नखेल्नु जुवा र तास
धनको नाश, जीवनको बनिबास
जुवाविरुद्ध सामाजिक चेतना फैलाउने यो लोकगीत सोलुखुम्बुका मौलिधन मोक्तान (६०)ले पनि धेरैपटक सुनेका र गुन्गुनाएका थिए । तर, त्यही जुवाको लतले उनलाई करोडपतिबाट कङ्गाल बनायो । राजधानीका जुवाघर (क्यासिनो) जान पल्केका उनले १५ वर्षमा रु.४ करोड ५० लाख सिध्याए ।
मौलिधनले २० वर्षअघि लुक्लामा खोलेको एभरेष्ट प्लाजा होटलको दैनिक आम्दानी सरदर रु.२० हजार थियो । त्यस्तै १५ वर्षअघि थालेको काठमाडौं–सगरमाथा आधारशिविर कार्गो सेवाबाट उनी सिजनमा दिनको रु.५० हजारसम्म कमाउँथे । यसैबीच क्यासिनोको चस्का लागेपछि उनको रासबास नै एभरेष्ट, अन्ना, रोयल, ¥याड, साङ्ग्रिलामा हुन थाल्यो । क्यासिनोहरूको ‘शाही आतिथ्य’ले नगद, सुन–चाँदी, लुक्लाको होटल र कार्गो व्यवसायसँगै काठमाडौं, रामहिटीको एक रोपनी जग्गा र घर सिध्याएपछि मात्र उनले त्यो जान नहुने ठाउँ रहेछ भन्ने चाल पाए । क्यासिनोहरूमा ‘लाहुरे दाइ’ उपनामबाट परिचित मौलिधन अहिले त्रिभुवन विमानस्थल अगाडि जाँडपानी बेचेर बसेका छन् । ८ कात्तिक साँझ् उनले हिमाल सँग भने, “क्यासिनोले सबै सकिदिएपछि यहाँ ‘भट्टी’ चलाएर गुजारा गरिरहेको छु ।”
१५ वर्षअघि ठमेलका पत्यारिला पर्यटन व्यवसायी सागर किराती (नाम परिवर्तन) ले क्यासिनोहरूको आतिथ्यमा पल्केर १० वर्षमा डेढ करोडभन्दा बढी रकम उडाए । बानी लागेपछि साथीभाइहरूसँग ऋणपान गरेर खेले । नशा कस्तो भने, गोजीमा पैसा पर्नासाथ उनी क्यासिनो पुग्थे, एकै पटकमा रु.७ लाखसम्म खेले । हिमाल सँग रेकर्डमा कुराकानी गरेका सागर भन्छन्, “त्यत्रो पैसा सकेर पनि अहिले व्यवसायमा आफूलाई टिकाइरहेको छु ।” क्यासिनोमा बर्बाद भएर पनि येनकेन काठमाडौंमा व्यवसाय गरेर खाएका ५० जना जतिलाई सागर आफैं चिन्छन्, बर्बादै भएकाहरू त्यत्तिकै छन् । अरू नेपालीहरूलाई उनको अनुरोध छ, “मेरो अनुभवले भन्छ, क्यासिनो सारै नराम्रो ठाउँ हो । कोही दाजुभाइ त्यहाँ नजानुस् ।”
विदेशी पर्यटकलाई भनेर राजधानी र पोखरामा खोलिएका १० वटा क्यासिनो नेपाली नागरिकका लागि प्रतिबन्धित भए पनि अधिकांशमा विदेशी भन्दा नेपाली ग्राहक नै बढी हुन्छन् । क्यासिनो धाउनेमा रमझ्म रुचाउने जग्गा कारोबारी, ठेक्का–पट्टा व्यवसायी, म्यानपावर सञ्चालक र पर्यटन व्यवसायी बढी छन् । क्यासिनो छिरेका ग्राहकलाई ‘पैसा नपर्ने’ गरिष्ट स्न्याक्स र ब्ल्याक लेभल, रेड लेभल जस्ता महँगा मदिराले स्वागत गरिन्छ । सित्तैँ पाइने खानेकुरा र रमझ्मको लोभमा रु.५–१० हजार मात्रै खेल्छु भनेर जानेहरू विस्तारै लतमा फँसेर घर न घाटका हुन्छन् ।
