१६-३२ साउन २०६९ | 31 July-16 August 2012

नयाँ माओवादी पुरानै भोक

Share:
  
- पुरुषोत्तम दाहाल
मूलधारबाट छुट्टिएको नेकपा–माओवादी सशस्त्र द्वन्द्वमा भएका अपराधको प्रायश्चित गर्नुको साटो त्यस्तै अपराधमा फर्किएको छ।
p24
नेकपा–माओवादीले तोडफोड गरेको धरानस्थित दिल्ली पब्लिक स्कूलको बस। तस्विर: सोहन श्रेष्ठ



कायर र अतिनिराशहरूको अन्तिम हतियार हिंसा हुन्छ। उनीहरू सकेसम्म कमजोरमाथि आक्रमण गर्छन्, नसके पलायन वा आत्महत्याको बाटो रोज्छन्। नेकपा माओवादीले १ फागुन २०५२ देखि कायरतापूर्ण ढंगले व्यक्तिहत्याको श्रृंखला आरम्भ गरेको थियो। त्यतिबेला माओवादीले अघि सारेको आमूल परिवर्तन, स्वाधीनता, गरीब, किसान–मजदूर र सर्वहाराका हातमा राज्यसत्ता जस्ता नारा दशक लामो हिंसा, आतंक, लूट र अराजकताको आततायी चरणपछि आज भ्रष्टाचार, यौन दूराचार, सम्भ्रान्त बन्ने होड, सत्ताकेन्द्रित षड्यन्त्र र राष्ट्रविरोधी कर्महरूमा अनुवाद भएका छन्। तर, हिजोका कुकर्मको प्रायश्चित गर्नुभन्दा त्यस्ता कुकर्ममा सहभागीहरूको नयाँ जमात नेकपा–माओवादीले उठाएका नारा र शुरूका कदमले पनि २०५२–६२ कै सम्झ्ना गराएका छन्। असार २०६३ देखि राज्यका सबै सुविधा र पद उपभोग गरी अघाएका नवक्रान्तिकारीहरूको यो जमातले ८ साउनमा स–साना बालबालिका बोकेर इटहरीबाट धरान गइरहेको स्कूल बसमा गरेको आक्रमणले पुरानो अपराध ब्युँताएको छ।

रहस्यपूर्ण मौनता
हाँस्दै, खेल्दै झोला बोकेर यात्रा गरिरहेका बालबालिका चढेको बसमा निर्जन जंगलको बीचमा एउटा युवा जमातले पेट्रोल छर्केर आगो लगायो। बच्चाहरूको रुवाबासी हुँदा सहायताका लागि कोही आएन। राष्ट्रिय स्वाधीनता, विद्यालयका विदेशी नाउँको विरोध गर्ने नाउँमा गरिएको यो कृत्यले १० फागुन २०५८ मा चितवनको भण्डारामा सात वर्षीया काजोल खातुनलाई जलाएर हत्या गरेको र २३ जेठ २०६२ मा चितवनकै बाँदरमुढेमा बसमा विष्फोटन गराई ३९ जनाको प्राणहरण गरेको माओवादीको दुष्कर्मलाई सम्झ्ाएको छ। आफ्नै माउ पार्टीका नाउँ र झ्ण्डा विदेशी रहेका विद्यार्थी संगठनहरूको यो राष्ट्रवादी खेती आफैंमा हास्यास्पद छ।

धरानस्थित दिल्ली पब्लिक स्कूलको बसका बालबच्चामाथि गृहमन्त्री विजयकुमार गच्छदारको क्षेत्रमा भएको यो कुकर्मलाई वैद्य पक्षको अखिल क्रान्तिकारी र कोचिला राज्य समितिले सगौरव स्वीकारेका छन्। तर पनि पुरानो माओवादी र मधेशी मोर्चाको सरकारले कारबाही गरेको छैन। घटनामा अहिलेसम्म कसैमाथि कारबाही नगरिनु आफैंमा आश्चर्यजनक छ। यसबाट माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री डा. भट्टराईलाई भारतीय दलाल, आर्थिक र नैतिक व्यभिचारी, संशोधनवादी, सिद्धान्तच्यूत र स्खलितको विशेषण दिंदै गठित नयाँ माओवादीसँग या त दाहाल र भट्टराई त्रसित छन् अथवा भित्रभित्रै उनीहरूबीच तालमेल छ भन्ने शंका गर्नुपर्ने हुन्छ। सरकारमा बस्नेहरूको मौनता जति आश्चर्यजनक छ त्योभन्दा बढी आश्चर्य शैक्षिक संस्था, शिक्षक, विद्यार्थी र अभिभावक संगठन, मानवअधिकारवादी संघसंस्था र सामाजिक अभियन्ताहरूको मौनताले सिर्जना गरेको छ।

