१२ जेठ २०७० | 26 May 2013

मदनको अभाव महसूस भो

Share:
  

साप्ताहिक खबरपत्रिका हिमाल (५ जेठ) मा प्रकाशित 'महाराज आँखा नचम्काइबक्सियोस्' शीर्षकको स्व.मदन भण्डारीको भाषणको सम्पादित अंश पढ्दा खुशी र दुःख एकै पटक महसूस भयो। उनले भाषणमा राजतन्त्र, नेपाली कांग्रेस, राष्ट्रियता लगायतका नेपाली राजनीति र जनजीविकाका विविध मुद्दाहरूमा स्पष्ट र तीखो दृष्टिकोण राखेका छन्। चुनावको मौका पाएसम्म मतपत्रबाट लोकप्रियता प्रमाणित गर्ने र चुन्ने/चुनिने अवसर नदिइँदा मात्र बन्दूक बोक्ने उनको विचार छ।

पार्टीको शक्तिशाली महासचिव भएर पनि उनले आफ्नो उम्मेदवारीबारे निर्णय पार्टीले गर्ने बताएर अनुशासित सिपाही भएको प्रमाणित गरेका छन्। यिनै कारणले होला, उनको निधन भएको बीस वर्षपछि पनि राष्ट्रलाई संकट परेको बेला 'मदन भण्डारी भएको भए' भन्ने सोच मनमा आउँछ। सुदूर भविष्यसम्म नेपाली राजनीतिमा उनको अभाव महसूस भइरहनेछ।

मुना आचार्य, विराटनगर–११

महाराज आँखा नचम्काइबक्सियोस्' स्व.मदन भण्डारीको भाषणको सम्पादित अंश पढ्दा केही लेख्न मन लाग्यो। हिमाल मा छापिएको र मदन भण्डारीको भाषण सुन्दा मेल खाँदैन। कसैको भनाइलाई जस्ताको तस्तै लेख्न सक्दा या नक्कल गर्न सक्दा मात्र पत्रकारको कलमको सही मूल्याङ्कन हुन्छ।

*स्नेहा न्यौपाने, इमेलबाट *

बाँसको जस्ता प्रयोग गरौं

साप्ताहिक खबरपत्रिका हिमाल (५ जेठ) मा प्रकाशित 'पत्याएनन् बाँसको जस्ता' समाचार राम्रो छ। त्यहाँ चाङ लगाएर राखेको बाँसको जस्ताले एउटा पूरै गाउँलाई पुग्ने जस्तो देखिन्छ। तर, बाँसको छाना बेच्ने कारखानाले आफ्नो छानामा बाँस प्रयोग गर्नुपर्‍यो, जस्तापाता होइन। उत्पादनले बजार पाएन भन्नुभन्दा आफैंले एकपटक प्रयोग गर्दा कस्तो होला?

तोपबहादुर रिलोडेड्, इमेलबाट

पीडाको सम्बोधन भएन

हिमाल (५ जेठ) मा प्रकाशित 'गरीबीको ताण्डव' समाचार पढ्दा मन पोल्यो। एकातिर धेरै खाएर मर्ने, अर्कोतिर खानै नपाएर मर्नुपर्ने अवस्थाको अन्त्यको लागि सरोकारवाला निकायले कहिले सोच्ने? चुनावको समयमा भोट माग्न जाने नेता तथा कार्यकर्ताले छिनभरमै गरीबी हटाइदिन्छौं भने पनि गाउँको गरीबी र बेरोजगारी उस्तै छ।

सतिश साह, इमेलबाट

स्वास्थ्य समस्याप्रति सजक बनौं

हिमाल (५ जेठ) मा प्रकाशित 'लापरबाहीले बढ्दैछ अन्धोपन' ज्ञानबर्द्धक छ। नेपालीहरूमा रोगले नच्यापेसम्म औषधि गर्ने बानीको विकास भएको छैन। वर्षमा एकपटक स्वास्थ्य संस्थामा गएर सल्लाह लिंदा भविष्यमा हुने जोखिमलाई कम गर्न सकिन्छ।

भरत रावत, इमेलबाट

स्वाभिमान नबेचौं

'देशको प्रतिष्ठा बिक्रीमा' हिमाल (२९ वैशाख) पढेपछि केही लेख्न मन लाग्यो। हाम्रो पहिचान र प्रतिष्ठा बिक्रीमा राख्नु लाजमर्दो कुरा हो। पैसाको लागि आफ्नो स्वाभिमानलाई बेच्ने प्रवृत्तिको अन्त्यका लागि सचेत नेपाली एकजुट हुन आवश्यक छ। अन्यथा भोलिको दिनमा आफ्नो भन्ने केही रहने छैन।

मिलन बम, इमेलबाट

बेरोजगारीले समस्या निम्त्याउँछ

हिमाल (२९ वैशाख) मा प्रकाशित 'हत्यामा हिटम्यान' समाचार पढ्दा डर लाग्यो। देशको गरीबी र बेरोजगारीले ल्याएको समस्या समाधान हुन राजनीतिक अवस्थामै सुधार आउनुपर्दछ। समयमा ध्यान पुर्‍याउन नसके देशले नै ठूलो मूल्य चुकाउनुपर्नेछ।

सानु गैरे, इमेलबाट

सुधि्रंदैनन् नेता

'लाग्यो चुनाव' हिमाल (२२ वैशाख) पढेपछि केही लेख्न मन लाग्यो। नेताहरूले चुनावमा गाउँमुखी हुने कुरा गर्नु नौलो होइन। आश्वासन दिएर भोट माग्ने र अर्को चुनाव नआउञ्जेल गाउँ नफर्कने नेताहरूको व्यवहारमा कहिल्यै सुधार आएन। आफ्नो गल्तीको दोष अर्को पार्टीलाई लगाउँदै आफू पानीमाथिको ओभानो हुने नेताको पुरानै चरित्र हो। गाउँमा आएकालाई सम्मान गर्ने नेपाली संस्कार भएकाले मात्र नेताहरू गाउँमा बस्न पाएका हुन्।

चित्रा माली, इमेलबाट

comments powered by Disqus

रमझम