१९ जेठ २०७० | 2 June 2013

विवादास्पद बमजन पाठ्यपुस्तकमा

Share:
  
विवादास्पद तपस्वी रामबहादुर बमजनको जीवनी निजी विद्यालयका कक्षा ५ का विद्यार्थीले पढ्नुपर्ने भएको छ।

शुभारम्भ प्रकाशन प्रालि, काठमाडौंले प्रकाशन गरेको निजी विद्यालयमा ५ कक्षामा पढाइने 'स्पार्क इङ्गलिस रिडर' मा विवादास्पद तपस्वी रामबहादुर बमजनको जीवनी राखिएको छ। 'रामबहादुर बमजन' शीर्षकको तीन पेजको जीवनीमा खाना र पानी नखाई ६ वर्षसम्म रामबहादुरले तपस्या गरेको उल्लेख छ। बारा रतनपुरी–५ का रामबहादुरले तपस्यास्थलमा भेट्न पुगेका लामा गुरुहरूलाई दिएको जानकारी भन्दै 'दुई वटा नागले खुवाएर आफूलाई बचाएको' भनिएको छ। 'सानै उमेरदेखि अध्ययन, ध्यान र पूजामा रुचि राख्ने ज्ञानी' भन्दै प्रशंसा गरिएको सो पाठमा रामबहादुरलाई सिद्धार्थ गौतम बुद्धको पुनर्जन्म समेत भनिएको छ। बमजनबारे विश्वास गर्न नसकिने यस्ता अनेकौं विवरण सो पाठमा छन्।

विवादास्पद रामबहादुर

सो पाठमा रामबहादुरसँग जोडिएका विवादास्पद र शंकास्पद कुनै पनि घटना उल्लेख छैनन्। उनका दाजु गंगाजितको भनाइ भन्दै २ जेठ २०६२ देखि रतनपुरीको जंगलमा रामबहादुरले ध्यान गर्न थालेको लेखिएको छ। तपस्यामा बस्नुअघि उनले ज्ञानको खोजीमा भारतको देहरादुन, लुम्बिनी र पोखराको भ्रमण गरेको उल्लेख छ। जबकि, ध्यान शुरू गर्नुअघि उनी निजगढका एक व्यापारीको पोखरास्थित ससुरालीको चामल मिलमा काम गर्दा शरीरको तल्लो भाग चल्न छाडेपछि बारा फर्केका थिए। ७ वर्षसम्म सर्वसाधारण र परिवारका सदस्यलाई बन्धक बनाई कुटपिट गरेका जस्ता रामबहादुरका विवादास्पद क्रियाकलाप देखेका बारा निजगढका शिक्षक श्याम खरेल त्यस्ताको जीवनी पाठ्यक्रममा समावेश हुनु आश्चर्यजनक भएको बताउँछन्। त्यो अवधिमा उनले जंगलमा घाँसदाउरा खोज्न गएका मनहर्वा र रतनपुरी गाविसका चार दर्जन भन्दा बढी गाउँलेलाई हातपात गरेका थिए भने रिपोर्टिङ गर्न पुगेका संचारकर्मीहरूलाई उनका अनुयायीहरूले आक्रमण गरी क्यामरा फुटाइदिएका थिए। डेढ वर्षअघि स्लोभाकियाकी ३५ वर्षीया सुजना टकाज (मारिची) र सिन्धुपाल्चोककी एक वृद्ध महिलालाई बोक्सी भन्दै तीन महीनासम्म उनले बन्धक बनाएका थिए। त्यसअघि उनले एक गोठालोलाई 'जासूस' भन्दै तरबार प्रहार गरी घाइते बनाएका थिए।

एक वर्षअघि बाराको हलखोरिया जंगल छाडेका रामबहादुर अहिले सर्लाहीको पत्थरकोट–१ मा आफन्तको घरमा बस्छन्। हलखोरिया छाडेपछि उनी सिन्धुलीको कमलामाई नगरपालिका गएका थिए। त्यहाँ पनि स्थानीयसँग विवाद भएर बस्न नसकेका उनी हलखोरिया फर्कने तयारीमा रहेको थाहा पाएपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरी त्यहाँ उनका अनुयायीले बनाएका दुई पक्की घर भत्काएको थियो। “फेरि हलखोरियामै आउँदैछन् भन्ने थाहा पाएर प्रहरी परिचालन गरेर रोकेका हौं”, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत थमनसिंह थापा भन्छन्।

लामो समय 'धार्मिक इस्यु' भन्दै रामबहादुरका क्रियाकलापबारे मौन रहेको जिल्ला प्रशासन गुरुलाई रातो पासपोर्ट र नागरिकता दिन माग गर्दै उनका अनुयायी सडकमा उत्रिएपछि आक्रोशित बनेको थियो।

गोकुल घोरसाइने, बारा


हलो नजोते, बिहे गर्न गाह्रो

शिवप्रसाद ढुंगाना
ओखलढुंगाको पात्ले–२ कात्तिकेकी फुली शेर्पा (३५) तीन वर्षदेखि खेत/बारीमा हलो जोतिरहेकी छिन्। पर्यटकको सहयोगी बनेर पति हिमाल गइरहने हुँदा घर र खेतीपातीको सबै जिम्मेवारी बोकेकी फुली भन्छिन्, “हलो जोतिदिने कोही नपाइएपछि आफैंले जोत्न थालेकी हुँ।”

यो गाउँका अधिकांश पुरुष फुलीको पति जस्तै कमाउन हिमालतिर जान्छन् भने जिल्लाका अरू गाविसका युवा विदेश। जसका कारण पुरुषको जिम्मेवारी मानिने घर बाहिरको काम पनि महिलाको काँधमा आएको छ। यो परिवर्तनले यहाँ विवाहका लागि घर बाहिरको काम जानेका केटी खोजिने मान्यता विकास हुँदैछ। फुली भन्छिन्, “खेतीपाती सम्हाल्न सक्ने केटीलाई केटा पाउन सजिलो छ, केटा विदेश जाने भएपछि हलो जोत्न सक्ने केटी चाहिने नै भयो।”

खेत―बारी बाँझै

कामकाजी उमेरका पुरुष गाउँमा नहुँदा खेतबारी बाँझो हुने क्रम बढेको छ। जिल्लाको कुल खेतीयोग्य ५९ हजार हेक्टर जमिनमध्ये २५ हजार हेक्टरमा मात्र खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत राजेश्वर सिलवाल बताउँछन्। १८–४० वर्ष उमेरका धेरै व्यक्ति वैदेशिक रोजगारीमा गएकाले यस्तो अवस्था आएको उनको भनाइ छ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्याङ्कमा २०६९ मा मात्रै ओखलढुंगाका ११ हजार २०० युवा वैदेशिक रोजगारीमा गएको देखिन्छ। गाउँमा पुरुष नहुँदा मलामीमा समेत महिला जाने नयाँ दृश्य देखिन थालेको छ।

दाजु वैदेशिक रोजगारीमा गएपछि सल्लेरी–९ की निर्मला तामाङ (१७) ले एक वर्षदेखि खेत/बारीमा हलो जोतेको दृश्यले नै देखाउँछ, त्यहाँको स्थिति। दीर्घ रोगले थलिएका बाबुकी छोरी निर्मला भन्छिन्, “कुनै घरमा लोग्ने मानिस नभएपछि जोत्नै पर्‍यो नि!” बुबा पदमबहादुर खत्री वैदेशिक रोजगारीमा गएपछि एक वर्षदेखि हलो जोतिरहेकी फेदीगुठ–५ की शारदा खत्री (१६) भन्छिन्, “दाजुभाइ नभएको र बुबा पनि विदेशिएकाले बाध्यताले हलो जोतिरहेकी छु।”

ओखलढुंगाको दियाले, मोली फस्कु, फेदीगुठ, सल्लेरी गाविसमा केही वर्षदेखि खेतीपातीको सबै काम महिलाको जिम्मेवारीमा छ।

शिवप्रसाद ढुंगाना, ओखलढुंगा


सामुदायिक विद्यालयको बिजोग

अली असगर
२०२६ सालमा स्थापित वीरगञ्जको विर्तास्थित नेपाल प्राथमिक विद्यालय शुक्रराजमा एक जना पनि विद्यार्थी पढ्न आउँदैनन्। जिल्ला शिक्षा कार्यालय (जिशिका)को रेकर्डमा भने पाँच जना शिक्षक रहेको यो विद्यालयमा ८० जना विद्यार्थी अध्ययनरत छन्। भाडाको भवनमा चलिरहेको यो विद्यालयकी प्रधानाध्यापक गीता श्रेष्ठ भन्छिन्, “नजिकका विद्यालयको तुलनामा सुविधा कम भएकाले यहाँ विद्यार्थी नआएका हुन्।”

स्थापनादेखि नै यो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर जोशीको घरमा भाडा तिरेर सञ्चालित छ। शिशुदेखि ५ कक्षासम्म पढाउने अनुमति पाएको विद्यालयमा शौचालय र खानेपानीको सुविधा छैन। भवन कति जीर्ण छ भने बर्खामा पानी चुहिन्छ र कोठामा पानी जम्छ। शिक्षक अर्चना सिंह भन्छिन्, “यस्तो असुविधामा अभिभावकले छोराछोरीलाई किन पठाउँथे!” जिशिका र स्रोत व्यक्तिलाई विद्यालयको अवस्थाबारे सबै जानकारी भए पनि समस्या समाधान गर्न कुनै पहल नभएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ।

