७-१३ कात्तिक २०७३ | 23-29 October 2016

मानवता विस्तार

Share:
  
- हरि हुमागाई, हेटौंडा
चार वर्षअघि मुठी दानबाट हेटौंडामा स्थापित मानव सेवा आश्रमको विस्तार चितवन र काठमाडौंसम्म भएको छ।

हरि हुमागाई
मानसिक सन्तुलन गुमाएकी गर्भवती सृजना कार्की खड्कालाई परिवारले दाम्लोले बाँधेर राखेको कुरा सामाजिक सञ्जालबाट थाहा भएपछि उदयपुरको त्रियुगा नगरपालिका– ५ घर्तीखर्कस्थित घरबाट गएको २७ साउनमा उनलाई उद्धार गरेर हेटौंडा–४ कर्रास्थित मानव सेवा आश्रममा ल्याइयो। आश्रममा आएको ११ दिनपछि उनले हेटौंडा अस्पतालमा छोरी जन्माइन्। विक्षिप्त अवस्थामा रहेकी उनी र नवजात शिशुको हेरचाहमा अहोरात्र खटेकी आश्रमकी अभियन्ता अंशु कार्की मानसिक रोगीले नियमित खानुपर्ने औषधि र स्याहारले गर्दा अहिले सृजनाको अवस्थामा धेरै सुधार आएको र छोरीको स्वास्थ्य पनि राम्रो रहेको बताउँछिन्।

इलाका प्रहरी कार्यालय सिमराले ३ मंसीर २०७२ मा बाराको अमलेखगन्जबाट उद्धार गरेको बेली मानव (मानसिक सन्तुलन गुमेकाको नाम–थर नखुलेपछि आश्रमले राखिदिएको नाम र थर) पनि अहिले यही आश्रममै छिन्। विक्षिप्त अवस्थामा सडकमा भौंतारिइरहेकी उनको जीउभरि घाउ थियो। केही महीनाको उपचारपछि घाउ निको भए पनि बोल्न नसक्ने भएकाले उनको घर–ठेगाना थाहा भएको छैन। बाराकै गढीमाई नगरपालिका–७ रातोपुल नजिकबाट १ भदौ २०७२ मा उद्धार गरिएका सन्देश मानवका कुहिएका गोडा निको भइसकेका छन्, तर उनी बोल्न सक्दैनन्।

सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तनद्वारा संचालित मानव सेवा आश्रम हेटौंडामा अहिले सृजना, बेली, सन्देश जस्ता ७३ जनाले आश्रय पाएका छन्। परित्यक्त र रोगी उनीहरूले आश्रममा राम्रो उपचार पनि पाएका छन्। तीमध्ये ५५ जना मानसिक सन्तुलन गुमाएका, चार जना बलात्कृत महिलाहरूबाट जन्मिएका बालबालिका र सडकमा भौंतारिएका १४ जना छन्। उनीहरूको स्याहारका लागि ११ जना स्वयंसेवी दिनरात खटेका छन्। उनीहरूको हेरचाह सजिलो छैन। स्वयंसेवी होमनाथ तिमिल्सिना भन्छन्, “बिहानको चारै बजे उनीहरूको दिसा–पिसाब सोहोरेर धोईपखाली गर्ने काम सबैले गर्न सक्तैनन्।”

२०६९ साउनमा शुरू भएको यो आश्रमका प्रमुख रामजी अधिकारीका अनुसार, मानसिक सन्तुलन गुमेर सडकमा छाडिएका सबैका आफन्त छन्तर वास्ता गर्दैनन्। आश्रमको कर्रास्थित दुईतले भवनको मासिक रु.४४ हजार भाडा हेटौंडा उपमहानगरपालिकाले तिरिदिएको छ। अरू सबै खर्च मुठी दानबाट चलेको छ। “हेटौंडामा धेरै मनकारी छन्, उनीहरूले नून–तेल, दाल–चामलदेखि लत्ता–कपडा र नगदसम्म नियमित सहयोग गरेका छन्”, अधिकारी भन्छन्, “विवाहभोज, तिथि–श्राद्ध, जन्मदिन आदिको खर्च रकमबाट आश्रमलाई सहयोग गर्ने चलन शहरमा निकै बढेको छ।”

