१–१५ माघ २०६७ | 15-29 Jan 2011

राष्ट्रिय झण्डा र धर्म : गोरु बेचेको साइनो मात्र

Share:
  

हिमाल (१–१५ पुस, २०६७) मा छापिएको राष्ट्रिय झ्ण्डासम्बन्धी प्राध्यापक श्रीकृष्ण आचार्यको लेखमाथि टिप्पणी गर्दैछु । लेखकले “लिच्छवि राजाहरूले आफूलाई लिच्छवि कुलको झ्ण्डा जस्तो भनी चिनाउने गरेकाले त्यतिवेला नै नेपालमा ध्वजाको प्रचलन थियो भन्न सकिन्छ” लेखेर ‘भनिदिनु परेको’ जस्तो गरेका छन् । तर, इस्वीको ६०० को मानाङ्कमा नेपाली झ्ण्डा देखिएको कुरा रोड ई ग्यावर्स र सी भदेत्रोले क्वाइनेज् अफ नेपाल मा तथा त्यसमाथि चन्द्र पनि भएको इस्वीको ६०५–६१५ मा ढालिएका मुद्रा नेपाल राष्ट्रिय मुद्रा सङ्ग्रहालयमा भेटिने कुरा ज्ञानमणि नेपालले लेखिसकेका छन् । इस्वीको ६०५ कै अर्को मुद्रामा पछाडि सूर्य र ६४१ कोमा अगाडि पछाडि सूर्य र चन्द्र भएको कुरा ग्यावर्स र भदेत्रोकै किताबमा उल्लेख छ ।

अझ्ै थप, लुम्बिनी उत्खननताका सगरहवाको स्तूप नं. ८ को पीँधमा पाइएका ईंटहरूमध्ये एउटा (चित्र १) झ्ण्डायुक्त छ । यो बुद्धधर्मका अष्टमङ्गलहरूमध्ये एक विजयध्वजा हो जससँगै श्रीवत्स, त्रिशूल आदियुक्त अरू आठ ईंट छन् । पीसी मुखर्जीको कपिलवस्तु क्षेत्रका प्राचीन वस्तुहरूको खोजीसम्बन्धी रिपोर्टमा छापिएको प्रस्तुत चित्रबाटै थाहा हुन्छ यो चारकुने झ्ण्डा होइन । यी स्तूपहरू कोशल सेनापति विरुधकले इसापूर्व चौथो शताब्दीमा कपिलवस्तु ध्वस्त गर्नुअघिको मान्दा पनि हाम्रो झ्ण्डाको आयु २५०० वर्ष पर जान्छ ।

लेखमा जयदेव द्वितीयको अभिलेख वाक्यलाई उद्धृत गर्दै “उनीहरूले आफ्नो उच्चताको प्रतीकका रूपमा राष्ट्रको झ्ण्डामा पनि सूर्यको आकृति नै अङ्कित गराएको हुनुपर्दछ” लेखेर मात्र नपुगी “मल्ल राजाहरू पनि आफ्नो वंशलाई सूर्यवंशी मान्ने हुनाले ध्वजामा सूर्यलाई नै अङ्कित गरे होलान्” भनेर एक प्राध्यापकले अन्दाजको भरमा लेखिदिँदा झ्ण्डाको हित ग¥यो कि अहित ? जबकि, ‘आफूलाई सूर्यवंशी भन्ने मल्लहरूको झ्ण्डामा हनुमान र चन्द्रवंशी भन्ने सिम्रौनगढका राजाहरूको झ्ण्डामा गरुड भएको’ कुरा यसअघि नै प्रकाशमा आइसकेको छ ।

