विराटनगर–२१ का अजय शर्माले रु.२३ लाखमा ललितपुरका केदार थापाबाट गत वर्ष २६ असारमा किनेको को १ च ६३९८ नम्बरको स्कोरपियो गाडी क्षेत्रीय ट्राफिक इटहरीको विशेष टोलीले १७ वैशाखमा नियन्त्रणमा लिएपछि थाहा भयो, त्यो चोरीको रहेछ। इञ्जिन नम्बर बीडी २४ के ४८५३८ र चेसिस नम्बर एमए २ ए २ बीडीसी ५२३६४०८९ को त्यो गाडी इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा २५ असारमा दर्ता भएको थियो।
थापाले त्यो गाडी बसहिया–२ धनुषाका सुधांशु कमलसँग किनेका थिए। जनकपुर भन्सारको १४१ नम्बरको प्रज्ञापन पत्र र ३७१७६० नम्बरको ८ माघ २०६७ को रसिदका आधारमा यातायात व्यवस्था कार्यालय गण्डकीमा ३ चैत २०६७ मा त्यो गाडी दर्ता भएको देखिन्छ। गण्डकी अञ्चलमा दर्ता हुँदा त्यो गाडीको नम्बर ग १ च ६७७६ थियो।
कर्मचारी मिलेको आशंका
१५ वैशाखमा पक्राउ परेको को १ च ६३९९ नम्बरको स्यान्ट्रो कारको कथा पनि स्कोरपियो जस्तै भएकाले चोरीका गाडी बिक्री गर्ने गिरोहसँग यातायात कार्यालयका कर्मचारीको मिलेमतो हुनसक्ने प्रहरीको अनुमान छ। मोरङ डंग्राहा–७ का प्रकाश घिमिरेको नाममा रहेको यो स्यान्ट्रो कारको पनि नक्कली प्रज्ञापन बनाई गण्डकीमै दर्ता गरेर कोशीमा अञ्चलीकरण गरिएको भेटियो। स्यान्ट्रो चाहिं भैरहवा भन्सारको नक्कली कागजात बनाई दर्ता गरेको पाइयो।
बिलबुकमा स्यान्ट्रो गाडीको पहिलो दर्ता जनकपुर–४ का दिलीप ठाकुरको नाममा भएको देखिन्छ। उनले सुनसरी इटहरीका महेश कार्कीलाई बिक्री गरेको र कार्कीबाट सिन्धुपाल्चोक तैथली–५ का सीताराम श्रेष्ठले खरीद गरेको यो गाडी २ माघ २०६८ मा गण्डकी अञ्चलमा दर्ता भएको र २६ असारमा इटहरीमा अञ्चलीकरण गरिएको देखिन्छ। दुवै गाडीको भन्सारको रसिद र प्रज्ञापनपत्र नक्कली भएको अनुसन्धानमा संलग्न ट्राफिक प्रहरी नायव निरीक्षक राजकुमार कार्की बताउँछन्।
स्यान्ट्रो खरीद गर्दा सीतारामलाई पुरानो गाडी, रु.५ लाख ७५ हजार र ब्याज रु.४० हजार दिएको घिमिरेले बताए। त्यसबाहेक रु.१९ हजार राजस्व र रु.७ हजार इन्स्योरेन्सको रकम पनि कार किन्दा खर्च भएको बताउने घिमिरे चोरीका गाडी भिडाएकोमा सीताराम, भैरहवा भन्सार कार्यालय, गण्डकी र कोशी यातायात कार्यालय विरुद्ध अख्तियारमा निवेदन दिने तयारीमा छन्। उनी भन्छन्, “मुद्दा लेखिसकेको छु, केही दिनमा काठमाडौं गएर दर्ता गर्छु।”
यातायात व्यवस्था कार्यालय कोशीका प्रमुख होमनाथ भट्टराई गाडी अञ्चलीकरणमा गल्ती नभए पनि गण्डकी अञ्चल कार्यालयबाट दर्ता गर्दा कमजोरी भएको बताउँछन्। उनका अनुसार, गण्डकी अञ्चल कार्यालयले नक्कली कागजातका गाडी भुलबस दर्ता हुन गएको भन्दै विभागलाई पत्र पठाएको छ। विभागले २२ चैतमा अञ्चल कार्यालय, कोशीलाई पत्र पठाएर दुवै गाडीको दर्ता खारेज गर्न निर्देशन दिएपछि यातायात कार्यालयको पत्र अनुसार प्रहरीले पक्राउ गरेको उनी बताउँछन्।