१६–३० पुस २०६७ | 31 Dec 2010-14 Jan 2011

‘पप गाएको धेरैले रुचाएनन्’

Share:
  
नेपाली सुगम सङ्गीतप्रेमीमाझ लोकप्रिय गायक रामकृष्ण ढकाल नयाँ एल्बम शैली लिएर आएका छन् । अनुशीलसँगको कुराकानीमा ढकालले प्रतिस्पर्धा निकै चुलिएको यो क्षेत्रमा आप्mनो नयाँ एल्बम सुगम सङ्गीतको कोशेढङ्गा बन्ने दाबी गरे ।

लामो समयपछि आधुनिक सङ्गीतका श्रोतामाझ आउनुभो नि !

शैली भन्दा साढे ४ वर्षअघि आगमन एल्बम निकालेको थिएँ । अढाई वर्षअघि श्रोतालाई नयाँ स्वाद दिन पप र रक गीतहरू समावेश मेरो साथी एल्बम पनि ल्याएँ ।

रक–पप गीतहरू श्रोताले नरुचाएकै हो ?

धेरै श्रोताले मेरा पुरानै शैलीका आधुनिक गीतहरू नै सुन्न चाहनुहुने रहेछ भन्ने महसुस भयो । मेरो साथी राम्रो एल्बम थियो तर त्यसबाट रामकृष्ण ढकाल अब पपतिर लाग्यो भन्ने सन्देश गयो । आधुनिक गीतका मेरा प्रतिवद्ध ‘फ्यान’हरू चिन्तित भए । मेरो क्षेत्र आधुनिक नै हो तर मेरो साथी निकालेपछि मैले रक–पप गीतमै ‘हिट्स एफएम अवार्ड’ पाएँ । नोमिनेशनहरूमा पनि त्यसबेला सबैतिर पप र रक नै परे । नयाँपन चाहने श्रोताले मलाई रुचाए पनि धेरै श्रोताले त्यो नरुचाएको साँचो हो । श्रोताले मेरो स्वरमा मन पराउने हजार भेटिन्छन..., ओराली लागेको... जस्ता गीतहरू नै खोजेको पाएँ । त्यसैले शैलीलाई सुगम सङ्गीतकै सँगालोका रूपमा प्रस्तुत गरेको छु ।

यो त जस्तो सङ्गीतले बजार पिट्यो, उतै गएजस्तो भएन र ?

बजारमा कस्तो शैलीको गीत चलिरहेछ भनेर त हेर्नैपर्छ । गीत–सङ्गीत र फेशन एकै जस्तो हुन्छ र कतिबेला कस्तो चल्ने ‘ह्विम’ आउँछ, थाहा हुँदैन । गायक भएपछि सबै किसिमका गीतहरू गाउँनुपर्छ, अनिमात्र कस्तो गीत गाउँदा ठीक हुन्छ भन्ने थाहा हुन्छ ।

‘अब रामकृष्णको दिन गयो भन्ने’हरू पनि धेरै छन् नि ?

हो, मैले रक–पप गाउँदा यस्तो भन्नेहरू धेरै थिए । सङ्गीत क्षेत्रमा मैले २५ वर्ष बिताइसकेँ । यो बीचमा धेरै खालका आरोह–अवरोह पार गर्दै आएँ । पप एल्बम निकाल्दा कतिले ‘यसको दिन गयो अब चल्दैन’ भनेको पनि पाएँ । तर, सबै एल्बम एकै रूपमा ‘हिट’ हुन्छ भन्ने छैन । पछिल्लो समय धेरैको एल्बम चलेको छैन । पाइरेसी बढेको छ, रेडियो, टिभी, मोबाइलमा त्यत्तिकै बज्छ । सीआरबीटीको जमाना छ । हिजोजस्तो एल्बम किनेर गीत सुन्ने प्रवृत्ति घटिसक्यो । त्यसैले कसले कुन स्तरको गीत दिइरहेको छ भनेर मूल्याङ्कन हुनुपर्छ । शैली एल्बम मेरा दिन गए भन्नेहरूलाई जवाफ पनि हो । यो नेपाली सुगम सङ्गीतमा कोशेढुङ्गा सावित हुन्छ भन्ने लाग्छ ।

त्यस्तो के छ र यसमा ?

पहाडको छुकछुके रेल, कति कुरा..., भूल भयो म बाट..., राति राति... लगायतका गीतहरू श्रोताले रुचाइरहेका छन् । यसमा कालीप्रसाद रिजालदेखि अहिलेका किरण केसीसम्मको शब्द र शिखर सन्तोषदेखि नातीकाजीसम्मको सङ्गीत छ । सुगम सङ्गीत मनपराउने श्रोताका लागि भनेर कुनै किसिमको सम्झैता नगरी एल्बम तयार पारेको छु ।


रेनुको पहिलो पाइला

सानैदेखिको गीत गाउने शोख पूरा गर्दै रेनु बिष्ट (केसी) आफ्नो पहिलो कोसेली पहिलो पाइला लिएर श्रोतामाझ् आएकी छन् । ११ वर्षअघि नै यो आँखाले त्यो आँखालाई... बोलको गीत रेकर्ड गराएकी रेनुको पहिलो एल्बममा १० वटा नयाँ गीतहरू समेटिएका छन् । म्युजिक भिडियोसमेत बनेको रुवाउँदिन तिमीलाई... गीत शुरुवातमै श्रोताको छनोटमा पर्न थालिसकेको छ ।

रु. ६ लाख खर्चेर बजारमा आएको पहिलो पाइलामा नेपालका चर्चित गीतकार तथा सङ्गीतकारहरूको साथ पाएकी छिन्, रेनुले । आलोकश्री, न्ह्यू बज्राचार्य, बसन्त सापकोटा, गुरुदेव कामत, सुरेश अधिकारी, सचिन सिंह, हरि लम्साल, रक्कि धासु, कालिप्रसाद बास्कोटा, बीरेन शाक्यको सङ्गीत र भुपेन्द्र खड्का, आलोकश्री, बसन्त सापकोटा, लोकराज अधिकारी, कोमल प्रकृति र कृष्ण अधिकारीका शब्दहरू रेनुको स्वरमा सुन्न पाइन्छ । सङ्गीत क्षेत्रमा पहिलो एल्बम आएलगत्तै फिल्मी गायनमा समेत लम्कँदैछन्, उनी ।

लोकराज अधिकारीको शब्द र सुगम पोखरेलको सङ्गीतमा के यो माया हो र भै हाल्छ नि फिल्ममा गोविन्द मधुर र यादव योगीको सङ्गीतमा उनको स्वर सुन्न पाइनेछ । कपिलवस्तुमा जन्मेर दाङमा घरजम गरेकी रेनु ७ वर्षदेखि राजधानीको सांगीतिक माहोलमा स्थान बनाउन संघर्षरत छिन् । यसबीचमा ३ वर्ष उनले प्रकाश गुरुङ र गुरुदेव कामतसँग सङ्गीत प्रशिक्षणसमेत लिइन् । अरुणा लामाका गीतहरू गाउँदा गाउँदै सङ्गीतको नशा लागेको बताउने उनी श्रीमान् किरण केसीको साथ–सहयोगले गायन क्षेत्रमा सक्रिय हुन पाइरहेको र अर्को साल नयाँ एल्बम निकाल्ने तयारीसमेत भइरहेको बताउँछिन् ।


हिन्दी सिरियलका नेपाली निर्देशक

गुल्मीको विकट गाउँ अस्लेवाका लोकनाथ पाण्डेले नेपालमा रहँदा टेलिभिजनसम्म देखेका थिएनन् । ७ कक्षा पढ्दापढ्दै कामको खोजीमा मुम्बई हानिएका तिनै लोकनाथ अहिले टेलिभिजनमा करोडौंले हेर्ने सिरियलका निर्देशक बनेका छन् ।