जुवा खेल्ने मान्छेमा पहिला मार्ने सोच हुन्छ भने हारिसकेपछि कसरी उकास्ने भन्ने ध्याउन्न । विदुर पनि हारेको रु.५० हजार उकास्न ऋण लिँदै र जायजेथा निकाल्दै खेल्न थाले । यसरी ६ महिनामा रु.६ लाख गयो । पछि विदुरको कुलत थाहा पाएर श्रीमतीले पैसा पठाउन छाडिन्, उनले पनि ऋण पाउन छाडे । केही समय क्यासिनो जाने बाटो बन्द भयो ।
तीन वर्षपछि छुट्टीमा आउँदा श्रीमान् ‘सज्जन’ भएको पाएर श्रीमतीले इजरायल फर्केर व्यापार गर्न राखेको रु.७ लाख पठाइदिइन् । एक साँझ् रक्सीको सुरमा एटीएमबाट ३० हजार झ्किेर एभरेष्ट पुगेका विदुरले बिहान दुई बजेसम्ममा सबै ब्यालेन्स सिध्याए । उनी भन्छन्, “हर्ट अट्याक हुन्छ कि जस्तो भयो, सीधै घर गएर ढोका थुनेर सुतेँ । दुई दिनसम्म कोठाबाट बाहिरै निस्किनँ । काम गरेर खाने मान्छेले क्यासिनो जानै नहुने रहेछ ।”
क्यासिनोको लतमा फँसेकाहरू ऋण समेत पाउन छाडेपछि पैसा जुटाउन अनेकन् तिगडम गर्छन् । एक वर्षअघि ठमेलमा मनिचेञ्जर चलाउने राजु पौडेल एकाएक बेपत्ता भए । केही दिनपछि उनले घरमा फोन गरेर आफू अपहरणमा परेको बताएपछि बाबु–आमाले प्रहरीलाई खबर गरे । पछि थाहा भयो, राजुले क्यासिनो जाने क्रममा धेरैको रु.१ करोड जति रकम सकिदिएका रहेछन् । त्यसैगरी, भोटाहिटीमा जुत्ता पसल चलाउने नवीन्द्र अर्यालले एभरेष्ट होटलमा मासु र फलफूल आपूर्तिको ठेक्का पारिदिने भनेर एकजना आफन्तकै रु.३५ लाख सिद्ध्याइदिएका थिए । महानगरीय अपराध महाशाखा, काठमाडौंमा उजुरी परेपछि पक्राउ परेका नवीन्द्रले त्यो रकम क्यासिनोमा उडाएको थाहा भयो ।
शेर्पा थरका एक जना पर्वतारोही र शेर्पा थरकै एक निर्माण व्यवसायी अहिले क्यासिनोका नियमित पाहुना छन् । व्यवसायी शेर्पाले रु.२ करोड जति उडाइसकेका छन् । केही समयअघि नयाँसडकका एक जना नेवार सुन व्यापारीले क्यासिनोकै कारण पसल सिध्याए । क्यासिनो र जुवाकोे लतमा फँसेर धेरै पैसा डुबेपछि अत्यधिक मादक पदार्थ सेवन गर्न थालेका ब्याङ्कमा कार्यरत मैतीदेवीका एक युवकको ६ महिनाअघि निधन भयो । ठगी, अपहरण, लुटपाट, हत्या जस्ता अपराधमा समातिएका र फरार अभियुक्तहरूले अपराधको रकम क्यासिनोमा उडाउने गरेको पाइएको छ (हे. क्यासिनोः अपराध कारखाना) । त्रिभुवन विश्वविद्यालय, मनोविज्ञान केन्द्रीय विभागका शिशिर सुब्बा जीत–हारको जोखिममा आनन्द लिने मनोवृत्ति भएकाहरू जुवाको लतमा छिटो फँस्ने बताउँछन् । “लत लागेकाहरूमा धेरै पटक हारेको बिर्सेर एकपटक जितेको सम्झ्रिहने बानी हुन्छ”, मनोविश्लेषक सुब्बा भन्छन् ।
४२ वर्षअघि सन् १९६८ मा नेपालमा होटल सोल्टीमा पहिलो क्यासिनो खुलेको थियो । २०४६ सालपश्चात् थप क्यासिनोहरूलाई अनुमति दिन थालिएपछि अहिले राजधानीमा आठ र पोखरामा दुई क्यासिनो सञ्चालनमा छन् । तीमध्ये सात वटाको सञ्चालक नेपाल रिक्रिएसन सेण्टर, दुई वटाको ग्राण्ड भ्याली लिङ्क र एउटाको गिल्ड इण्टरनेशनल छन् । क्यासिनोहरूमा करिब आठ हजार कर्मचारी छन् ।
