७-१३ कात्तिक २०७३ | 23-29 October 2016

ठग आईसीएचएम

Share:
  
- सन्त गाहा मगर
नक्कली प्रमाणपत्र दिएर ६०० भन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको काठमाडौंस्थित इन्टरनेशनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आईसीएचएम) लाई कारबाही नगर्नुमा सरकारी आडभरोसा देखिन्छ।

बिक्रम राई
आईसीएचएम कलेजका पीडित विद्यार्थी।
'चार–चार वर्षको मिहिनेत बालुवामा पानी भयो। कलेजमा फी–तिर्न बाबा–आमाले जग्गा बेच्नुभएको थियो। बदलामा कलेजले नक्कली सर्टिफिकेट दियो। यही टेन्सनले गर्दा आत्महत्या गर्न मन लाग्छ।'

काठमाडौंको पिङ्गलास्थानमा रहेको इन्टरनेशनल कलेज अफ हस्पिटालिटी म्यानेजमेन्ट (आईसीएचएम) मा चार वर्षसम्म ब्याचलर अफ साइन्स इन हस्पिटालिटी एण्ड केटरिङ म्यानेजमेन्ट विषय पढेका एक विद्यार्थीको पीडा हो, यो। उनी भारतको 'कर्नाटका स्टेट ओपन युनिभर्सिटी (केएसओयू) बाट सम्बन्धन प्राप्त' भनी प्रचारित आईसीएचएमको पहिलो ब्याचका विद्यार्थी हुन्। कलेजमा शुल्क मात्रै रु.५ लाख ३५ हजार बुझाएका ती विद्यार्थीको कोर्स पूरा गर्दासम्म रु.१० लाखभन्दा बढी खर्च भइसकेको छ।

आईसीएचएमले नक्कली प्रमाणपत्र दिएपछि आर्थिक तथा मानसिक तनाव झ्ेलिरहेका उनी एक्ला विद्यार्थी होइनन्, उनी जस्ता ६०० भन्दा बढीको दिन–रात यसरी नै बितिरहेको छ। फेसबूक मेसेञ्जर गु्रप बनाएर उनीहरू बेलाबेला आफ्नो निराशा पोखिरहन्छन्।

कलेजको ठगीको खुलासा त्यतिबेला मात्र भयो, जब विद्यार्थीले मास्टर्स तहको पढाइका लागि अष्ट्रेलियाको 'दि होटल स्कूल सिड्नी' मा आवेदन दिए। अनन्तराज अधिकारी, विजय तिमिल्सिना लगायतका विद्यार्थीको आवेदन अस्वीकृत हुनुको कारणबारे दि होटल स्कूल सिड्नीका तर्फबाट अनिता फोङले जवाफ दिएकी छिन्, 'कर्नाटका स्टेट ओपन युनिभर्सिटी र नेपालमा तपाईंले पढ्नुभएको कलेज (आईसीएचएम) लाई विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले मान्यता दिएकै छैन।”

ललितपुरस्थित तालीम केन्द्र, जसले विश्वविद्यालयसरह गैरकानूनी रूपमा परीक्षा संचालन गर्दै आएको छ।
विद्यार्थी एकाएक छाँगाबाट खसे जस्ता भए। “कलेज र कलेजले दिएको प्रमाणपत्र नक्कली हो भन्ने थाहा पाउनेवित्तिकै बोली नै फुटेन”, आईसीएचएम तेस्रो ब्याचका आकाश जोशी भन्छन्, “घरमा त धेरैपछि मात्रै भन्यौं।”

नक्कली सम्बन्धनधारी आईसीएचएमले चार वर्षको अवधिमा करीब ८०० विद्यार्थीसँग रु.४५ करोड ठगी गरिसकेको देखिन्छ। तर, विद्यार्थीको भविष्यमाथि खेलबाड गरिरहेका आईसीएचएमका प्रबन्ध निर्देशक शिवकुमार श्रेष्ठ भने खुलेआम हिंडिरहेका छन्।

'ढाँटेको कुरा काटे मिल्दैन' भने झैं विद्यार्थीलाई वितरित प्रमाणपत्रमा प्रशस्त तथ्यगत त्रुटि देख्न सकिन्छ। केएसओयूको आधिकारिक व्यक्ति भनिएका यशोधम्मा एच.सी. र अनुपमा लक्ष्मण दुवैको हस्ताक्षर प्रमाणपत्र पिच्छे फरक–फरक छ। (हे. तस्वीर) प्रमाणपत्रमै उल्लेख भए अनुसार 'ए' ग्रेड ल्याउनका लागि ७५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्दछ। तर ७१ प्रतिशत ल्याएका विद्यार्थीलाई पनि ग्रेड 'ए' दिइएको छ। “यहाँसम्म कि परीक्षामा सामेल नै नभएका विद्यार्थी समेत उत्तीर्ण भएका छन्”, पीडितमध्येका एक सुशोभित नेपाल भन्छन्, “सक्कली विश्वविद्यालय वा कलेजले पक्कै यस्तो गर्दैनथ्यो।”