“राजाहरू प्रायः देवीका उपासक हुने गरेकाले झ्ण्डामा रातो रङ प्रयोग गरे होलान् भनेर अनुमान गर्न सकिन्छ”, भनी लेख्नुअघि आफ्नो प्रशस्तिमा ‘पशुपतिका पाउका धुलाले टाउको फुस्रै भएका’ भन्ने वाक्यांश पारेका राजाहरूले पशुपतिलाई नै नचढ्ने रङ झ्ण्डामा प्रयोग गरे होलान् र ! भनेर सोचिदिनुपथ्र्याे । “मल्लकालका भवन र मन्दिरका ढोकाहरूमा दुईतर्फ दुई पताका भएका धातुका झ्ण्डा टाँगिएका पाइन्छन्, जसले नेपालका प्राचीन झ्ण्डाहरूको आकार सङ्केत गर्छन्”, लेखिसकेपछि “वर्तमान नेपालको राष्ट्रिय झ्ण्डाको परिकल्पना पृथ्वीनारायण शाहले गरेकोमा सन्देह छैन” र “नेपाल अधिराज्य बनाएपछि जातीय समन्वयका रूपमा दुईवटा पताका भएको राष्ट्रिय झ्ण्डाको परिकल्पना गरिएको थियो” भन्नेसम्म लेखिनु कस्तो वस्तुपरक विश्लेषणको शृङ्खला हो, बुझ्निसक्नु छ । जोन लकद्वारा लिखित बुद्धिष्ट मोनाष्ट्रिज अफ नेपाल मा उल्लेख भएको इस्वीको १५७४ मा बनेको भनिने मखनबहाःको ढोकामा, १३८२ मा बनेको ठानिने इटुम्बहालको ताराननीको ढोकामा, ११४२ मा बनेको ठानिएको पाटनको सुबहाःको ढोकामा र अझ् १०४१ मा बनेको ठानिने ठमबहीको ढोकामा भएका झ्ण्डाहरूले पृथ्वीनारायण शाहलाई नै पर्खेका थिए त ?

सम्भवतः यो प्रतिक्रिया लेखिने थिएन यदि सुनियोजित ढङ्गले अन्तर्राष्ट्रियस्तरमै नेपाली झ्ण्डा विरुद्ध चलाइएको हिटलरी दुष्प्रचार (प्रगर्म) लाई यस लेखले जानेर–नजानेर नसघाएको भए । फ्लागस्पट नाउँको वेबसाइटले “दुई त्रिकोणले नेपालको दुई प्रमुख धर्म हिन्दू र बौद्धलाई प्रतिनिधित्व गर्दछ” भनेर अनर्थ गरिदिएपछि धर्मनिरपेक्ष मुलुकमा अरू धर्मकालाई झ्ण्डा फेर्ने स्वर उराल्न प्रेरित गर्ने नै भयो । वेबसाइट यस्तो पनि लेख्छ— “रातो तीनकुने झ्ण्डा रामायण र महाभारतको समयदेखि हिन्दू विजयका प्रतीक हुन् ।” वाल्मीकि रामायणमा हनुमानका बाबु केशरीले हनुमानध्वज लिएको र महाभारतमा पनि हनुमानध्वजकै प्रसङ्गहरू छन्, तीनकुने रातो कतै भनिएकै छैन । रामानन्द सागर र बीआर चोपडाका टेलिसिरियल हेरेर भने मात्रै हो । वेबसाइटले अझ् अगाडि बढेर ‘वीर सावरकरका भनाइमा नेपाल अहिन्दू झ्ण्डाको वशमा नपरेको देश भएको’ समेत उल्लेख गरेको छ । तर, भारतका स्वतन्त्रता सेनानी सावरकर झ्ण्डाज्ञाता होइनन्, पाकिस्तान अर्थात् मुस्लिम राज्य निर्माणका विरोधी मात्र हुन् ।

