१२ जेठ २०७० | 26 May 2013

सन्तान वियोगमा आजन्म घायल

Share:
  
- रामेश्वर बोहरा
माओवादी हिंसात्मक विद्रोहको आगोले पोलिएका सयौं बाबुआमा सन्तान गुमेको असह्य पीडामा बाँचिरहेका छन् भने संचालकहरु सन्तान सुखमा रमाइरहेका छन् ।

सविता श्रेष्ठ
चेतनाथ (६४) र सावित्रीदेवी अधिकारी (५६) बर्दियाको देउडाकला–९, ककौराको घरबार लथालिङ्ग छाडेर चितवन देवघाटको कुटीमा बसेका छन्। उनीहरू दिनभर भजन–कीर्तन र प्रवचनमा मन भुलाउन खोज्छन्। ९ वर्षअघि उनीहरूले दुई जना सैनिक छोरा गुमाएका थिए। त्यो बेला जेठा धर्मेन्द्र बर्दियाको चिसापानी (कर्णाली) को भिडन्तमा मारिए भने बिदामा घर आएका कान्छो कृष्णलाई माओवादीहरूले अपहरणपछि हत्या गरेका थिए।

२०६१ सालमा ६ महीनाको अन्तरमा भएका यी घटनाले उनीहरूको संसार उजाड बनाइदियो। अधिकारी दम्पतीले लास नपाएर कान्छो छोराको अन्तिम संस्कार पनि राम्रोसँग गर्न पाएनन्। हत्याराहरू चाहिं खुलेआम घुमिरहेको देखेपछि मन थाम्न नसकेर अधिकारी दम्पती २०६५ सालमा घरमा ताल्चा लगाएर देवघाट आए। सावित्रीले औषधिको बलमा ज्यान धानिरहेकी छन्। अधिकारी दम्पती निशस्त्र छोराको अपहरणपछि हत्या गर्नेहरूमाथि कारबाही भएको र कंकाल मात्र भए पनि बुझेर उसको अन्तिम संस्कार गर्न पाइयोस् भन्ने आशामा छन्।


बर्दियाका चेतनाथ–सावित्रीदेवी र दाङका रामप्रसाद–तुलसा ती सयौं बाबुआमाहरूका प्रतिनिधि हुन्, जो एकदशक लामो माओवादी हिंसात्मक विद्रोहले खोसेका सन्तानको असह्य पीडा बोकेर बाँचिरहेका छन्। त्यो बेला कोही माओवादीबाट मारिए वा बेपत्ता पारिए, कोही राज्यपक्ष (सुरक्षा निकाय) को निशाना बने। जुन पक्षबाट सन्तान गुमाए पनि सबै बाबुआमाको पीडा एकै छ। सन्तान वियोगको पीडालाई कुनै आस्था वा पक्षले कमबेसी पार्दो रहेनछ। फरक कति मात्र भने, कोही एउटा लक्ष्य प्राप्तिका निम्ति विद्रोहसँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिएका थिए, कोही त्यसबाट बिल्कुल अलग थिए।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा थालेको हिंसामा करीब १७ हजार नेपालीले ज्यान गुमाए। त्यसक्रममा बेपत्ता पारिएका एक हजारभन्दा बढीको अहिलेसम्म खुटखबर छैन। विद्रोहकालमा मारिने र बेपत्ता पारिनेमध्ये अधिकांश युवा थिए।

पीडाको सागरमा

९ माघ २०६० को बिहान मुलुकचन्द राजवंशी (५५) झ्ापाको राजगढ–४ स्थित घरमा आगो ताप्दैथिए। त्यही बेला आएका माओवादीहरूले छोरा खिरेन्द्रलाई घिसार्दै लगे। आठ जना माओवादीले खिरेन्द्रलाई 'सुराकी' भनेर कुट्दै लगेको गाउँलेहरूले पनि देखेका थिए। त्यसको आधा घण्टामा बन्दूकको आवाज आयो। पर खेतमा पुर्‍याएर निधारमा गोली हानेर मारिएका खिरेन्द्रको लास बाबु मुलुकचन्दले उठाएर ल्याए। त्यो घटनापछि पागल जस्ती भएकी खिरेन्द्रकी आमा सूर्यवती जहिल्यै खिरेन्द्रको नागरिकताको प्रमाणपत्र बोकेर हिंड्छिन्। मुलुकचन्द भन्छन्, “अलिपछि बुहारीले दोस्रो बिहे गरिन्, ऊ भइदिएको भए गाउँका अरू जस्तै विदेश गएर हामीलाई पाल्थ्यो होला।”

