रहस्यमय महाविहार

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
सुनौलो छानामुनि आठ वर्षको बाल पुजारी हर्ताकर्ता हुने पाटनको हिरण्यवर्ण महाविहारमा हरेक महीना संरक्षक र पुजारी फेरिन्छन्।

 

p14
मूल पुजारीः साउन महीनाका वाफाचा अर्थात् मूल पुजारी आठ वर्षीय समन्त बज्राचार्य हरेक दिन बिहान र बेलुकी घण्ट बजाउँदै टोल परिक्रमा गर्छन्। तस्बीरहरूः डम्बरकृष्ण श्रेष्ठ

किराँती राजा भाष्करदेव वर्णले निर्माण गराएको ललितपुर पाटनको क्वाबहालस्थित हिरण्यवर्ण महाविहारलाई विदेशी पर्यटकहरू 'गोल्डेन टेम्पल' भन्छन्। लोन्ली प्लानेट जस्ता यात्रा पुस्तकमा यसै भनेर लेखिएको विहारबारे बेलायत र जापानका विश्वविद्यालयबाट एक विदेशीसहित तीन जनाले विद्यावारिधि गरेका छन्। अनेक किम्वदन्ती र अनौठा परम्पराले रहस्यमय यो विश्व प्रसिद्ध सम्पदाबारे धेरै नेपालीहरू भने अनभिज्ञ छन्। 

p14b
भर्खरै २९५ तोला सुनको लेप लगाइएको गोल्डन टेम्पल। 
विहारका पदाधिकारीका अनुसार, १२०० वर्षअघि चाबहिल क्षेत्रको भग्नावशेषमा भेटिएको बुद्धमूर्तिलाई 'जहाँ बिरालोलाई मुसाले लखेट्छ त्यहाँ राख्नू' भनेर एक वृद्धलाई सपनामा बताइएपछि धेरै मुसा भएको यो स्थानमा प्रतिस्थापन गरिएको र विहारको नाम समेत हिरण्य नामको सुनौलो आँखा भएको मुसाको नामबाट राखिएको हो। हाल तीन वर्षदेखि चलिरहेको हिरण्यवर्ण महाविहारको जिर्णोद्धार यही भदौमा सम्पन्न हुँदैछ। ४०० वर्षपछि भएको जिर्णोद्धारमा महाविहार गुठी, पाटनका विभिन्न संघ–संस्था, परिवार र समूहहरू संलग्न समितिले रु.३ करोड खर्च गरेको छ। “रु.२ करोडको २९५ तोला सुनको त छानामा जलप नै लगायौं”, समितिका अध्यक्ष ज्ञानुराज शाक्य भन्छन्, “यसमा बुद्धरत्न, पद्मरत्नसहितका धाख्वा परिवारले मात्र रु.२५ लाख सहयोग गरेका छन्।” 
p14a
बल्ल आयो पालोः साउन महीनामा पालो पाएका अशोक बज्राचार्य उनकी बहिनीहरु शर्मिला, हीराशोभा, छोरी विशाखा र नातेदार धन बज्राचार्य। सुनको छाना!:

पाटन क्वाबहालको हखा, नागबहाल, इलाननी र न्ह्योखाका शाक्य तथा बज्राचार्य परिवारका आठ वर्षीय बालक पुजारी हुने विहारको दैनिक कार्यसंचालन तथा पूजापाठको आफ्नै किसिमको परम्परा छ। विहारका करीब १००० परिवारका ५००० पुरुष सदस्यमध्ये एक जनाले पालैपालो मन्दिरको एकमहीने जिम्मेवारी लिन्छन्। हरेक वर्षको जनैपूर्णिमामा गुठीले जिम्मेवारी पाउने १२ जनाको नाम निकाल्छ। ५२ वर्षको उमेरमा यो साउनमा पालो परेका अशोक बज्राचार्यले आठ वर्षीय भतिज समन्तलाई वाफाचा अर्थात् मूल पुजारी र २० वर्षका छोरा अश्विनलाई सहायक पुजारी बनाएका छन्। अशोकका ८५ वर्षीय बाबु आशरत्नले ४५ वर्षअघि यो अवसर पाएका थिए। 