भ्रष्टाचार र व्यभिचार
एमाओवादीभित्र छताछुल्ल आर्थिक अपराध र नैतिक व्यभिचारले क्रान्ति र क्रान्तिकारिताको आवरण निर्वस्त्र पारेको छ। पुराना महासचिव र केन्द्रीय सदस्यबीचको अनैतिक सम्बन्धदेखि कार्यकर्ताले अरूको घर उजाडेका र परिवारको बिजोग गराएका घटना अब नयाँ रहेनन्। केही समयअघिमात्र अध्यक्ष दाहालपुत्र प्रकाश तेस्रो श्रीमतीका रूपमा अर्काकी पत्नी लिएर भागे। दर्जनौं नेता र सयौं कार्यकर्ताका घरमा यस्ता घटना भइरहेका छन्। नैतिकताको खडेरी सशस्त्र हिंसाको विशेष पाटो हो।
आर्थिक भ्रष्टाचारमा माओवादी आकण्ठ डुबेको छ र यसमा लागेका ९० प्रतिशतभन्दा बढीको हैसियत हिजो र अहिलेको तुलनामा आम नेपालीको भन्दा धेरैमाथि देखिन्छ। वैद्य पक्ष आर्थिक अपारदर्शिताको विषयलाई प्रमुख मुद्दा बनाएर फुटेको थियो। १–५ साउनमा काठमाडौंमा सञ्चालित सातौं विस्तारित बैठकमा पूर्वलडाकूहरूले रु.७ अर्ब भन्दा बढीको हिनामिना भएको दाबी गरेपछि अध्यक्ष दाहालमाथि कुर्सी प्रहार गरिएको र प्रधानमन्त्री भट्टराईको कठालो समातिएको थियो। यसअघि सभासद् खरीदमा चिनियाँ व्यापारीसँग कृष्णबहादुर महराले रु.५० करोड मागेको टेप सार्वजनिक भएको थियो। यार्सागुम्बा तस्करी प्रकरणमा मुछिएका माओवादी नेताका डेरामा प्रहरीले छापा मार्दा बरामद सामान र कागजपत्रले पनि आर्थिक भ्रष्टाचारको जरा माओवादीभित्र कसरी फैलिएको छ भन्ने देखाएका थिए। माओवादीका रकम खेलाउने व्यक्तिहरू अहिले अकूत सम्पत्तिका मालिक भएका र उनीहरूको आर्थिक हैसियत र लगानीले छलाङ मारेको छ।

आजको परिवर्तनअघि एक–दुई करोडका अभियोगमा चिरञ्जीवी वाग्लेदेखि गोविन्दराज जोशीसहित कतिपय नेता, कर्मचारी र सुरक्षा अधिकारीहरूलाई दण्डित गरिएको छ। तर लोकतान्त्रिक गणतन्त्रमा तर सरकारी कोषको सात अर्बभन्दा बढी हिनामिना गर्ने, देशको अपमान गर्दै विदेशीसँग सांसद् खरीद गर्न पैसा माग्ने र गैरकानूनी धन्दामा लाग्नेहरूलाई माओवादी भएकै कारण उन्मुक्तिको नजीर बसाउने षड्यन्त्र हो यो। पुरानो माओवादीको यो हालत देखेपछि नयाँ माओवादीको हिंसात्मक रूपको आन्तरिक कथा पनि नयाँ हुने आशा गर्नु आफैंमा हास्यास्पद हुनेछ।