धरमपुर, झापाका शम्भु खड्कालाई माओवादीले २३ जेठ २०५९ मा तोपगाछी बजारबाट अपहरण गरे। त्यसको १० दिनपछि इलामको मैनाचुली जंगलमा टाउको छुट्टिएको उनको शव भेटियो। रक्तचाप, मधुमेह र पित्त सुनिने बिमारी भएका कर्णबहादुर (६१) अहिले आफूलाई संसारकै सबभन्दा दुःखी मान्छे ठान्छन्। “बरु म मरेर शम्भु बाँचेको भए घरजम गर्थ्यो, परिवार पाल्थ्यो” कर्णबहादुर भन्छन्।

कर्णबहादुर र मुलुकचन्द अझै पनि छोरा मारिनुको कारण खोज्दैछन्। किनभने, माओवादीले भने जस्तो उनीहरू 'सुराकी' थिएनन्। दाङका रामप्रसाद–तुलसाका छोरा–छोरी भने 'समाज बदल्ने' अठोटसहित ज्यान हत्केलामा राखेर 'जनयुद्ध'मा लागेका थिए। उनीहरूलाई आफ्ना सन्तानको रगत खेर गयो भन्ने लागेको छ। तुलसा भन्छिन्, “उनीहरूको खुन बगाएर नेताहरूले क्यै राम्रो गरेनन्।”

सविता श्रेष्ठछोरा विष्णुलाल मारिएपछि बुढेसकाल समेत भन्न नपाएका मुन्सी हस्दा र दमले थलिएकी सुनामनी।
बाँकेको शमशेरगञ्ज―१, अकलघरवाका पल्टन थारू (७०) पनि दुःखी बाबुको नियति भोगिरहेका छन्। १४ मंसीर २०५८ को साँझ् नुहाउँदै गरेका उनका छोरा कमललाई चारजना सरकारी सैनिकले घर पछाडि लगेर गोली हाने। गाउँका अगुवा, मिलनसार र सबैका सहयोगी कमलको गल्ती भनेकै माओवादीप्रति आस्था राख्नु थियो। पल्टनलाई छोराले गल्ती गर्‍यो भन्ने कहिल्यै लागेको पनि छैन। “तर, नेताहरूले फाइदा लिन मात्र जनताका छोरा लडाएका रहेछन्”, पल्टन भन्छन्। अहिले नातिनातिना हुर्काउँदै गरेका उनी माओवादी विद्रोहले आँशु मात्र छाडेर गएको ठान्छन्।

नेपाली समाजमा सन्तानलाई बूढा आमाबाबुका सुरक्षाकवच मानिन्छ। ठूलो दुःखले हुर्काएका छोराछोरी गुम्दा आमाबाबुको सर्वस्व नै हुन्छ। समाजशास्त्री डा. डिल्लीराम दाहालका भनाइमा, जसका हुर्केका सन्तान गुम्छन्, तिनको पीडा जीवनपर्यन्त असह्य हुन्छ। “जसका सन्तानै नासिए, बुढेसकालमा तिनको पीडा झ्नै बढेर जान्छ”, डा. दाहाल भन्छन्, “छोराछोरी मारिएका वा हराएका आमाबाबुको पीडा अकल्पनीय हुन्छ।” एउटा निर्दयी भनाइ नै छ– 'हराएको भन्दा मरेको सन्तान बेस!'

सुनसरीको डुम्राहा–५ का जयकुमार शाह (३४) लाई १४ जेठ २०५९ मा सुनसरीको महेन्द्रनगर गाविसबाट सुरक्षाकर्मीले बेपत्ता बनाए। ७० पुगेका बाबु दिलबहादुर शाह र आमा पद्मालाई अहिले पनि उनी फर्केर आउँछन् कि जस्तो लागिरहन्छ। “घरबास नभएर जंगल बस्नेहरू शहरका नयाँ महलमा मस्त छन्” दिलबहादुर भन्छन्, “यस्तो देख्दा परिवर्तन उल्टो भयो भन्ने लाग्छ।”

वैशाख २०५९ मा राज्यले बेपत्ता पारेका अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलकी आमा मोतीमाया (७५) ११ वर्षदेखि छोरो खोजिरहेकी छन्। आमालाई लाग्छ, छोरालाई अपाङ्ग बनाएर कतै राखेका होलान्। उनी भन्छिन्, “एक दिन फर्केर आउला, तर, मैले देख्न नपाउँला!” माओवादी नेताहरू काठमाडौंमा सार्वजनिक भएपछि 'पूर्णलाई यतै राखेका होलान्, अब हामी आयौं, चिन्ता गर्नुपर्दैन' भनिएको तर त्यसपछि वास्तै नगरेको मोतीमाया बताउँछिन्। “१० वर्षे द्वन्द्वले धेरै आमाबाबुलाई रुवायो” उनी भन्छिन्, “प्रचण्ड र बाबुरामलाई काठमाडौंमा घर बनाउन, गाडी चढाउन छोराहरूले त्याग गरेछन्।”

