२ असार २०७० | 16 June 2013

शहरी वनको आशा

Share:
  
- मिलन बगाले
सिमेण्टको खैरो जंगलमा रूख रोपेर हेर्न र बस्न लायक शहर बनाउने पहल शुरू भएको छ।

'वातावरण प्रदूषण न्यूनीकरणका लागि' काठमाडौं महानगरपालिकाले एउटा घर बनाउँदा दुई वटा रूख रोप्नैपर्ने नियम बनाएको चार महीना भयो। घरको कम्पाउण्डमा रूख नरोपिए नक्सा पास नगर्ने भन्दै रूख नअट्ने घर भए छतमा भए पनि पाँच वटा गमलामा बिरुवा रोप्न उसले सुझाएको थियो। प्रदूषण घटाउने यो योजनालाई अरू प्रभावकारी बनाउन शहरी वन हुर्काउने सोच बन्दै गरेको १९ जेठमा उज्यालो एफएमलाई अन्तर्वार्ता दिंदै शहरी विकास मन्त्रालयका सचिव किशोर थापाले छनक दिएका छन्। उनले शहरमा रोप्नलायक बोटबिरुवा सुझाउन पनि वनस्पतिविद्लाई अनुरोध गरेका थिए। वन विभागमा शहरी वन शाखा खोल्ने काम शुरू गरिएको अर्काे उत्साहजनक खबर पनि आएको छ।

वनबाट जडीबुटी, फलफूल, काठपात, घाँसदाउरा र अन्य पैदावार पाइन्छ। स्वच्छ वातावरण, अतिवृष्टि, अनावृष्टि, भूक्षय र बाढीपहिरो नियन्त्रण, पानीको मूलको संरक्षण वनले गर्ने अरू प्रमुख काम हुन्। शहरमा वन चाहिं वातावरण प्रदूषण घटाउन र शहरी शोभा बढाउन लगाइन्छ।

वन विनासको सबैभन्दा ठूलो कारण शहरीकरणलाई मानिएको छ। सन् २००१ मा अमेरिकाले राष्ट्रिय शहरी वन सम्मेलनमा 'खैरोबाट हरियो' (ग्रे टु ग्रीन) नामक प्रतिवेदन सार्वजनिक गर्दै शहरीकरण र नवनिर्माणले त्यहाँ ६३४.४ मिलियन (६३ करोड ४४ लाख) रूख नाश भएको तथ्य सार्वजनिक गरेको थियो। प्रति वर्ष चार मिलियन रूख गुमाइरहेको उसले रूख बचाउने र रोप्ने अभियान थालेको छ। ५२ लाख रूख रहेको न्यूयोर्कमा सन् २०१७ सम्ममा १० लाख रूख थप्ने उसको योजना छ।

शहरी वनमा दक्षिण अफ्रिकाको जोहानेसवर्ग अगाडि छ। जहाँको वनलाई संसारकै सबैभन्दा ठूलो मानवनिर्मित शहरी वन मानिन्छ। त्यहाँका पार्कमा १२ लाख र निजी कम्पाउण्डमा ४८ लाख रूख छन्। शहरी वन निर्माणमा चीन पनि निकै अगाडि छ। सन् २०१० मा बेलायतको गार्जियन पत्रिकाले छापेअनुसार चीनले पाँच लाख वर्ग किलोमिटर क्षेत्रमा शहरी वन हुर्काएको छ।

शहरी वनको अवधारणा बीसौं शताब्दीमा आए पनि १५ औं शताब्दीतिरै ग्रीक, इजिप्ट, चीन, पर्सिया, रोम जस्ता ठाउँका शहरमा राजा–महाराजाले बाग―बगैंचाको रूपमा यसको रचना गरिसकेका थिए। जडीबुटीका वन हुर्काएर विभिन्न औषधि उत्पादन गर्ने काम पनि त्यतिबेलै भएको थियो। आधुनिक शहरी वनको निर्माण चाहिं औद्योगिक क्रान्ति पछाडि शहरमा बढेको प्रदूषण रोक्न शुरू भएको हो।

काठमाडौं महानगरभित्रका खुला ठाउँ र घरभित्र कति वटा रूख छन् भन्ने तथ्यांक हामीसँग छैन। दुइटा रूख रोप्ने र शहरी वन हुर्काउने अवधारणा भर्खरै शुरू भएका हुन्। अहिले नेपालको कुल भूभागको २९.१० प्रतिशत वनले ओगटेकोमा दशौं योजनामा यसलाई ४० प्रतिशत पुर्‍याउने भनिएको थियो। तर, १० औंदेखि १२ औं योजनाको ११ वर्षमा उत्पातै वन फँडानी भएको छ। शहरी क्षेत्रमा बाटो विस्तारका नाममा निर्मम तरिकाले रूख काटिएका छन्।

नेपालमा अहिले धार्मिक, राष्ट्रिय, कबुलियती, सामुदायिक, साझेदारी, निकुञ्ज र मध्यवर्ती क्षेत्र लगायतका वनहरू छन्। सिमेण्टको खैरो वन (कंक्रिट जंगल) लाई कम गर्न शहरी वनको योजना भर्खर बन्दैछ। शहरमा भएकै रूख ढलेर घर, मान्छे र गाडी किचेर दुर्घटना भइरहेको यथार्थ शहरमा वन लगाउनुअघि वनविद्ले पक्कै नबिर्सेलान्। ती सबै विचार गरेर सिमेण्ट मात्रै थुपारिएको अति प्रदूषित, कुरुप र मान्छे बस्नै अयोग्य नेपाली शहरभित्र वन हुर्काउन पहल गर्नेको जय होस्।

comments powered by Disqus

रमझम