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले चालु आर्थिक वर्षको १० महीनामा ६ वटा चोरीका गाडी पक्राउ गरी भन्सार र राजस्व अनुसन्धानमा बुझाएको छ। यही अवधिमा पक्राउ परेका तीन वटा गाडीबारे अनुसन्धान भइरहेको छ। यो अवधिमा चोरीका १० वटा मोटरसाइकल पक्राउ गरी भन्सारमा बुझाइएको, १३ वटा धनीलाई नै जिम्मा लगाइएको र १९ वटाबारे अनुसन्धान भइरहेको ट्राफिक प्रहरी उपरीक्षक सुशील भण्डारी बताउँछन्।
कमल रिमाल, विराटनगर
धौलागिरि आरोहणका ५३ वर्ष
सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोकको नेतृत्वको टोलीले जस्तै सन् १९५३ देखि १९५९ सम्मका अरू ६ टोलीको यो हिमाल चढ्ने प्रयास असफल भएको थियो। १३ मे सन् १९६० को सफलतापछि यो हिमालको चुचुरोमा ४३३ जनाको पाइला पुगेको छ।
वेनी र पश्चिम म्याग्दीका दर्जनौं गाउँ हुँदै आधार शिविर पुगेका हजारौं पर्यटकहरूबाट स्थानीय बासिन्दाहरूले फाइदा लिन नसकेको विषय सधैं झै त्यो अवसरमा पनि उठेको थियो। पर्यटकका लागि पर्याप्त होटल बन्न नसकेको, क्याम्पिङ साइटहरू पहिचान हुन नसकेको र भीरका असजिला बाटा मर्मत नभएकाले पछिल्लो समय यहाँ आउने पर्यटकको संख्या घटेको छ। बढ्दो तापक्रम र जलवायु परिवर्तनले यो हिमालको हिमस्खलन भएर उचाइसमेत घटेको हुनसक्ने चिन्ता गरिएको त्यो कार्यक्रममा जलवायु विज्ञ सुकदेव भट्टले पूर्वी र दक्षिणी मोहडामा हिमस्खलन भएर आधार शिविरको भू–भाग कमजोर बनेको र हिमनदीमा पानीको सतह आश्चर्यजनक रूपमा घटबढ भएको बताए।
यो हिमालको चुचुरोमा मानव पाइला पुगेको ५० वर्षको अवसरमा २०६७ मा धौलागिरि पर्यटन विकास परिषद्ले 'यती खोज्न धौलागिरि जाऊँ' भन्ने नारासहित आधार शिविरसम्म पदयात्रा गरेको थियो। त्यसअघि सन् २००३ मा जापानी नागरिक योशितेरु ताकाहाशीले ६ हप्ता त्यहाँ बिताउँदै यतीको पाइला फेला पारेको दाबी गरेका थिए।
२०६७ मा सरकारले धवलागिरि हिमालको फोटो अंकित टिकट पनि प्रकाशन गरेको थियो। तर, ती कुनै कामले यो क्षेत्रमा पर्यटनको विकास नभएको धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँ बताउँछन्।
ध्रुवसागर शर्मा, बाग्लुङ
अकबरेको अचारबाट उन्नति
राम्रो कमाइ हुने देखेपछि भण्डारीको टीमले अकबरे खुर्सानी र बेसार खेती पनि थालेको छ। यसअघि नै चार रोपनीमा अकबरे लगाएका उनीहरूले अब १५ रोपनीमा अकबरे र १२ रोपनीमा जिरे खुर्सानी लगाउँदैछन्। उनीहरूले यो वर्ष लगाएको बेसार १० टन उत्पादन भएको थियो, जुन स्थानीय बजारमै बिक्री भयो। सबै उत्पादन बिक्रीबाट उनीहरूले रु.१६ लाख आम्दानी गरेका छन्। विदेशमा रहेका आफन्त र उनीहरूको माध्यमबाट त्यहाँ रहेका नेपालीहरूले अकबरे र मासुको सुकुटीको अचार मगाउन थालेपछि यो व्यवसाय अरू फैलिनेमा उनीहरूको आशा बढेको छ। अहिले नै उनीहरूले उत्पादन गरिरहेको अचार जापान, कतार, दुबई र बेलायत गइरहेको छ। छिमेकी जिल्ला सोलुखुम्बु र खोटाङमा पनि अचार पठाइरहेका उनीहरूले काठमाडौंको भाटभटेनी सुपर मार्केटसँग भर्खरै अचार पठाउने सम्झौता गरेका छन्।
