१६-३२ साउन २०६९ | 31 July-16 August 2012

देशकै भोटको मूल्यज्ञ लाख डलर!

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
एन्फा अध्यक्ष गणेश थापाले देशको नाम बेचेर फिफा अध्यक्षका उम्मेदवार एएफसी अध्यक्ष विन हमामबाट एक लाख डलर घुस लिएको खुल्दैछ।
p18a
गणेश थापा । तस्बिर: दिपक गाउँले 

१ जून २०११ मा सम्पन्न विश्व फूटबल महासंघ (फिफा) को चुनावमा अध्यक्ष पदका लागि भोट किनेको आरोपमा निलम्बित एशियाली फूटबल महासंघ (एएफसी) का अध्यक्ष मोहम्मद विन हमामबाट अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापाका जेठा छोरा गौरवले एक लाख अमेरिकी डलर (वर्तमान परिवर्त्यदर अनुसार रु.९० लाख) लिएर देशकै इज्जतमा लगाएको धब्बा पखाल्ने कुनै उपक्रम भएको छैन। एएफसीको उपाध्यक्षका रूपमा हमामका प्रमुख सहयोगी रहेका थापाले छोराको मलेसियास्थित खातामा जम्मा भएको उक्त रकम 'व्यक्तिगत लेनदेन' भएको बताए पनि थप स्पष्ट पारेका छैनन्।

६ साउनमा एसोसिएटेड प्रेस (एपी) ले सार्वजनिक गरेको एएफसीको अडिट रिपोर्टमा गौरवले लिएको उल्लेख भएको सो रकमलाई व्यक्तिगत लेनदेन मान्न सकिने आधार भने देखिंदैन। फिफा र एएफसीको लण्डनस्थित अडिटर फर्म प्राइस वाटरहाउस कुपर्सले २९ असारमा गरेको लेखापरीक्षण सम्बन्धी समाचारबाट गौरवले संस्थागत रूपमा एक लाख डलर बुझ्ेको पुष्टि भइसकेको छ। त्यसबेला एएफसीको खाताबाट बंगलादेश गएको ४५ हजार डलर भने बंगलादेश फूटबल संघकै खातामा जम्मा भएको र सो रकम फूटबल एकेडेमीका विद्यार्थीको ट्युसन तथा क्यान्सर पीडित एकेडेमीका महासचिवको उपचारमा खर्च भएको अडिट रिपोर्टमा उल्लेख छ।

छोराको कुरा

p18
खोइ छानबिन: राखेप सदस्य सचिव युवराज लामाले ७ साउनमा एन्फा अध्यक्ष गणेश थापालाई सोधेको स्पष्टीकरण पत्र, जुन कार्यान्वयन नहुने भएको छ। 

एन्फा अध्यक्ष थापाले 'व्यक्तिगत लेनदेन' भने पनि एएफसीले २८ वर्षका गौरवसँग यत्रो कारोबार केका लागि गर्‍यो? हमामले व्यक्तिगत प्रयोजनका लागि गौरवलाई पठाएका हुन् भने कसरी एएफसीको अडिटमा पर्‍यो? उक्त रकम केमा खर्च गरियो? थापाले प्रष्ट पारेका छैनन्। आफ्नो टि्वटरमा 'राजा आऊ, देश बचाऊ' भन्दै टि्वट गरिरहने गौरव पनि डलर प्रकरणको खुलासापछि मौन छन्।

 