फ्लागस्पटले नेपालको झ्ण्डालाई ‘राणा वंशको प्रतिद्वन्द्वी हाँगाहरूलाई बुझउने त्रिकोणहरूको झ्ण्डा’ पनि भनेको छ । यसरी सम्भवतः जङ्ग राणा र शम्शेर राणालाई सङ्केत गर्ने यी महान् जानकार चाहिँ फ्लाग्स् अफ द वल्र्ड (१९८६) र अब्जर्भर्स बुक्स् अफ फ्लाग्स् (१९६६) का लेखक हुन् । उनीहरू फेरि लेख्छन्— “माथिको चन्द्रमाले राजालाई र तलको सूर्यले राणा परिवारलाई प्रतिनिधित्व गर्दछन् ।” एमएम लुपर्ट नामका यस्तै लेखकले पनि यसमा सही थाप्दै भनेका छन्, “दुइटा त्रिकोणले शाह र राणालाई प्रतिनिधित्व गर्छन्, चन्द्रमाले राजालाई र सूर्यले राणालाई ।” आफ्नो कुनै गुप्त अभीष्ट पूरा गर्न लागिपरेका यिनको आधिकारिक स्रोत के हो ? नेपालको कुन किताब, कुन आधिकारिक अभिलेख र कुन ताम्रपत्रमा यी कुरा लेखिएका छन् ? के चन्द्रशम्शेर राणाले आफ्नोबारे अनुसन्धान गर्ने पर्सिवल ल्याण्डनलाई ‘झ्ण्डाको चन्द्रमा वा सूर्यले मेरो वंशको प्रतिनिधित्व गर्छ’ भनेका थिए र ?

क्रिष्टोफर माउथवर्थ नामका एक अर्का लेखकले ठूलै आविष्कार गरेझ्ैं यस्तै अर्को झ्ण्डा भारतको देवाश राज्यमा फेला पारेका छन् । तर हनुमान भएको यो ध्वज बोक्ने देवाश राज्य नै १८औं शताब्दीमा मात्र जन्मेको हो । अर्का स्वयम्भ ज्ञाता अर्भाना ग्रान्के लेख्छन्— “भारतीय उपमहाद्वीपमा झ्ण्डाहरू त्रिकोणात्मक हुन्छन् । अहिले पनि भारतका मन्दिरमा त्रिकोणात्मक झ्ण्डा फहराइन्छ ।” तर भारतीय उपमहाद्वीपमा नपर्ने तिब्बती मध्ययुगको प्रसस्त अनुसन्धानपछि एक्सजेड च्यानलले प्रसारित गरेको टेलिशृङ्खलामा देखिने चित्र २ र ३ का झ्ण्डाका पृष्ठभूमि रातै छन्, एउटाको त्रिकोणभित्रका सम्भवतः तिब्बती लिपीका अक्षर र अर्कोका दुई सेता गोलाकार चन्द्र र सूर्यका निम्ति हुन् ।

मलेसियाका टापुपिच्छे त्रिकोणात्मक झ्ण्डा छन् । ब्रिटेनले राजा थी वाउलाई भारतमा निर्वासित नगर्दा सन् १३०० देखि १८८५ सम्म बर्मामा नौकुने झ्ण्डा थियो । तिनै कोटिका एक लेखक माक्र्स इपी श्योगर भन्छन्— “यस्ता जीवित अवशेष प्रायः समुद्रको पहँुच नभएका एकाकी इलाकामा जीवित हुन्छन् ।” अर्थात्, पश्चिमको सिको गरेर चारकुने नभई आधुनिक हुनै सकिँदैन भन्ने उनको धारणा छ । र, नभन्दै ५६० वर्षअघि नेपाल पसेका पात्रहरू नेपालको तीनकुने झ्ण्डालाई ‘टालो जस्तो देखिएको’ भनेर अपमान गर्ने आँट गर्दै अन्तर्राष्ट्रिय ढाँचाको चारकुने बनाउनुपर्ने माग गर्छन्, नेपाल आगमनको १४०० वर्ष भन्दा बढी इतिहास नभएकाहरू यस झ्ण्डामाथि विष ओकल्छन् ।

नेपालको राष्ट्रिय झ्ण्डा का लेखक दयाराम श्रेष्ठले पनि झ्ण्डाप्रति न्याय गरेका छैनन् । वेदमै उल्लेख भएको सूर्यचन्द्राङ्कित झ्ण्डा हो भन्ने योगी नरहरिनाथको भनाइलाई पुनर्पुष्टि नगरी लेखिदिएका उनले त्यो उक्ति कुन वेदको कहाँनेर छ, पङ्क्तिसहित उल्लेख गरिदिनुपथ्र्यो कि पाइएन भन्न सक्नुपथ्र्यो । प्राध्यापकहरू नै वस्तुनिष्ठ नभएपछि पशुपतिनाथले मात्रै कति कल्याण गरुन् !

