५ जेठ २०७० | 19 May 2013

मझुवामा 'मोज्याक'

Share:
  

तस्वीर: दीपक ज्ञवाली
बुटवल शहरलाई दुई भाग (उहिले खस्यौली र बट्यौली) मा बाँड्ने तिनाउ नदी पूर्वपश्चिम राजमार्गको पुलमुनि आफैं छुट्टिएको छ। तिनाउको दुई भँगालोका बीचमा छ– सुकुम्बासीहरूको घना बस्ती। नदी बीचमा भएकोले मझुवा भनिएको यो बस्तीमा २०६५ सालमा स्थापित सूर्योदय प्राथमिक विद्यालयमा अहिले ६ जना कलाकार विशाल मोजेइक कला सिर्जनामा मग्न छन्। २७ चैतबाट बनाउन थालिएको 'मोज्याक' यसै साता पूर्ण हुँदैछ।

६ महीनाको तयारीपछि विद्यालयको भित्तामा १८ मिटर २० सेन्टिमिटर लामो र तीन मिटर चौडा 'मोज्याक' आर्ट बनाइँदैछ। यो कला 'फ्रिडम म्याटर्स' नामक अन्तर्राष्ट्रिय संस्था र 'सानो पाइला' नामक गैर–सरकारी संस्थाको सहकार्यमा तयार हुँदैछ। 'सानो पाइला'ले मानव बेचबिखन तथा बालबालिका ओसार–पसार विरुद्ध अभियान चलाउँदै आएको छ। संस्थाले त्यस्ता बालबालिकालाई उद्धार गरेर शिक्षित र आत्मनिर्भर हुन सघाउँछ।

विद्यालयको भित्तामा सुनिता तामाङको सहयोग लिएर 'मोज्याक' भर्नेमा बोल्न नसक्ने, नसुन्ने र भारतीय सर्कसबाट उद्धार गरिएका कलाकारहरू छन्। 'सानो पाइला'का कार्यक्रम अधिकृत आभा कार्कीका अनुसार, यो 'मोज्याक' बुटवलमै बन्नुको खास अर्थ छ। “यसले विद्यालय जानुको साटो काममा घोटिन बाध्य बालबालिकालाई पढ्न, रमाउन र बेचबिखन विरुद्ध उभिन प्रेरित गर्नेछ”, आभा भन्छिन्, “यो क्षेत्र बेचबिखन र ओसारपसारको हिसाबले जोखिम क्षेत्र पनि हो।”

'मोज्याक'मा विद्यालयको हरियाली, चौतारी, विद्यालय जाँदै गरेका बालबालिका, रमाउँदै पढेको, समृद्ध बनेको, बालबालिकालाई विद्यालय जान प्रेरित गरेको र मानव बेचबिखन तथा बालबालिका ओसारपसार रोक्न सघाउ पुगेका आकृति छन्। २१ प्यानलको यो चित्रको डिजाइन ब्रिटिश कलाकार डंकनले गरेका हुन्। उनको नक्साका आधारमा कलाकारले मोजेइकलाई अन्तिम रूप दिइरहेका छन्। रु.२ लाख खर्च लागेको 'मोज्याक'मा मार्बल, टायल, नेट फेबिकल, सिमेण्ट लगायतका सामग्री प्रयोग भएको छ।

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम