१९ जेठ २०७० | 2 June 2013

पहिचानको पैरवी

Share:
  

मधेश अध्ययन

सम्पादकः राजेन्द्र महर्जन

प्रकाशकः नेपाल मधेश फाउण्डेसन

पृष्ठः २१९,

मूल्यः रु.२५०

२०६३ सालको मधेश आन्दोलनपछि राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रबाट चासोका साथ हेरिएको मधेश र मधेशी समुदायको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका पक्षमा केन्द्रित रहेर मधेश फाउण्डेसनले निकालेको अर्ध–वार्षिक जर्नल हो– 'मधेश अध्ययन'। जर्नलमा मधेश आन्दोलनको कारण, मधेशी समुदायको पहिचान र राज्यपुनर्संरचनाको विषयलाई उठाइएको छ। 'सामाजिक सामञ्जस्यताको बाटो' शीर्षकको लेखमा विश्लेषक सीके लालले शास्त्रमा सुझाइएको शत्रु दमनको चार तरिका (साम, दाम, दण्ड र भेद) मध्ये साम अर्थात् सामञ्जस्यताको बाटोलाई मधेश समस्या समाधानको उपयुक्त 'टुल' मानेका छन्। सह–अस्तित्वमा विश्वास राख्ने साम नीति गन्तव्य नभए पनि उपयुक्त बाटो हुने उनको विश्लेषण छ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्ण हाछेथुले 'नेपाली राज्यको पुनर्संरचना र मधेश' लेखमा पहाडी समुदायको भन्दा भिन्न बृहत्तर साझा पहिचान भएका मधेशीको दृष्टिकोणलाई सम्बोधन नगरी नयाँ नेपाल सम्भव नहुने ठोकुवा गरेका छन्। तर, पहिचानलाई प्रदेश निर्माणसँग जोड्दा 'एक मधेश, एक प्रदेश' अव्यावहारिक हुने हाछेथुको विश्लेषण छ। अहिलेको राजनीतिक शक्ति–सन्तुलनलाई हेर्दा त 'एक मधेश बहुप्रदेश' समेत असम्भव देख्छन्, प्रा. हाछेथु।

'दि ल्याण्डस्केप अफ मधेश' बाट नेपालीमा अनुवाद गरेर राखिएको भारतीय पत्रकार रुही तिवारीको लेखमा मधेशमा राजनीतिक पार्टीहरूको समावेशीपन खोतलिएको छ। एमाओवादी, नेपाली कांग्रेस, एमाले, मधेशी जनअधिकार फोरम, तराई–मधेश लोकतान्त्रिक पार्टी र सद्भावना गरी ६ दललाई 'केस स्टडी'को रूपमा लिइएको तिवारीको लेखमा दलका सर्वोच्च निकाय, केन्द्रीय समिति, विघटित संविधानसभा आदिमा पिछडा वर्ग, दलित र अल्पसंख्यकको प्रतिनिधित्व दयनीय देखाइएको छ। मूलधारका पार्टीहरूले स्थान नदिएको भन्दै गठन भएका मधेशी दलहरू पनि तराईका सबै समुदायको प्रतिनिधित्व गर्न असमर्थ रहेको लेखको निचोड छ।

तराईमा ठूलो जनसंख्या भएको आदिवासी जनजातिमध्येको थारू समुदायको सामाजिक–राजनीतिक–सांस्कृतिक अधिकार केलाउने काम कृष्णराज सर्वहारीले गरेका छन्– 'थारू आन्दोलनको दशा र दिशा' लेखमा। लेखमा बर्दियाका राधाकृष्ण थारूले २००१ सालमा गरेको किसान आन्दोलनदेखि मधेशीसँगको थारू समुदायको अन्तरद्वन्द्व पढ्न पाइन्छ। जर्नलमा समेटिएका 'मधेश विद्रोहः कारण, उपलब्धि र चुनौती', 'डोमहरूको जमिनदारी प्रथा र सामाजिक गतिशीलता', 'एउटै मुद्दाः भिन्न सञ्चार–दृष्टि' शीर्षकका विचारोत्तेजक आलेखहरू छन्।

राज्यसत्ताको मूलधारबाट बाहिर पारिएका मधेशका दलित, पिछडा वर्ग र अल्पसंख्यकहरूको पहिचानको अवस्था उधिन्नु पुस्तकको सशक्त पक्ष हो। तर यसका सम्पादक राजेन्द्र महर्जनको 'मनु मखु, मर्स्या?' शीर्षक लेखले भने जर्नलको ओज नाश गर्ने काम गरेको छ। शासकहरूको नीति र व्यवहारले विभेदमा पारेको मधेशी समुदायको पीडालाई सम्पादकले अन्तर समुदाय घृणा बढाउने निहुँको रूपमा प्रस्तुत गरेका छन्। पर्वते नेपाली भाषा नजान्ने नेवार्नी दिदीबहिनीबीचको सम्वादमा 'मनु मखु, मर्स्या खः' भनिनुलाई मधेशी पीडक रूपमा अर्थ्याउन खोज्नु सर्वथा गलत हो।

