५ जेठ २०७० | 19 May 2013

कामका कर्मचारी

Share:
  

एक घर एक रोजगार

(प्रयागदत्त तेवारीको कृषिकथा)

लेखकः मिलन बगाले

प्रकाशकः कौशिला फाउण्डेसन, पोखरा

पृष्ठः १६८+३६,

मूल्यः रु.२००

देश भन्ने चिज पनि विचित्रकै हुन्छ– दुई चार जनाले बनाउँदैमा बनिनसक्ने, दुई–चार जनाले बिगार्न खोज्दैमा नबिग्रने। कृषि सामग्री संस्थानका संस्थापक महाप्रबन्धक प्रयागदत्त तेवारीको हालै प्रकाशित संस्मरण एक घर एक रोजगार (प्रयागदत्त तेवारीको कृषिकथा) पढ्दा ठेकेदारीमा विश्वास गर्ने चकचके राजनीतिकर्मी र चाटुकार प्रशासकहरूको बीचमा इमान नछाडी काम गर्ने राष्ट्रसेवकको मिहिनेतले नेपाल धिमा गतिमा अगाडि बढेको आभास हुन्छ।

वि.सं. १९८९ मा तनहुँको च्यानडाँडामा जन्मेका तेवारी दुःखले पढ्छन्, उत्साहले काम गर्छन्, देशमा कामविहीन बनाइएको निराशामा विदेशको जागिर स्वीकार्छन् र रोमबाट 'रिटायर्ड' हुन्छन्। समाजसेवाको योजना बनाएर २०५४ सालमा नेपाल फर्केका उनी हिंसात्मक द्वन्द्वमा उद्यत पक्षहरूको गौंडातिर शान्तिको याचनाका साथ दौडधुप गर्छन्। कर्णालीको सदावहार दुर्भिक्ष अन्त्यका लागि अर्थमन्त्रीलाई बजेटबाटै 'एक घर, एक रोजगार' नीति घोषणा गर्न राजी बनाउँछन्।

मन्त्रीले काम गर्ने इच्छाशक्ति बेगर नारा मात्र बजेटमा हालिदिंदा खिसि्रक्क परेका कृषिविद् तेवारी खल्तीबाट नगद निकालेर खाद्य संकट हटाउने योजना बनाउने क्रममा गैरसरकारी संस्थाको 'मुर्गा' बन्न पुग्छन्। पोखराको लामाचौरमा बीसौं लाख निजी लगानी भइसकेको कौशिला ज्ञान–विज्ञान पुस्तकालयको निर्माण पूरा गर्न उनी छटपटाइरहेका छन्, तर सुगर, प्रेसर, पार्किन्सन्स् आदि रोगबाट ग्रस्त आफ्नै वृद्ध शरीरबाट धोका पाइरहेका छन्। किताबमा उनी भन्छन्, “स्वास्थ्य राम्रो भए कुदिहाल्थें, रोगले मलाई मात्र हैन मेरो पुस्तकालयलाई पनि थला पारेको छ।”

देशमा होस् या विदेशमा, सक्रिय जीवनकालमा जहिल्यै उम्दा काम गरेका तेवारीले पुस्तकमा अरूले जस्तो आत्मप्रशंसाको हिमाल उठाउने वा अर्तिबुद्धिको मुहान फुटाउने कष्ट गरेका छैनन्। उनले अरूलाई होच्याएका पनि छैनन्। १७ वर्ष नेपालको सरकारी सेवामा रहँदा देश बिगार्नेहरूसँग मजैले सिंगौरी खेलेका उनले झ्ोलेका एकाध फटाहा हाकिम र व्यापारीको प्रसंगवश नाम उल्लेख गरेका छन् भने बाग्लुङका समाजसेवी ओमप्रसाद गौचन, सरदार यदुनाथ खनाल, जानुकीप्रसाद प्रधान, डा. देवेन्द्रराज पाण्डे, कुलनाथ लोहनी, डा. भेषबहादुर थापा र हिमालयशमशेर राणालाई उच्च सम्मानका साथ सम्झ्ोका छन्, ती सबैसँग व्यक्तिगत चिनजान नभए पनि।