हाल लण्डन ओलम्पिकको खेलस्थल सेण्ट जेम्स पार्कमा भेन्यु मेनेजरका रूपमा कार्यरत गौरव १० वर्षअघि स्थापित एन्फा एकेडेमीको पहिलो ब्याचका प्रशिक्षार्थी खेलाडी हुन्। उनले फूटबल प्रशिक्षण लिंदै एन्फाकै खर्चमा एसएलसी गरे। जावलाखेल युथ क्लबबाट एक सिजन खेलेका गौरवलाई पाँच वर्षअघि हमामले एएफसीको मलेसिया कार्यालयमा नियुक्त गरे। नेपाललाई आएको कोटा या बाबुको व्यक्तिगत सम्बन्ध, जे कारणले यो नियुक्ति भए पनि एफएफसी अध्यक्ष र उपाध्यक्षबीच आर्थिक चलखेलको भित्री पाटो थियो भन्ने घटनाक्रमले बुझ्ाउँछ। फिफा चुनावमा वर्तमान अध्यक्ष जोसेफ सेप ब्लाटरको विपक्ष र हमामको पक्षमा दह्रोगरी उभिएका एन्फा अध्यक्ष थापा आर्थिक अनियमितताको आरोपमा हमाममाथि प्रतिबन्ध लाग्दा पनि उनकै समर्थनमा खुलेर लागेका थिए। शाही शासनकालमा आफ्ना दाजु कमल थापा गृहमन्त्री हुँदा एन्फा अध्यक्ष थापाले हमामलाई गोर्खा दक्षिणबाहु दिलाएका थिए।

p19
भोटको फन्दामाः भोट किनेको आरोपमा फिफाको कारबाहीमा परेका एएफसीका अध्यक्ष मोहम्मद विन हमाम।

फिफा अध्यक्ष पदका उम्मेदवार हमामले एशियाली, अफ्रिकी र क्यारेबियन फूटबल अधिकारीहरूलाई व्यापक पैसा बाँडेको प्राइसवाटरको अडिट रिपोर्टले छर्लङ्ग पारेको छ। हमामले त्यसबेला २४ क्यारेबियन देशका फूटबल अधिकारीलाई ४०–४० हजार डलरका दरले घुस बाँडेका थिए। एन्फा अध्यक्ष थापाले भने छोराको नाममा रकम बुझने चलाखी गरेको देखिन्छ। त्यसबेला हमामबाट २ लाख ५० हजार डलर बुझ्ेका फिफा उपाध्यक्ष ज्याक वार्नर कारबाहीमा परिसकेका छन्। रिपोर्टमा भनिएको छ, “हमामले विना कारण हजारौं डलर बाँडेको देखिन्छ।”

गौरवले मलेशियामा एक लाख डलर लिए लगत्तैजसो ११ जनवरी २०११ मा दोहामा शुरू भएको एशियन कप हेर्न थापाकी श्रीमती र परिवारका अर्का एक सदस्यलाई हवाई टिकटका लागि हमामले ४३६६ डलर पनि पठाएका थिए।

देशकै बेइज्जत
न्यायपरिषद् सदस्य रहेका अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने एन्फा अध्यक्ष थापाले एक लाख डलरमा देशको भोट बेचेको हुनसक्ने बताउँछन्। न्यौपानेका अनुसार, एएफसीको संस्थागत खाताबाट पारिवारिक लेनदेन हुँदैन। त्यसकारण, थापा बाबुछोराले जे भएको हो त्यो प्रष्ट पार्नुपर्छ भन्ने उनको भनाइ छ। “राज्यले पनि थापालाई तुरुन्त निलम्बन गरेर छानबिन गर्नुपर्छ” कानूनविद् न्यौपाने भन्छन्, “निर्दोष भए सफाई र दोषी पाइए कारबाही गर्नुपर्छ।”

p19c
छोराको कुरामा बाबुलाई स्पष्टीकरण लिन नमिल्ने भएकाले पत्र लेखे पनि कारबाही अगाडि बढाएनौं। 
युवराज लामा 
सदस्य सचिव, राखेप

बौद्ध फूटबल क्लबका अध्यक्ष अर्जुन लामा व्यक्तिगत स्वार्थले धेरै पटक देशको बदनामी भए पनि यसपटक कुरा बाहिर आएको बताउँछन्। एन्फाभित्र यस्ता कर्तुतहरू धेरै भइरहेको दाबीका साथ लामा भन्छन्, “देशको अन्तर्राष्ट्रिय बेइज्जत हँुदा पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् छानबिन गर्न सक्ने अवस्थामा छैनन्, यसको कारण कसैले बताइरहनुपर्दैन।”

