२ असार २०७० | 16 June 2013

योजना नबनाउँदाको बिचल्ली

Share:
  
- दीपक अर्याल
क्रान्तिपछि के गर्ने भन्ने योजना नबनाउने प्रवृत्ति नेपालमा इतिहासदेखि नै रहेको देखिन्छ।

“यदि मलाई कुनै रूख ढाल्न ६ घण्टाको समय दिइन्छ भने म ४ घण्टा बञ्चरो अर्जाप्न (उद्याउन) खर्चनेछु।”

– अब्राहम लिङ्कन

लिङ्कनको यो भनाइ अनुसार नेपालका राजनीतिक दलहरूले न रूख ढाल्नुअघि बञ्चरो अर्जाप्न प्रयास गरेको देखिन्छ न त रूख ढालेपछि के गर्ने भन्ने योजना नै बनाएको पाइन्छ। त्यही कारण क्रान्ति सफल भए पनि परिवर्तन संस्थागत हुन सकेका छैनन् भने देशले राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक परिवर्तन पाउन सकेको छैन।

तर, नेपालको यो समस्या अहिले मात्र होइन, दूरदर्शी नेता बीपी कोइरालाको पालामा पनि रहेको कोइरालाले नै स्वीकारेका छन्, वि.सं. २००८ मा प्रकाशित 'नयाँ कदम' मा।

राणाशासनको अन्त्यपछि मोहनशमशेरको नेतृत्वमा राणा–कांग्रेसको संयुक्त सरकार (२००७) बन्यो। जसलाई मंसीर २००८ मा नेपाली कांग्रेसको एकल सरकारले विस्थापन गर्‍यो। परिवर्तनपछि गर्ने कामका योजना नहुँदा परिवर्तनकारी शक्ति नेपाली कांग्रेस अलमलमा पर्‍यो। जसलाई स्वीकार्दै कोइरालाले 'नयाँ कदम' मा लेखेका छन्, “आजभन्दा एक वर्ष अगाडि नेपाली कांग्रेसले नेपालमा सशस्त्र क्रान्तिको विगुल बजायो। देश त्यसैको निमित्त उत्सुक थियो। त्यस बखत नेपाली कांग्रेसको लक्ष्य, राणाशाही शासन–प्रथाको समाप्ति बाहेक केही थिएन। हाम्रो सम्पूर्ण शक्ति राणाशाही शासन–प्रथालाई ढाल्नमै केन्द्रित थियो। त्यसपछि हामी कता जाने, हाम्रो लक्ष्य के हुने, हामीले कस्तो समाजको सृजना गर्ने? इत्यादि कुरातिर विचार गर्ने अवसर नै हामीलाई मिलेन। आगामी कार्यक्रम र नीतिको अभावले गर्दा राणा–शाही शासन–प्रथाको समाप्ति हुनेबित्तिकै हामी दिग्भ्रममा परेका जस्ता भयौं।”

कोइरालाले त्यहाँ नीति र कार्यक्रम नभई अघि बढ्न नसक्ने भन्दै लेखेका छन्, “नीति र कार्यक्रम नभई अब हामी एक डेग चल्न सक्तैनौं, बढ्ने कुरा त परै जावस् नेपाली कांग्रेस आफ्नो पुरानो कमाइको भरमा अब टिक्नै सक्तैन। नेपाली कांग्रेसले अब आफ्नो जीवनको अर्को अध्याय प्रारम्भ गर्दछ। जुन राजनीतिक जीवनमा हामी अब अग्रसर हुन थालेका छौं र आजको नेपालको ऐतिहासिक परिस्थिति जस्तो छ, त्यसमा हाम्रो नीति र कार्यक्रम स्पष्ट हुनु अत्यावश्यक छ। जनताको अगाडि पनि हामीले स्पष्ट कार्यक्रम दिनुपर्दछ।”

कोइरालाले स्पष्ट सोच र कार्यक्रम विना भावनाले मात्र देशको उन्नति नहुने यथार्थ स्वीकार्दै त्यहाँ लेखेका छन्, “केवल देशको उन्नति गर्नुपर्छ, गरीबी हटाउँछु भनेर मात्र हुँदैन, बरू देशको उन्नति भनेको के हो? गरीबी कसरी हटाउने हो? त्यो स्पष्ट हुनुपर्छ।”

बीपीले त्यहाँ सरकारको कार्यक्रमको एउटा आधार भूमि सम्बन्धी नीति हुनुपर्ने र किसानको हितलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले उद्योगधन्दाको राष्ट्रियकरण र राष्ट्रियता सम्बन्धी नीतिमा नेपाली कांग्रेस स्पष्ट हुनुपर्ने पनि बताएका छन्। बीपीले लेखेका छन्, “हामीले स्पष्ट घोषणा गर्नुपर्छ कि हामीलाई देशको स्वतन्त्रता सबभन्दा प्यारो छ। हामीलाई विश्वास छ हिन्दुस्तानको शान्तिपूर्ण उन्नतिमा हाम्रो पनि कल्याण छ। र हिन्दुस्तानको पनि भलाइ हाम्रो स्वतन्त्रताको कदर गर्नमा छ। चीनका प्रति पनि हाम्रो भावना आदरको छ। हामी चीनको भलो चाहन्छौं।”

बीपीका यी भनाइलाई अहिले उनको पार्टी नेपाली कांग्रेसले मात्र होइन, अरूले पनि मनन् गर्नुपर्ने देखिन्छ। किनभने, उनले ऊबेला देखेको समस्या अहिले पनि उस्तै छ।

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

comments powered by Disqus

रमझम