भारतको पुनाबाट कृषिमा बीएस्सी र स्वीट्जरल्याण्डबाट एमएस्सी गरेका तेवारीले दोलखाको जिरीबाट काम शुरू गरे। कृषि फार्म खोल्न जिरी पठाइएका उनी त्यहाँ विद्यालय र अस्पतालसमेत स्थापना गरेरतनहुँको खैरेनीटार पुगे। गण्डकी कृषि विकास परियोजना प्रमुखको रूपमा खैरेनीटारमा रहँदा जर्मनहरूसँग उनले लिएको अडान रमाइलो छ। त्यसपछि कृषि विभाग सरुवा भएका उनी फिल्डमा जस्तो काम गर्न नपाएर छटपटाउँछन्। जिरीमा काम गर्दा घाँसको बीउभित्र पैसा बोकेर हिंडेको, भाते संस्कृति भएको पोखराबाट भारतीय तरकारी विस्थापन गरेको, जुम्लामा मकै पुर्‍याउन हर्कुलस विमान ल्याएको, तेवारी वाटरमेलन लगायतका रमाइला संस्मरणहरूले पुस्तकलाई पठनीय बनाएको छ। प्रेरणादायी त यो छँदैछ।

परिशिष्टसहित पाँच खण्डको यो पुस्तकका सिपालु लेखक मिलन बगालेले तेवारीका शब्दावली र अभिव्यक्ति शैलीको राम्रो सम्वर्द्धन गरेका छन्। भाषा सम्पादकले भने सलल बगेको कथामा जर्मनीलाई जर्मन र भारतलाई भारतीय जस्ता नमज्जा निफन्न सकेका छैनन्। पुस्तकको आवरणले तेवारी जस्ता कृषिकर्मीको महत्व दर्शाउन सकेको छैन। तेवारीको तीनपुस्ते भएको किताबमा उनकी जीवनसंगिनीको चाहिं योगदानको चर्चा त के नामसम्म उल्लेख नहुनुले उत्सुक पाठकलाई नमज्जा बनाउँछ।

आनन्द पी राई


**निर्बन्ध बन्धन **

लेखक/प्रकाशकः भरत जंगम

प्रकाशकः नेपाली आवाज प्रकाशन प्रा.लि.

पृष्ठः १६०+६,

मूल्यः २००

नारीको मनोविज्ञान र अस्तित्व खोजमा आधारित कथाहरुको संग्रह हो निर्बन्ध बन्धन। नौ वटा कथाको संग्रहमा लेखकले नारीका समस्या, भोगाइ, अनुभव, व्यवहार र संवेदनशीलताको अध्ययन र व्याख्या गर्ने कोशिश गरेका छन्।

नेपाली शैक्षिक प्रणालीका स्वरुपहरूः व्यावहारिक विश्लेषण

लेखकः ईश्वरीप्रसाद पोखरेल

प्रकाशकः एशिया पब्लिकेसन्स प्रा.लि.

पृष्ठः २९६+२०,

मूल्यः २५०

शैक्षिक सोच कार्यान्वयन गर्दाका कठिनाइको फेहरिस्तसहित नेपाली शिक्षा प्रणालीको प्राविदेखि विश्वविद्यालयसम्मको नीतिगत, कार्यगत र व्यावहारिक कठिनाइका साथै समाधानका जुक्तिहरू। विद्यार्थी, अध्येता, अनुसन्धाता, नीतिनिर्माता र कार्यान्वयन तहमा बसेकाहरूका लागि विशेष उपयोगी।