नभन्दै, थापालाई स्पष्टीकरण पत्र काटेका खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाको स्वर फेरिइसकेको छ। ७ साउनमा युवा तथा खेलकुद मन्त्रालय र एन्फा कार्यालयलाई बोधार्थसहित लेखिएको पत्रको प्रतिक्रियाबारे जानकारी माग्दा सदस्य–सचिव लामाले भने, “कानूनी परामर्श गर्दा छोरासँग सम्बन्धित भएकाले पत्र लेखेर पनि पठाएनौं।” हिमाल लाई प्राप्त उनको हस्ताक्षर भएको चलानी नम्बर ५३ को उक्त पत्रमा हमामबाट एक लाख डलर लिनुको प्रयोजन, विदेशी रकम लिंदा पूरा गर्नुपर्ने राज्यको कानूनी प्रक्रिया र एएफसीको लेखा परीक्षण प्रतिवेदनमा भएको विषय व्यक्तिगत हो भन्ने आधारहरूबारे सोधिएको छ (हे. पत्रको प्रतिलिपि)।

p19a
गौरव थापा

सदस्य–सचिव लामाले एएफसीबाट विस्तृत विवरण आयो भने कारबाही अघि बढाउने, तर अहिले मिडियाको पछाडि नलाग्ने पनि बताए। राखेपले पत्राचार गर्ने भएपछि थापाले लामालाई भेटेर 'कुरा मिलाएको' र पछिल्लो समयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि हिमचिम बढाएको बताइन्छ। यसबाट थापामाथि छानबिन हुने सम्भावना कम हुँदै गएको जानकारहरू बताउँछन्। यो प्रकरणबारे जानकारी लिन एन्फा अध्यक्ष थापासँग गरिएको सम्पर्क प्रयासहरू सफल भएनन्। एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठले 'व्यक्तिगत कुरा' भएकाले केही नबोल्ने बताए। थापासँग सम्पर्क गराइदिन आग्रह गर्दा उनले 'कोशिश गर्नुस्, सम्पर्क हुन्छ' भन्दै कुरै गर्न चाहेनन्।

p19b
तस्बिर: विक्रम राई

एक लाख डलर प्रकरणसँगै एन्फाभित्रको आर्थिक अपारदर्शिताका विषयमा प्रश्न उठ्न थालेको छ। एन्फाले फिफा असिस्टेण्ट प्रोग्राम (फप) अन्तर्गत हरेक वर्ष दुई लाख ५० हजार डलर र एएफसीबाट वर्षेनि एक लाख ५० हजार डलर पाइरहेको छ। देशभित्र लिग फूटबल सञ्चालन, विदेशमा प्रतियोगिता हुँदा खेलाडी तयारी र अन्य विभिन्न खेल परियोजनाका लागि थप रकम र खेल सामग्री आउने गरेको छ। तर, यस्ता रकमको कुनै हिसाबकिताब छैन। फिफाको वार्षिक दुई लाख ५० हजार डलरबाट २५ प्रतिशत महिला फूटबल विकासमा खर्च गर्नुपर्ने प्रावधानको पनि पालना भएको छैन। चार लाख डलरको गोल प्रोजेक्ट अन्तर्गत एन्फा एकेडेमी नेपालमा भर्खर पहिलो चरणको काम सकिंदैछ, जबकि अरू देशमा तेस्रो चरण सम्पन्न भइसकेको छ।

फिफा निर्वाचनमा भोट किनेको र एएफसीमा भ्रष्टाचार गरेको आरोपमा कारबाहीमा परेका हमाममाथि मुद्रा अपचलन, कर छली र संस्थाको पैसा आफूखुशी बाँडेकोमा मुद्दा चलाउने तयारी भइरहेको बताइन्छ। देशको बेइज्जत हुने गरी भएको एक लाख डलर प्रकरणले हमामको मतियार देखाएका गणेश थापामाथि भने आवश्यक छानबिन समेत शुरू भएको छैन। 

comments powered by Disqus

रमझम