१२ जेठ २०७० | 26 May 2013

मखलेल दाइहरु!

Share:
  
- विदुर खड्का
एमाओवादी नेताहरू अहिले असली कार्यकर्ताबाट आतंकित र चैतेहरूबाट मखलेल छन्।

कुनै बेला एमाओवादीका नेताहरूलाई निदाउन त के लघुशङ्का गर्न समेत प्रतिबद्ध कार्यकर्ताको साथ चाहिन्थ्यो। अहिले ती कार्यकर्ता अगाडि पर्दा नेताहरूको लघुशङ्का फुस्किने अवस्था आएको छ। यस्तो किन कमरेड? नेतागणको बनिबनाउ जवाफ हुन्छ– 'समय–परिस्थिति अनुकूल हुन सक्नुपर्छ, अब टाँगन घोडा जस्तो एकोहोरो दौडेर काम छैन। सिद्धान्तबाट संकीर्ण बन्ने कार्यकर्ताले दुनियाँमा घुलमिल भएर गरिखान सक्दैनन्। पार्टीले पूँजीवादी प्रतिस्पर्धा स्वीकारिसकेकाले अब कार्यकर्ताहरू स्वावलम्बी बन्नुपर्छ। प्रतिस्पर्धाको दुनियाँमा आर्थिक प्रगति गर्न नसक्ने कार्यकर्ताको राजनीतिक जीवन असुरक्षित छ।'

यो खालको मार्क्सवादी नेतावाणी त्यसै आएको छैन। राजनीतिमा नेता–कार्यकर्ता 'डाइनामिक' र बाचाल हुनुपर्छ, भनिन्छ। नेताजीहरूले अहिले जीवन व्यवहारलाई परिस्थिति अनुकूल बनाउनुपर्छ भनेर 'डाइनामिजम्'को अर्थ लगाएका छन्। तर के क्रान्तिकारीहरूको दायित्व आफूलाई परिस्थिति अनुकूल बनाउनु मात्रै हो त? प्रतिक्रियावादी निर्मित वा आन्दोलनको झ्ट्काले बनाएको परिस्थितिलाई आम सर्वहारा वर्ग र श्रमजीवी जनताको हितमा क्रान्तिकारी रूपान्तरण गर्नुपर्दैन?

समाजलाई सामन्तवादको जकडबाट मुक्त पार्ने क्रान्तिमा पूँजीवादी साधनहरूको प्रयोग गरिन्छ। संघीयता, संविधानसभा इत्यादि त्यस्ता साधनहरू हुन्। जनवादी क्रान्तिदेखि वैज्ञानिक समाजवादसम्मको लक्ष्य राख्ने एमाओवादीका मार्क्सवादी अभियन्ताहरूले परिस्थितिका नाममा सबैलाई पूँजीवादी साधनमा विलय हुन भनेका छन्। विलय हुन नसक्ने जतिलाई 'गरिखान नसक्ने' भन्न खोजिएको छ।

थरीथरीका भाइ

नेताहरूको यो रवैयामा पार्टीभित्र अहिले क्रियाशील तीन प्रवृत्तिका कार्यकर्ता समूहको प्रभाव झ्ल्कन्छ। सिद्धान्त–स्वत्व बेच्न नसक्ने, चन्दा नउठाउने, ठेकेदार–व्यापारी पट्याउन नसक्ने, मन्त्रालय नधाउने, व्यापारी उद्योगपतिको काम नगरिदिने, महँगा दारुपानी टक्र्याउन नसक्ने र यस्ता विविध कृत्यबाट 'दाइ'हरूलाई कमिसन दिलाउन नसक्ने फुस्रा कार्यकर्ता पहिलो अर्थात् गरिखान नसक्ने पंक्तिमा परेका छन्। यस्ता कार्यकर्ता अब 'दाइ'हरूलाई चाहिएको छैन। सबथोक गर्न सक्ने चैतेहरूले दोस्रो प्रवृत्तिको प्रतिनिधित्व गर्छन् र उनीहरू 'दाइ'हरूको अन्तरंग बन्न सफल छन्।