सौरभका पच्चीस वर्ष

लेखकः सौरभ

प्रकाशकः अर्किड बुक्स

पृष्ठः २८६+२०,

मूल्यः ३५०

समसामयिक विषयको विश्लेषणात्मक कृति हो सौरभका पच्चीस वर्ष। २०४५ सालदेखि स्तम्भ लेख्न थालेका उनका अधिकांश लेखका विषयवस्तु राष्ट्र र राष्ट्रियतासँग सम्बन्धित छन्। ३०० लेखबाट ५३ वटा छानेर सम्पादनसहित प्रकाशित पुस्तक तीन खण्डमा विभाजित छ।


परिवर्तित सन्दर्भमा मार्क्सवाद

मार्क्सिजम एण्ड दि न्यू वर्ल्ड अर्डर

(अ डिस्कोर्ष अन शिफ्टिङ ग्लोबल सिस्टम)

लेखकः मेघप्रसाद खरेल

प्रकाशकः ओरियन्टल पब्लिकेशन

पृष्ठः १०४+१६,

मूल्यः रु.२२५ मार्क्सवाद कुनै 'विश्वासको व्यवस्था' कदापि थिएन, तापनि विश्वमा यसलाई 'धर्मशास्त्र'को रूपमा स्वीकार्ने वा दुत्कार्ने दुवै प्रवृत्ति बलवान रहे। मार्क्सले दर्शन, अर्थशास्त्र र इतिहासमाथि विज्ञान रूपमा व्यापक अनुसन्धान गरेका थिए। यसरी मार्क्सवाद विश्वव्यवस्थाको एउटा नयाँ दृष्टिकोण बन्यो। अहिले पनि विश्वलाई वैचारिक रूपमा सर्वाधिक प्रभाव पार्ने सिद्धान्त मार्क्सवाद नै रहँदै आएको छ। यसका सकारात्मक र नकारात्मक दुवै पाटा छन्।

मार्क्सवादका मूलभूत सिद्धान्तलाई परिवर्तित सन्दर्भमा बुझ्नुपर्ने आग्रहसहित नवोदित लेखक मेघप्रसाद खरेलले मार्क्सवाद र नयाँ विश्वव्यवस्था (मार्क्सिजम एण्ड दि न्यू वर्ल्ड अर्डर) नामक पुस्तक लेखेका छन्। लेखकले परिवर्तित विश्व प्रणालीको सन्दर्भमा मार्क्सवादका आधारभूत परिवर्तनका नियमलाई नयाँ ढंगबाट बुझेर प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले मार्क्सवादलाई क्रान्तिकारी परिवर्तन, स्वाभाविक परिवर्तन, वर्ग विश्लेषणमा पुनर्विचार, इतिहासप्रति मार्क्सवादी मान्यता, आधार र उपरी संरचनाको सम्बन्ध आदि विषयमाथि समय सन्दर्भसहित व्याख्या गर्दै निष्कर्ष निकालेका छन्।

खरेलले आजको नेपाली सन्दर्भमा मार्क्सवादको छोटो व्याख्या गरेका छन्। मार्क्सवाद हिजोको जस्तो एकत्ववादी नभएर बहुलवादी बनेको सन्दर्भमा यसले राजनीति र प्राज्ञिक क्षेत्रमा समेत पर्याप्त असर पारेको लेखकको निष्कर्ष छ। मार्क्सवादको जन्म १८औं शताब्दीमा भयो, तर आजको समाजमा लैङ्गिक, जातीय, क्षेत्रीय, औपनिवेशिक, नवऔपनिवेशिक आदि विषयवस्तु थपिएका छन्। दक्षिण एशिया र नेपालजस्तो देशको लागि पनि यस्ता विषयवस्तु महत्वपूर्ण मुद्दा बन्न पुगेका छन्।

परिवर्तित सन्दर्भमा मार्क्सवादका आधारभूत सिद्धान्त बुझ्न चाहने जोसुकैलाई सरल अंग्रेजीमा लेखिएको यो पुस्तक उपयोगी छ।

मुमाराम खनाल

comments powered by Disqus

रमझम