५ जेठ २०७० | 19 May 2013

मदनको विरासत रोजौं

Share:
  
- दयालबहादुर शाही
आउने चुनावमा मदनको विरासत र पुष्पकमलको हिरासतबीच भीषण द्वन्द्व हुनेछ।

आगामी संविधानसभा निर्वाचनमा आफ्ना चुनावी मुद्दा लिएर सहभागी हुने दलबीच दुईपक्षीय र बहुपक्षीय गठबन्धन हुने संभावना छ। तर, मूल रूपमा भने दुई ठूला वामपन्थी दल नेकपा (एमाले) र एकीकृत (माओवादी) बीचको पेचिलो द्वन्द्वले गठबन्धन निर्माणलाई प्रभावित पार्नेछ। विचार, राजनीति, संगठन र जनमत आदि सबैमा यी दुईबीच प्रतिस्पर्धा हुने हुँदा यो स्वाभाविक पनि हो। त्यसैले, एमाले वा एमाओवादीमध्ये एक रोज्न नेपाली कांग्रेस, अन्य वामघटक र मधेशवादी लगायतका सबै दल बाध्य हुनेछन्। बीचमा बस्न कोही पाउने छैनन्।

घृणा, असहिष्णुता र घात/ प्रतिघातले विगत निर्वाचनमा बज्रपात बेहोर्न विवश एमालेका नेता र कार्यकर्ताहरू यो पटक एकता, पहलकदमी र सक्रियताबाट अब्बल हुन चाहन्छन्। मदन भण्डारीको विरासत र पुष्पकमल दाहालको हिरासत रोज्दा जनताको मत एमालेको पक्षमा पर्ने निश्चित छ। उपयोगितावाद, छलछाम, असहिष्णुता र हैकमवादको मार्ग–चित्रबाट प्रचण्डको हिरासत पुगिने हुनाले जनताको छनोटमा त्यो पर्ने कुरै आएन।

एमाले र एमाओवादीको तुलना

दुई पार्टीका दस्तावेजहरूको तुलनात्मक अध्ययन गर्ने हो भने बहुलवाद, लोकतन्त्र र शक्तिपृथकीकरणको सिद्धान्तमा एमाले र एमाओवादीबीचको फरक भेट्न गाह्रो पर्दैन। मानवअधिकारको रक्षा, आवधिक निर्वाचन, संविधानको सर्वोच्चता, विधिको शासन, वैधानिक प्रतिपक्ष र शान्तिप्रति एमालेको प्रतिबद्धतामा प्रश्नै उठ्दैन भने एमाओवादीका दस्तावेजहरू त्यसबारे मौन छन्। एमाले जनताको जनवादी अधिनायकत्व चाहन्छ भने एमाओवादी पार्टीको नोकरशाहीतन्त्र। बहुलवादको सट्टामा अधिनायकवाद, लोकतन्त्रको विकल्पमा उग्रवामपन्थी हैकमवाद, शक्तिपृथकीकरणको सिद्धान्तको विकल्पमा एक नेतामा शक्तिको अति केन्द्रीकरण एमाओवादीका सिद्धान्त हुन्। मानवअधिकारलाई मुलाको मुरली झै बजे बजाउने नत्र चपाउने उसको दोधारे चरित्र छ।

संविधानको सर्वोच्चता सट्टामा स्वेच्छाचारिता, विधिको होइन पार्टीको शासन, आवधिक निर्वाचनको विकल्पमा सत्ता कब्जा एमाओवादीका विश्वास हुन्। हिंसामा आफ्नो भविष्य देख्नु र वैधानिक प्रतिपक्षको अस्तित्व स्वीकार नगर्नु एमाओवादीका विशेषता हुन्। एमाओवादी सामाजिक सद्भावको साटो जातीय विद्वेषको आधारभूमि खडा गर्दैछ र क्षेत्रीय असन्तुलन निम्त्याउँदैछ।

संकीर्णता रगतमै मिसिएकाले एमाओवादीको शब्दकोशमा लचकता कतै भेटिंदैन। प्रतिस्पर्धामा भविष्य नदेखेको उसले सत्ता कब्जालाई गायत्री मन्त्र बनाएको छ। छलछामलाई एमाओवादी नेताहरूले प्राणवायु बनाएका छन्। उत्प्रेरणा होइन बलजफ्ती, फरकमतको सम्मान होइन पर निन्दा, एकताका लागि इमान्दारी होइन भेदनीति मान्ने उसले शक्तिको स्रोत जनता पनि मान्दैन। त्यही भएर ऊ अझै जनआधारित कार्यकर्ता पार्टी बन्न सकेको छैन।

मदन भण्डारीको विरासत

मदन भण्डारीले राजनीतिमा निष्ठा र विनयलाई स्थान दिएर एमाले कार्यकर्तालाई दीक्षित तुल्याएका थिए। प्रचण्डले भने सस्तो लोकप्रियतालाई प्राथमिकता दिएका छन्। ढाँटको राजनीति बहुदलीय जनवादी संहिताभित्र नपर्ने हुँदा एमालेलाई संवेदनशील मुद्दामा खेल्नु छैन। एमाओवादी नेताहरू संवेदनशील मुद्दा उछाल्न ठेक्का पाए झै गर्छन्। त्यही भएर राष्ट्रकै जीवनलाई गाह्रो–अप्ठ्यारो पार्न सक्ने मुद्दामा एमाओवादी शक्ति आर्जनको सुन्दर अवसर देख्छ।

त्यसैले यो चुनाव मदनको विरासत रक्षा गर्ने र प्रचण्डको हिरासत अरू बलियो बनाउनेबीचको द्वन्द्व हुनेछ। उग्रवामपन्थीसँग असावधान हुँदै खेलबाड गर्दा लोकतन्त्र, जनता र राष्ट्रकै लागि महँगो हुने अनुभव हामीले पाइसकेका छौं। भण्डारीको विरासतको रक्षा गर्न सक्दा मात्र उग्रवामपन्थी अधिनायकवादको खतरा टार्न सकिन्छ भन्ने बुझनुपर्नेछ।

comments powered by Disqus

रमझम