर, पिठ्यूँ फर्काएर मैदान खाली गर्नेवाला छैनौं।

दरबार बारेमा केही भ्रम पाल्नु र राख्नु जरूरी छैन। हामीले भनेका छौं, त्रिपक्षीय सम्झौतालाई पालन गरेर हात नलम्काइकन, आँखा नचम्काइकन राजा बसिरहन्छन् भने हामीलाई आपत्ति छैन। यो अभिव्यक्त गर्दा धेरै ठाउँबाट, कम्युनिष्ट आन्दोलनभित्रकै मित्रहरूले भनेका छन्– यिनीहरू त राजावादी भए। मैले धेरै ठाउँमा खण्डन गरेको छु र यहाँ पनि दुई शब्द राख्न चाहन्छु। अहिलेको यो शक्ति सन्तुलनमा राजाले शान्तिका साथ मानसम्मान उपभोग गर्दै बसिरहन्छन् भने हामीलाई कुनै आपत्ति छैन भनेका हौं। नोट गरेर राखे हुन्छ, यो पार्टी राजावादी होइन। राजालाई मान्ने राजनीतिक विश्वास होइन, बाध्यता हो। तर मेरो अनुरोध छ, तपाईंहरूले कहिल्यै राजा वीरेन्द्रलाई सोध्नुभएको छ कि महाराज नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीप्रति के धारणा छ? किन? राजा एउटा शक्ति हो भने कम्युनिष्ट अर्को शक्ति हो। अनि, नियतिले निश्चित गरेको छ कि हामीले राजाप्रति जम्लाहात गरेर उभिनु परोस् र राजाले हामीसँग जम्लाहात गर्नु नपरोस्। यो पारस्परिक सवाल हो।

राजाले हामीलाई समाप्त पार्न चाहेका थिए, सकेनन्। सकेको भए हामीलाई मैदानमा आउन दिने थिएनन्। मैले भन्न खोजेको के हो भने, बाध्यता हो हामीले राजासँग सम्झौता गर्नुपर्‍यो। बाध्यतापूर्वक नै सम्झौता गरिए पनि हामी वचनबद्धताप्रति इमानदार हुन चाहन्छौं। मानसम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्! आँखा नचम्काइबक्स्योस्!! आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस्!!! र, सण्डमुण्डहरूलाई नै चलाउने हो भने महाराजले श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्‍यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्। प्रश्न गर्ने हो भने मलाई लाग्छ, राजाले पनि भन्नेछन् यो बाध्यताको कुरा हो, म त कहाँ कम्युनिष्ट मान्छु र? यो पारस्परिक कुरा नै हो।

जहाँसम्म शत्रु, विरोधीसँग सम्झौता हुन्छ कि हुँदैन? आन्दोलन, वर्गसंघर्षको कार्यनीतिक विज्ञान जानकारी राखेको व्यक्तिले अस्वीकार गर्न सक्दैन। हामीले त्यही सम्झौता गरेका हौं। ढाँट्नु जरूरी छैन। हाम्रा दस्तावेजहरूले तोकेका छन्, यो मुलुकको प्रजातन्त्र र राष्ट्रियताको दुस्मन राजतन्त्र हो। तर, म फेरि भन्न चाहन्छु, सिद्धान्तको रक्सी पिएर वस्तुगत स्थितिको विश्लेषण नगरी लकिरको फकिर भएर चलिन्छ भने आन्दोलनलाई कुनै गति दिन सक्दैन।

हामीले सामन्तवादको उन्मूलनको कुरा गरेका छौं। यसको तात्पर्य के हो भने हामी जमिनदारहरूको जमिन, सामन्तहरूको जमिन खोस्नेछौं। सामन्तहरूको हातबाट जमिन लिएर किसानहरूको स्वामित्व स्थापित गर्नेछौं। २, ४, ५, १० बिघा हुनेहरू कम्युनिष्ट पार्टी आयो भने खोसेर किसानलाई दिइदिन्छ भन्ने कांग्रेस वा अरूले गरेको दुष्प्रचारको भ्रममा नपर्नुहोस्। महासामन्तहरूको जमिन खोसेर किसानहरूलाई दिनुपर्छ भन्ने कार्यक्रम लिएका हौं। हामी सामन्ती भूस्वामित्वलाई अन्त्य गर्न चाहन्छौं, ९३ प्रतिशत किसान भएको मुलुकमा किसानहरूको हितको कुरा नगर्ने हो भने दाल नगल्ने भएको हुनाले कांग्रेसले किसानलाई अल्मल्याउन यो कुरा राखेको हो।