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, श्रीमती सीता र छोरा प्रकाशका साथ बेलायतमा।
समाजशास्त्री डा. डिल्लीराम दाहाल हिजो विद्रोहसँग जोडिएका एकथरी बाबुआमा पीडाको पोखरीमा डुबेका र अर्काथरीले सानको जिन्दगी बिताइरहेको अवस्था समाजका लागि सकसपूर्ण भएको बताउँछन्। धनी–गरीबबीचको खाडल कम गर्ने भन्दै संघर्ष गरेको पार्टीले त्यो खाडल झ्नै बढाइदिएको ठान्ने दाहाल साँच्चै बलिदान गर्नेहरूले केही नपाई सीमित व्यक्ति लाभान्वित हुँदा सामाजिक अन्तरविरोध चुलिएको देख्छन्। धेरै मर्माहत विद्रोहमै लाग्ने कार्यकर्ता र तिनका परिवार भएको र तिनले केही पाइने आशामा सबथोक गुमाएको बताउँदै डा. दाहाल भन्छन्, “आम सर्वसाधारणको कुनै अपेक्षा थिएन, तर माओवादी समर्थकले धेरै आशा गरेका थिए– उनीहरूले आफ्नै नामको जग्गा होला, रोजगारी पाइएला, विभेद घट्ला भन्ने आशाले गरेको समर्पण खेर गएको ठानेका छन्।”

हिंसात्मक विद्रोहका क्रममा माथिल्लो तहका माओवादीका नेताहरूले सन्तान गुमाउने अवस्था नआउनु आफैंमा राम्रो कुरा हो, तर उनीहरूलाई अरूको पीडाले नछुनु चाहिं खतरनाक पक्ष भएको छ।

पीडामाथि लालनपालनको भार

दैजी–१ कञ्चनपुरकी सीता बोहरा (४५) का श्रीमान् रघुवीर प्रहरीमा थिए। घरमा आउजाउ गर्ने माओवादीहरूले उनको जेठो छोरा महेन्द्रलाई पनि पार्टीमा लगाएछन्। १७ फागुन २०५८ मा तिनै माओवादीले गस्तीमा रहेका रघुवीरको हत्या गरे। बुबा मारिएपछि घर आएका महेन्द्र फेरि माओवादीमै फर्किए। माओवादीले पैसा समेत माग्न थालेपछि सीता दृष्टिविहीन कान्छो छोरा राजेन्द्रलाई लिएर महेन्द्रनगर बसाइँ सरिन्। “त्यसपछि घर आउनै छाडेको महेन्द्र कुलतमा पनि फँस्यो” सीता भन्छिन्, “न घर रह्यो, न परिवार, बाँचेका परिवार पनि सँगै बस्न पाएनौं, सबै बर्बाद भयो।”

दाङको लक्ष्मीपुर–७ बेलवाकी काली चौधरी (६०) सेनाबाट मारिएका कान्छो छोरा हेलुरामको अनुहार सम्झ्ँदै नाति पालेर बसेकी छन्। २४ मंसीर २०५८ मा बेलवामा सेनाले एकैठाउँ गोली हानेर मारेका ११ गाउँलेमध्ये एक थिए, हेलुराम। छोरा मारिएपछि बुहारी अर्कैसँग हिंडिन्। कालीलाई 'आमा, तिमीलाई म पाल्छु' भन्ने छोरोकै छोरो हुर्काउने बाध्यता आइलाग्यो। अरूको खेतबारीमा काम गरेर नाति हुर्काइरहेकी उनले छोरा मारिएको १० वर्षपछि रु.३ लाख 'मूल्य' पाएको बताइन्। मोरङकी मनकुमारी बिक (७३) पनि सुरक्षाकर्मीबाट २८ वर्षका छोरा मारिएपछि नातिनातिना हुर्काइरहेकी छन् (हे.बक्स)।

चार वर्षदेखि दमले च्यापेकी गौरादह, झापाकी सुनामनी हस्दा (७५) को जीउमा एकमुठी तागत छैन, अनुहार सुन्निएको छ। नौ वर्षअघि सेनाले स्नातक पढेको जेठो छोरा विष्णुलाल (३६) लाई मारिदिएपछि उनका श्रीमान् मुन्सीले बुढेसकाल भन्न पाएका छैनन्। छोराको हत्यापछि बुहारी अर्कैसँग हिंडिन्। विष्णुलाल मारिनुअघि माओवादीको नियमित बैठक भइरहने उनीहरूको घरमा अचेल कोही आउँदैनन्। मुन्सी भन्छन्, “बुढिया थलिएकी छन्, ढाड दुख्ने यो बुढेसकालमा पनि अर्काको खेत खलियान धाउनु परेको छ।”