परित्यक्तहरूलाई सडकबाट उठाएपछि अस्पतालमा राखेर गर्नुपर्ने उपचार र दिनहुँ मानसिक रोगको औषधिका लागि चाहिने ठूलो रकमको भने अभावै हुने गरेको अधिकारीले बताए। उनका अनुसार, कुनै बिरामीका लागि त मासिक डेढ लाख रुपैयाँसम्म लाग्ने गरेको छ। त्यो रकममा ठूलै समस्या हुने गरेको भए पनि विदेशी र दातृ निकायको सहयोग नलिएको अधिकारी बताउँछन्। उनका अनुसार, हालसम्म उपचारपछि मानसिक सन्तुलन पूरै ठीक भएर ठाउँ–ठेगाना बताएका १२५ जनालाई आश्रमले परिवारसँग सहजीकरण गरेर घर पठाएको छ। ३५ जनाको भने उपचारको क्रममा मृत्यु भएको उनले बताए।

चितवन र काठमाडौंमा पनि

नगद अभावबीच पनि आश्रमले काठमाडौं र चितवनमा सेवा विस्तार गरेको छ। दुवै स्थानमा सडकमा कष्टकर जीवन बिताइरहेका मानसिक रोगीहरूलाई ल्याएर आवश्यक उपचारका साथ राखिन्छ। चितवनको भरतपुर उपमहानरपालिका–१० बाइपास रोडमा ५ साउन २०७१ बाट शुरू गरिएको आश्रममा अहिले ४० जना मानसिक रोगी छन्। १७ कोठे आश्रमको मासिक रु.४० हजार भाडा चितवनका समाजसेवी महेन्द्रलाल प्रधानले तिरिदिएका छन्। बाँकी खर्च चितवनका सामाजिक संघ–संस्था तथा व्यक्तिको दानबाट चलेको छ। आश्रम संचालनमा रूपा केसी, अनिता अधिकारी, सृजना ओली र आदर्श ढकाल खटेका छन्।

त्यस्तै, काठमाडौंको गोंगबु आवास मार्गमा ५ भदौ २०७२ बाट मानव सेवा आश्रमको शाखा संचालनमा आएको छ। मासिक रु.५० हजार भाडाको १४ कोठे घरमा शुरू गरिएको आश्रममा अहिले परिवारबाट परित्यक्त २५ जना मानसिक बिरामी छन्। दाता जुट्दै गएपछि धेरैलाई सेवा दिने आश्रमका प्रमुख सुमन बर्तौलाले बताए। “काठमाडांैका सडकमा धेरै बिरामी छन् र हाम्रो आश्रमबारे कमैलाई जानकारी छ”, बर्तौला भन्छन्, “जानकारी पाएर दाताहरू जुट्दै गएपछि सडकबाट धेरै बिरामी ल्याएर ठूलो भवनमा सेवा दिने योजना छ।”


सरकारी जग्गामा आफ्नै भवन

कर्रामा रहेका मानसिक सन्तुलन गुमाएकाहरूलाई राख्न हेटौंडा–९ लामसुरे धापको आठ कट्ठा सरकारी जग्गामा बनाउन थालिएको भवनको एक तला बनिसकेको छ। मानसिक सन्तुलन गुमाएका बिरामी राख्ने भनेपछि हत्तपत्त भाडामा घर नपाइने हुनाले पनि आफ्नै भवन आवश्यक परेको आश्रमका प्रमुख रामजी अधिकारी बताउँछन्।

'एक व्यक्ति– एक ईंटा, एक व्यक्ति– एक बोरा सिमेन्ट' जस्ता अभियान चलाएर २० कोठाको पहिलो ढलान सकेको उनले बताए। दुई वर्षभित्र साढे चार करोड रुपैयाँमा पूरै भवन बनिसकेपछि दुई सय जनालाई एउटै छानामुनि सेवा दिने आश्रमको योजना छ भने शहरका सडक, मठ–मन्दिरलगायतमा रहेका सबै मानसिक बिरामीलाई आश्रममा ल्याइसकेपछि हेटौंडालाई मानवीय शहर घोषणा गर्ने लक्ष्य छ। दुई वर्षअघिको २०औं हेटौंडा नगरपरिषद्ले पनि यो लक्ष्यमा सहमति जनाएको आश्रम प्रमुख अधिकारी बताउँछन्।

comments powered by Disqus

रमझम