१२ जेठ २०७० | 26 May 2013

ठूलो कुरा हौसला

Share:
  
एचआईभी/एड्स संक्रमितले हौसला र अवसर पाए भने पौरखका साथ बाँच्न अनि समाजमा योगदान पुर्‍याउन सक्छन्। दूतबहादुर थापाको अनुभूति

सन् १९९९। भारत–पाक युद्धको कारगिल मोर्चा। सँगैका साथी प्रेम गुरुङ (तनहूँ) गोली लागेर गर्लम्मै ढले। तत्काल उपचारका लागि रगत दिन म अग्रसर भएँ, तर परीक्षणमा एचआईभी/एड्सको संक्रमण देखियो। युद्धको मैदानमा मलाई पनि एचआईभीको जीवाणुले लडायो। भारतको सिलगुडीमा रहेका श्रीमती र ६ महीनाको छोरोलाई सम्झें। दिमागमा एउटै विचार आयो– अब सरासर सिलगुडी जाने अनि कोठामा विष्फोट गरेर सबै सिद्धिने। सिलगुडी टेकेपछि भने पहिला उनीहरूको रक्त परीक्षण गर्ने बुद्धि आयो। नभन्दै, उनीहरू स्वस्थ देखिए।

अब आफू मात्र सिद्धिने विचार भयो, तर फेरि सोचें– पेन्सन पाक्न दुई वर्ष बाँकी छ, त्यो भए छोरो हुर्काउन श्रीमतीलाई सजिलो हुन्छ। अनि दुई वर्ष नमर्ने विचारले पल्टन फर्कें। पेन्सनर भएपछि परिवार लिएर रूपन्देहीको अमुवा–४ स्थित घर फर्किएँ। म मर्नेवाला थिएँ, त्यसकारण खुर्सानीसम्म रोपिनँ। नयाँ लुगा पनि किनिनँ। मरिजाने मान्छेलाई त्यसको के काम भने जस्तो लाग्थ्यो। शरीर सुकेर लौरो जस्तो थियो। श्रीमती रोइरहन्थिन्, सम्झ्ाइरहन्थिन्। पेन्सन निस्किँदा बचतसमेत गरेर नेपाली रु.१० लाख हातमा थियो। अब उपचार नगरे सबै रकम मेरो शवसँगै जलाइदिने भन्दै श्रीमती रात–दिन रुन थालेपछि पोखरा गएँ।

म संक्रमित भएर आएको भन्नासाथ डाक्टरहरूले परपर पार्दै काठमाडौं रेफर गरिदिए। काठमाडौंमा नयाँ–नयाँ झ्मेला र हण्डरबाट उत्रिएपछि जीवनमा आशा पलाएर आयो। श्रीमतीलाई सम्झ्ँदा झ्न् आँट आयो– अब म बाँच्ने भएँ। त्यही बीचमा राजीव काफ्लेको प्रोत्साहनमा 'नवकिरण' को शाखा खोल्ने अभियानमा लागें। त्यतिबेला नेपालमा जम्मा ४५ संक्रमितले एआरभी सेवा पाउँथे। अरू संक्रमितलाई पनि त्यस्तो उपचार चाहिन्छ भन्दै दौडधुप गर्न थालें। त्यसरी बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा एआरभी सेवा शुरू भयो।

त्यो अवधिमा संक्रमितको पक्षमा चेतना जगाउँदै र उनीहरूलाई औषधि खान प्रोत्साहन गर्दै गाउँ–गाउँ डुलें। लगभग सबै संघ–संस्थामा पुगें, आवद्ध भएँ। त्यसपछि मलाई लाग्यो– संक्रमितहरूले बाँच्न चाहे पनि उनीहरूलाई स्वावलम्बी हुने कुनै अवसर छैन। वैदेशिक रोजगारीमा लग्दैनन्, स्वदेशमा पनि सबैले परपरै पार्छन्। कसरी आत्मनिर्भर भएर बाँच्ने? त्यही सम्झेर २०६८ चैतदेखि खड्गवनगाई भाटामैनियामा सामूहिक तरकारी खेती थालें। बुटवलबाट १५ किलोमिटर पश्चिमको भाटामैनियामा लिजको १४ कट्ठामा रु.५ लाख लगानीबाट शुरू भएको फार्मलाई टेकबहादुर सारुले खेती अवधिका लागि पाँच कट्ठा जमिन निःशुल्क दिएका छन्।

मेरो टीमका साथीमध्ये ६ जना संक्रमित छन्, जो अहिले नै खुल्न चाहेका छैनन्। हामी एआरभी उपचारका लागि समय मिलाएर बुटवल जान्छौं र अरू बेला खेतीमा जुट्छौं। खेतीमा सबैखाले मौसमी तरकारीसँगै बंगुर, कुखुरा र खसीहरू छन्। खेती बढ्दो छ। तरकारी लिन व्यापारीहरू नै आउँछन्। यसले एचआईभी संक्रमितहरूलाई हेर्ने समाजको आँखा स्वस्थ हुँदै गएको देखाउँछ।
यो तरकारी उद्यममा लुम्बिनी र काठमाडौंका धेरै संघ–संस्थाले मलाई आर्थिक–नैतिक बल दिएका छन्। अब संक्रमितहरूको एकीकृत बसाइ अभियान चलाउँदैछु। त्यसमा पनि सहयोगको अपेक्षा छ। यसबाट संक्रमितहरूलाई साहसी र आत्मनिर्भर बन्न सहयोग पुग्नेछ। नेपालमा २० हजार ५८३ जना संक्रमित रहेको सरकारी तथ्यांक छ। तीमध्ये अधिकांश रोजगारीबाट वञ्चित र निराश छन्। नेपाली समाजका ती सदस्यहरूलाई यथासक्य उत्साहित पार्नु सबैको कर्तव्य हो।

श्रीमतीले तानेर निराशाको गर्तबाट नझिकेको भए म आज जीवनको यो मुकाममा हुने थिइनँ।

प्रस्तुतिः दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम