१९ जेठ २०७० | 2 June 2013

'प्रजातान्त्रिक पार्टीमा रुपान्तरण गर्छौं'

Share:
  

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीचको एकता महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पुत्र जयन्त चन्द भन्छन्, “राप्रपालाई प्रजातान्त्रिक पार्टीमा पूर्ण रूपमा रूपान्तरण गर्न भूमिका खेल्छौं।”

महाधिवेशनमा सबैभन्दा बढी मत किन पाएँ जस्तो लाग्छ?

कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूको विश्वासका रूपमा यसलाई लिएको छु। विगत १० वर्षदेखि पार्टीको केन्द्रीय सदस्य छु। यो बीचमा त्यस्तो उल्लेख्य काम केही नगरे पनि महाधिवेशन प्रतिनिधिहरूले ममाथि भरोसा देखाउनुभयो। युवा भएकोले पनि यस्तो भएको हुनसक्छ।

पुरानो पुस्ताको वर्चश्व रहेको राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुन लागेको संकेत हो यो?

त्यो पनि हो। पुराना नेताहरूले आफ्नो समयमा पार्टी स्थापना र सुदृढीकरण गर्न योगदान पुर्‍याउनुभयो। उहाँहरू सम्मानको पात्र हुनुहुन्छ। यो महाधिवेशनबाट नयाँ पुस्ता नेतृत्वमा पुग्ने क्रम शुरू भएको छ।

राप्रपालाई अझै पनि पूर्व पञ्चहरूको पार्टीको ट्याग लाग्दै आएको छ, नि!

पूर्वपञ्चबाटै राप्रपाको स्थापना भएकाले यो ट्याग लाग्नु अस्वाभाविक होइन। तर, अहिले गाउँदेखि केन्द्रीय समितिसम्म आएको नयाँ पुस्ताको २०४६ सालअघिको राजनीतिसँग सम्बन्ध थिएन। म आफैं पनि २०४६ सालपछि नै राजनीतिमा आएँ। समय अनुसार राप्रपा परिवर्तन हुँदा यस्तो ट्याग हराउँछ। राप्रपालाई समावेशी प्रजातान्त्रिक पार्टीका रूपमा जनतामा स्थापित गर्नुपर्छ। समावेशी र राष्ट्रवादी दर्शन बोकेको यो पार्टीलाई प्रजातान्त्रिक पार्टीमा पूर्ण रूपमा रूपान्तरण गर्न हाम्रो भूमिका रहनेछ।

तपाईंहरूको पार्टी पटक पटक फुटेको छ, यो एकता चाहिं दिगो हुन्छ भन्ने आधार के छ?

फुट्दाको नोक्सानी र पीडा सबैले व्यहोरेका छन्। यो एकता जनताको चाहना र कार्यकर्ताको दबाबमा भएको हो। सैद्धान्तिक रूपमा दुवै पार्टीमा कुनै भिन्नता थिएन। त्यसैले अब त्यो गल्ती दोहोरिएला भन्ने लाग्दैन।

राप्रपा र राप्रपा नेपालबीच एकताको सम्भावना कत्तिको छ?

राजनीतिमा जहिले पनि सम्भावनाका ढोकाहरू खुला हुन्छन्। चुनावमा तालमेलको सम्भावना छ, पछि गएर राप्रपा नेपाल लगायत अन्य प्रजातान्त्रिक राष्ट्रवादी पार्टी र शक्तिहरूसँग एकता हुन सक्छ।

comments powered by Disqus

रमझम