चितवनको नारायणगढबाट श्रीमान् फणीन्द्रलाई प्रहरीले बेपत्ता पारेको ६ वर्षपछि छोरा हेममणि (२०) को पनि ज्यान लिएको खबरले राधिका सिंखडामाथि कुन हदको बज्रपात भयो होला? बेपत्ता हुँदा फणीन्द्र माओवादीका जिल्ला सदस्य थिए भने १६ भदौ २०६० मा लमजुङमा सुरक्षाफौजको घेराबन्दीमा मारिएका हेममणि अखिल क्रान्तिकारीमा आबद्ध थिए।

पति र पुत्र वियोगको तीन वर्षपछि पोखरा आएकी राधिकाले दुई छोरी र एक छोराको लालनपालन गर्न तरकारी बेच्न थालिन्। “परिवर्तनका निम्ति श्रीमान् र छोराले गरेको बलिदानमाथि नेताहरूको रझ्ाइँ देख्दा चाहिं साह्रै दिल दुख्छ”, उनी भन्छिन्। अहिलेसम्म कतैबाट सहयोग वा राहत नपाएकी राधिकाले खाटा बसेको घाउ कोट्याएर केही फाइदा नहुने बताइन्।

नेताको सन्तान सुख

नेताका छोराछोरीको पढाइ सम्बन्धमा माओवादीले २०५७ को दोस्रो राष्ट्रिय सम्मेलनमा महत्वपूर्ण निर्णय गरेको थियो– नेताहरूले आधारभूत तहका जनताको स्तरमा छोराछोरी पढाउने। पार्टीकरण गरिएको नेताहरूको सम्पत्तिबाटै पुग्ने गरी पढाइमा खर्च गर्ने मापदण्डका साथै नेताहरूका श्रीमती र छोराछोरीको सुरक्षाको जिम्मा पार्टीले लिने निर्णय पनि भयो। त्यसअनुसार, नेताका उमेर पुगेका छोराछोरीलाई युद्धमा सामेल गराउने र नाबालकहरूको सुरक्षा पार्टीले लिने भयो। तर त्यसलाई 'बाध्यकारी' भनिएन। त्यही आधारमा नेताहरूले आ–आफ्नै तरिकाले छोराछोरी पढाए। कसैले आफन्तकोमा राखेर पढाए, कसैले भारतका महँगा स्कूल/कलेजमा भर्ना गरे।

सन्तान सुखः एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराई, श्रीमती हिसिला र छोरी मानुषीका साथ।
दुई छोरीको बिहेदान सकेका पार्टी अध्यक्ष पुष्पकमल दाहालले कान्छीको सिलीगुडीमा बिहे गरिदिए भने छोरा प्रकाशलाई भारतको जालन्धरमा माहिली छोरीकोमा राखेर पढाए। आफू भारतमा रहँदा आफूसँगै राखेका दाहालले २०५८ पछि छोरालाई आफ्नै 'स्टाफ'का रूपमा राजनीतिमा ल्याएका थिए। 'जनयुद्ध'को अन्तिम समयमा 'जनसेना' बनेका प्रकाश लडाइँमा हैन, 'हेडक्वार्टर'मै रहे। उता, बाबुराम भट्टराई र हिसिला यमीले एक मात्र छोरी मानुषीलाई 'जनयुद्ध' अवधिभर आफूसँगै भारतमा राखेर पढाए। अर्का प्रमुख नेता रामबहादुर थापाले युद्धकालमा छोरालाई देहरादुनमा पढाए भने टोपबहादुर रायमाझीले दिल्लीमा। अर्का नेता हरिबोल गजुरेलले जेठी छोरीलाई भारतको चेन्नईमा पढाए।

२०५९–६० पछि पार्टीमा उठेका नेताका छोराछोरी कहाँ छन्, के गर्छन् भन्ने आवाजलाई नेताहरूले 'सुरक्षा' लगायतका कारण देखाएर फासफुस पारे। नेता हरिभक्त कँडेलले त्यही बेला छोरालाई मेडिसिन पढ्न बङ्गलादेश पठाए भने मातृका यादवले शान्ति प्रक्रियामा आएसँगै छोरालाई मेडिसिन पढ्न ब्याङ्कक पठाए। यादवले द्वन्द्वकालभरि छोराछोरीलाई पटनामा पढाएका थिए भने दीनानाथ शर्माले नोयडामा। सीपी गजुरेलले पनि हुर्किसकेका छोराछोरीलाई 'जनयुद्ध'मा लगाउनुपरेन।

