'फूलको आँखा' को अंग्रेजी संस्करण हो। शुरूमा फ्रेञ्च भाषामा निस्किएको यो किताब नेपाली पाठकका लागि नेपाली संस्करणमा आयो। अहिले अंग्रेजी भाषाका नेपाली र विदेशी पाठकका लागि अंग्रेजी संस्करणमा निकालिएको हो।
पुस्तकको मूल भाव के हो?
मानवभित्र रहेका अवगुणलाई सद्गुरुको सही मार्गदर्शनबाट गुणमा परिवर्तन गर्न सकिन्छ भन्ने मेरो संघर्षशील जीवनकथा छ, यसमा। मनमा रहेका अप्रिय कुरालाई प्रियतामा बदल्न सकिन्छ भने किन अप्रियतामै रहने? अनि मनले नै सारा संसारलाई शान्त वा अशान्त बनाउँछ भन्ने कुरा पाठकले महसूस गर्न सक्नुहुन्छ।
नेपाली संस्करणको प्रतिक्रिया कस्तो रह्यो?
कतिले मेरा बाल्यकालका कुरा थाहा पाएर बिचरा भने। कतिले जीवनको दुःखदायी क्षणलाई बिर्सिएर सम्भावनालाई पछ्याउनुपर्छ भन्ने यसको मूल सन्देशलाई लिए। पुस्तक पढेपछि श्रीमान्―श्रीमतीबीचको लामो बेमेल अन्त्य भएको र आमाबाबुप्रति श्रद्धा बढेको धेरै प्रतिक्रिया आए। किताबले मानिसलाई सोच्न सघाए जस्तो लाग्छ।
राम्रो आध्यात्मिक गायिका राम्रो लेखक बन्न लागेको संकेत हो यो?
म लेखक होइन, आफ्नो कथा सुनाएकी मात्र हुँ। त्यो कथा राम्ररी प्रस्तुत हुँदा पाठकले मन पराउनुभयो। मलाई चित्त नबुझ्ोसम्म छाप्न पाउनुहुन्न भन्ने शर्त चाहिं प्रकाशकहरूसँग राखेकी थिएँ।
तपाईं आनी, गायिका र लेखकमध्ये बढी के हो?
म आफू के हुँ भनेर सोच्नुभन्दा पनि जीवनलाई सार्थक तुल्याउने बाटो खोजिरहेकी हुन्छु। युरोप–अमेरिकामा मलाई गायिकाको रूपमा लिन्छन् भने एशियाका बौद्ध मुलुकहरूमा आध्यात्मिक गायिकाको रूपमा बढी बोलाउँछन्। उनीहरूले जसरी बोलाए पनि सकारात्मक सन्देश दिनु मेरो उद्देश्य हुन्छ।
तपाईंको कर्म समाजसेवासँग जोडिएको छ, हैन?
हो। मेरो विषयमा अमेरिकाको एल म्यागाजिन ले लेखेपछि फ्रेञ्च प्रकाशकले पुस्तक लेख्न पटक―पटक आग्रह गर्दा नमानेकी म मिर्गौला रोगीहरूका लागि आरोग्य फाउण्डेसन स्थापना गर्दा रकम जुटाउन प्रस्ताव स्वीकारें। उनीहरूले मलाई ४० हजार युरो दिएर किताब तयार पारे। 'सिङ्गिङ फर फ्रिडम'को रोयल्टी पनि प्रकाशकले सीधै फाउण्डेसनमा पठाउने छन्।
तपाईं सफल व्यक्ति हो?
सन्तुष्टलाई सफल मान्ने हो भने म सफल मान्छे हुँ। मैले खासै केही दिन नसके पनि मानिसहरूले मलाई गरेको माया–सम्मान देख्दा म धेरै भाग्यमानी हुँ भन्ने लाग्छ। मलाई गायन र किताबतिरको सफलता यत्तिकै आएको हो। किनभने, मेरो जीवनको लक्ष्य गायिका वा लेखक बन्ने थिएन। मेरा लागि गायन र लेखन अध्यात्मका दुई पखेटा भएका छन्।
सन्त गाहा मगर