नेपाली विना चल्दैनन्
तर, जुवा ऐन २०२० अनुसार कारबाही गर्दा उनीहरूलाई ६ दिन थुना र रु.२०० जरिवाना मात्र हुने भएकाले पक्राउ परेकाहरूलाई यसले खासै असर पार्दैन । अर्कोतिर, प्रहरी प्रशासनकै मिलेमतोमा क्यासिनोहरूले नेपालीलाई जुवा खेलाइरहेको आरोप पनि छ । प्रहरीले छापा मार्न लागेको सूचना क्यासिनोमा पहिल्यै आइपुग्ने जुवाडेहरू बताउँछन् । एसपी खरेलले १० कात्तिकमा मातहतका वृत्त प्रमुखहरूलाई ‘नेपालीलाई जुवा खेलाउने क्यासिनोमाथि किन कारबाही नगरेको’ भन्दै स्पष्टीकरण दिन लेखेको पत्रले पनि यही पुष्टि गर्दछ ।
क्यासिनो सञ्चालकसँग प्रहरीका तलदेखि माथिसम्मकै अधिकारीहरू मिल्ने गरेको आफूले थाहा पाएको पूर्व गृहमन्त्री वामदेव गौतमले हिमाल लाई बताए । उनी भन्छन्, “मैले प्रहरीका प्रमुख अधिकृतहरूलाई नै छापा मार्न पठाउँदा तिनले हामी आउँदैछौं भनेर क्यासिनो सञ्चालकहरूलाई खबर गरेका रहेछन् ।” गृहमन्त्री भएको वेला क्यासिनोमा नेपाली छिर्न नदिन प्रहरी सक्रियता तीव्र बनाउँदा गौतमले माओवादी मजदुर आन्दोलनको समेत सामना गर्नुपरेको थियो (हे. अन्तरवार्ता) ।
त्यसवेला क्यासिनो सञ्चालकहरूबाट मोटो रकम लिएर आँखा चिम्लिदिन प्रस्ताव आएको गौतमले बताए । प्रहरी प्रशासनदेखि नेता र मन्त्रीहरूसम्मको चित्त बुझएरै चल्ने भएकाले क्यासिनोमा नेपालीहरूको प्रवेश बन्द नभएको प्रस्टै छ । प्रहरीले वेलावेलामा छापा मारेपनि कहिल्यै क्यासिनोको ढोकामा प्रहरी खटाउँदैन । सबै क्यासिनोले प्रहरीका वडादेखि प्रधान कार्यालय र गृहमन्त्रालयसम्ममा मासिक नजराना पु¥याएका हुन्छन् ।
एभरेष्ट, अन्ना, तारा र रोयलमा करिब रु.१६ लाख सिध्याएका बानेश्वरका विदुर कार्की क्यासिनोमा खेल्ने १०० मा २० जना जति मात्रै विदेशी हुने बताउँछन् । क्यासिनोमा पहिल्यै रित्तिएकाहरू ‘पैसा नलाग्ने’ खानेकुरा खाँदै अरू खेल्नेहरूसँग पैसा मागेर बसेका देखिन्छन् । नेपाली महिलाहरूको पनि बाक्लै उपस्थिति हुन्छ । हरूवा जुवाडेहरूलाई महङ्गो व्याजमा ऋण दिने गिरोहका मानिसहरू पनि त्यहीं अड्डा जमाएका भेटिन्छन् (हे. बक्स) ।
सबा करोड सिध्याएका ठमेलका सागर किराती नेपालमा खुलेका क्यासिनोहरू नेपालीका लागि अभिशाप भएको बताउँछन् । साढे चार करोड सकेका मौलिधन मोक्तान भन्छन्, “मैले सक्ने भए सबै क्यासिनोमा डोजर नै लगाइदिनेथिएँ ।”
मलाई पनि पुसको प्रस्ताव राखे
बामदेव गौतम, पूर्व गृहमन्त्री
गृहमन्त्री हुँदा क्यासिनोमा नेपालीको प्रवेशमा रोक लगाउन सक्नुभएन नि !
