५ - ११ भदौ २०७३ | 21-27 August 2016

विचारको बोझ

Share:
  

'अक्सर स्वतन्त्र हुनुभन्दा सिक्रीमा रहनुमै सुरक्षित हुन्छ', बीसौं शताब्दीका विख्यात साहित्यकार फ्रान्च काफ्का भन्थे। राणाशासन, पञ्चायत, बहुदलीय प्रजातन्त्र, शाही 'कु' हुँदै लोकतान्त्रिक गणतन्त्रको राजनीतिक परिवर्तन आत्मसात सँगै क्रमशः स्वतन्त्र हुँदै गएका आम नेपालीले पछिल्लो समय भोग्न थालेको त्रस्त वातावरणले कतै काफ्काले भनेजस्तो 'सिक्री' को सुरक्षा खोजेका हुन् त? जवाफ सजिलो छैन।

स्थिति यस्तो बनिरहेको छ कि गणतन्त्रमै गणतन्त्रवादी त्रस्त छन्, लोकतन्त्रवादीहरू मौन रहन बाध्य छन्। विडम्बना, त्रसित र मौनता हुर्काउन तिनै 'लोकतन्त्रवादी' दलहरू अग्रसर छन्। क्रान्तिकारीहरू हिजोका आजै कसरी यस्ता भए? कतै काफ्काको 'दि मेटामोर्फोसिस' उपन्यासका पात्र ग्रेगोर साम्सा एक बिहान अचानक मान्छेबाट कीरामा रुपान्तरित भएजस्तै नेपाली नेताहरूको 'मेटामोर्फोसिस भइरहेको त छैन? यस्ता प्रश्नहरूको सेरोफेरोमा छ, वर्तमान।

यही समय–सन्दर्भमा राजेन्द्र पराजुलीको चौथो कथासंग्रह 'शुक्रराज शास्त्रीको चस्मा' आएको छ। राणाशासन विरुद्धका शहीद शुक्रराजको चस्माबाट कथाकारले लोकतान्त्रिक राजनीतिक विरोधाभास, विकृति र यसबाट उत्पन्न अवसाद नियाल्न खोजेका छन्। तर, यहाँ विचारेरै हो वा अनायास, पराजुली पनि काफ्का झै 'मेटामोर्फोसिस' शीर्षकमा आख्यान जन्माउँछन्, 'काफ्कास्क्यू' प्रभावमा पर्छन्।

कथा सङ्ग्रह शुक्रराज शास्त्रीको चस्मा

लेखक राजेन्द्र पराजुली

प्रकाशक सांग्रिला

बुक्स पृष्ठ १७७,

मूल्य रु.२५०

अघिल्ला तीन कथा संग्रह (विकल्प यात्रा, जाडोमा भोक र सपनामा मार्क्स) मा झ्ौं यसपटक पनि पराजुलीका कथाहरू दुस्वप्नको नियतिबाट गुजि्रएका छन्। 'शुक्रराज शास्त्रीको चस्मा' मा दलको नारा–जुलूस र गैरराजनीतिक व्यक्तिलाई शहीद घोषणा गर्न बाध्य सरकारको चित्रणमा पराजुली सफल छन्, जसै नक्कली शहीदको सालिक शुक्रराजको सालिक छेवै बनाइने निर्णय हुन्छ, शुक्रराजको सालिक ढल्छ, चस्मा हराउँछ। 'झट्ट हेर्दा चेतन शुक्रराज जस्तो देखिएको थियो!' यहाँनेर बिम्बमा गजबको सामर्थ्य भेटिन्छ। गुलाफी सुट, बहिर्गमित, पुँजीवादी, मेटामोर्फोसिस, नारा, प्रेमः मूर्दावाद, माई! म अहिले जन्मन चाहन्नँ र युद्ध अझै जारी छ पनि राजनीतिक कथाहरू हुन्।

पराजुलीको कथामा पञ्चायतदेखि गणतन्त्रसम्मको कालखण्ड अटेको छ। माओवादी विद्रोहको मृगतृष्णाबाट रन्थनिएको पुस्ताको मनोदशा केलाइएको छ। 'हिजो मैले बन्दूक समाउँदाको समाज र अहिलेको समाजमा कुनै फरक आएको थिएन', कथामा एक अयोग्य लडाकूको प्रश्न छ, जसको उत्तर दिन उनैका पूर्व सर्वोच्च कमाण्डर अर्थात् आजका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' उपस्थित छन्। यो आजको राजनीतिको संयोग र विडम्बना दुवै हो। 'पुँजीवादी' कथाले भट्टीमा हराएको मार्क्सवादी सपनाको चर्चा गर्छ। कथाकार पत्रकारितामै रहेकाले हुनुपर्छ, कथाहरूमा पत्रकार पनि कतै मूल पात्र त कतै सहायक पात्र भई देखापर्छ। तिनले पत्रकारिताका गुण र दोष मजाले औंल्याएका छन्।

संग्रहका २० मध्येका आधा कथामा समाज र व्यक्तिको निजत्व पर्गेल्न खोजिएको छ। लेखक राजनीतिबाहेकका विषयमा आत्मविश्वासी भने देखिंदैनन्। कथामा राजनीति यति हावी भएको छ कि प्रेमिका पर्खंदा पनि मन वामपन्थ कि नववामपन्थ भन्ने बहस गरिरहेको हुन्छ। बयान मा सबल लाग्ने पराजुलीको कथाशिल्प काठमान्डु गीत, पराकम्पन, एकालाप, गोस्ट राइटर लगायत कथामा दुर्बल बन्छ। यस्तो दुर्बलताले अधिकांश कथामा विचारको बोझ पारेको छ।

पुस्तक पाठकको हातमा पुगिसकेपछि 'लेखकको मृत्यु हुन्छ' भन्नुको अर्थ कृति सार्वजनिक सम्पत्ति बन्छ भन्ने नै हो। कृति सम्पादन र समीक्षाको आवश्यकतामाथि खरो टिप्पणी गर्दै आएका कथाकार पराजुलीका अधिकांश कथामा सम्पादनको चर्को अभाव देखिन्छ। एउटै कुरालाई उस्तै तर्कद्वारा पुनर्पुष्टि गर्न खोज्दा पाठकले झिजो मान्ने कुराबाट लेखक अनभिज्ञ देखिन्छन्। इतिहास कथा यस्तो लापरवाहीको नमूना हो भने 'विमोह' भन्ने शब्दप्रतिको कथाकारको मोह झ्ार्कोलाग्दो छ।

राजनीतिक आख्यानले त्यस समयको राजनीतिक प्रणाली, परिघटना र सिद्धान्तबारे टिप्पणी/आलोचना गर्छ। कतै कतै त विकल्प पनि प्रस्तुत गर्छ। यो वास्तविकतासँग नजिक हुन पनि सक्छ वा स्वैरकाल्पनिक पनि। ज्याक लण्डन, जर्ज अरबेल जस्ता राजनीतिक आख्यानकारहरू यसैका लागि प्रख्यात छन्। 'यी कथाहरूको संसार बार्दलीबाट हेरिएको संसार होइन, भोगिएका सत्यहरूबाट निर्मित अनुभूतिको संसार हो' भन्दै संग्रहको परिचय दिएका कथाकारले यस्तो दाबीलाई सत्य निकट बनाउने र समाजप्रतिको हेराइ संक्रमणमुक्त बनाउने हो भने, विचार, बिम्ब र सौन्दर्यको मीमांसामा थप गम्भीर हुनुको विकल्प छैन।

रविन गिरी

comments powered by Disqus

रमझम