'युद्धकालीन प्रतिकूलता'मा पनि नेताहरूले सन्तानलाई राम्रो शिक्षादीक्षा दिनुलाई राम्रो प्रयास भन्नुपर्छ। त्यसबाट उनीहरूका छोराछोरी लडाइँको जोखिममा परेनन्। उनीहरूमध्ये केहीलाई 'स्टाफ'का रूपमा 'हेडक्वार्टर' र 'सचिवालय' हरूमा राखियो। नेताका छोराछोरी राख्नकै लागि सम्पर्क कमिटी, प्रवास र भान्सामा काम गर्ने गरी समेत कमिटीहरू बनाइए। “यसरी माथिल्ला तहका नेताहरू सन्तान गुमाउनुको पीडाबाट जोगिए” माओवादी छाडेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापा भन्छन्, “बलिदान तलबाट भयो, माथिबाट चाहिं आफ्ना छोराछोरीलाई जोगाउने प्रयास मात्र भयो।”

शान्ति प्रक्रियामा आइसकेपछि त शीर्ष नेताहरूबीच आफ्ना सन्तानलाई अब्बल बनाउने प्रतिस्पर्धा नै शुरू भयो। उनीहरूले छोराछोरीलाई सकेसम्म राम्रा स्कूल/कलेजमा पढाउने होड गरे। सबै सम्पत्ति पार्टीलाई बुझाएका 'सर्वहारा' नेताहरू देश–विदेशका महँगा स्कूल/कलेजमा छोराछोरी पढाउन सक्षम देखिए। वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ लगायतका नेताहरू सेन्ट जेभियर्स, क्यारेबियन कलेज, जेभियर इन्टरनेशनल, लुम्बिनी मेडिकल आदि स्कूल/कलेजका अभिभावक बने।

सीता मादेम्बा
११ वर्षअघि सुरक्षाकर्मीले बेपत्ता पारेका डुम्राहा–५, सुनसरीका जयकुमार शाहका बुबा दिलबहादुर र आमा पद्मा।
२०६४ साउनको पाँचौं (बालाजु) विस्तारित बैठकमा अखिल क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले नेताहरूले 'जनताका छोराछोरीलाई लडाईंको मोर्चामा पठाएर आफ्नालाई चाहिं पार्टीकरण नगरेको, नेताका छोराछोरीले आधारभूत तहका जनताका नानीहरूले भन्दा बढ्ता सेवा–सुविधा उपभोग गरेको, जनताले सरकारी स्कूलमा र नेताहरूले देश/विदेशका महँगा निजी स्कूल/कलेजमा छोराछोरी पढाएको' भन्दै दुई पेजको लिखित आपत्ति जनाएका थिए। अध्यक्ष दाहालले त्यसलाई बुझे, तर त्यसै थन्क्याइदिए। “हामीले गरेको राजनीति आधारभूत तहका निम्ति भएन”, हाल नेकपा–माओवादीमा आबद्ध न्यौपाने भन्छन्, “जनपक्षीय भनेर १० वर्ष लडेको माओवादीकै नेताहरूमा सबभन्दा बढी समस्या देखियो।”

कतिसम्म भने, माओवादीका नेताहरूलाई आफूलाई यहाँसम्म ल्याइपुर्‍याउने हजारौं आमाबाबुले सहेको सन्तान वियोगको पीडाले छुनै छोड्यो। उनीहरू कसरी बाँचिरहेका छन् भनेर चासोसम्म राख्ने काम भएन। पूर्व माओवादी नेता मणि थापा आफूलाई सर्वहाराका नेता भन्नेहरू पूरै संवेदनाशून्य बनेको बताउँछन्। यसबाट सन्तान वियोग सहेका 'अभागी' आमाबाबु झ्न् विदीर्ण बनेका छन्। त्यो पीडा अहिलेसम्म आक्रोश र बदलाको भावमा परिवर्तन भएको छैन, तर यसबाट सिर्जित शोक सर्वत्र छ। राहत, क्षतिपूर्ति, न्याय र थोरै भए पनि परिवर्तनका सपनाहरू पूरा हुँदा यस्तो शोकको व्यवस्थापन हुन सक्छ। तर, 'क्रान्ति'बाट आएका नेताहरू न्यायकै बाटोलाई छेकथुन गर्न उद्यत देखिएका छन्, जसले व्यक्तिगत बदलाको भावना जगाउन सक्छ। ल

साथमा बच्चु बिक/धनगढी, तुफान न्यौपाने/नेपालगञ्ज, गजेन्द्र बोहरा/घोराही, माधव बराल/पोखरा, सविता श्रेष्ठ/नारायणगढ, बिम्मी शर्मा/वीरगञ्ज, कमल रिमाल/विराटनगर, सीता मादेम्बा/धरान र गोपाल गड्तौला/बिर्तामोड