क्यासिनोमा जुवा खेल्ने हैसियतका नेपाली दुई–तीन प्रतिशत मात्रै छन् । मनोरञ्जनका लागि जुवा खेल्दा सम्पत्ति सकिएर लुटपाट, चोरी, डकैती, अपहरणतिर लाग्ने भएकाले प्रवेश रोकिनुपर्छ भनेर लागेको थिएँ । तर, सरकार भित्र–बाहिर कतैबाट सहयोग पाइनँ ।
के–केले अप्ठ्यारो पा¥यो ?
माओवादी नेतृत्वको सरकारमा माओवादीकै मजदुर युनियनले मेरो विरुद्ध आन्दोलन ग¥यो, पुत्ला जलायो, राजिनामा माग्यो । मेरा विरुद्ध खेद प्रस्ताव समेत पारित भयो । मलाई सरकारभित्रैबाट पनि असहयोग भएको थियो । क्यासिनो हेर्ने पर्यटन मन्त्री हिसिला यमीले तिनै मजदुरहरूको संरक्षण गरिन् ।
क्यासिनोले ठूलै समस्या निम्त्याएका हुन् ?
क्यासिनोले आपराधिक गतिविधि समेत बढाइरहेको जानकारी आएको र समस्या बढाइरहेको पाएपछि प्रतिबन्ध कार्यान्वयन गर्न खोजेको हुँ । क्यासिनो जाने लतकै कारण एक शिक्षकले रु.१० लाखका लागि ख्याति श्रेष्ठको हत्या गरेको सबैलाई थाहै छ ।
सरकारले प्रतिबन्ध किन कार्यान्वयन गर्न नसकेको होला ?
प्रतिबन्ध गर्ने सैद्धान्तिक नीति छ, तर प्रभावकारी ऐन–कानुन छैनन् । त्यसमाथि क्यासिनो सञ्चालकहरूबाट सुरक्षा निकायका सबैले घुस पाउँछन् । पहिलो पटक छापा मार्न मैले प्रहरीका ठूला अफिसरलाई नै लगाएको थिएँ । तर पछि भेट हुँदा सोल्टी र ¥याडिसनका क्यासिनो सञ्चालकले तिनै अफिसरले फोन गरेर ‘मन्त्रीले छापा मार्न लगाएका छन् हामी आउँदैछौं, के के गर्नु छ सबै मिलाउनू’ भनेको मलाई सुनाए । माओवादी मजदुर सङ्गठनले त नेपालीले जुवा खेल्न पाउनुपर्छ भनेर जुलुस नै निकाले । तैपनि कानुन बनाउन शुरु गरेको थिएँ, तर पूरा गर्न पाइनँ ।
कस्तो कानुन बनाउन लाग्नुभएको थियो ?
सरकारले क्यासिनोमा नेपालीलाई खेल्न नदिने नियम लगाएको छ, तर खेलाएमा गर्ने कारबाही सम्बन्धी कानून छैन । त्यसैले, खेल्ने र खेलाउने दुवैलाई सजायको कडा व्यवस्था गर्न खोजेको थिएँ ।
प्रहरीलाई घुस दिनेहरूले तपाईंलाई पनि दिन खोजेका थिए होलान् नि !
हामीले जसलाई भए पनि दिनैपर्ने हो, तपाई आँखा चिम्लिदिनुस् भनेका थिए । तर मैले कडाई नै गर्ने भएपछि मेरै विरुद्ध आन्दोलन गरे ।
तपाईं क्यासिनो नै बन्द गर्नुपर्छ भन्ने पक्षमा हो ?
