५ जेठ २०७० | 19 May 2013

गतिलो यात्रामा

Share:
  

अध्ययनका लागि २०६२ सालमा राजधानी आएकी सिर्जना सुब्बाको मनमा फिल्ममा खेल्ने रहर लुकेको थियो। त्यही अनुसार काठमाडौं छिरेलगत्तै नृत्य सिक्न थालिन्, उनी। नृत्य सिकिरहेकै बेला उनले पहिलो पटक मैना नाटकमा अभिनयको अवसर पाइन्। त्यसलगत्तै भएको पश्चिमाञ्चलस्तरीय नाटक महोत्सवमा त उनी उत्कृष्ट अभिनेत्री नै बनिन्। त्यसयताका करीब आठ वर्षमा सिर्जनाको लत बनेको छ– नाटक। अहिले मण्डला थिएटरमा मञ्चन भइरहेको चरणदास चोर मा व्यस्त सिर्जना भन्छिन्, “यसमा ४० पटक महारानीको अभिनय गरिसकें, अझै धीत मरेको छैन।”

वास्तविक जीवनमा महारानी बन्न नपाइने भएकोले यसमा आफूलाई बढी मजा लागेको उनले खुलाइन्। फिल्म र नाटकहरूमा भट्टी पसल्नी, छापामार, आधुनिक युवती, बेचिएकी चेली, एचआईभी संक्रमित महिला लगायतका भूमिकामा देखिंदै आएकी सिर्जना जुनसुकै चरित्रमा पनि उम्दा अभिनयको लागि प्रशंसित पछिल्लो पुस्ताको सशक्त रंगकलाकार भएकी छन्। उनले फिल्म पनि उत्तिकै पाएकी छन्, तर नाटकलाई जीवनको क्षेत्र मानेकी छन्। “पहिला फिल्म रहर, अहिले नाटक आदत बन्यो”, मोरङ राजगढकी सिर्जना भन्छिन्।

प्रशिक्षणको हिसाबले एक्टर्स स्टुडियोको उत्पादन उनी मण्डला थिएटरको संस्थापक उपाध्यक्ष पनि हुन्। उनले यही थिएटरमा माइला डट कम, चेरिको बगैंचा, मिस जुली, घुर्मिएको कपाल, ओ स्टार दुनियाँ लगायतका चर्चित नाटकबाट उम्दा कलाकारको ख्याति कमाइन्। आवाज, लुट, नारी, नतिजा, साल्गी लगायत करीब एक दर्जन चलचित्रमा अभिनय गरेकी सिर्जना नाटकमा दर्शकसँग प्रत्यक्ष सम्वाद हुने बताउँछिन्। फिल्ममा चाहिं साल्गी को अनुभवले निकै सन्तुष्टि दिएको उनले बताइन्। कुशल नृत्याङ्गना सिर्जनालाई नेपाली रंगमञ्च–सिनेमामा अभिनय र निरन्तरता दुवै हिसाबले मिथिला शर्माको बाटोमा रहेको मानिन्छ।

शब्द/तस्वीरः अनुशील

comments powered by Disqus

रमझम