भारतीय टिभी च्यानल सोनीको अमरधरा टेलिसिरीयलको ५० औं शृङ्खलापछि पूर्ण निर्देशक बनेका पाण्डेले साहरा च्यानलबाट प्रसारण भएका माताकी चौकी, मान रहे तेरा पिता, अग्ले जनम मोहे वेटिया होकी जो निर्देशन गरिसकेका छन् । उनकै निर्देशनमा बनेको अग्ले जनम मोहे वेटीया होकी जो अहिले जी–टिभीबाट प्रसारण भइरहेको छ । सहारा च्यानलबाट पुनः प्रसारण शुरु भएको माताकी चौकी को निर्देशन गर्ने जिम्मेवारीसमेत पाएका पाण्डे मुम्बईमा सानो पर्दाको दुनियाँमा नेपथ्यमा रहेर काम गर्ने सयौँ नेपालीमध्ये आफ्नै सङ्घर्षबाट सफलता चुमेका औँलामा गन्न सकिने नेपालीमा पर्छन् । कामको खोजीमा १५ वर्षको उमेरमै मुम्बई हानिएका पाण्डे भन्छन्, “यो मेरा लागि अकल्पनीय सफलता हो ।”

डेढ दशकदेखि परदेशमा सङ्घर्षरत यी युवा अहिले धेरै कलाकारको भविष्य बनाइदिने हैसियतमा छन् । कला निर्देशकको सहयोगीका रूपमा तारा लगायतका सिरियलमा काम गरेका पाण्डेले जी–टिभीबाट प्रसारित दिवार, राहे, साटरडे सस्पेन्स, एक्सजोन, संसार जस्ता सिरियलमा सहायक निर्देशक बनेर काम गरे । त्यसपछि मिडिटेक कम्पनीमा रहेर कभी बीबी कभी जाजुस मा मूख्य सहायक निर्देशकको जिम्मेवारी पाए । लगत्तै रोज मुभिजमा ‘एसोसियट डाइरेक्टर’को रूपमा जीत, गन्ज एण्ड रोजेज, लिपिस्टिक, इण्डिया कलिङ मा काम गरेका पाण्डेका लागि जी–टिभीको रियालिटी शो जी सिनेस्टारकी खोज पछि उज्याला दिन शुरु भएका थिए ।

अमरधरा सिरियललको ५० औं शृङ्खलापछि पूर्ण निर्देशक बनेका उनलाई यतिखेर भ्याइनभ्याइ छ । शुरुवातका दिनमा थुप्रै हण्डर खाँदै नेपाली भएकै कारण अनेकन् भेदभावसमेत खेपेका पाण्डेको करिअरले निर्देशकमा पदोन्नतिसँगै ठूलो फड्को मारेको छ । आफ्नै निर्देशनमा बनेको पछिल्लो सिरियल माताकी चौकी मा नेपालीहरूकै बाहुल्यता रहनुलाई सङ्घर्षको फल ठान्छन् उनी । सिरियल निर्देशनबाट मासिक भारु.३ लाखसम्म आम्दानी गरिरहेका पाण्डेले केही समयपछि मुम्बईको अनुभव प्रयोग गर्दै नेपाली चलचित्रको निर्देशन गर्ने सोच पनि बनाएका छन् ।

ऋषिराम कट्टेल


हङकङमा नेपालीपन

विश्वका जुनसुकै कुनामा रहे पनि आप्mनो कला–संस्कृति कतिसम्म प्यारो हुन्छ भन्ने बुझन हङकङका नेपालीहरूलाई हेरे पुग्छ । नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले १०–१६ पुसमा हङकङमा आयोजित ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह–२०१०’ मा हङकङको सडक नेपालीमय बन्यो । नेपालीहरूको अधिक बसोबास रहेको युनलङ सहरमा आयोजित शोभायात्रामा एक दर्जन विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, धार्मिक समुदाय, पत्रकार तथा स्थानीय चिनिया नेताहरूको समेत सहभागिता थियो ।

नेपाली भेषभूषा र बाजागाजासहित सयपत्री फूल बोकेका नेपालीहरूको उपस्थितिले युनलङ नेपालीमय बन्नपुग्यो । सोभायात्रापछिको सांस्कृतिक कार्यक्रममा विभिन्न जातीय तथा लोक नृत्य र गीत प्रस्तुत गरिए । चर्चित लोक गायक चेतमान गुरुङ, हरि श्रेष्ठलगायतले नेपाली धून सुनाए ।

सप्ताहकै क्रममा विद्यालयहरूमा नेपाली पुस्तकालय उद्घाटन, विद्यार्थीहरूबीच नेपाली भाषा, साहित्य, कला तथा सङ्गीतबारे कार्यशाला, प्रतियोगित्मक गोष्ठीहरू भए । आयोजक हङकङ नेपाली कला मन्दिरका अध्यक्ष एकराज राईका अनुसार, नेपाली समाजका आधार भाषा–साहित्य, संस्कृति र जाति पहिचानलाई संस्थागत गर्दै नेपाली एकता र समृद्धिलाई बढावा दिन सन् २००५ देखि यस्तो कार्यक्रम आयोजना हुँदै आएको हो ।