गम्भीर र विचारणीय पक्ष
नवगठित माओवादी अध्यक्ष मोहन वैद्य चीनको विशेष आतिथ्यपछि स्वदेश फर्केका छन्। माओवादीबाट भर्खरै विभाजित माओ विचारका समर्थक वैद्यलाई विभाजनलगत्तै चीनले हतारमा निमन्त्रणा गरी विचार–विमर्शमा सहभागी गराउनु सामान्य देखिंदैन। सन् १९७३ मा माओको अवसानपछि उदाएको देङ सिआओ पिङ नेतृत्वले निरंकुशताबाट जर्जर चीनलाई नवयुगमा प्रवेश गराएपछि सांस्कृतिक क्रान्तिका पक्षधर माओ जेदुङकी कान्छीपत्नी चियाङ् चिङ्विरुद्ध चीनले कारबाही गरेको थियो। यो एउटा विचारणीय संयोग हुनसक्छ, संसदीय लोकतन्त्रमा प्रवेश गरेको माओवादीलाई फुटाएर चाण्डाल चौकडी पथमा अग्रसर नवगठित माओवादीका नेता वैद्यलाई उदारवादी छवि बनाउन लागेको चीनले सत्कार गरिरहेको समयमै धरानमा घटना भएको छ। त्यो घटना प्रत्यक्षमा अर्को मित्रराष्ट्र भारतविरुद्ध लक्षित रहेकोले पनि कूटनीतिक रूपमा नेपाल गम्भीर हुनुपर्ने थियो।

सत्ताको मियो समातेको एमाओवादी नेता डा. भट्टराई नेतृत्वको कुन्जी अहिले मोहन वैद्यको खल्तीमा पुगेको छ। भट्टराई सरकारलाई भारतको यसअघिका लोकतान्त्रिक वा अन्य सरकारलाई भन्दा बलियो समर्थन प्राप्त छ। वैद्यले आतङ्ककारी गतिविधिका साथ कार्यक्रम अघि बढाए र त्यसमा जातीय अतिवादको विषवृक्ष जोडिंदै गयो भने माओवादी नेतृत्वकै सरकारले मात्र प्रतिरोध गर्न सक्नेछ। भूमिगत हिंसा चलाइरहेका माओवादी र रिमको घनिष्ट सम्बन्ध वैद्य पक्षसँगै जोडिएकोले यसबाट भारतको सुरक्षामा समेत खतरा पुग्नसक्छ। यस्तो बेला माओवादी नेतृत्वलाई हटाएर अरू कसैको नेतृत्वमा सरकार बन्ने हो भने त्यसबाट अपेक्षित प्रतिरोध हुन सक्दैन। यससँगसँगै आजको मूल माओवादी पार्टीबाट कार्यकर्ता र लडाकूहरू वैद्यतिर जोडिने खतरा पनि देखिएको छ। त्यसैले मूल माओवादी पार्टीमा आफ्नो आयु विस्तारका लागि पनि वैद्यपक्षको उग्रतालाई फैलन दिने आन्तरिक साँठगाँठ हुनसक्ने संभावनालाई अस्वीकार गर्न सकिंदैन।

ल माओवादीभित्र वैद्यलाई लिएर ठूला तीन नेताको एकअर्काविरुद्ध बार्गेनिङ क्षमता बढिरहेको छ। विप्पा सम्झौता, प्रत्यर्पण सन्धि, विभिन्न एयरपोर्टहरू भारतीय कम्पनीलाई दिने प्रयाससहित अनेक विषयमा अध्यक्ष दाहाल र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असहमत छन्। पार्टी नेतृत्वका सन्दर्भमा डा. भट्टराईले र सरकारको सन्दर्भमा दाहाल र श्रेष्ठले वैद्यको ओत लाग्ने धम्की एकअर्काविरुद्ध दिने अवस्था छ। यो सुरुआतले आजको मूल माओवादीलाई निकट भविष्यमै अरू तीन चिरामा विभाजित गर्‍यो भने कुनै आश्चर्य मानिरहनु पर्दैन। माओवादीको क्रूर र आततायी कार्यले जनता जति आहत हुँदैछन् त्यति नै माओवादीभित्र व्याप्त आर्थिक भ्रष्टाचार, नैतिक व्यभिचार र राष्ट्रविरोधी कार्यसहितका सम्बन्धले मुलुकको भविष्य, लोकतन्त्र तथा विकास र स्थायित्वका ढोका बन्द हुँदै गएका छन्।



comments powered by Disqus

रमझम