बझाङ सदरमुकाम चैनपुरबाट पैदल दुई दिनमा पुगिने सुर्मा सरोवर क्षेत्र धार्मिक–पौराणिक किम्वदन्ती र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। 'सुर्मा सेरोफेरो' पुस्तकमा सुर्मा गाविसका लालबहादुर बोहराले 'पाटनका रङ्गीविरङ्गी फूल, दूध झै सेताम्य झरना, लेकाली सल्ला, गुराँस, चिमालो र चाननका लहराले शोभायमान बनाएको सरोवर क्षेत्र पुग्दा संसार भुलेर सधैं यहीं बसिरहुँ लाग्छ' भनेर लेखेका छन्।
ठूलो धार्मिक तथा पर्यटकीय महत्व भए पनि यातायात सुविधा नहुँदा संसारको आँखामा नपरेको 'सुर्मादेवीले स्नान गर्ने' सुर्मा सरोवर १४ हजार फिटको उचाइमा अवस्थित छ। चाँदेशिखर हिमालको फेदीमा रहेको सरोवरको पानी तीन ठाउँबाट बाहिरिएर पाँच किलोमिटर तल सुनिगाडमा पुनः मिसिन्छ। सरोवरको पूर्वपट्टिको डाँडाबाट एक किलोमिटर तल १०० भन्दा बढी मानिस खान–सुत्न मिल्ने विशाल विरु ओडार छ। दार्चुलातिरबाट आउने तीर्थालुहरू यही ओडारमा बास बस्छन्।
विरु ओडारबाट केही तल धानसेरी पार्थीका विशाल नागीहरू छन्– छेवैमा तातोपानीको मुहान छ। त्यहाँबाट दुई किमी पूर्व हिंडेपछि धानसेरी जिउलो पुगिन्छ। किम्वदन्ती अनुसार, उहिले पार्थी डाँडाबाट हेर्दा यहाँ सयौं महिलाले सुर्मादेवीको धान रोपिरहेका देखिन्थे रे! यहाँ अर्को एउटा सानो ताल पनि छ, जुन यस भेगका कस्तूरी, झारल, नाउर आदि वन्यजन्तुको पानी पिउने ठाउँ हो। हिमश्रृंखलाको अवलोकन गर्दै धानसेरीबाट ५–६ घण्टा ओरालो झरेपछि सुर्मादेवी मन्दिर रहेको सुर्मा गाउँ पुगिन्छ। उहिले सुर्मा र दुर्गा दिदीबहिनी अहिले लेकगाउँ गाविसमा पर्ने थलीमा बस्थे रे! लसुनको निहुँमा झगडा परेका दिदीबहिनीले अंशबण्डा गर्दा थलीका खेतहरू बग्न थालेछन्। तिनै खेतका बीचमा रहेको पाँगरको रूख तान्दा त्यसको आधा भाग चुँडिएर आएछ। त्यो रूख रोपेको ठाउँ नै अहिलेको सुर्मा मन्दिर भएको र आधा रूख थलीमै रहेको जनविश्वास छ।
जयपृथ्वीबहादुर सिंहले सुनारहरू झिकाएर भुक्तोली भन्ने ठाउँमा बनाएको सुन प्रशोधन गर्ने आरन चाहिं सुर्मादेवीले भष्म पारिदिएको अर्को किम्वदन्ती पनि छ। त्यस ठाउँमा अहिलेसम्म बोटबिरुवा उमि्रन नसकेको स्थानीय वीरेन्द्र बोहराले बताए।
आलेख/तस्वीर: बसन्तप्रताप सिंह