१९ जेठ २०७० | 2 June 2013

यथार्थपरक उमा

Share:
  
नेपालको दशवर्षे हिंसात्मक द्वन्द्वकाललाई पर्दामा उतार्न सफल छ– उमा।

माओवादी सशस्त्र द्वन्द्वको विषयमा बनेका अधिकांश फिल्मले सुरक्षा निकाय र माओवादीको विरोध वा पक्षपोषण गरेको आरोप खेपिरहेको अवस्थामा १० जेठबाट प्रदर्शनमा आएको उमा फरक देखिएको छ। यो फिल्मले प्रहरीमा दाजु मिलन (सौगात मल्ल) र माओवादी छापामार बहिनी उमा (ऋचा शर्मा) को चेपुवामा परेकी आमा (मिथिला शर्मा) को अवस्थाको सफल चित्रण गरेको छ। आमा पात्रलाई मातृभूमिको प्रतीक बनाउन निर्देशक सफल देखिन्छन्।

दुई घण्टा २० मिनेटको फिल्ममा दर्शकले द्वन्द्वकालमा आफ्नै वरिपरि भएका घटना–परिवेश देख्छन्। सशस्त्र द्वन्द्वले छिन्नभिन्न भएको एउटा परिवारमा केन्द्रित फिल्ममा देखिने सामाजिक परिवेशले सबैलाई अत्याउँछ। फिल्ममा माओवादी र राज्य पक्षको चुरीफुरी चुलिंदा निर्दोषहरुको अपहरण र हत्या हुन्छ, बालबालिका छापामार बनाइन्छन्। आफू बाँच्न अरूलाई मार्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन्छ। सुरक्षाकर्मी र माओवादी दुवैमा निर्दोषप्रति सहानुभूतिशील मानिसहरु पनि हुन्छन्, तर तिनको आवाज कमजोर हुन्छ।

दुई वर्षपछि आमा र दाइलाई भेट्न आएकी उमालाई माकुराको जालबाट देखाइनु, छापामार पे्रमीसँग शारीरिक सम्बन्ध हुँदा घट्टमा अन्न पिसिएको देखाइनु, हिंस्रक पात्रलाई 'लो एङ्गल' र कमजोरलाई 'हाई एङ्गल' बाट चित्रण गरिनुले फिल्मलाई उम्दा बनाउन खोजेको छ। स्वाभाविक लाग्ने घटना र सहज अभिनयको शक्तिले आफ्नो काम गरेकै छ। प्रवीण खतिवडा, पुष्कर गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा लगायतका पात्रहरुमा जातीय विविधता देखिन्छ।

नायिका ऋचा शर्मा।
उमा 'कमर्सियल' फिल्म भए पनि यसले सामाजिक यथार्थलाई मन छुने गरी प्रस्तुत गरेको छ। यसले गीत, फाइट, प्रेमालाप आदिलाई पनि पत्यारिलो गरी सही ठाउँमा देखाएको छ। दृश्यलाई पत्यारिलो बनाउन माओवादीका सांस्कृतिककर्मी माइला लामाको 'रणमैदान' बोलको गीतमा उनकै नृत्य टोलीलाई प्रस्तुत गरिएको छ। गोपाल योञ्जनको 'वनकी चरी' गीतले दर्शकलाई बीचमा आनन्दित बनाउँछ। पुरुषोत्तम प्रधानले सिपालु ढंगले 'क्यानोन फाइभ–डी' क्यामेरा चलाएका छन्। फिल्म बनाउनुअघि माओवादी लडाकूका भाषा, कोड, अनुशासन लगायतका पक्षमा जति मिहिन अध्ययन प्रहरीका विषयमा नगरिएको देखिन्छ। प्रहरी सहायक निरीक्षक (असई) सौगातले प्रहरी नेतृत्वले जसरी राजधानी नाका बन्दी र सर्च गर्ने आदेश दिएको सुहाउँदो देखिंदैन।

फिल्म हेर्दा २०५२–२०६२ बीचको हिंसात्मक द्वन्द्वले देश र जनतालाई के दियो? भनेर सोच्न बाध्य बनाउँछ। त्यो हिंसा देख्न/भोग्न नपरी हुर्किन पाएको नयाँ पुस्ताले यो फिल्म हेरेर देशले भोगेको दशा थाहा पाउने छ। मुकुण्डो र कर्मा जस्ता अलगधारका फिल्म बनाएका छिरिङ रितारले उमा मा कुशलता साथ व्यावसायिकता समाएका छन्। व्यावसायिकताको नाममा पाँच गीत र पाँच फाइट निकाल्ने जमातलाई उमा ले हिन्दी फोटोकपीको विकल्प दिन सक्छ।

अनुशील श्रेष्ठ

comments powered by Disqus

रमझम