गजेन्द्र बोहरा
रामप्रसाद र तुलसा चौधरीले डाक्टर वा इन्जिनियर बन्न चाहने छोरा अर्जुनलाई राम्रो पढाइका लागि बजारमा राखेका थिए। जेठी छोरी रामकली घोराही नगरपालिकामै पर्ने गाउँको घरमै बसेर पढाइसँगै प्रौढकक्षा पढाउँथिन्। २०५९ सालमा सरकारी सेनाले रामकलीलाई बेपत्ता पारेपछि मात्र बाबुआमालाई ऊ माओवादी भएको थाहा भयो। त्यसपछि अर्जुन पनि भूमिगत भए। २०६१ मा ऊ पनि 'शहीद' भएको खबर आउँदा रामप्रसाद र तुलसाले डाक्टर–इन्जिनियर बन्छु भन्ने छोरो केही न केही त भएछ भन्ठाने, शुरूमा। 'शहीद' को अर्थ बुझेर रुन पनि नपाउँदै सेनाले रामप्रसादलाई लगेर एक महीना थुन्यो, तुलसालाई असक्त हुने गरी कुटपिट गर्‍यो। त्यसपछि माहिली छोरी सुशीला पनि माओवादीमा लागिन्।

कहिलेकाहीं घर आउँदा रामकलीले 'म तिम्री मात्रै होइन, देशकै छोरी हुँ' भनेको सम्झँदा अहिले पनि तुलसाको भक्कानो फुट्छ। ५५ नाघिसकेका उनीहरू छोराछोरीको सुर्तामा डुबेका छन्। रामप्रसाद र तुलसाले पीडा भुल्न घर नजिकै बर–पीपल रोपेर छोराछोरीको सम्झनामा चौतारो बनाएका छन्। उनीहरू त्यहीं बस्छन्, टोलाउँछन् र रुन्छन्।


'गहुँमा घुन पिसियो!'

तुफान न्यौपाने
अकलघरुवा, बाँकेकी ६५ वर्षीया कैलाशवती यादव ८० वर्षकी जस्ती देखिन्छिन्। माओवादीले जेठा छोरा सोहनलाललाई २५ असार २०५९ मा खुट्टामा बञ्चरो र गर्धनमा खुकुरीले हानेर हत्या गरेको देखेपछि विक्षिप्त बनेकी उनी प्रायः टोलाएर बस्छिन्। खाना खाँदिनन् भने पनि हुन्छ। माहिला छोरा रामवरण औषधिले मात्र आमाको प्राण धानेको बताउँछन्। सोहनलालको फोटो हेर्दै आँशु झार्ने कैलाशवतीको दिनचर्या बनेको छ। रामवरण भन्छन्, “डाक्टरले रोग केही छैन भन्छन्, औषधि नखाएसम्म बोली पनि आउँदैन, हरेक हप्ता ग्लुकोज चढाउनुपर्छ।”

घरपरिवार बसेर रातिको खाना खाइरहेका बेला आएका माओवादीहरूले सोहनलाललाई घरबाट अलिपर लगेर अचानोमा खुट्टा राखेर बञ्चरोले हानेका थिए। उनको गर्धनमा खुकुरीले हानेको पनि परिवारका सबैले देखे। माओवादीहरूले छाडेपछि खुट्टा छिनालिएका सोहनलाललाई कैलाशवती र रामवरणले खटियामा बोकेर अस्पताल लगे, तर बचाउन सकेनन्।

कैलाशवतीले छोराको लास लिएर फर्कंदा माओवादीहरूले घरमा बम विस्फोट गराएर जग्गा कब्जा भएको घोषणा गरिसकेका थिए। त्यसपछि यादव परिवार नेपालगञ्ज विस्थापित भयो। सोहनलालका तीन छोरा र एक छोरी छन्। २२ वर्षीय जेठो छोरा मजदूरी गर्छन्, अरूलाई काकाहरूले पढाएका छन्। राजनीति नबुझ्ने र छोराको बलिदानको अर्थ पनि नजान्ने कैलाशवतीलाई आफूमाथि ठूलो अन्याय भएको मात्रै थाहा छ। “मेरो छोरालाई मार्नेहरूमाथि कारबाही भए उसको आत्माले शान्ति पाउँथ्यो”, उनले आफ्नै लवजमा हिमाल सँग भनिन्।

सोहनलालको हत्याबारे लामो समय चुपचाप बसेको माओवादीले पछि उनी बलात्कारी भएको आरोप लगायो। राप्रपाबाट वडासदस्य बनेका र गाउँमा भलाद्मीको छवि बनाएका सोहनलालमाथिको त्यो आरोपले परिवारलाई मर्नु न बाँच्नु बनाएको रामवरण बताउँछन्। शान्ति प्रक्रियामा आएपछि भने त्यही माओवादीले गाउँकै अरू कसैलाई 'सफाया' गर्न खोज्दा सोझा सोहनलाल परेको बतायो। सोहनलालका कान्छा भाइ अमि्रकाप्रसाद भन्छन्, “अचेल उनीहरू गँहु पिस्न खोज्दा घुन पिसियो भन्दै उम्कन्छन्।”