जसका लागि खोलिएको हो उसैका लागि मात्र खुल्ला गर्दा कसैलाई समस्या हुँदैन । नेपालीलाई पनि खेल्न दिने हो भने खेल्नेको सम्पत्ति–आम्दानी हेरेर लाइसेन्स दिए हुन्छ ।
ऋण दिने गिरोह
उजुरी परेपछि पटक–पटक पक्राउ परेका ‘बले’ प्रहरीकै उच्च अधिकारी र नेताहरूको दबाबमा छुट्छन् । केही समयअघिसम्म सामान्य आर्थिक हैसियतका उनी अहिले रु.७० लाखको गाडी चढ्छन् । क्यासिनोका अर्को ऋण लगानीकर्ताका रूपमा चर्चित पहिले अरूको कार चलाउने सोवित सिलवाल पनि अहिले आफ्नै गाडी चलाउँछन् । रक्तचन्दन तस्करीमा संलग्न ‘मुक्ति’ र ‘नीक’ नामका एक युवक, दावा शेर्पा ‘सेठ्ठी’, राजु लामा आदि पनि हारेका जुवाडेहरूका ‘गडफादर’का रूपमा क्यासिनोमै हुन्छन् ।
जग्गाको कारोबार खस्केपछि केही घर–जग्गा दलाल पनि जुवाडेहरूमा लगानी गर्नतिर लागेका छन् । यसरी लगानी गर्ने गिरोहले बाहिरबाट ‘क्यासिनो ग्यामलिङ’मा पैसा हाल्ने साहुहरूलाई रु.१ लाख बराबर मासिक रु.१ लाख ५० हजारसम्म दिने गर्छन् ।
क्यासिनो अपराध कारखाना
डा. देवकोटाले १९ भदौ २०६५ मा काठमाडौं हेपाली हाइटबाट अपहरित छोरीलाई छुटाउन रु.१ करोड ३० लाख फिरौती बुझएका थिए । अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखा हनुमानढोकाका प्रहरी निरीक्षक कृष्ण कोइराला भन्छन्, “राजुले रकम पाएकै रात क्यासिनो तारामा रु.२ लाख सकेको बताएका थिए ।” उनको समूहका सात जनामध्ये राजु, सिद्धार्थ लामा, हेमबहादुर मगर र कृष्ण राई प्रहरी हिरासतमा तथा बाँकी तीन फरार छन् ।
रु.१० लाखका लागि २२ जेठ २०६६ मा हितैषी परिवारकी एक्ली छोरी ख्याति श्रेष्ठको अपहरण र हत्या गरेका काठमाडौं खुशिबुका वीरेन प्रधानले क्यासिनोमै भएभरको सम्पत्ति सिध्याएका थिए । उनको लत थाहा पाएपछि क्यानडाबाट श्रीमतीले पैसा पठाउन छाडेकीले क्यासिनोमा लगानी गर्ने गिरोहहरूको ऋणमा डुबे । खराब आचरणका कारण शिक्षकको जागिर पनि गुमिसकेको थियो ।
यही बीचमा ख्यातिका बाबुआमा गोपाल र राधा श्रेष्ठले छोरीलाई रु.३० लाख खर्च गरेर पाइलट पढाउन लागेको सुनाउँदै सुझव मागेपछि मति बिग्रियो । एक सहयोगीमार्फत झ्ुक्याएर खुशिबुस्थित डेरामा ल्याए, स्लिपिङ ट्याब्लेट खुवाएर बेहोस बनाए र हत्या गरेर शवलाई टुक्रा–टुक्रा पारी पोलिथिन झेलामा हालेर शहर बाहिरका विभिन्न स्थानमा फ्याँके । त्यसपछि राजेन्द्र मानन्धरको नामबाट फोन गरेर ख्यातिका बाबुआमासँग रु.१० लाख फिरौती मागे । ३१ जेठमा काकडभिट्टापारि पानीट्याङ्कीमा रकम लिएर १ असारमा काठमाडौं फर्किएका उनले ५ असारमा क्यासिनोमा रकम उडाउन ऋण दिएकाहरू र सहकारीको ऋण तिरे । त्यसको भोलिपल्टै पक्राउ परेका वीरेनलाई पानीट्याङ्कीमै समात्न सकिने अवस्था भएपनि ख्यातिलाई सकुशल घर फर्काउने कामलाई महŒव दिँदै छाडिदिएको प्रहरीले पछि फिरौती बुझनुभन्दा १० दिनअघि नै हत्या गरिसकेको थाहा भयो ।