देवराज राई


तस्बिर र चित्रमाथि चित्र

चित्रकार सुजननले २०४६ साल जनआन्दोलनको चर्चीत तस्बिरमाथी बनाएको चित्र प्रर्दशनीमा ।
राजधानीको सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको कलाकार सुजन चित्रकारको एकल चित्रकला प्रदर्शनी हेर्ने जोकोही एकपटक अचम्मित हुन्छ । ६ वर्ष लगाएर उनले बनाएका चित्रहरू नितान्त भिन्न छन् । कारण उनले विभिन्न चर्चित तस्बिर तथा प्रसिद्ध चित्रकारहरूका कृतिमाथि आफ्नो कुची चलाएका छन् । समाजमा सिर्जनात्मक कला र कलाकारिताको उचित कदर हुन नसकेको विडम्वना देखेर आफूलाई मन परेका चर्चित तस्बिर र चित्रहरूलाई कलाको विषय बनाएको बताउने सुजन भन्छन्, “अन्य सामानको मूल्य पुरानो भएपछि घट्दै जान्छ तर, कलाकारका सिर्जना जति पुराना, त्यति मूल्यवान हुन्छन् ।”

तस्बिर र पुराना चित्रमाथि कोरिएका कलात्मक चित्रहरूको गहिराइबाट नै कलाकारको क्षमता झ्ल्कन्छ । प्रर्दशनीमा राखिएका १४ वटा पेण्टिङमध्ये सुजनले फोटो पत्रकार मीनरत्न बज्राचार्यको २०४६ सालको जनआन्दोलनको महŒवपूर्ण झ्लकको तस्बिर, विश्वविख्यात कलाकार पिकासो, भ्यानगग, गुस्ताभ क्ल्निटका साथै नेपालका शशी शाह र लोक चित्रकारले बनाइसकेका चर्चित पेण्टिङहरूलाई क्यानभासमा उतारेका छन् । नायिका मनिषा कोइराला, १९७४–एडी ब्याण्डका कलाकार, मदन चित्रकार र सङ्गीता थापाले संयुक्त रूपमा उद्घाटन गरेको चित्रकारकै भनाइमा ‘कोलाब्रेटिभ सोलो’ को यो प्रदर्शनी माघ दोस्रो सातासम्म चल्नेछ ।


छुल्ठिमको प्रतिभा

पपगायक धीरज राईसँग प्रेम विवाह गरेर बाराको सिमराबाट राजधानी आउनुअघिसम्म उनी सामान्य युवतीमात्रै थिइन् । एकाएक ‘सेलिब्रिटी’की श्रीमतीको पहिचान बनेपछि उनमा योभन्दा आफ्नै प्रतिभाबाट चिनिने मोह बढ्यो । त्यसैले गोर्खा एफएममा रेडियो प्रस्तोताको रूपमा काम शुरु गरिन्, त्यहाँबाट नेपाल वान टेलिभिजनमा समेत कार्यक्रम प्रस्तोताको रूपमा देखापर्न थालिन् ।

घरको नाम स्वीकृति भए पनि बितेका तीन वर्षयता उनी ‘छुल्ठिम’का नामबाट छाउन थालेकी छन् । रेडियो र टेलिभिजनमा सफल कार्यक्रम प्रस्तोताको पहिचान बनाइसकेकी छुल्ठिमले शरीरको तौल निक्कै कम गरेर आफूलाई मोडल र भिडियो निर्देशकका रूपमा समेत चिनाएकी छन् । म्युजिक भिडियो र देश–विदेशका ‘स्टेज–शो’हरूमा प्रस्तुत भइरहेकी सानैदेखिकी नृत्य शौखिन छुल्ठिमलाई अब श्रीमान्जस्तै गीत गाउने रहर छ । भन्छिन्, “श्रीमानकै सहयोगले अलग पहिचान बनाएँ, अब गायिकाकै पहिचान पनि कसो नबन्ला ।”

comments powered by Disqus

रमझम