१–१५ म‌ंसीर २०६७ | 17 November-1 December 2010

मूर्तिबाट मालामाल

Share:
  
- ऋषिराम कट्टेल
नेपालका मूर्तिकारहरूले अन्तर्राष्ट्रिय इज्जतसँगै प्रशस्त दाम पनि कमाइरहेका छन् ।

तस्बिरहरूः ऋषिराम कट्टेल
धनु याख्खा ।
१६ वर्ष अगाडि बागलुङका ओम खत्री (४०)ले ललितकला क्याम्पसमा नाम लेखाउँदा मूर्तिकला पढेर नेपालमा यति धेरै गर्न सकिएला जस्तो लागेको थिएन । पढाइको क्रममा दिल्ली विश्वविद्यालयबाट स्नातकोत्तर गरेका खत्री अहिले एउटै मूर्तिबाट रु.१० लाखसम्म लिन्छन् । उनी भन्छन्, “कमाइकै कुरा गर्दा पनि सोचेभन्दा धेरै राम्रो भएको छ ।”

आधुनिक मूर्तिकलामा आफ्नै पहिचान बनाएका विश्वविद्यालय ‘टपर’ खत्री अहिले पढाउन छाडेर मूर्ति सिर्जनामै तल्लीन छन् । ललितकला क्याम्पस, सिर्जना कलेज अफ फाइन आर्टस् र काठमाडौं युनिभर्सिटीमा तीन वर्ष पढाएका उनी मूर्ति बनाउनकै लागि जापान, स्वीट्जरल्याण्ड, कोरिया, भारत, मेक्सिको, श्रीलङ्का पुगेका छन् । नेपालमा शुक्रराज शास्त्रीदेखि सिद्धिचरण श्रेष्ठसम्म र चीनको बेइजिङस्थित कलाकार अरनिको विशाल मूर्ति पनि खत्रीकै सिर्जना हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख खत्री भन्छन्, “मैले व्यावसायिक हिसाबले मूर्ति बनाउन थालेको डेढ दशक भयो, एक वर्ष जागिर खाँदा आउने पैसा म एकै सातामा कमाउँछु ।”

मूर्ति बनाएरै अन्तर्राष्ट्रिय ख्याति र पैसा कमाउने खत्री जस्ता नेपाली कलाकार निकै छन् । धर्मराज शाक्य (३७) एउटा यस्तै नाम हो, जसले चित्रकलामा स्नातक तथा संस्कृतिमा स्नातकोत्तर गरे पनि परम्परागत मूर्तिकलामा कहलिएका छन् । पुख्र्यौली पेशालाई निरन्तरता दिने क्रममा सिद्धहस्त मूर्तिकार बनेका उनका तीनभाइ पनि यसै क्षेत्रमा छन् । देवदेवी, चैत्य, गुम्बादेखि शहीद र नेताका बेहिसाब मूर्ति बनाएका छन्, धर्मराजले । केही समयअघि मात्र उनले रु.४० लाखमा एक जना भारतीय महाराजको मूर्ति बनाए ।

धर्मराज शाक्य ।
शाक्यको पाषाण मूर्तिहरूको मुख्य बजार चाहिँ तिब्बत, भुटान, भारत, जापान, युरोप र अमेरिका हो । पाटन औद्योगिक क्षेत्रस्थित उनको अरनिको स्टोन कार्भिङमा अहिले मूर्तिकार र कामदार गरी ४० जना रोजगार छन् । नेपाल हस्तकला उद्योग महासंघका उपाध्यक्ष समेत रहेका शाक्य एयरकार्गोबाट मात्र करिब रु.१ अर्ब बराबरको परम्परागत मूर्तिहरू विदेश जाने गरेको बताउँछन् । परम्परागत नेपाली मूर्तिकला लोप हुन लागेकाले यसमा सरकारले चासो दिनुपर्ने बताउँदै उनी भन्छन्, “नेपालका राम्रा र धैर्यवान मूर्तिकारले कमाइका लागि चिन्तित हुनुपर्ने अवस्था छैन ।”