फर्केर फेरि एकपल्ट सगरहवाका अष्टमङ्गलमै पुगौँ । हरेक स्तूप भिक्षुको अस्तुस्थान हो । कमल चित्र भएको ईंटमाथि अस्तुपात्र छ र त्यस वरिपरि अष्टमङ्गलहरू कोरिएका आठ ईंट छन् । सबै स्तूपका अष्टमङ्गल समान छैनन् । कुनैमा फर्सा र अङ्कुश छन्, कुनैमा त्रिशूल र शंख आदि । धर्म, सम्प्रदाय, स्थान अनुसार अष्टमङ्गल फरक–फरक हुन्छन् । तिब्बती बज्रयानी अष्टमङ्गलका धर्मचक्रको सट्टा नेपाली बज्रयानी अष्टमङ्गलमा चमर हुन्छ । बिस्केट जात्राका अष्टमङ्गलयुक्त रोटीहरूमा एउटा चन्द्रसूर्यसहितको नेपाली झ्ण्डाकार हुन्छ । हिंसा विरोधी बौद्ध स्तूपमै अस्त्रहरू अष्टमङ्गल हुनुको अर्थ हो ती धार्मिक होइन राजकीय चिन्ह हुन् ।

अष्टमङ्गलमा छत्र पनि पर्छ जुन हिमाल मा लेखकले उल्लेख गरेका पृथ्वीनारायण शाहको छत्र हो । भारतका मुगल सम्राटको सवारीअघि तराजु जस्तै गरी झ्ुण्ड्याइएका सुनका दुई माछालाई हात्तीमा राखेर अघि लगाइन्थ्यो । यो राजकीय चिन्हलाई ‘मारातिब’ भनिन्थ्यो भनेर विलियम डेरिम्पलले द लाष्ट मुगल मा लेखेकै छन् । यी दुई सुनका माछा पनि अष्टमङ्गलमा पर्छन् । हिमाल मै प्रकाशित ‘मगर’ दुलहीको निधारमा भएको चन्द्रसूर्ययुक्त गहनादेखि तेह्रथुमको छातेढुङ्गामा भएको चन्द्रसूर्य, माछा पनि अष्टमङ्गलकै चिन्ह हुन् । र, नभन्दै नेपाली अष्टमङ्गलको प्राचीनतम विशेषता ध्वजा भएको हरिराम जोशीले आफ्नो अभिनव संस्कृति कोश मा उल्लेख गरेकै छन् ।

यसैले मन्दिरमा राजकीय चिन्हहरू राख्दा विजयध्वज पनि स्वतः गजुर र ढोकामा राखिन पुग्यो, देउतालाई राजाभन्दा ठूला र राजालाई निमित्त मात्र ठानिने युग भएकाले । स्पष्टै छ, मल्ल शासकहरूको नाममा दुई वटा ‘श्री’ लाग्छ । शुद्ध नाम जय जय प्रताप मल्ल, जय जय प्रकाश मल्ल हो । श्रीको पर्यायवाची हो जय । दुई वटा श्रीको अर्थ भगवानको नोकर भनिएको हो र नै प्रशस्तिमा पनि ‘पशुपतिको पाउको धुलोले कपाल फुस्रै’ भन्ने बोली पर्न गयो । यही कारण मूल राजाको निवास मन्दिरमा झ्ण्डा पुगेको हो र कीर्तिपुरको लडाईंपछि राजकीय चिन्हरूपी खुँडा र तरबार बाघभैरवको मन्दिरमै सजाइएका हुन् । तर, यसको लगातार अनर्थ भएको छ र सबैभन्दा बढी अनर्थ गर्ने संस्कृतका विज्ञहरू नै छन् । कुनै चरा कसैको छानामाथि बस्दैमा त्यसमाथि घरमालिकको स्वामित्व हुन्छ र ? नेपाली झ्ण्डा र धर्मबीचको सम्बन्ध पनि त्यस्तै एक गोरु बेचेको नाता हो ।

सैारभ

comments powered by Disqus

रमझम