५ जेठ २०७० | 19 May 2013

नेवारीसँगै विदेशी स्वाद

Share:
  

पाटन दरबार नजिकैको मंगलबजारमा रहेको क्याफे डे पाटन रेष्टुरेण्ट एण्ड बारले ३० वर्षको अवधिमा देश भन्दा विदेशमा पहिचान बनाएको छ, त्यो पनि नेवारी स्वाद पस्केर। सन् १९८३ मा पर्यटकहरूलाई ध्यानमा राखेर खुलेको यो रेष्टुरेण्ट स्वदेशी जिब्रोका लागि पनि उत्तिकै स्मरणीय छ।

रेष्टुरेण्टको मेनुमा सबभन्दा अगाडि नेवारी परिकार नै आउँछ। रु.७० देखि रु.१५० सम्मका नेवारी परिकार अलग–अलग अर्डर गरे पनि हुन्छ, यहाँ। सेट माग्ने हो भने रु.३९० मा चटामरी, बारा, छोयला, आलुको अचार, आलु तामा, भटमास, चिउरा आदिको प्लेट हाजिर हुन्छ। पहिले नेपाली, चाइनिज र कण्टिनेन्टल खानेकुरा मात्र पाइने क्याफे डे पाटनमा नेवारी परिकार थपेको १७ वर्ष भएको सञ्चालक गुनमणि शाक्यले बताए। नेवारी पछि मःम, पिज्जा, जिञ्जर बफ, चप्सी, सिजलर, चिप्स चिल्ली चल्तीका परिकार हुन्।

परम्परागत नेवारी सजावटको क्याफेमा रुफ टप, टेरेस र हलमा बसेर एक पटकमा १५० जनासम्मले परिकारको मज्जा लिन सक्छन्। मध्य पाटनमा भए पनि रेष्टुरेण्टभित्रको माहोल निकै शान्त छ। यहाँ पारिवारिक रेष्टुरेण्टसँगै गेष्टहाउस पनि छ। ३० वर्षमा नेपालीहरूको खानपान संस्कृति निकै परिवर्तन भएको अनुभव सँगालेका सञ्चालक शाक्यले ७ जना कुकसहित २० कर्मचारीको टीम ग्राहक स्वागतका लागि हरदम तयार रहेको बताए।

अनुशील

comments powered by Disqus

रमझम