कर्णालीपारि, सुदूरपश्चिममा कमैया प्रथा जीवित छ। नेपाली कांग्रेसका नेताहरूले एकातिर गाईका गोठ र अर्कातिर कमैयाहरूको गोठ पालेका छन्। त्यहाँका छोटे महाराजहरू अहिले पनि राजा भएर बसेका छन्। अब, नेपाली कांग्रेसले सामन्तवादको कसरी उन्मूलन गर्ने होला? त्यसैले कुराको आधारमा हैन, कामको आधारमा मूल्यांकन हुनुपर्दछ।

सामन्तवादलाई उन्मूलन गर्ने, साम्राज्यवादको शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरालाई यो चुनावी मुद्दाको महत्वपूर्ण विषय बनाएका छौं र त्यसलाई हामीले नौलो जनवाद भनेका छौं। अहिले राजनीतिक क्षेत्रमा प्रजातन्त्र आएको छ; आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा आइसकेको छैन। आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रजातान्त्रिक परिवर्तन नै नौलो जनवाद हो। यो कम्युनिष्टको, सर्वहारा, श्रमजीवीको मात्रै होइन; देशभक्त, प्रजातान्त्रिकको पनि कार्यक्रम हो भन्ने हामी ठान्छौं।

चीन भ्रमणका क्रममा ग्रेटवाल अगाडि मदन भण्डारी। पृष्ठभूमिमा केपी ओली।
दुनियाँबाट कम्युनिष्ट लोप भइरहेका छन् भन्ने प्रचार भइरहेको छ। दुनियाँमा जतिसुकै ठाउँमा कम्युनिष्टहरू शासन सत्ताबाट हटेका हुन्, यसले मार्क्सवाद लेनिनवादको सत्यतालाई, शाश्वततालाई कुनै फरक पार्नेवाला छैन। मार्क्सवादको मूलभूत तत्व शोषण र उत्पीडनलाई समाप्त पार्नु, श्रमजीवी, मिहिनेती, उत्पीडित जनताको राज्य स्थापना गर्नु हो। दुनियाँमा शोषित, उत्पीडित, मिहिनेती, सर्वहारा, श्रमजीवी जनताको राज्यव्यवस्था स्थापना गर्ने आवश्यकता समाप्त भइसक्यो? पूँजीपतिहरूले, सामन्तहरूले मात्रै सत्ता चलाउने हो त?

नेपाली कांग्रेसका कृष्णप्रसाद भट्टराईजीले भारत गएर नेपालका नदी साझा भन्ने वचन दिएर आउनुभयो। साझ्ा नदीको व्याख्या के हो? यो मुलुकका अन्तरिम सरकारका प्रिय प्रधानमन्त्रीजी! भारतको गंगा र अरू नदी पनि साझा हुन् त? नेपाली जनताको अक्षुण्ण अधिकार रहने स्रोत र सम्पदालाई भारतको साझा बनाउने कुरामा वचन दिएर आउनुहुन्छ भने तपाईंको राष्ट्रिय स्वतन्त्रताको नीति के हो? सुस्पष्ट रूपमा आउनुपर्‍यो।

५०० वर्षको पूँजीवादी आन्दोलनको इतिहासमा पूँजीपतिहरूले दर्जनौं पटक मैदानमा नाक रगड्नु परेको छ, धूलो चाट्नु परेको छ, चौरको दूबो दाँतले टिप्नुपरेको छ र पूँजीवादीहरूका नंग्रा र दाह्राहरू भत्किएका छन्। भियतनाममा अमेरिकाका खुट्टा काटिएनन् र? लाओसमा, कम्पुचियामा त्यस्तो भएन र? आज, विश्व कम्युनिष्ट आन्दोलनमा केही समस्याहरू उत्पन्न भए भन्नेलाई लिएर जत्रो हडकमबाजी मच्चाइरहेका छन्, हामीलाई विचलित बनाएको छैन। हामीलाई व्यालेट बोक्न, रचनात्मक ढंगले आउन अवसर प्रदान गरिन्छ भने व्यालेट लिएर, बुलेट बोक्न बाध्य पारिन्छ भने बुलेट बोकेर भए पनि प्रतिद्वन्द्विता गर्न तयार छौं।

निर्वाचन आइसक्यो र यो निर्वाचन गिरिजाबाबुले भने जस्तै ठूलो महाभारत हो। तर प्रिय गिरिजाजी! यो महाभारतमा ब्रह्मास्त्र, पाशुपतास्त्र, इन्द्रास्त्र र अरू अस्त्रास्त्रहरू प्रयोग नगरियोस्। विश्वासको, अस्थाको, रचनाको, कार्यक्रम र नीतिहरूको अस्त्र प्रयोग गरियोस्। कमरेड हो! यो लडाईं हरेक व्यक्तिसँग, एक एक व्यक्तिको बीचमा, झुपडीहरूमा पुगेर लड्नुछ। हिजोको लडाइँ शहरहरूमा भएको थियो, आज प्रत्येक गाउँ कुनाहरूमा, प्रत्येक अठार वर्ष पुगेको, अठार होइन, त्योभन्दा अझ् थोरै दश–बाह्र वर्ष पुगेको कुनै किशोरमा, भाइबहिनीहरूमा पनि पुग्नुपर्छ। अर्थात् साँचो प्रजातन्त्र भनेको के हो भन्ने स्थापित गर्न हामीले हर ठाउँमा पुग्नुपर्छ। त्यसो नहुँदा 'पछार्न त पछार्थें, तर खुट्टै टेक्न दिएन' भन्ने स्थिति भयो भने, लाजमर्नु हुन्छ। ३२ वर्षपछि हुन लागेको आम निर्वाचनमा एक करोड सात लाख राजनीतिक सेनाहरू प्रजातन्त्रको निमित्त बाहिर उत्रनुपर्छ। यस्तो भएमा मात्रै यो साँचो अर्थमा महाभारत हुनेछ।

अन्त्यमा मलाई उत्तेजित बनाउन भनिएका कुराहरूको जवाफ दिऊँ। पुनर्जागरण ले मदन भण्डारीलाई घोचपेच गर्दै कहिले काठमाडौंको १ नं. क्षेत्रमा उठ्ने, कहिले मोरङको फलानो ठाउँबाट, कहिले उठ्दै नउठ्ने प्रचारित गराउँछ। मदन भण्डारीको क्षमता छ भने १ नं. मा उठोस् र जमानत जफत गराओस् पनि भनेको छ। मेरो भन्नु के छ भने, मदन भण्डारी कृष्णप्रसादसँग मात्र होइन, निकै लोकप्रिय र विष्णुको अवतार ठान्ने राजा वीरेन्द्र पनि श्रीपेच खोलेर कुनै समरमा आउँछन् र प्रतिस्पर्धा गर्न चाहन्छन् भने प्रतिस्पर्धा गर्न तयार छ। मलाई कुनै फिक्री छैन, मदन भण्डारीले यही १ नं. चुनाव क्षेत्रबाट उठ्नुपर्छ भनेर पार्टीले फैसला गर्‍यो भने म यसरी नै आउनेछु। तर मलाई मनमा अलिकति खेद नै हुनेछ कि मैले कृष्णप्रसाद भट्टराईजीको जमानत जफत गरिदिनुपरोस्। यसकारणले कि, कृष्णप्रसाद भट्टराईजी कुनै क्षेत्रबाट संसद्मा आउनुहोस्, मेरो शुभकामना छ।

मदन भण्डारी जित्नका निम्ति महासामन्तको गुलामी गर्न हात मोलेर जानेवाला छैन। भोट पाउँला भनेर कुनै भ्रष्ट नोकरशाह र बदमाससँग शिर झुकाउनेवाला छैन। यदि यो १ नम्बर क्षेत्रमा साम्राज्यवादको शोषण, उत्पीडनलाई समाप्त पार्न चाहने जनसमुदाय हुनुहुँदोरहेछ भने म उहाँहरूको भावनाको प्रतिनिधित्व गरेर विजय प्राप्त गर्न सक्छु। सामन्तवादलाई उन्मूलन गर्न चाहनेहरूको बहुमत रहेछ भने विजय प्राप्त गर्न चाहन्छु, षडयन्त्र गरेर होइन। यद्यपि पार्टीले फैसला गर्न बाँकी छ, मदन भण्डारी आउन पनि सक्छ, नआउन पनि सक्छ। तर, यो सूर्य त आयो आयो। यो एकीकृत पार्टी त आयो आयो। यसलाई तीन वटा राजाले कोशिश गरेर त धपाउन सकेनन्, अब नेतात्रय जसले आफूलाई ब्रह्मा, विष्णु र महेश्वर ठानेका होलान्, तिनीहरूले पनि यसलाई हल्लाउन सक्नेवाला छैनन्।

मैले धेरै समय लिएँ, धैर्यपूर्वक विचारहरू सुनिदिनुभयो। कृतज्ञतापूर्वक हार्दिक अभिवादन र धन्यवाद।

(५ चैत २०४७ मा चाबहिल, काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले दिएको मन्तव्यको सार। भण्डारीको ३ जेठ २०५० मा सडक दुर्घटनामा निधन भएको थियो।)

पूर्ण मन्तव्य www.himalkhabar.com मा।

comments powered by Disqus

रमझम