१२ जेठ २०७० | 26 May 2013

थरी–थरीका जुत्ता

Share:
  

सदाबहार पहिरनको रूपमा रहेको जुत्ताका अनेक थरी डिजाइनले बच्चा र युवादेखि वृद्धवृद्धासम्मलाई आकर्षित गरिरहेको हुन्छ। अझ नेपालमा त विभिन्न स्वदेशी–विदेशी ब्राण्डका मात्र नभएर ह्याण्ड मेड र परालका जुत्ता समेत खोज्नेहरू छन्। ललितपुर, पाटनढोकाकी उपासना आचार्य (२३) भने लगाउँदा सजिलो हुने सबै किसिमका जुत्ता मन पराउनेमा पर्छिन् (हे. तस्वीर)। स्मार्ट देखिन फेशनेवल पहिरनमा ब्लक हिल जुत्ता रुचाउने उनको भनाइमा, ब्लक हिल कुनै पनि उमेरका नारीलाई जुनसुकै पहिरनमा सुहाउँछ। रु.४५० देखि रु.१० हजारसम्मका विभिन्न रंगका जुत्ताहरू फेरी–फेरी लगाउने उपासना भन्छिन्, “मलाई हिल विनाका फ्ल्याट जुत्ता पनि उत्तिकै मनपर्छ।”

हिलदेखि फ्ल्याटसम्मका 'ह्याण्ड मेड' जुत्ता पनि धेरै महिलाले मन पराउने गरेका छन्। दरबारमार्गस्थित डुल्ला सुका अहमद डुल्लाले खैरो र कालो रंगका 'ह्याण्ड मेड' लेडिज जुत्ता बढी बिक्री हुने बताए। जुत्ताका डिजाइनर समेत रहेका अहमद 'ह्याण्ड मेड' जुत्ता आकर्षक देखिने हुनाले यसका ग्राहक धेरै भएको बताउँछन्। उनको पसलमा रु.२५०० देखि रु.३५०० सम्मका फ्ल्याट र हिल जुत्ताहरू पाइन्छन्।

ललितपुरको मंगलबजारका पुस्तौनी जुत्ता व्यापारी राजु श्रेष्ठको पसलमा भने विभिन्न डिजाइनका विदेशीदेखि परालका सम्म जुत्ता किन्ने ग्राहकहरू आउँछन्। नेपालीहरू घरमा मराउ पर्दा, पूजापाठ गर्दा र मठमन्दिर जाँदा परालको जुत्ता लगाउँछन्। रु.१०० सम्म पर्ने यस्ता जुत्ता प्रेसरका रोगी र सुत्केरीहरूका लागि पनि उपयुक्त हुने श्रेष्ठ बताउँछन्। ठमेलको बोन क्राफ्ट सञ्चालक हरिशरण भट्ट ह्याम्प, कटन र उलन नेपाली 'ह्याण्ड मेड' जुत्ता विदेशीहरूले निकै रूचाएको बताउँछन्। रु.४०० देखि रु.१५०० पर्ने यस्ता जुत्ता अमेरिका, युरोप र जापानतिर निर्यात पनि भइरहेको छ।

शब्द/तस्वीरः देवयानी सिवाकोटी

मोडलः उपासना आचार्य

comments powered by Disqus

रमझम