चिनियाँ क्रान्तिताका थुप्रै चिनियाँ पानीजहाजबाट भारत, युरोप, अमेरिका, दक्षिण अफ्रिका मात्र हैन, अरू कमै पुगेका तान्जानियाको जन्जिवारसम्म पुगेछन्। अहिले विश्वका धेरै शहरमा चलेका रेष्टुरेण्ट व्यापार र चाइना टाउनहरू त्यही बेलाका चिनियाँहरूको देन हो। समुन्द्री सीमा नजोडिएको र हिमालय नाघ्नुपर्ने भएकोले त्यतिबेला चिनियाँहरू नेपाल नआएको बुझन सकिन्छ। अन्तर्राष्ट्रियजगतले अविश्वास गरिरहेको त्यो बेलाको चीनलाई नेपालले विश्वमञ्चमा समर्थन गरेर असल छिमेकीको परिचय दियो। उसलाई संयुक्त राष्ट्रसंघको स्थायी सदस्य हुन त्यो आवाजले पनि सघायो। त्यही कारण बेइजिङले नेपाललाई ५० वर्ष अघिदेखि नै आर्थिक सहायता गरिरहेको छ।
नेपालमा चिनियाँ लगानी
चीनले आफ्नो सहयोगका आयोजनामार्फत ठेकेदारहरू पनि पठाउन थालेपछि नेपालमा पहिलो अन्तर्राष्ट्रिय ठेकेदार मात्र होइन चिनियाँ व्यावसायिक क्षेत्रको पनि प्रवेश भएको मानिन्छ। शुरूमा अरनिको, पृथ्वी लगायतका राजमार्ग निर्माणमा चिनियाँ सहयोग आएकोमा अहिले चिनियाँ कम्पनीहरू अन्य दातृ निकायको लगानीका आयोजनाहरूमा समेत प्रतिस्पर्धी हुन थालेका छन्।
चीनले सन् १९९० पछि स्वदेशी लगानीकर्तालाई क्षमताको आधारमा विदेशमा लगानी गर्ने बाटो खुला गरिदिएपछि चिनियाँ कम्पनीहरू देशको चौघेरा बाहिर निस्कन थालेका हुन्। उनीहरूले मलेसिया, इन्डोनेसिया, बर्मा, थाइल्याण्ड लगायतका एशियाली मुलुकदेखि अफ्रिका महादेशसम्म लगानी विस्तार गरेका छन्। नेपालमा १२ वर्ष अगाडि रेष्टुराँ व्यापारमार्फत दोस्रो चरणको चिनियाँ लगानी शुरू भएको हो।
नेपाल पर्यटनमूलक देश भएकोले शुरूमा चिनियाँ परिकार पाइने स–साना रेष्टुरेण्टहरू खोलेका चिनियाँहरूले २००५ पछि त खनिज उद्योगमा समेत चासो देखाउन थाले। सुन लगायतका खनिजमा चिनियाँ लगानी आउन थालिसकेको छ। नेपालका रेष्टुरेण्ट–होटल र अस्पतालमा चिनियाँहरूको लगानी बढी छ। डाबर लगायतका ठूला भारतीय कम्पनीहरूले राम्रै व्यवसाय गरिरहे पनि चीनका नामी कम्पनीहरू नेपालप्रति आकर्षित छैनन्। चीनमा लगानी गरेका युनिलिभर, स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्क जस्ता बहुराष्ट्रिय कम्पनीहरू पनि भारतहुँदै नेपाल भित्रिएका हुन्। चीनबाट हेर्दा नेपालमा अझै लगानीको वातावरण बनिनसकेको यसले देखाउँछ।
नेपालमा अहिले काम गरिरहेका चिनियाँ कम्पनीहरू तेस्रो श्रेणीका हुन्। उनीहरूमा नेपालमा कामभन्दा ठगठागबाट धेरै कमाउन सकिन्छ भन्ने सोच देखिन्छ। नेपालको राजनीतिक तहलाई घुस ख्वाएरै काम लिन सकिन्छ भन्ने सोचमा रहेका उनीहरूले व्यावसायिक आचरण र कर्पोरेट संस्कारको साटो कम लागतको प्रस्ताव बुझाएर गुणस्तरहीन काम गर्ने प्रवृत्ति देखाएका छन्। मेलम्चीमा हात हालेको यस्तै एउटा कम्पनी काम पूरा नगरी हिंड्यो।