पर्साकै गहवामा रहेको ४ कक्षासम्म पढाइ हुने नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा २५ जना विद्यार्थी छन्। त्यसैले सबै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइन्छ। पर्साको लोकनाथ प्राविको एककोठे काठको भवन छ। हरपतगञ्जमा रहेको निरञ्जन साह कलवार प्राविमा यो वर्ष एक जना विद्यार्थी पनि भर्ना भएनन्। तर, जिशिकाबाट यी सबै विद्यालयले दलित जनजाति छात्रवृत्ति, पाठ्यपुस्तक, मसलन्दको रकम लगायत सुविधा लिइरहेको जिल्ला शिक्षा अधिकारी (जिशिअ) हरिहर वस्ती बताउँछन्।

शिक्षा नियमावलीमा भने भौतिक पूर्वाधार नभएका विद्यालयलाई संचालन स्वीकृति नदिइने व्यवस्था छ। जिशिअ वस्ती पनि पूर्वाधार नभएका विद्यालयलाई सञ्चालन स्वीकृति दिनु गल्ती भएको स्वीकार्छन्। उनकै नेतृत्वको टोलीले जिल्लाका सामुदायिक विद्यालयको अनुगमन गरेपछि यी तथ्य खुलेका हुन्। अनुगमन टोलीले जिल्लाका १६ विद्यालयमा अनुगमन गर्दा अधिकांश विद्यालयमा विद्यार्थी निकै कम रहेका र भएका विद्यार्थी पनि विद्यालय कम आउने गरेको पाइएको छ। कुनै विद्यालयका शिक्षकहरू शिक्षा कार्यालयलाई जानकारी नै नदिई लामो समय बिदा बसिरहेको पनि त्यो टोलीले भेटेको थियो। शिक्षकहरू लामो बिदामा बस्न सक्नुमा विद्यालयका प्रधानाध्यापक र जिशिकाका कर्मचारीको हात रहेको जिशिअ वस्ती बताउँछन्।

अली असगर, वीरगञ्ज


सव–इञ्जिनियरको बाख्रा फार्म

दमन राई
शहर होस् कि गाउँ, नेपालमा मासुको खपत बढ्दो छ, मासु उत्पादन गर्न सक्नेलाई पैसाको दुःख हुँदैन। यो कुरा मनन गरेका श्यामकुमार पोखरेल (४४) ले खोटाङको विजयखर्क–९ भैरङपुरमा बाख्रा फार्म खोलेका छन्। ललितपुरको पुल्चोकस्थित सस्पेन्सन ब्रिज डिभिजनका सव–इञ्जिनियर पोखरेलले गत कात्तिक यता फार्ममा रु.२० लाख लगानी गरिसकेको बताए। “कृषि पेशाको सम्मान पनि हुने”, १८ वर्षदेखि जागिरे पोखरेल भन्छन्, “गाउँमै रोजगारी सिर्जना र राम्रो आर्जन पनि हुने भएकाले यसमा हात हालेको हुँ।”

कम्तीमा एक हजार बाख्रा पाल्ने योजनाका साथ शुरू भएको हलेसी कृषि तथा बाख्रा फार्ममा अहिले खरी जातका ११५ बाख्रा छन्। थप २० रोपनी जग्गामा चार वटा नयाँ गोठ बन्दैछन्। फार्ममा जमुनापारी र बार्बरीको क्रस बोका र जमुनापारी पाठी हुर्काइँदैछ। भेटनरी प्राविधिकको समेत व्यवस्था भएको फार्ममा चार जनाले काम पाएका छन्। बाख्राका लागि १२ रोपनी जग्गामा जय जातको भुईंघाँस र किम्बु, बकाइनो, चिउरी लगायतका डाले घाँस रोपिएको छ।

यहाँ उत्पादन हुने खसी–बोका सदरमुकाम दिक्तेलका लागि ठिक्क हुने अनुमान लगाएका पोखरेल मासु निर्यातका लागि सडक बाटो नहुनु र बेला–बेलामा देखिने रोगलाई प्रमुख समस्या ठान्छन्। “तर, अरूलाई उदाहरण पनि होस् भनेर लगानी गरेको छु, समस्या परेछ भने त्यसको समाधान पनि निस्केला”, पोखरेल भन्छन्।

दमन राई, खोटाङ

comments powered by Disqus

रमझम