त्यति मात्रै होइन, एकै ब्याचका विद्यार्थीलाई दिइएको प्रमाणपत्रमा केएसओयूको ठेगाना कुनैमा 'मानसगंगोत्री' छ भने कुनैमा 'मुक्तगंगोत्री'। केएसओयूको छाप पनि प्रमाणपत्र पिच्छे फरक छ। 'इभ्यालुएसन' को स्पेलिङ समेत गलत लेखिएको छ। प्रोभिजनल सर्टिफिकेटमा अध्ययन शुरू गरेको मिति र पूरा गरेको मिति उल्लेख छैन। १०० पूर्णाङ्कको हस्पिटालिटी इन्फर्मेसन सिस्टम (सैद्धान्तिक) विषयको उत्तीर्ण अंक १२० राखिएको छ जबकि अन्य विषयको उत्तीर्ण अंक ४० हो।

मन्त्रालयकै मिलेमतो!
केएसओयू कर्नाटकाको प्रान्तीय विश्वविद्यालय हो। भारतमा कुनै पनि प्रान्तीय विश्वविद्यालयलाई सम्बन्धन दिने अधिकार छैन। 'कुनै पनि प्रान्तीय विश्वविद्यालयलाई स्वदेश वा विदेशमा सम्बन्धन दिने अधिकार छैन' १८ मार्च २०१० मा यूजीसीले जारी गरेको सूचनामा भनिएको छ। त्यति मात्र होइन, सम्बन्धन दिएको भनिएको केएसओयू त सन् २०१२–२०१३ मै खारेजीमा परिसकेको यूजीसीका सेक्रेटरी जसपाल एस. साँधुद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ। ४ जुलाई २०१६ मा भारतीय दैनिक टाइम्स अफ इन्डिया का अनुसार केएसओयूका कारण भारतमा तीन लाख २५ हजार विद्यार्थीको भविष्य डामाडोल भएको छ। सेन्ट्रल ब्यूरो अफ इन्भेष्टिगेसन (सीबीआई) ले गरेको 'डिस्ट्यान्स एडुकेसन स्क्याम' नामक अनुसन्धानमा केएसओयूका सात पदाधिकारी पक्राउ नै परेका थिए।

फर्जी कलेजका एमडी शिवकुमार श्रेष्ठ।

यति हुँदाहुँदै पनि नेपालको शिक्षा मन्त्रालयले भने आँखा चिम्लिरहेको छ। मन्त्रालयले २८ फागुन २०६८ मा आईसीएचएमलाई केएसओयूबाट सम्बन्धन लिन अनुमति दिएको देखिन्छ। मन्त्रालयका उपसचिव लक्ष्मण खनालद्वारा हस्ताक्षरित सञ्चालन अनुमति पत्रमा कलेजलाई 'ब्याचलर अफ साइन्स इन हस्पिटालिटी एण्ड क्याटरिङ म्यानेजमेन्ट' सञ्चालन अनुमति दिएको उल्लेख छ। आईसीएचएमले भने 'ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम)' भन्दै प्रचार गरेको छ।

मन्त्रालयकै निर्देशिका अनुसार पनि आईसीएचएम सञ्चालन अनुमतिको निर्णय सरासर गैर–कानूनी देखिन्छ। विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने निर्देशिका, २०५९ मा सम्बन्धन प्रदान गर्ने विश्वविद्यालय वा शिक्षण संस्था विदेशमा कानूनतः सम्बन्धन विस्तार गर्न सक्ने अधिकारप्राप्त गरेको प्रमाणपत्र नभई सम्बन्धन दिन नमिल्ने स्पष्ट उल्लेख छ। निर्देशिकाले तोकेको मापदण्ड अनुसार विश्वविद्यालयको वरियतामा उत्कृष्ट एक हजारभित्र परेका विश्वविद्यालय/शिक्षण संस्थासँग मात्रै सम्बन्धन लिन सकिन्छ। केएसओयू यसखाले कुनै पनि मापदण्डभित्र पर्दैन।