p15
शाक्यमुनि बुद्धको मूर्ति

यो महीनाभर विहारको प्रवेश शुल्कदेखि भक्तजनले चढाउने भेटीसम्मको व्यवस्थापन र उपभोगमा अशोक बज्राचार्य परिवारको खटनपटन चल्छ। पुजारीहरूलाई खाना पकाउन समन्तकी आमा शोभा ४ साउनदेखि मन्दिरमै छिन्। मूल पुजारीले सहायक पुजारीको सहयोगमा हरेक बिहान तीनबजे उठेर पूजा पाठ गर्छन्। बिहान पाँच बजेदेखि बुद्ध मूर्तिलाई नुहाएको पानी लिन आउनेहरूको भीड लाग्छ। साँझ् ६ बजेदेखि आठ बजेसम्म फेरि पूजा चल्छ। शाक्यमुनिको यो मन्दिरसँगै यहाँ स्वयम्भू महाचैत्य, बज्रसत्व, नाम संगत, अभयपास लोकेश्वर, आर्यतारा, अमिताभ बुद्ध र शाक्य–बज्राचार्यको कुल देवताका मन्दिरहरू पनि छन्, जसको पूजा–पाठको जिम्मेवारी पनि अलग–अलग सदस्यलाई पालो लगाएर तोकिन्छ। 

p15a
सेवाः पुजारीहरूलाई खाना पकाउन मन्दिरमै बसेकी समन्तकी आमा शोभा। 

किम्वदन्ती अनुसार, किराँतकालमै कोही घरबाट निस्कन नपाउने गरी लामो समय निषेधाज्ञा जारी भएको बेला पूजा गराउन कसैले आठ वर्षको बालकलाई सुटुक्क पठाइदिएछर बालकले मूर्तिबाट भगवान बुद्ध निस्केर सफा जलले नुहाई पूजा गरेको बताएछन्। त्यसैबेला विहारमा भेला भएका जनसमूहलाई बुद्ध स्वयंले 'आठ वर्षको बालक मन्दिरको पुजारी होउन्' भनेर अलप भएको भन्ने जनविश्वास छ। मन्दिरमा कुनै गलत काम भए बालक पुजारीले र्झ्कोफर्को गर्ने र उनका लागि पकाएको खाना घण्टौंसम्म नपाक्ने गरेको बताइन्छ। दुई महीनाअघि दुई घण्टा पकाउँदा पनि पुजारीको खाना नपाकेपछि क्षमापूजा गरिएको गुठी सदस्य सुरेश बज्राचार्यले बताए। 

p15b
सुनका अक्षरः सुनले लेखिएको ३०० पृष्ठको पुस्तक पढेर प्रज्ञा पारमिता पूजा गरिन्छ। श्लोक पढ्दै ८५ वर्षीय आशरत्न बज्राचार्य (माथि दायाँ)। 

विहारको बाहिरीभागमा पूजापाठ गर्न समुदायका वृद्ध पुरुषमध्ये १० जना पारमिता आजु र उनीहरूभन्दा कम उमेरका २० जना स्थविर आजु तोकिन्छन्। पारमिता आजुले हरेक दिन ३०० पृष्ठमा सुनले लेखिएका ८०० श्लोक पढेर प्रज्ञा पारमिता पूजा गर्छन्। यो पुस्तक मर्मत गर्न हरेक तीन वर्षमा १५ तोला सुन लाग्ने गरेको छ। दर्ता शुल्क रु.२० र पूजा शुल्क रु.४५०० तिरेर जो कोहीले पारमिता पूजा गराउन सक्छन्। विहारमा साउनको अष्टमीमा पञ्चदान र प्रत्येक चार वर्षपछिको फागुनमा सम्यक् पूजा हुन्छ।ह

p15d
पूजाः साउनको अष्टमीमा पञ्चदान पूजा गरिंदै। 
p15c
नित्य पूजाः वाफाचा अर्थात् मूल पुजारी आठ वर्षीय समन्त र उनका सहायक २० वर्षका अश्विन साँझाको नित्य पूजा गर्दै। 
comments powered by Disqus

रमझम