बर्माको सम्झना–१८

Share:
  


दोस्रो विश्वयुद्धको मध्यतिर बर्मामा रहेका रणशूर लिम्बूले लेखेको र बीस वर्षपछि जगदम्बा प्रकाशनले छापेको बर्माको सम्झ्ना अहिले विस्मृतिमा पुगेको छ। बर्मामा छँदाको अनुभवमा आधारित नेपाली जाति र भाषाप्रति प्रेम झ्ल्कने लिम्बूको पुस्तक पठनीय हुने ठानेर क्रमशः प्रकाशित गरेका छौं। – सम्पादक

तिमीहरू थुना पर्‍यौ भनी सुनाई लगेर झयालखानामा थुनिदिएछन्। अलि दिनपछि अंग्रेजी बम्बर यिनीहरू थुना परेको ठाउँमा गएर बम खसाल्न लागे। हवाइजहाजको आक्रमण हुँदा जापानीहरू पनि भागाभाग परेर यताउति छरिएको बेला मौका पाएर झ्ाङ जंगलको आड लिंदै २ जना जापानी क्याम्पदेखि फुत्किएर आफ्ना गाउँ पुगेछन्। उनका गाउँ अंग्रेजी सीमानाभित्र पर्न गएकोले गर्दा ती भागी गएका सिपाहीहरूमध्ये २ जना मानिस गाउँमा आएका छन् भन्ने समाचार साना अड्डामा पुगेछ। अनि साना अड्डाले उहाँका हाकिमलाई खबर गरे। उहाँबाट उनीहरूलाई बोलावटको अदालतमा हाजिर गरेर फेरि ४ वर्षको जेल भयो।


यी पहाडी जिल्लामा सरकारले खुबै मिहनत गरेर फौज भरी राखेको छ। उहाँका सानसाना गाउँघरका मानिसलाई पनि गोली हान्न सिकाएर जापान हान्न पर्छ भनी बन्दूक गोली दी महीना महीना तलप दिने गरेका छन्। भर्ती भई सिपाहीहरू झ्ैं कवाज गर्न पर्दैन महीनामा २/३ दिन बन्दूक चलाउन, जग्गा जिमिनको हाल बुझन अनि शत्रु आए यसरी लुकेर हान्न भनी मात्र सिकाइन्छ। शत्रु आए पुल, बाटो, बिगार्न रूख लडाएर बाटो थुन्ने काम सौपेका छन्। पल्टनका मानिसचाहिं मूल बाटादेखि टाढा टाढा जंगल भित्रभित्र ठाउँ ठाउँ बसी भारतको रक्षा गर्नमा जुटिरहेका छन्। यी उहींका नदीनाला खोला जंगल बाटोघाटोको ज्ञान प्राप्त गर्दछन्, अनि यताउति डुली डुली लडाइँका काम सिक्तछन्। यिनका मालमत्ता खाना ओसार्नलाई खच्चर, घोडा, कुल्लीको बन्दोबस्त छ। अलि ठूला सहरमा चाहिं बाटो खनेर मोटर चलार्ई माल चाँडो चाँडो पुर्‍याउने गरेका छन्। यस्ता पहाडी जिल्लामध्ये चीन हिल्सको संपूर्ण जिल्लामा खाने पिउने चीजको सारै कष्ट हुन गएको थियो। उहाँका डिप्टी कमिश्नर, फौजी कर्णेल, फौजी मेजर र ठूला अफिसरहरूलाई त हवाइजहाजबाट पनि लगेर निर्वाह हुनसक्ने थियो। समस्त प्रजा र पल्टनका लागि त कष्ट असाध्यै हुन गएको थियो। चीन हिल्समा सबैथोक आउने बाटो बर्मा हो। बर्माको बाटो थुनिएपछि उहाँका जनताले भारतका नून, तेल, चामल खान पर्‍यो। चीन हिल्समा अन्नपानीको उब्जनी राम्रो हुन्न। उहाँको जग्गा जमिन रुखो छ, अनि उहाँका मानिस खेतीपातीको काम गर्न जान्दैनन्। जगा पहाडी हुनाले उहाँका मानिस मेहनती छन्। यसो भए तापनि अन्न–कष्ट रहीरहन्थ्यो। बर्माको बाटो थुनिनाले उहाँ अन्नको अभाव हुनगो। नून, तेल, चामलको भाउ बेहिसाब बढ्न गो। चामल अठार रुपियाँ, बीस रुपियाँ मन, नून अढाई रुपियाँ सेर, तेल अढाई रुपियाँ सेर, घिउ चिनी मिल्नै छाडेको थियो। पल्टनका सिपाहीहरूलाई त हवाइजहाजले र सरकारी इन्तिजामले पुगिजान्थ्यो। प्रजालाई धेरै कष्ट बेहोर्नु परिरहेको हुनाले उहाँबाट देशी मानिस जम्मै निस्केर भारततिर आए। उहाँ सरकारी हुकुम निस्कन्छ– तेल चिनी नूनको भाउ नबढाऊ। नून बेचे ४ आना सेर बेच, चिनी ६ आना सेर अनि चामल ५ आना सेर, दाल तेलको भाउ बाँधे। यो भाउ तोकिएपछि भने जस्तो नाफा नपाउने हुनगो। व्यापारीहरूले माल मगाउनै छाडे। महँगोमा पाउने गरेका जिनिसपात पनि बन्द हुनगो। सारै खाँचो परेको जिनिस लिनलाई व्यापारीकोमा गएर खुसामद गर्नुपर्ने अनि सरकारी भाउभन्दा ४ गुना धेर दाम दिएर हात जोडी मात्र कोही कोही चीज पाउने। मालमत्ताको देशमा कमी हुन गए सरकारी कानूनको पनि केही लाग्दो रहेनछ। भारतमा पनि यो कन्ट्रोल छ। तर हालत यहाँ पनि दुःखद् छ। जुन दुकानमा चिनी विक्छ उहाँ गएर 'चिनी देऊ' भन्दा जवाफ मिल्छ– तेरो नाउँ के हो? नाम बताएपछि ६ पैसाभन्दा बढ्ताको चिनी दिने नियम छैन। अच्छा ६ पैसाकै देऊ भन्दा मात्र दिन्छन्, नोट रुपियाँ जे दिए पनि दिंदैनन्। रेज्गी लुकाउँदै जान्छन्, फर्काउने छैन छ छ पैसा ल्याऊ भन्दै जान्छन्। जसको पासमा पैसा छैन चिनी मिल्दैन। घण्टा घण्टा उभिएर मात्र यो काम हुँदोरहेछ। कति चीजका लागि यही हाल छ।


