२ असार २०७० | 16 June 2013

हँसिला मुहार

Share:
  
- रुपा जोशी

तस्वीरहरुः रुपा जोशी
सालको जंगलमा डोटीकी महिला।
कामको सिलसिलामा मैले नेपालका कुनाकन्दरामा पुग्ने मौका पाएकी छु। ज्यादै कठिन जिन्दगी बिताइरहेका महिलासित बसेर गफगाफ र हाँसो–ठट्टा गर्ने अवसर मिलेको छ। सम्पन्न शहरिया जीवन र ऐस–आरामका साधनभन्दा धेरै परको जीवनचर्यामा मैले कुनै महिलाको मुहारमा हाँसो हराएको पाइनँ, कष्टकर जीवनप्रति यदाकदा विरक्ति प्रकट गर्दा पनि। कति महिलाले त आँसुले गह भरिंदा पनि ओठबाट मुस्कान बगाएको देखेकी छु।

गाउँमा होइन, काठमाडौंको कुमारी हलभित्र सँगैको सीटमा भेटिएकी रोल्पाकी पुनिमाया कामीलाई पहिलो दृष्टान्तको रूपमा प्रस्तुत गर्छु। उनको गाउँले परिवेशको चिनारी दीपेन्द्र भण्डारीको डकुमेन्ट्री 'जर्नी टु यार्सा' बाट पाएँ। 'लाटो' पोई पाएको वर्णन गर्दा होस् वा हिमाली लेकमा यार्सागुम्बा खोज्दै हिंड्दा च्यातिएको मोजाबाट चियाइरहेका आफ्ना औंला देख्दा, हाँसिरहन सक्ने पुनिमाया पहिलो पटक सिनेमाको पर्दामा आफूलाई देख्दा पनि दिल खोलेर हाँसिन्। मेरा लागि बिर्सन नसकिने क्षण बन्यो, त्यो। हामी शहरमा सुखसयलको जिन्दगी बिताउनेहरूका लागि सुख कहाँ खोज्ने, कता पाउने बारे कत्रो पाठ!

मुस्कानको साम्राज्य

आजकल गाउँघरतिर डुल्दा बढी महिला भेटिन्छन्, पुरुषहरू रोजगारको लागि विदेश गएकाले। पुरुषका कामहरू पनि आफ्नै थाप्लोमा आइपरेपछि महिलाहरू बोझ्ले थिचिएका छन्। बिहान झिसमिसेदेखि चुलाचौका, पानी–पँधेरो, घाँसपात, खेतबारी र वस्तुभाउमा खट्दाखट्दै दिन बितिजान्छ। राति थकानको निद्राले उनीहरूलाई भोलिको योजना बनाउनै दिंदैन। कत्तिको दुःख भएको छ भनेर आफ्नो जीवन नियाल्ने फुर्सदसम्म छैन उनीहरूलाई।

त्यसैले पनि होला उनीहरू दुःख पन्छाएर मुस्काउन सकेका। गाउँ होस् या शहरमा अलि फुर्सद पाउनेहरूले जस्तो यो भएन, त्यो भएन भन्ने असन्तोषमा भुल्ने मौका नपाएर पनि ती आमा, दिदी–बहिनीहरू त्यसरी हाँस्न सकेका हुन् कि! दुःख मान्न फुर्सद नभएर होस् या दुःखलाई भाग्यको खेल भनेर चित्त बुझाउन सकेकाले, यी हँसमुख महिलाहरूलाई बिर्सन सकिंदैन।

केही वर्षअघि पाँचथरमा भेटिएकी ७५ वर्षीया आमैको पाठेघर खसेर टाङको बीचमा निस्किएको ४० वर्ष भइसकेको रहेछ। र पनि, उनी कसैलाई नभनी आफ्नो व्यथा सहँदै, लुकाउँदै लेकबेंसी गरिरहेकी थिइन्। गाविसमा सञ्चालित स्वास्थ शिविरमा 'रिङ पेसरी'ले पाठेघर ठीक भएपछि आमैको अनुहारमा तैरेको लजालु थोते मुस्कान म कहिल्यै बिर्सन सक्दिनँ।

मुलुकको पश्चिम कुनामा, बिहान चारै बजे ढिकीको ढिकीच्याउँले निद्रा भगायो। उठेर हेर्दा त्यो दिन पकाउने भातका लागि घरको टाँडमुनि जेठानी धान कुट्दै देउरानी घान लगाउँदै थिइन्– धेरैमा भेट भएका सँगिनी झै एकअर्कासँग गफिंदै। न यस्तो चाँडो किन बिहानै उठ्नु परेको होला भन्ने गुनासो, न त हरेक दिन किन दुई घण्टा लगाएर धान कुट्नु परेको भन्ने असन्तुष्टि! मानौं, कामको मेसोले गर्दा नै उनीहरूलाई असन्तुष्ट रहन मौका नै नभएको!

अछामका देउरानी–जेठानी।

पूर्वी नेपालकी वृद्धा।

नाति बोक्दै दाङकी हजुरआमा।

पहाडी जिल्लातिर जाँदा हाँगाविहीन रूख र बुटाहरूले गाउँ आउन लाग्यो भन्ने जनाउँछ। कतिपय ठाउँमा रूखका टुप्पाहरूमा हँसियाले डाला छप्काउँदै गरेका महिलाहरू देखिन्छन्, आफ्नै भाकाका गीत गाउँदै काममा जुटेका। हेर्नेको आङ सिरिङ्ग हुन्छ, उनीहरूको खुट्टा चिप्लियो भने के होला भन्ने सोचले। फोटो खिच्दा उनीहरू क्यामरातिर हेरेर सहज–मोहक मुस्कान छाड्छन्। आफैंले कराउनुपर्छ, “यता नहेर्नुस्! लडिएला!”

जमीनबाट २०–३० हात माथि, छपछपी डाला छप्काउने दिदी–बहिनीलाई फिटिक्कै डर नलागेको देखिन्छ। जति गरीब घाँस–दाउरा गर्नका लागि उति उकालो लाग्नुपर्ने उनीहरूको नियति नै हो।

पहाड र तराईका पनि गाउँहरूमा भेटिने यी र यस्ता महिलाहरूका सहनशक्ति, फुर्ती र जाँगरले मलाई जीवनको धरातलमा र्झ्न मद्दत गर्छ। आफ्नो मुलुक र मुलुकवासीको जीवनको खुशी र दुःख बुझन मद्दत गर्छ।

अछामकी महिला।

दाङकी महिला।

comments powered by Disqus

रमझम