सन्त गाहा मगर


पुरोहितबारे पुस्तक

थारु गुर्‍वा र मन्त्र ज्ञान लेखकः कृष्णराज सर्वहारी

प्रकाशकः थारु पत्रकार संघ नेपाल,

काठमाडौं

पृष्ठः १८४

नेपालको मधेश–तराईमा पूर्वदेखि पश्चिमसम्मै फैलिएको थारू जातिका भाषा, पहिरन र रहनसहन पृथक् भए पनि गुर्‍वा परम्परा भने लगभग उस्तै पाइन्छ। गुर्‍वा भनेका थारूका गुरुबा अर्थात् पुरोहित हुन्। कृषि र पशुपालन व्यवसायमा रहेका तराई र दाङ उपत्यकाका थारू जातिमा गुर्‍वा परम्परा धेरै पुरानो र रोचक छ।

गुर्‍वाहरूको नालीबेलीसहित थारू पहिचानको खोजी गरेको छ, लेखक कृष्णराज सर्वहारीको पुस्तक 'थारू गुर्‍वा र मन्त्र ज्ञान'ले। खेतीको शुरूदेखि बाली भित्र्याउँदासम्म र कम्मर मर्केकोदेखि सुत्केरीसम्मको उपचारमा गुर्‍वाले पढ्ने मन्त्रहरूको संकलन पुस्तकको विशेषता हो। पुस्तकमा रोगब्याधी, चोटपटक र टाउको दुखेको निको पार्नेदेखि गाउँबाटै भूतप्रेत भगाएर देउता खुशी पार्नेसम्मका गुर्‍वाका मन्त्रहरू छन्। योसँगै समूहमा विश्वास गर्ने थारू संस्कृतिको एउटा पाटो पुस्तकले उजागर गरेको छ।

बाबुको प्रेरणाले १२ वर्षमै गुरुबा बनेका मैनापोखरी कैलालीका शिक्षकको 'गुर्‍वाले अँध्यारोमा तीर हान्ने गरेको' भनाइ र लेखक आफैं उपचारका लागि बर्दियाका बैदावा (वैद्य) लाई भेट्न जाँदा दैनिक ४०–५० जनाको उपचार भएको देखेको रोचक संस्मरण पनि पुस्तकमा छन्। ती बैदावा आफैंले भने एलोप्याथिक औषधि खाइरहेका रहेछन्।
लेखकले शुरूमै थारूहरू हिन्दू होइनन् भन्ने लेख्नु र गुर्‍वाका मन्त्रहरूमा महादेव पार्वतीलाई देवी–देवताका रूपमा उल्लेख गरिनु, थारू लोक साहित्यमा फुलवार (थारू लोक शिवपार्वती पुराण), राम विहग्रा (थारू रामायण), बर्किमार (थारू लोक महाभारत), अष्टिमकी (थारू लोक भागवत पुराण) उल्लेख गरिनुले थारू पहिचानको अध्येताका लागि थप खोज गर्न पुस्तकले घच्घच्याएको छ।

लेखकले सुँगुर पाल्ने हुनाले थारूहरू मुसलमान नभएको, पूर्वीया थारूहरूमा बौद्ध धर्मप्रति झुकाव रहेको, रामायण र महाभारतका श्लोक गाउँदै दशैं मनाउने, पछिल्लो समयमा अन्य जातिहरूमा जस्तै इसाई धर्मको प्रभाव पर्न थालेको आदि उदाहरण दिएर धर्मप्रति थारूहरूमा अन्योल रहेको (पृष्ठ ३७) प्रष्ट्याउन खोजेका छन्।

दाङको देउखुरी उपत्यकाका गुर्‍वाहरूमा गरिएको अध्ययनको आधारमा मेलो समातेको पुस्तकले थारू संस्कृतिका विभिन्न पाटाहरूको समष्टि अध्ययनका लागि अध्येताहरूलाई झक्झक्याएको छ। कुनै आग्रह नराखेर लेखकीय इमानदारी देखाएका सर्वहारी यो पुस्तकमा थारू जातिभित्रको गुर्‍वा परम्परामा मात्र केन्द्रित छन्।

सञ्जीव शर्मा

comments powered by Disqus

रमझम