१२ जेठ २०७० | 26 May 2013

पत्रकारिताको आँखीझ्याल

Share:
  

नेपालमा प्रेस काउन्सिल

लेखकः विनोद ढुंगेल

प्रकाशकः प्रेस काउन्सिल नेपाल

पृष्ठः ५७३+११५,

मूल्यः रु.६००

प्रेस काउन्सिल नेपालले हालै प्रकाशित गरेको ग्रन्थ नेपालमा प्रेस काउन्सिल ले प्रेस काउन्सिल र नेपाली पत्रकारिताको इतिहास समेट्ने प्रयास गरेको छ। यसका लेखक विनोद ढुंगेलले दुई खण्डको यो ग्रन्थ नेपाली पत्रकारिताको आँखीझ्याल भएको दाबी गरेका छन्। ग्रन्थमा प्रेस काउन्सिलको राष्ट्रिय–अन्तर्राष्ट्रिय इतिहास, संचार विकासमा काउन्सिलको भूमिका, प्रेस काउन्सिलको अवधारणा, यसको विश्वव्यापी अभ्यास र प्रेस स्वतन्त्रताको संरक्षणका लागि काउन्सिलको खाँचोको चर्चा छ।

प्रेसलाई उत्तरदायी बनाउने नियमनकारी निकाय प्रेस काउन्सिलको काम आम नागरिकलाई सही सूचना प्रवाह गर्ने प्रेसलाई मार्गदर्शन र स्वतन्त्र पत्रकारिताको प्रबर्द्धन गर्नु हो। आचारसंहिता जारी गरेर अनुगमन गर्ने, आचारसंहिता विपरीत कामको उजुरी सुनेर निर्णय दिने काम प्रेस काउन्सिलकै हो। तर, यस्ता भूमिकामा काउन्सिल निष्प्रभावी देखिएको छ। आचारसंहिता उल्लंघनका घटना बढेको कुरा प्रेस काउन्सिल नेपालको पछिल्लो प्रतिवेदनले नै औंल्याए पनि राजनीतिको छायाँका कारण उल्लंघनकर्तामाथि कारबाही भएको पाइएको छैन।

दुनियाँमा पत्रपत्रिका वितरण संपरीक्षणको काम काउन्सिल आफैंले नगरी छुट्टै निकाय अडिट ब्यूरो अफ सर्कुलेशन (एबीसी) बाट हुने गरेको छ। उच्चस्तरीय मिडिया सुझाव आयोग–२०६३ ले पनि पत्रपत्रिकाको वर्गीकरण स्वतन्त्र निकायबाटै हुनुपर्ने सुझाव पनि दिएकै हो, तर त्यसो गरिएको छैन। अर्को कुरा, पत्रकारिताको विकासका लागि आवश्यक नीतिनियम बनाउन सरकारलाई सिफारिस गर्ने मात्र नभई काउन्सिलले सरकार र मिडियाबीच पुलको काम पनि गरेको हुन्छ। तर, नेपालमा प्रेस काउन्सिल स्थापनाको चार दशकमा यस्तो कुनै काम भएको पाइँदैन।

प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सरकारबाट हुने सबै प्रकारको हस्तक्षेपबाट संरक्षण गर्दै प्रेसलाई जवाफदेही बनाउनु प्रेस काउन्सिलको अर्को दायित्व हो। भागबण्डामा नियुक्त भएका पदाधिकारी भने त्यस्तो हस्तक्षेपमा जहिल्यै मूकदर्शक भएका देखिन्छन्। सरकारका कामको पहरेदारी गर्ने मिडिया र मिडियाको पहरेदारी गर्ने काउन्सिल यसरी प्रभावहीन हुँदै जानु राम्रो लक्षण होइन। प्रेस काउन्सिल ऐनले स्वायत्त संस्थाको मान्यता दिएको काउन्सिल मन्त्रालय मातहतको एउटा निकाय जस्तो होइन। तर, काउन्सिल राष्ट्रिय स्वार्थको रक्षा र नागरिक अधिकारको संरक्षण, सम्बर्द्धनमा प्रभावकारी हुनबाट चुकेको छ।

काउन्सिलमा प्रेसविज्ञ सदस्यहरू हुनुपर्छ, तर पछिल्लो समय संस्थालाई दलीय भागबण्डाले थिलथिलो पारेको छ। काउन्सिललाई व्यावसायिक, मर्यादित र समाजप्रति उत्तरदायी संस्था बनाउन, सक्षम, योग्य र मर्यादित व्यक्ति रहने स्वतन्त्र संस्थाका रूपमा विकास गर्नु आवश्यक छ। लेखक ढुंगेलले यत्रो ग्रन्थमा काउन्सिलका यस्ता कमी–कमजोरी खुलेर खोतल्न सकेका छैनन्।

तथापि पुस्तकको पछिल्लो भागमा प्रेस काउन्सिल तथा मिडिया सम्बन्धी उच्चस्तरीय आयोग, तिनका पदाधिकारी, प्रेस कमिसन २०१५ को सिफारिस र विभिन्न समयमा जारी आचारसंहिताहरूको सँगालो रहेको ग्रन्थ संचारसम्बन्धी नीतिनिर्माताका साथै पत्रकारिताका विद्यार्थी र अनुसन्धानकर्ताका लागि निकै उपयोगी देखिन्छ।

रामजी दाहाल


सेयर बजार को आठौं संस्करण

नेपालको सेयर बजार

लेखकः रविन्द्र भट्टराई

प्रकाशकः एसआरसीएस

पृष्ठः १९३+१९,

मूल्यः रु.२५०

विश्लेषक रविन्द्र भट्टराईद्वारा लिखित नेपालको सेयर बजार को नयाँ संस्करण बजारमा आएको छ। सेक्युरिटी रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसीएस) द्वारा प्रकाशित किताबको आठौं संस्करणमा प्राथमिक र दोस्रो बजारका पछिल्ला परिवर्तन, केन्द्रीय निक्षेप सेवाका व्यवस्था, सम्पत्ति शुद्धीकरण र लगानी जस्ता नयाँ विषय थपिएका छन्। शेयर बजार सम्बन्धी तालिका अध्ययनको सहज तरिकासँगै पैसा भएर पनि लगानी नगर्नेका लागि स्थापित पोर्टफोलियो व्यवस्थापन कम्पनी बारेको जानकारी पनि नयाँ संस्करणमा छ।

३१ अध्यायमा शेयर बजारका विविध आयाम केलाएको किताबमा पत्रपत्रिकामा प्रकाशित शेयर सम्बन्धी समाचारमा प्रवाह गरिने सूचनाको बजार प्रभावको समेत समीक्षा गरिएको छ। शेयर सम्बन्धी कानूनी व्यवस्थाहरु समेत सिकाउने किताबले नियामकको रुपमा रहेका सरकारी निकायको परिचय समेटेको छ। लगानी गर्दा कम्पनी छनोट तरिका, शेयर मूल्य घटबढका कारण, शून्य लगानीमा नाफा कमाउने तरिका, जोखिम न्यूनीकरणका उपाय आदिबारे सिकाएकाले शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ तथा सक्रिय पुराना लगानीकर्तालाई उपयोगी देखिन्छ। विद्यार्थीका लागि पाठ्यसामग्रीको हिसाबले समेत किताब उपयोगी छ।

प्रभात

comments powered by Disqus

रमझम