खाद्य गुणस्तर मापन कार्यालय विराटनगरले भण्डारीको टीमले उत्पादन गरिरहेको अकबरे खुर्सानीको अचारलाई गुणस्तरीयलाई दिइने 'अनुज्ञापत्र' दिएको छ। १५०, ३०० र ५०० ग्राम तौलको प्याकेटका अकबरे र सुकुटीको अचारको मूल्य रु.१२५, रु.२५० र रु.४५० पर्दछ। यो उद्योगले स्थानीय सात जनालाई रोजगारी दिएको छ।
शिवप्रसाद ढुंगाना, ओखलढुंगा
केराको थामबाट नेपाली कागज
कागज बिक्री गरेर रु.२३ हजार कमाएका भट्टराईसँग रु.१० हजार बराबरको कागज बिक्रीका लागि तयार छ। काठमाडौं र वीरगञ्ज बजार रहेको यो कागज बनाउन सहयोगी संस्था कुशल व्यवसाय परामर्श केन्द्रले जाली र मेशिन सहयोग गरेको छ। पदमपुरका ६ जना किसान अहिले केराको थाम र बाबियोको घोल मिसाएर यस्तो कागज बनाइरहेका छन्।
नेपाली प्रविधिबाट एक पटकमा एउटा मात्र कागज निस्किने गरेकोमा एकै पटक धेरै प्रति कागज निकाल्न सकिने भए पनि जापानी प्रविधि अलि गाह्रो रहेको किसानहरूको अनुभव छ। राम्रो मेसिन नभएकाले एउटै आकारको कागज मात्र बनाइरहेका उनीहरू सहयोगी संस्थाबाट राम्रो मेसिन पाउने आशामा छन्।
एउटा कागज तयार पार्दा किसानलाई रु.२ फाइदा हुन्छ, पातलो कागज रु.८ मा र मोटो कागज रु.१० मा बिक्री हुन्छ। ६ जनाले एक दिनमा पाँच सय प्रति त्यस्तो कागज बनाउन सक्ने भट्टराई बताउँछन्।
अहिलेसम्म फुर्सदको समयमा बनाइरहेका यस्तो कागजलाई अब त्यहाँका किसानहरू व्यावसायिक बनाउने योजनामा छन्। केरा खेतीका लागि चितवन जिल्लाको 'पकेट क्षेत्र' बनाइएको पदमपुरमा केराको बोट प्रशस्त पाइने हुनाले यस प्रकारको कागज उत्पादन व्यावसायिक बन्न सक्ने विश्वास उनीहरूमा जागेको छ। भट्टराई भन्छन्, “बजारमा राम्रो माग रहेकाले मिहिनेत गर्न सक्दा फाइदा लिन कुनै गाह्रो हुने देखिंदैन।”
सविता श्रेष्ठ, चितवन
रोपवेले सजिलो बनायो
मानिस नचढ्ने यी रोपवे शुरू भएपछि गाउँमै सुविस्ता हुँदा बसाइँसराइ पनि घटेको गाउँलेहरूको बुझाइ छ। बेंसीबाट एक भारी सामान मानिसले बोकेको ज्याला रु.८० मै रोपवेले चार सय किलो सामान बोक्ने गरेको स्थानीय तुलबहादुर गुरुङ बताउँछन्। सदरमुकाम बेंसी शहरबाट ३२ किलोमिटर टाढाको समुन्द्र सतहबाट १६०० मिटर उचाइमा रहेको यो गाउँमा रु.३ करोडमा रोपवे निर्माण भएको हो।
२०५६ मा टुकुसिमा जापान नेपाल फ्रेण्डसीप एशोसिएसनले नै यो गाउँमा १०० किलोवाटको विद्युत् आयोजना निर्माण गरिदिएको थियो। त्यो आयोजनाबाट उत्पादन भएको बिजुलीले गाउँलाई उज्यालो पारेको छ भने रोपवे चलाउन पनि सहयोग पुगेको छ।
माधव बराल, पोखरा