हिजो 'जनयुद्ध'मा पार्टीले निर्दिष्ट गरेको बाटो हिंडेका पहिलो थरीका कार्यकर्ताहरू 'दाइ'हरूबाट वैचारिक, वर्गीय, भावनात्मकसँगै जायज भौतिक उत्थानको आशा गर्छन्। भोलि पार्टीलाई संकट परेका बेला पहिलो लाइनमा गर्धन थाप्ने पनि यही पंक्तिका कार्यकर्ता हुन्। हिजो माओवादी सिध्याउनेमा सक्रिय दोस्रो थरीका कार्यकर्ताबाट पार्टीले त्यस्तो बलिदानको अपेक्षा गर्नु ठूलो भूल हुन्छ। उनीहरू पार्टी सत्तामा आएपछि 'दाइ'हरूलाई फूल–अक्षता गरेर 'भाइ' भएका मात्र हुन्। तिनले संकटको घडीमा कुलेलम ठोक्ने चोरबाटो बिर्सेका छैनन्।

'दाइ'हरूको वरिपरि गोलचक्कर लगाउने तर, सिन्को नभाँच्ने तेस्रो थरीका कार्यकर्ताहरू पनि पार्टीमा छँदैछन्। उनीहरूले एउटा विशिष्ट परिस्थितिमा हिजैदेखि 'दाइ'हरूसम्म पहुँच बनाएका छन्। उनीहरूमध्ये कतिपय संकटकालमा पार्टी र नेतालाई धारेहात लगाउँदै ज्यान जोगाउन र पैसा कमाउन विदेश पलायन भए भने कतिपय गणेशमान शान्ति अभियानतिर लागे। २०६३ सालको जनआन्दोलनपछि पार्टी फर्केका उनीहरू आज मजैले 'दाइहरू'को स्वार्थपूर्तिका साधन बनेका छन्।

पार्टीमा विचारको साटो लुटको धन्दा चलाउन उनीहरूले एउटा यस्तो चक्र बनाएका छन्, जसलाई छिचोलेर 'दाइ'हरूसम्म पुग्नु पहिलो थरी कार्यकर्ताको वशको बात हुन छाडेको छ। सातौं महाधिवेशनमा देखिएको यही हो। यिनीहरूले 'दाइहरू'को विशेष निगाह र आफ्नो दलाली क्षमताबाट राम्रै आर्थिक–राजनीतिक विस्तार गरेका छन्। यी चैतेहरूको खातिरदारीबाट मखलेल 'दाइ'हरूलाई विचारको कुरा गर्ने कार्यकर्ता निकम्मा लागेको हो।

इमानको आतंक

पार्टीका 'दाइ'हरू इमानदार कार्यकर्तासँग सीधा सम्बन्ध कायम गर्न हिच्किचाउन थालेको धेरै भइसक्यो। तर, जनताले एउटा पार्टीका इमानदार र बेइमान दुवै थरी नेता–कार्यकर्तालाई एउटै घानमा हाल्ने भएकाले एकातिर इमान नै अन्यायमा पर्ने स्थिति सिर्जना हुँदैछ भने नेताहरू इमानी कार्यकर्तासँग दिनानुदिन आतंकित हुँदै टाढिइरहेका छन्। बेइमानहरूलाई जनताले गर्ने तिरस्कारको शिकार सिंगो पार्टी बन्नुपर्ने अवस्था निःसन्देह रूपमा कहालीलाग्दो छ।

सत्ता र शक्तिको दलालीबाट नाम–दाम कमाएका नेता–कार्यकर्ताहरूको फुर्ती बढेको यो समयमा आर्थिक हिसाबले सबथोक गुमाएका इमानदार कार्यकर्ताले राजनीतिक हैसियत समेत गुमाउनुपर्ने स्थितिको सामना गर्नु पर्दा अब 'गर वा मर' को अवस्था सिर्जना भएको छ। 'दाइहरू'द्वारा सम्भावनाका ढोका बाहिर पारिएका, चैतेहरूबाट हेपिएका र पेलिएका कार्यकर्ता एकजुट भए भने लुटको महलमा मखलेलहरूको हालत के होला? हेक्का राखियोस् र विचारवान कार्यकर्ताहरूलाई समेटेर पार्टीलाई वेगवान बनाइयोस्।

(खड्का एमाओवादीको भ्रातृ संगठन नेवाः राज्य सम्मेलन आयोजक समितिका सदस्य हुन्।)

comments powered by Disqus

रमझम