काठमाडौं विश्वविद्यालयबाट 'इथ्नोम्युजिकोलोजी'मा पीएचडी गरिरहेका लोचनको शोधमा यो आरबाजा बनाउनेदेखि बजाउनेसम्मको प्रक्रिया समेटिएको छ। पाँच वर्षदेखि आरबाजा समाएका उनले अध्ययनको क्रममा दाङ र सल्यानदेखि भोजपुर र झ्ाापासम्मका गन्धर्व गाउँहरू चहारे। तर, कामलाग्दो जानकारी चाहिं इण्टरनेटमा फेला पारेको लोचन बताउँछन्। उनका अनुसार, नेटमा सर्च गर्दा कास्कीका मोहन गन्धर्वले आरबाजा बजाउने जानकारी मिलेको थियो। “घरमै पुग्दा उनीसँग बाजा नभएको र कास्कीकै हरि गन्धर्वले बनाउन जानेको थाहा भयो”, लोचन भन्छन्।
त्यसपछिको तीन साता उनी बाजा बनाउन हरि गन्धर्वको घरमै बसे, जङ्गल–जङ्गल डुलेर खिर्रा काठको बाजा बनाए अनि फेरि मोहन गन्धर्वकहाँ नै गएर बजाउन सिके। यसरी रु.५१ हजार खर्चेर तयार गरेको आरबाजाको धुन उनलाई प्रिय बन्यो। “गितारमा अनेक धुन बजाउन मिल्छ, तर आरबाजाको मौलिक धुनको महत्व अलग छ”, उनी भन्छन्, “फेरि गितार बजाएर हामी आफ्नो पहिचान बनाउन पनि सक्दैनौं।”
विदेशी बाजासहितका पपुलर म्युजिकबाट नेपाली संगीतको शिखर बन्दैन पनि। अन्तर्राष्ट्रिय संगीतमा नेपाली पहिचान बनाउन मौलिक बाजा र रागरागिनी नभई हुँदैन। आरबाजा र सारङ्गी बोकेर हिंड्न थालेपछि आफ्नो चिनारी बदलिंदै गएको लोचनको अनुभव छ। हिजोआज नयाँ परिचय स्थापित हुने कामहरू पाइरहेको बताउँदै लोचन भन्छन्, “रक एण्ड रोलमा लाग्दा यस्तो थिएन।”
विज्ञान पढेर डाक्टर बन्ने सपनाका साथ पाँचथरबाट राजधानी छिरेका लोचन यसरी मौलिक संगीतका पुजारी बनेका छन्। उद्वेग (२००२), कोमा (२००४) र मानिस (२००८) अल्बमका सर्जक उनी रक–पपमा पनि राम्रैसँग जमेको साउथ एशियन युनिभर्सिटी फेस्टिभल (ढाका)मा बेष्ट भोकलको अवार्ड पाएबाट थाहा हुन्छ। हिजोआज भने उनी पूर्णतः नेपाली मौलिकतामा लागेका छन्।
लोचनको कन्सर्टमा सारङ्गी र आरबाजा छुट्दैन। उनी श्रोता/दर्शकलाई गम्भीर बनाउने सामाजिक चेतनाका गीत/धुन घन्काउँछन्। उनका चेतना, पौरखी जस्ता गीतहरू यु ट्युबमा हेर्नेले नेपाली मौलिकतामा उनी कति डुबेका छन् भनेर बुझ्न सक्छन्।
काठमाडौं युनिभर्सिटीमा म्युजिक लेक्चरर समेत रहेका लोचन पछिल्लो समय गीत–संगीत क्षेत्रमा आएका कलाकारको भीडमा नेपाली पहिचान र परम्परामा सचेतहरूको संख्या कम देख्छन्। “धेरैजसो सजिलो बाटोमा लागेका छन्”, उनी भन्छन्, “यसमा जोखिम पनि छ र सबभन्दा ठूलो कुरो पहिचान र मौलिकता हो।”
अनुशील