मोरङका धनु याख्खा (३४) अर्का त्यस्ता नेपाली कलाकार हुन् जो छोटो अवधिमै चित्र र मूर्ति दुवै कलामा स्थापित भए । हालै काठमाडौं, रत्नपार्कमा स्थापित गणेशमान सिंहको सालिक उनैको सिर्जना हो । छायाँदेवी पराजुलीको सालिक सुनसरीको इनरुवामा राखिँदैछ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ समेत रहेका ललितकला क्याम्पसका स्नातकोत्तर याख्खा एउटा मूर्तिको रु.७ लाखदेखि रु.१५ लाखसम्म लिन्छन् । पछिल्लो समयमा नेपाली मूर्तिकलाको व्यावसायिकता बढेको उनको धारणा छ ।

पढाइमा सामान्य लेखपढ मात्र भए पनि पाटन, ठप्पाहिटीका कालु अवाले (७७) मूर्तिमा क्रोधकलाका पर्याय मानिन्छन् । उनी नेपालमा मात्र होइन, जर्मनी, सिङ्गापुर, ताइवान, फ्रान्स, अमेरिका, थाइल्याण्ड, कोरिया, भुटान, भारत, इन्डोनेशिया लगायतका मुलुकमा ख्याति कमाएका नेपाली मूर्तिकार हुन् । खान–लाउन धौ–धौ पर्ने किसान परिवारबाट आएका उनलाई यही कलाले सम्पन्न बनाएको छ । रु.१ करोडसम्मको मूर्ति बनाएका उनले हात्तीवनमा कालु आर्टस् एण्ड ह्याण्डिक्राफ्ट खोलेर नेपाली मूर्तिकलालाई संस्थागत रूपमा अगाडि बढाइरहेका छन् । छोरा राकेश अवालेको साथ पाएका उनले ४७ जनालाई रोजगारी समेत दिएका छन् ।

कालु अवाले ।
अहिले पुराना र स्थापित मात्र होइन, नयाँ विद्यार्थीहरू पनि पढाइसँगै मूर्तिकलाबाट राम्रो आयआर्जन गरिरहेका छन् । जस्तो, ललितकला क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थी नरेन्द्रप्रसाद भण्डारी (३५)ले मनमोहन अधिकारीदेखि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा, एडमण्ड हिलारी अनि बोरिस यल्तसिनसम्मका सालिक बनाएर राम्रै रकम कमाए । एकल प्रदर्शनीको तयारीमा रहेका उनी भन्छन्, “हामीलाई भाग्यमानी पुस्ता भन्नुपर्छ, सिर्जना गर्न सक्दा नाम र दाम दुवै पाउने अवस्था छ ।”

परम्परागत मूर्तिकलाबाट विश्वमै परिचित नेपालले आधुनिक मूर्तिकलाबाट समेत परिचय बनाउँदै गएको उल्लिखित कलाकार र उनीहरूको भनाइबाट प्रस्ट हुन्छ । परम्परागत नेपाली मूर्तिकलाको भिन्नै महŒव र मूल्य छ । तर, प्रतिभा भएका आधुनिक मूर्तिकारहरूले पनि मासिक लाखौं आम्दानी गर्ने वातावरण बनेको ओम खत्री बताउँछन् । आधुनिक नेपाली मूर्तिकलाका अग्रज ठाकुरप्रसाद मैनाली नेपाली मूर्तिकलाले अतुलनीय रूपमा व्यावसायिक फड्को मारेको बताउँछन् । साढे पाँच दशक मूर्तिकलामै बिताएका उनी भन्छन्, “नयाँ कलाकारहरूको आगमन पनि उत्साहजनक छ ।”

समकालीन नेपाली मूर्तिकलामा प्रमिला गिरी, रवीन्द्र ज्यापु, डा. लय मैनाली, गोपाल कलाप्रेमी, रामकृष्ण भण्डारी, बालकृष्ण तुलाधर, सुदर्शन विक्रम राणा, पृथ्वी नारायण श्रेष्ठ, लक्ष्मण भुजेल, विजय महर्जन, शारदामान श्रेष्ठ, भुवन थापा, पुष्पाञ्जली शेरचन आदि चर्चित नाम हुन् ।

comments powered by Disqus

रमझम