गोर्खापत्र ले १५ भदौ १९९७ मा छापेको तस्वीरको लामो क्याप्सन हो, यो। पछिल्लो समयमा पशुपालन विकास तथा विस्तारका निम्ति निकै प्रचलनमा रहेको कृत्रिम गर्भाधान प्रविधि (आर्टिफिसियल इन्सेमिनेसन–एआई) का विषयमा गोर्खापत्र ले उतिबेलै यस्तो सामग्री प्रकाशित गरे पनि नेपालमा यो प्रविधि भित्रिन धेरै वर्ष लाग्यो। भारतको मैसुरमा स्थापित चिडियाघरमा चिम्पाञ्जीमाथि सबैभन्दा पहिले कृत्रिम गर्भाधान शुरू गरिएको थियो। पछि त्यही चिडियाघरमा अन्य जनावर र गाई उत्पादन पनि शुरू गरिएको थियो।
लिउनहक र उनका सहयोगीहरूले पहिलोपल्ट सन् १६७८ मा माइक्रोस्कोपको सहायताले 'स्पर्म'हरू हेरेका थिए। पछि यस्ता 'स्पर्म'बाट कृत्रिम गर्भाधानको सम्भाव्यतातर्फ वैज्ञानिकहरूको ध्यान गयो। त्यसको करीब १०० वर्षपछि १७८४ मा स्पालन्जीले कुकुरमा कृत्रिम गर्भाधान प्रविधिको सफल प्रयोग गरे। त्यसको १०० वर्षपछि १८९७ तिर खरायो र घोडामा पनि यसको प्रयोग सफल भयो। यसरी शुरू भएको कृत्रिम गर्भाधान प्रविधिमा अहिले पनि अनेकौं अनुसन्धानहरू जारी छन् र नश्ल सुधार गर्दै स्वस्थ, बढी दूध वा मासु दिने जनावर उत्पादन गर्ने काम भइरहेका छन्। यो प्रविधिसँगै कतिपय रैथाने जातका जनावरको अस्तित्व संकटमा परेको र मूल नश्लको ठाउँमा 'ठिमाहा' हरूको विकास तथा विस्तार भइरहेको यथार्थ पनि आफ्नो ठाउँमा छँदैछ।
रसियामा सन् १९०७ मा इभानवले पाठाको 'सिमन' निकाल्ने, संरक्षण गर्ने र फरक–फरक पाठीहरूमा त्यसको प्रयोग गर्ने कामको थालनी गरेका थिए। रूसको प्रयोग राम्ररी सफल नभए पनि पछि अमेरिकामा गाईहरूमा यो प्रविधिको प्रयोग ६० प्रतिशत सफल देखियो। त्यसपछि भने अमेरिका र युरोपमा डेरीजन्य वस्तु उत्पादनका लागि आवश्यक जनावरहरूको विकास र विस्तारमा यसले महत्वपूर्ण भूमिका खेल्यो। भेडा–बाख्रामा यो प्रविधिको बढी अनुसन्धान चाहिं रसियामै भयो। यो प्रविधिको सबभन्दा ठूलो चुनौती चाहिं उत्पादित 'सिमन'हरूको सुरक्षामा देखियो। अत्यधिक चिसोमा मात्र यसको संरक्षण गर्न सकिने भएकाले नाइट्रोजन कन्टेनरको विकास पछि मात्र यो प्रविधि आधुनिक अवस्थामा पुग्यो।
विदेशी गाई ल्याएर पाल्ने चलन जङ्गबहादुर राणाको पालामा शुरू भएको मानिए पनि गाईको नश्ल सुधारका निम्ति पहिलो पटक २००८ सालतिर रेड सिन्धी, जर्सी र ब्राउन स्वीस जातका बहरहरू नेपाल भित्र्याइयो। कृत्रिम गर्भाधानका निम्ति भने २०१८ सालपछि मात्र होलस्टिन र अन्य जातका गाईका निम्ति आवश्यक 'सिमन' को प्रयोग गर्न थालियो। २०२५ सालमा काठमाडौंको त्रिपुरेश्वरमा 'आर्टिफिसियल इन्सेमिनेसन प्रोजेक्ट' स्थापना भयो।
२०३७ मा 'नाइट्रोजन प्लान्ट' सहित प्राविधिक पक्षको विस्तार भएपछि भने यस कामले गति लिन थाल्यो र २०४१ मा केन्द्रीय लाइभस्टक डेभलपमेन्ट केन्द्रका रूपमा खुमलटार सरेपछि यो प्रविधि काठमाडौं बाहिर पनि फैलिन थाल्यो। अहिले पोखरामा पनि यस्तो राष्ट्रिय ब्रिडिङ सेन्टर स्थापना गरिएको छ। पछिल्लो समयमा सरकारी निकायका १८२ बाहेक निजीस्तरबाट पनि करीब ६१ संस्थाले एआई प्रविधिमा काम गरिरहेका छन्।
(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)