'युद्धले बर्बाद बनायो'

– लक्ष्मी अवस्थी (५८), पिपलाडी–९ कञ्चनपुर

वच्चु विक
दुई छोरा र एक छोरीमध्ये शरद जेठो हो। ऊ कसैसँग झै–झगडा गर्दैनथ्यो। गाउँकै कृष्ण उमाविबाट एसएलसी गरेपछि महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट आइए पास गर्‍यो। २०५४ सालतिर बीए पढ्दापढ्दै माओवादीमा लागेछ, मैले त दुई वर्षपछि मात्र थाहा पाएँ। घर आउँदा 'हजुर जस्तै कैयौं आमाहरूका लागि लड्दैछु' भन्थ्यो। पहिल्यै थाहा पाएकी भए किन जान दिन्थें र! तर, सबैले थाहा पाइसकेपछि जिद्दी गरेर घर बसाले पक्राउ पर्ला भन्ने डर भयो।

कञ्चनपुरमा अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष, बैतडीमा पार्टीको जिल्ला सदस्य, सेक्रेटरी र जनसरकार प्रमुख भयो भन्थे। वर्षमा एकचोटि घर आउँथ्यो। २०५९ सालमा युद्धविराम भंग भएपछि जाने बेला 'बाँचियो भने राम्रै भएर आउँला, मरियो भने पीर नगर्नू, कान्छो भाइ छ' भन्यो। त्यसपछि आएन। उसलाई भेट्न आठ दिन बैतडीका डाँडापाखा चहारें, तर भेटिनँ। उसको बुबा (देवदत्त) ले पनि १७ दिनसम्म बैतडी चहार्नुभयो। घर आएर 'शरदलाई भेटिनँ, उसलाई दिनू भनेर तीन हजार रुपैयाँ छोडेर आएँ' भन्दै धेरै रुनुभयो। भोलिपल्ट बिहानै चिया खान जान्छु भनेर निस्केको मान्छे रक्सी खाएर 'हर्ट अट्याक' भएछ। हामीले दिउँसो लास भेट्टायौं।

बुबा मर्दा पनि घर नआएको मान्छे त्यसपछि सेनाको कमाण्डर भएको सुन्यौं (मारिनुअघि 'लोकेश' उपनामले चिनिने शरद माओवादी 'जनसेना'को लिस्ने–गाम तेस्रो ब्रिगेड कमिसार थिए)। २०६२ साउन २३ गते कालीकोटको भिडन्तमा मारिएको खबर पत्रिकामा आएपछि चिनेजानेकाहरूले सुनाए। पक्राउ पर्नबाट जोगिन कहिलेकाहीं मरेको हल्ला चलाउँथे, त्यसैले पत्याउन मन लागेन। चार महीनापछि माओवादीको चिठ्ठी नै आएपछि चाहिं होसै उड्यो। अहिले पनि रिंगटा चल्छ। गाउँमा कोही नयाँ मान्छे देख्दा शरद नै आयो कि जस्तो लाग्छ। यो घरको पाली उसैले बनाएको हो। शरदले बनाएको भनेर पाली फेर्न दिएकी छैन।

'धनी गरीब भन्ने हुँदैन, सबै बराबर हुन्छन्' भन्थ्यो। उसले भने जस्तो केही भएन। आज मजस्तै कति आमा रोएर बसेका होलान्। यो युद्धले सबैलाई पीडा मात्रै दियो। बर्बाद बनायो। छोरो भइदिएको भए रातदिन रोएर बस्नुपर्ने थिएन। उसका बुबा पनि मर्ने थिएनन्। उसको पढाइ राम्रो थियो, नातागोताले 'अब सुख पाउछेस्' भन्थे। शरदको बिहे गरिदिन्थें, नातिनातिना हुन्थे। तर, सब बर्बाद भयो।


'मेरो छोरालाई मर्न लगाउनेहरूको अघि पर्न पाए सारा पीडा पोख्थें'

कमल रिमाल
एक्लो छोरा वरुण सुरक्षाकर्मीबाट मारिएपछि मनकुमारी बिक ७३ वर्षको बुढ्यौलीमा सन्तान वियोगको पीडामा डुबेर नातिनातिना हुर्काउने कोशिशमा छिन्। सुरक्षाकर्मीले ११ मंसीर २०६१ मा मोरङको बयरवन–८ स्थित घरमै वरुणको हत्या गरेका थिए। घर पछाडिको खाल्डोमा पुरेको उनको शव निकाल्न पनि विराटनगरका अधिकारकर्मी गुहार्नुपरेको थियो। वृद्ध बाबुआमा, श्रीमती र नाबालक दुई छोराछोरीको एक्लो सहारा वरुण मारिएपछि बिक परिवार भारतको पुना पलायन भयो। “तर, तीन महीनाभन्दा बढी बस्न सकेनौं” मनकुमारी भन्छिन्, “पोहोर ८० वर्षको उमेरमा श्रीमान् पनि बित्नुभो, अब यिनै नातिनातिनाको मुख हेरेर बाँचेकी छु।”

