१६-३० माघ २०५८ | 29 Jan-12 Feb 2002

एक शिक्षकमाथि माओवादीको क्रूरता राजनैतिक दलहरूको दुर्भाग्यपूर्ण मौनता

Share:
  
- श्रीभक्त खनाल

कुख्यात तानाशाहहरूको क्रूरतालाई समेत बिर्साउने घटना दुर्भाग्यले यसपालि लमजुङको एउटा गाउँले व्यहोर्नु परेको छ । माओवादी आतंकको शिकार भएका छन् एक निहत्था शिक्षक । तर माओवादीहरूको क्रूर हिंसा जति निन्दनीय छ, यस घटनाप्रति राजनीतिक दलहरूले देखाएको बेवास्ता त्यत्तिकै आश्चर्यजनक र गैर–जिम्मेवारपूर्ण छ । जनताको जीउधनलाई जोखिममा पर्न नदिने जिम्मा लिएर पनि निस्फिक्री रहेका नेताहरूले भुलिसकेका हुनसक्छन्, तर ३ माघमा देख्नु परेको नृशंस घटनाको धङधङी लमजुङ्गको दुराडाँडाका बासिन्दाहरूको मनमस्तिष्कबाट मेटिन सकेको छैन । सधैँ झ्ैँ त्यस दिन मध्याह्न पनि पाणिनी संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारी कक्षा १० मा गणित पढाइरहेका थिए । एक हुल हतियारधारी माओवादीहरू सरासर कक्षा कोठामा पसेर पढाइरहेका अधिकारीलाई शुरुमा रूखो पाराले नमस्ते गरे, र नमस्ते फर्काउन नपाउँदै घोक्र्याएर बाहिर निकाले । आफूलाई पढाउँदा पढाउँदै किन जबर्जस्ती निकालिएको हो भन्ने उनको प्रश्नको जवाफ पनि तिनले दिएनन् । त्यतिञ्जेलमा उनीहरूले अधिकारीको हात कम्मर पछाडि लगेर बाँधिसकेका थिए र गोडामा पनि लामो फड्को मार्न नमिल्ने गरी डोरी कसिदिएका थिए । माओवादीहरूले आफूले कब्जामा लिएका प्रअ अधिकारीसँगै अरू सबै शिक्षक र विद्यार्थीलाई पनि स्कूलभन्दा अलि पर लगेर तीन मिनेट जति भाषण दिए । त्यसक्रममा २५ वर्ष मुन्तिरका जस्ता देखिने ती युवकहरूले अधिकारीमाथि यस्ता ‘अभियोग’हरू लगाएका थिएः तीन वर्षअघि स्थानीय माओवादी कार्यकर्ता एकबहादुर सुनारलाई मार्न सुराकी गरेको, गएको दशैँमा शिक्षकहरूको तलब र दशैँ पेश्कीको २५ प्रतिशत रकम उठाएर नदिएको र माओवादीले संस्कृत पठनपाठन बन्द गराउने अभियान चलाउँदा–चलाउँदै पनि संस्कृतको अध्ययन–अध्यापन जारी राखेको आदि इत्यादि । ती घटनामा ‘अपराधी’ सावित भएकाले प्रधानाध्यापक अधिकारीलाई कार्वाहीका लागि लगिएको उनीहरूले बताए । भाषण भइरहँदा अधिकारीको कञ्चटमा पेस्तोल सोझयाइएको थियो । माओवादीले त्यसभन्दा अलि पर फेरि स्थानीय बासिन्दाहरूलाई जम्मा पारेर अर्काे भाषण दिए । त्यसक्रममा उनीहरूले दुराडाँडामा मार्नुपर्ने सात जनामध्ये पहिलो व्यक्तिलाई मारिन लागेको र बाँकीलाई पनि छिट्टै मारिने बताए पनि उनीहरूको ‘हिट लिस्ट’मा अरू क–कसको नाम छ भन्ने चाहिँ त्यहाँ खुलाएनन् ।