तमूको बाटो छाडी मचीनातिरबाट पनि मानिसहरू आए। उतातिरबाट आउनेहरूलाई पनि उत्तिकै दुःख भो। अनि तमूबाट आउनेहरूलाई भन्दा बढ्ता दुःख उनलाई पर्‍यो। कारण उनको बाटो अत्यन्त लामो अनि विकट पर्न गो। माण्डले टीउजीतिरका जम्मै मानिस रेलले ओसारेर मचीना पुर्‍याइए। ठूला ठूला मानिसलाई हवाइजहाजले भारत ओसार्ने गरे। गर्दा गर्दै जापानीहरू आइपुग्न आँटिहाले, मई महीनाको ३ तारिखसम्ममा हवाइजहाज चल्न बन्द भैगो। ४ तारिख भागाभाग हुन गो। ५'५/४२ मचीनामा भागदौड रह्यो। ६ तारिख जापानी पुगिगए। मचीनाका बाटोमा पनि मानिसको उही धुइरो! सकेसम्म सरकारले बन्दोबस्त खान पिउनलाई गरे रे, परन्तु लामो बाटो हुनाले सबै ठाउँ प्रबन्ध हुन कठिन पर्न गो। वन पर्वत पार गर्दा जो जो दुःख व्यहोर्नुपर्ने व्यहोरे। कति ठाउँमा नाला नदी तर्न कठिन पर्नाले ५/५ दिनसम्म हजारौं मानिस नदीले थुनिएर बस्न पर्‍यो। यस्ता ठाउँमा सामल सकिन गएकोले जंगली केराका गाना घरी मानिसले खाई खाई जंगलमै बस्न पर्‍यो। यस्ता नदीमध्ये एउटा खोलाले सारै दुःख दियो कारण वर्षा हुन गयो। यो खोलो बढेर बाटो थुन्ने गरेको रहेछ। खोलो बढेपछि वारिपारि पुल बनाउन नभ्याएकोले एउटा लामो सुतको लठारो बाँधिएको रहेछ अघि मानिस यही लठारो समात्दै समात्दै पार लाग्दारहेछन्। भागाभाग गरेर आएका मानिसहरूको हुल आउँदा सय दुई मानिस लठारो समाती पार तर्न लागेछन्। ५/६ जनालाई थाम्ने गरी बाँधिराखेको लठारो सय जनालाई कसरी थामोस्? चुँडिएर मानिस भुसुक्कै मरेछन्। अनि यो खोलामा मानिस पार लाग्नलाई अर्कै जुक्ति निकालेछन्।

comments powered by Disqus

रमझम