खाडी मुलुक पुगेकी बुहारी रिनाले पठाएको खर्चबाट दालचामल जुटेको छ। मनकुमारीलाई गोली लागेर छटपटिंदै प्राणहीन भएको छोराको झल्कोले खेदिरहन्छ। ती काला दिनहरू कसरी खेपियो भन्ने कुरा आफ्नै हृदयलाई मात्र थाहा भएको मनकुमारी बताउँछिन्। “बरु मलाई मारेका भए यी बालखाले टुहुरो हुनुपर्दैनथ्यो” मनकुमारी भन्छिन्, “मेरो छोरालाई मर्न लगाउनेहरू अहिले धनी भएका छन्, तिनका अघि पर्न पाए सारा पीडा पोख्थें।”


'माओवादी सप्रँदैन'

विम्मी शर्मा
११ वर्षअघि १० फागुन २०५८ मा माओवादीले चितवनको भण्डारामा यात्रुवाहक बस रोकेर आगो लगाउँदा मारिएकी आठ वर्षीया काजल खातुनको परिवारको अवस्था अहिले राम्रो छैन। काजलका बुबा हैदर अली त्यसबेला कपडा सिलाउँथे, होजियारी उद्योगमा जागिर पनि गर्थे। अहिले ती दुवै काम छैनन्। उनका १४ वर्षे छोरा मासु पसलमा काम सिक्दैछन्। काजलकी आमा रजिया खातुन भन्छिन्, “अहिले काजल १९ वर्षकी हुन्थी, बिहेबारी गर्ने बेला भइसक्थ्यो।”

यति भनेर उनी रुन थालिन्, तर आँशु सुकिसकेछ। सबै कुरालाई 'अल्लाहको मर्जी' ठान्ने रजिया भाग्यलाई सम्झेर बाँचिरहेका आमाहरूकी प्रतिनिधि हुन्। काठमाडौंमा सानिमालाई भेटेर मामासँग वीरगञ्ज फर्कंदै गरेकी छोरीलाई माओवादीले उनको काखसम्म आइपुग्न दिएन। काजलको परिवारले आजसम्म कुनै राहत पनि पाएको छैन। माओवादी हिंसात्मक विद्रोहमा आफ्नो छोरी जस्ता धेरैले ज्यान गुमाएको सम्झेर बसेका छन्, हैदर र रजिया। अबोध छोरीको ज्यान लिने माओवादीप्रति उनीहरूको मनमा घृणा वा द्वेषभाव पनि छैन। “माओवादी सप्रिएर आयो भने बरु उसैलाई भोट दिउँला” हैदर भन्छन्, “तर, ऊ सप्रनेवाला छैन।”


शारदाको सम्झना

गोपाल गड्तौला
हँसिली र सहयोगी शारदा श्रेष्ठ माओवादी बाहिर पनि सबैको प्रिय थिइन्। स्नातक तहकी विद्यार्थी उनी गीत–संगीत र पढाइमा पनि अब्बल थिइन्। गाउँ–समुदायदेखि पार्टीसम्म राम्रो छाप पारेकी उनी माओवादीको सांस्कृतिक फाँटमा काम गर्थिन्। सामना परिवारको चितवन इन्चार्ज रहेकी शारदा २९ असार २०६१ मा पाल्पा जाँदा तनहुँमा पक्राउ परिन्। बुबा नारायण (७४) ले सेनाले हिरासतमा उनको हत्या गरेर सेतीमा फालिदिएको खबरसम्म सुने, लास पाएनन्।

पार्टी सदस्यता लिएका नारायणले त्यो घटनापछि एकपटक १० र अर्कोपटक ११ महीना हिरासतमा बस्नुपर्‍यो। नारायणले छोरीको बलिदानबाट देशमा नयाँ परिवर्तन हुने सोचेर पीडा भुल्न खोजेका थिए। तर, अहिले नेताहरूको खेलबाड मात्र देख्दैछन्, उनी। साहसी छोरीको बुबा भनेर चिनिंदा र शारदाको सम्झनामा चितवनमा हरेक साल सांस्कृतिक कार्यक्रम हुँदा चाहिं उनको मन थामिन्छ। नारायण भन्छन्, “जुन द्वन्द्वको कारणले कैयौं नेपालीले ज्यान गुमाए अब त्यस्तो दिन फेरि नदोहोरियोस्।”

comments powered by Disqus

रमझम