माओवादीहरूले अधिकारीलाई उनकै घरमुनिको मूलबाटो हुँदै डाँडातिर उकालेर चन्द्रपाटा भन्ने ठाउँमा पु¥याएका थिए, जहाँ रहेको पानीट्याङ्की पछाडि उत्तिसको रूखमा झ्ुण्ड्याएर अधिकारीको विभत्स हत्या गरियो । उनका दुवै हात पछाडि फर्काएर रूखमा बाँधी घाँटी गलबन्दीले कसिएको थियो । छट्पटाइरहेको अवस्थामै उनको दाहिने काँध र माथिल्लो पेटमा छुरी पनि धसियो र अन्त्यमा दाहिने कञ्चटमा गोली हानियो । अधिकारीको प्राण गएको पक्का भएपछि मात्र दिउँसो सवा एक बजेतिर माओवादीहरू त्यहाँबाट पश्चिम–उत्तरतिर गएको स्थानीय बासिन्दाहरूले देखे । स्थानीय बासिन्दाहरू घटनास्थलमा पुग्दा अधिकारीको शरीरबाट तपतप रगत चुहिरहेको थियो । सो घटनाका बारेमा कसैलाई खबर गरेमा गोली चल्नेछ भनेर धम्की दिइएको कारण देख्ने–सुन्ने कसैले परिवारलाई समेत तत्काल खबर गरेनन् । उनको घरदेखि घटनास्थलसम्मको दूरी १५ मिनेट जति मात्र छ, तर परिवारका सदस्यहरूले घटना भएको एक घण्टापछि मात्र थाहा पाए । बेलैमा पुग्न पाएको भए बचाउन सकिन्थ्यो कि भन्ने विश्वास परिवारका सदस्यहरूको छ ।
माओवादीले अधिकारीको हत्या गर्नुअघि दुराडाँडामा रहेको सार्वजनिक टेलिफोन बुथ कब्जामा लिएका थिए । पछि उदिपुर डाँडास्थित टेलिफोन रिपिटर स्टेशन पनि ध्वस्त पारे, जसले गर्दा जिल्लाका प्रायः सबै टेलिफोन लाइन अहिले पनि अवरुद्ध छन् । गाउँलेहरू डरले चुपचाप बसेकाले हत्याको खबर निकै समयपछि मात्र फैलिएको थियो । सांसद हरिभक्त अधिकारी, रामबहादुर गुरुङ्ग र प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणा भोलिपल्ट बिहान साढे दश बजे हेलिकोप्टर लिएर घटनास्थल पुग्दा अधिकारीको शव रूखमै झ्ुण्डिइरहेको थियो । शव चलाउनेलाई अधिकारीलाई जस्तै मार्नेे धम्की दिइएकाले त्यसबेलासम्म कसैले पनि लाश छुने आँट गरेनन् ।

अहिले पनि सदरमुकाम बेसीशहरबाट तीन घण्टाको दुरीमा रहेको घटनास्थल वरिपरिका बस्ती र डाँडाहरूमा माओवादीहरू बसिरहेको गाउँलेहरू बताउँछन् । सो क्षेत्रमा सुरक्षाकर्मीहरू राम्ररी परिचालित नगरिएका कारण अहिले पनि माओवादीहरू राति–राति आफूले खोजेका मान्छेको घर घेर्ने काम गरिरहेका छन् । एकजना स्थानीय बासिन्दा भन्छन्, “हामी यति त्रसित भएका छौँ कि एउटा नौलो मान्छेले आएर पानी खान माग्यो भने पनि डराउनु परेको छ ।” अधिकारीको हत्यापछि पाणिनी मावि बन्द छ । २५० जना विद्यार्थी पढ्ने उक्त विद्यालयलाई अनौपचारिक रूपमा दुई वर्षको लागि बन्द गर्ने तरखर भैरहेको छ । सरकारी सुरक्षाकर्मी र माओवादी दुवैतर्फबाट बन्दुकको दवदवा बढेकाले काम गर्न असमर्थ रहेको जनाउँदै लमजुङका विभिन्न सात जना प्रधान अध्यापकहरूले केही दिनअघि मात्र राजिनामा दिएका थिए, जसमा पाणिनी माविका प्रअ पनि थिए । उनको ठाउँ रिक्त भएपछि केही दिनअघि मात्र मुक्तिनाथ अधिकारी निमित्त प्रअ नियुक्त भएका थिए । ४५ वर्षीय अधिकारी २४ वर्षदेखि शिक्षण पेशामा संलग्न थिए । नेपाल शिक्षक संघको सदस्य रहेका अधिकारीको राजनीतिक झ्ुकाव नेपाली काङ्ग्रेसतर्फ थियो । उनका जेठा छोरा सुमन अधिकारीका अनुसार, केहीअघि माओवादीहरूले “दुराडाँडाका फटाहाहरूको दाँजोमा मुक्तिनाथलाई राख्नु नपरोस्” भन्दै धम्की दिएका थिए तर ज्यानै लिन सक्ने खालको चेतावनी चाहिँ आएको थिएन । माओवादीबाट खतरा होला कि भनेर हप्ता दिनअघि मात्र २५ पुसमा उनकी दिदी सूर्यकुमारी घिमिरे भाइलाई लिन भनेर बेसीशहरबाट आएकी थिइन् । तर ‘मैले छाडिदिएँ भने स्कूल गर्लम्मै ढल्छ’ भन्दै उनले गाउँ छाड्न मानेनन् । ‘एमनेष्टी इण्टरन्याशनल ग्रुप ७९’ मा समेत आबद्ध अधिकारीको हत्या अमानवीय र क्रुर भएको जनाउँदै एमनेष्टी इण्टरन्याशनल, लण्डनले ५ माघमा उक्त हत्याको कडा भत्र्सना गरेको थियो । त्यसपछि माओवादीको विदेश विभागले ‘राहुल’ को नाममा ‘एमनेष्टी’लाई पठाइएको एक पत्रमा ‘अधिकारीलाई सुराकी गरेको आरोपमा मृत्युदण्ड दिइएको’ दावी गरको छ । तर सो पत्रमा मारिएका शिक्षकको नाम मुकेश अधिकारी उल्लेख गरिएकोले पत्रको विश्वसनीयता शंकाको घेरामा परेको छ ।

श्रीभक्त खनाल, दुराडाँडामा

comments powered by Disqus

रमझम