मन्त्रालयको गैर–कानूनी हर्कतमा पाठ्यक्रम विकास केन्द्रको पनि साथ देखिन्छ। सन् २०१२ मै खारेज भइसकेको केएसओयूको बीएसएचसीएम कार्यक्रमलाई ५ अगस्त २०१३ मा शिक्षाध्यक्षको कार्यालयले समकक्षता निर्धारण गरेको देखिन्छ। ३ नोभेम्बर २०१४ मा लेखिएको पत्रमा कलेजको उक्त कोर्सलाई बीएस्सी डिग्रीसरहको मान्यता दिएको उल्लेख छ।

विद्यार्थी र अभिभावकको उजुरीपछि शिक्षा मन्त्रालयले उपसचिव राधाकृष्ण घिमिरेको नेतृत्वमा छानबीन समिति पनि बनाएको छ। “सम्बन्धन विनै कलेज सञ्चालन भएको रहेछ भने कारबाही हुन्छ”, मन्त्रालयका प्रवक्ता हरि लम्साल भन्छन्।

तालीमकेन्द्र नै विश्वविद्यालय

आईसीएचएमको ठगीमा ललितपुरको सानेपास्थित एलसीसीआई नेपाल नामक इन्ष्टिच्यूटको मिलेमतो देखिन्छ। सफ्ट स्किल्स एण्ड म्यानेजमेन्ट स्किल्स सम्बन्धी तालीम सञ्चालन गर्ने अनुमति लिएको एलसीसीआईले कलेजको स्नातक तहको परीक्षा लिइरहेको छ, जुन कार्य विश्वविद्यालयले मात्रै गर्न पाउँछ।

विश्वविद्यालयले मात्रै जारी गर्न सक्ने परीक्षाको प्रवेश पत्र पनि एलसीसीआईले जारी गरेको छ। (हे. प्रवेश पत्र) आईसीएचएमका अहिले दोस्रो र चौथो सेमेस्टरको परीक्षा लिने तयारी गरिरहेको छ। शिक्षा मन्त्रालयको छानबीन समितिका एक सदस्यका अनुसार यो परीक्षाको नाममा विद्यार्थीलाई गुमराहमा राख्ने प्रपञ्च मात्रै हो। आईसीएचएमका प्रबन्ध निर्देशक शिवकुमार श्रेष्ठले एलसीसीआईलाई करोडौं रुपैयाँ दिएर यो कृत्यमा संलग्न गराएको छानबीन समितिका ती सदस्यले बताए।

केएसओयूको आधिकारिक व्यक्ति भनिएका यशोधम्मा एच.सी. र अनुपमा लक्ष्मण दुवैको फरक–फरक हस्ताक्षर भएका प्रमाणपत्र।

सन् २०१४ पछि भने आईसीएचएमले हंगेरीको बुडापेष्ट मेट्रोपोलिटिन युनिभर्सिटी अफ एप्लाइड साइन्सेस्बाट सम्बन्धन लिएको बताउन थालेको थियो। तर, यो अर्को झ्ूट ठहरियो। हिमाल ले २४ भदौमा इमेलमार्फत उक्त विश्वविद्यालयलाई राखेको जिज्ञासामा विश्वविद्यालय प्रशासनले आईसीएचएमलाई सम्बन्धन दिएको स्वीकार गरेन। तर, आईसीएचएमले आफ्नो ब्रोसरमा बुडापेष्टका शिक्षाध्यक्ष डा. हाविलको तस्वीरसहितको अपील राखेर विद्यार्थीसँग जनही रु.५ लाख ७५ हजार अहिले पनि असुलिरहेको छ।

आश्चर्य त के छ भने आईसीएचएमको वेबसाइट, ब्रोसर, लगायत कतै पनि कलेजका सञ्चालक र व्यवस्थापकहरूको नामसमेत खुलाइएको छैन। बुडापेष्टका शिक्षाध्यक्षको अपील पनि विश्वविद्यालयकै वेबसाइटबाट हुबहु नक्कल गरिएको छ, जसमा आईसीएचएम वा नेपालसँग सम्बन्धित एकशब्द पनि छैन।

तीन–तीन वटा सेमेस्टरको परीक्षा दिइसक्दा पनि विद्यार्थीले विश्वविद्यालयको फर्म भर्न पाएका छैनन्। जर्जियाको टिबिलिसी टिचिङ युनिभर्सिटी नामक संस्थाको नाम बेचेर आईसीएचएमले विद्यार्थी ठगी निर्वाध रूपमा जारी राखेको छ। विडम्बना, सरकारी नियामक निकायहरू भने यो अपराधकर्मको साक्षी बसिरहेका छन्।

comments powered by Disqus

रमझम