खासमा, चीनमा एउटा माउ कम्पनीका प्रान्तस्तरीय थुप्रै सहायक कम्पनीहरू हुन्छन्। उनीहरूले नामचाहिं मूल कम्पनीबाटै धारण गरेका हुन्छन्। लगानीका लागि नेपाल गतिलो देश होइन भन्ने बुझाइले यस्तै कमसल कम्पनीहरू यता पठाइन्छन्। प्रतिष्ठित कम्पनीहरू चाहिं युरोप, अमेरिका र अफ्रिकामा ठूला आयोजनाहरू चलाइरहेका छन्। युरोप–अमेरिकामा अध्ययन गरेका क्षमतावान जनशक्तिले हाँक्ने त्यस्ता कम्पनीहरू भारतीय कम्पनीभन्दा धेरै व्यावसायिक देखिन्छन्।
नेपाल आएका चिनियाँ कम्पनीहरूको जनशक्ति प्राविधिक र वित्तीय व्यवस्थापनको ज्ञान त टाढाको कुरा अंग्रेजी बोल्न समेत नजान्ने हुन्छन्। योभन्दा राम्रो चिनियाँ जनशक्ति मलेसिया, भारत, इन्डोनेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया लगायतका एशियाली देशहरूमा जान्छ। चिनियाँहरूमा 'नेपाल पनि छिमेकी देश हो, अलिअलि लगानी पठाइरहनुपर्छ' भन्ने मानसिकता रहेकोले कमसल कम्पनीहरू आएको हुनसक्छ। भारतमा आएको उही चिनियाँ कम्पनीको कार्यसम्पादन नेपालको भन्दा उच्चस्तरको छ। जेटीई र हुवावेले नेपाल टेलिकमलाई आपूर्ति गरेको उपकरण र सेवा जति कमसल छ, तिनै कम्पनीले भारत तथा युरोपमा पठाएको उपकरण र सेवा त्यति नै गुणस्तरीय छ।
नेपालले राम्रो लगानी वातावरण नबनाएसम्म गतिला चिनियाँ कम्पनीहरू आउने देखिन्न। चार वर्षयता नेपालमा बढेका चिनियाँ पर्यटकको संख्याले भने हातमा पूँजी र प्रविधि बोकेर बसेका ठूला चिनियाँ कम्पनीहरू लगानीका सम्भावित क्षेत्र हेरिरहेका छन् भन्ने देखाउँछ। पर्यटकले लगानी–दूतको काम गरेका हुन्छन्। लगानी बढ्नुअघि त्यस देशका पर्यटकको संख्या ह्वात्तै बढ्ने प्रवृत्ति हुन्छ। चीनमा खुट्टो टेकेका बहुराष्ट्रिय कम्पनीहरूले पनि लगानीको वातावरण बनेको ठाने भने भारतलाई बजार बनाउन धमाधम नेपाल आउन सक्छन्।
अवसर भए लगानी
चीनमा अब नेपाललाई विशिष्ट सम्बन्धको आँखाले हेर्ने राजनीतिक नेतृत्व रहेन। अहिलेको नेतृत्वले अवसरलाई महत्व दिने हुनाले राजनीतिक स्थिरता भएका देशहरूमा चिनियाँ लगानी ओइरिएको छ। अफ्रिकाका खानीहरूमा लगानी विस्तार गर्दा राजनीतिक लाभ पनि मिल्ने हुनाले ती मुलुकहरूमा चिनियाँ पूँजी ओइरिंदो छ। आफ्नो देशमा कहिल्यै अस्थिरता नभोगेका चिनियाँ लगानीकर्ताहरू राजनीतिक रूपमा अस्थिर देशतिर हेर्दैनन्। उनीहरू भनेको समयमा भनेको काम हुने ठाउँ हेर्छन्। पछिल्लो समयमा भने कम्बोडिया, लाओस लगायतका देशमा काम गरेर असहज परिस्थितिमा पनि व्यवसाय गर्ने अनुभव सँगाल्दैछन्, चिनियाँहरू।
चिनियाँ लगानीकर्ता र उच्च पदस्थ सरकारी अधिकारीहरू नेपालमा लोकतन्त्रको दुरुपयोग भएको बताउँछन्। उनीहरू आर्थिक गतिविधिमा अवरोध हुने प्रक्रियालाई लोकतन्त्र मान्दैनन्। नेपालमा एक वर्षमा कति दिन बन्द हुन्छ, कति दिन काम गर्न पाइन्छ भन्ने कुनै निश्चितता हुँदैन। नेपालमा लगानीको विषयमा न हामीले प्रष्ट पार्न सकेका छौं न उनीहरूले बुझन सकेका छन्। यी कारणहरूले ठूला चिनियाँ कम्पनीहरूको आँखा नपरेको अवस्थामा पश्चिम सेती परियोजना यसको सुरुआत हुन सक्छ।