महाराजगञ्जस्थित थकाली चुल्होका सञ्चालक ओमकार भट्टचन, पशुपति पेन्टस्का सञ्चालक महेश मुरारका, युवा व्यापारीहरू निरज कक्षपति र बाबुराजा रावललगायत १० जनालाई अपहरण गर्ने अमर टण्डन, उदय सेठ्ठी (हाल जेलमा)को समूहका सदस्यहरूको अखडा पनि राजधानीका क्यासिनो नै हुन् । प्रहरी नियन्त्रणमा रहेका समूहका प्रल्हाद महतले फिरौती रकम क्यासिनो र डान्स रेस्टुरेन्टमा सकेको बताएका छन् । मोटरसाइकल चोरीबाट अपराधजगतमा प्रवेश गरेका महत क्यासिनोको लतसँगै ठूलो रकम आउने अपहरणको धन्दामा लागेका थिए । मुरारकाको अपहरणपछि फरार उनलाई अपराध महाशाखा हनुमानढोकाले कक्षपति र रावलको अपहरणलगत्तै २०६६ माघमा समातेको थियो । व्यापारी सचिन गुप्तालाई अपहरण गर्न नसकेपछि गोली हानेर घाइते बनाई हिँडेका महतले दुई वर्षअघि महेश मुरारकाको अपहरणको क्रममा आफ्नै समूहका सुदिप मैनालीको हत्या गरेका थिए । अहिले महतका साथीहरू विष्णु जिसी, विकास कार्की र तासी गुरुङ पनि थुनामा छन् ।
क्यासिनोमा व्यवसाय र सम्पत्ति सखाप पारेर अपराधमा लाग्नेहरूको अग्रपङ्क्तिमा छन्, ‘स्पाइडर ग्रुप’का सन्दिप पाठक । खास नाम मिलन लामा भएका उनी दरबारमार्गको जुत्ता–कपडा पसल र नयाँ सडकको रेस्टुरेन्ट सिध्याएर अपराधको दलदलमा फँसेका तथा इन्टरनेट फोन र इमेलमार्फत व्यापारी, उद्योगपतिहरूबाट रकम असुल्ने गरेका छन् । मागेको रकम नदिँदा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष एलपी सावाँमाथि गोली प्रहार गर्ने पनि उनै भएको प्रहरीको दाबी छ । दिल्लीमा बसेर आपराधिक जालो विस्तार गरिरहेका सन्दिप भारतमा पक्राउ परेका थिए । तर, केही समय जेल बसी हालै मात्र छुटेका उनी फेरि पनि अपराधकै दुनियाँमा फर्किएको प्रहरीको भनाइ छ ।
काठमाडौंका प्रहरी प्रमुख एसपी रमेश खरेल भन्छन्, “पछिल्लो समय क्यासिनो अपराधी जन्माउने ठाउँ भएको छ । आफ्नो सबै सम्पत्ति जुवामा सिध्याएपछि धेरै जना अपराधतिर लागेका पाइएको छ ।”
क्यासिनोले तिरेका छैनन् करोडौं राजस्व
नेपालका १० वटा क्यासिनोले सरकारलाई बुझउनुपर्ने रु.५० करोड बराबरको राजस्व तिरेका छैनन् (हे.चार्ट) । प्रत्येक क्यासिनोले सरकारलाई वार्षिक रु.२ करोड रोयल्टी तिर्नुपर्छ । आर्थिक ऐनमा हरेक भदौ मसान्तभित्र रोयल्टी नबुझए १५ प्रतिशत व्याजसहित असुल्ने प्रावधान छ ।
सोल्टी होटलको क्यासिनो नेपालले सबैभन्दा बढी आव २०६२÷६३ देखिको रु.१३ करोड ९५ लाख बुझएको छैन भने अरूले पनि २ करोडदेखि ८ करोडसम्म बुझएका छैनन् । क्यासिनो नेपाल, ¥याड, साङ्ग्रिला र भेनसको रोयल्टी उठाउने जिम्मा पाएको आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं.३ का प्रमुख मधुसूदन पौडेलले क्यासिनो व्यवस्थापनलाई ताकेता गरिरहेको बताए । उनी भन्छन्, “उनीहरू नेपाली आउनै बन्द भो । खर्च ठूलो छ, तिर्नै गाह्रो भो भन्छन् ।”