५ जेठ २०७० | 19 May 2013

शाहीको सपना

Share:
  
इच्छाशक्ति हुँदा व्यक्तिगत प्रयासमै धेरै गर्न सकिन्छ भनेर देखाइदिएका छन्, नेपालगञ्जका भोजराज शाहीले।

नेपालगञ्जका भोजराज शाहीले व्यक्तिगत लगानीमै ६ देखि १२ वर्षसम्मका करीब १००० बालबालिकालाई फूटबल तालीम दिइसकेका छन्। उनले ओसोनिक क्लबमार्फत २०६६ देखि करीब दुई वर्ष बाँकेका गाउँगाउँमा फूटबल अभियान चलाए। 'महिला फूटबल विकास परियोजना' अन्तर्गत करीब ३५० बालिकाले ३ देखि ६ महीनासम्म नियमित तालीम लिए।

तस्वीर: तुफान न्यौपाने

तालीममा सहभागी दीपज्योति विद्या आश्रम कोहलपुरको टीमले गत वर्ष कोकाकोला कप अन्तर विद्यालय राष्ट्रिय छात्रा फूटबलको उपाधि पहिलोपल्ट काठमाडौं बाहिर पुर्‍यायो। विद्यालयस्तरको सबभन्दा बढी दुई लाख राशीको प्रतियोगिता उनीहरूले जित्दा आफ्नो फूटबल प्रयास सार्थक भएको शाहीले बताए। राष्ट्रिय महिला टीमका निरु थापा र कृष्णा खत्री पनि शाहीकै स्कूलका उत्पादन हुन्।

२०४७ देखि २०५२ सालसम्म मध्यपश्चिमबाट विभिन्न राष्ट्रिय प्रतियोगिताहरू खेल्दा शाही जर्मन प्रशिक्षक होल्गर ओभरम्यानको 'क्लोज क्याम्प'मा पनि बसेका थिए। बाबुको निधनपछि जेठो छोरोको रूपमा परिवारको जिम्मेवारी उठाउनुपरेपछि मैदानबाट बाहिरिएर २०५७ मा बाँके जिल्ला फूटबल संघको सदस्य बने। २०६२ मा संघको महासचिव बनेका शाही २०६६ मा अध्यक्षमा पराजय भोगेपछि क्लबमार्फत फूटबल प्रबर्द्धनमा लागे। “त्यहीको लफडाबाजीमा लागेको भए यो परिणाम आउने थिएन होला”, शाही भन्छन्।

यो अवधिमा उनले फूटबलका लागि धेरै गरिसकेका छन्। वर्षमा चार–पाँच पटक छिमेकी जिल्लासँग ओसोनिक क्लबको मैत्रीपूर्ण खेल हुन्छ। गत वर्ष यु १२ फूटबल प्रतियोगिता र इण्डो–नेपाल मैत्रीपूर्ण महिला फूटबल प्रतियोगिता भए। भारत उत्तरप्रदेशको टीमसँग कोहलपुर र नेपालगञ्जमा भएका दुई प्रतियोगिता ओसोनिकले जित्यो। क्लबले 'फूटबल खेलौं, कुलतबाट बचौं' भन्ने नाराका साथ विद्यार्थीलाई फूटबलमा तान्न घर–घर पुगेर अभिभावकलाई सम्झाउने गर्दै आएको छ। खेल्दा पढाइ बिग्रन्छ भन्ने अभिभावकको धारणा परिवर्तन गर्न शैक्षिक कार्यक्रम पनि सँगै चलाएको शाही बताउँछन्।

खेलाडीलाई नियमित तालीम र विभिन्न प्रतियोगिताका लागि चाहिने वार्षिक तीन लाख रुपैयाँ शाहीले आफै धानिरहेका छन्। रवीन्द्र श्रेष्ठ, वासुदेव भट्टराई र सानु तामाङ जस्ता पश्चिम नेपालको खेल विकासमा प्रतिबद्ध प्रशिक्षकहरूको खर्च यसमा जोडिएको छैन। शाहीलाई सघाउन अमेरिका बस्ने विप्लव गौतमले हालसम्म २०० वटा फूटबल पठाएका छन्। शाहीलाई फिफा इन्स्ट्रक्चर डाटो याप न्योम क्योङले पनि व्यक्तिगत रूपमा खेल सामग्रीहरू पठाइरहेका छन्। ग्रासरुट फूटबल तालीम हेर्न बाँके आएका बेला उनी शाहीको फूटबल लगावबाट प्रभावित भएका थिए। बाँकेमा फूटबल एकेडेमी र जमिन लिजमा लिएर भए पनि एउटा राम्रो फूटबल मैदान बनाउने योजनामा रहेका शाहीले हाललाई कोहलपुरस्थित आफ्नै जग्गामा 'मिनी ग्राउन्ड' बनाएर १२ वर्ष मुनिका बालबालिकाका लागि तालीम चलाइरहेका छन्।

एकेडेमीको लागि उनी राष्ट्रिय खेलकुद परिषद्, एन्फा जस्ता निकायहरूको सहयोग पर्खेर बसेका छन्। पश्चिम नेपालमा आफूहरूले फूटबलको वातावरण बनाइसकेको र अब नियमित तालीमको लागि सहयोग आवश्यक भएको उनले बताए। “एन्फालाई दुई जना प्रशिक्षक मागेका छौं”, शाहीले योजना सुनाए, “पूर्वाधार निर्माण र नियमित प्रशिक्षणको व्यवस्था भएमा राष्ट्रिय फूटबलमा पश्चिमको योगदान अवश्य देखिन्छ।”

तुफान न्यौपाने, नेपालगञ्ज

comments powered by Disqus

रमझम